नुवाकोट उपमहानगर भए वेस होला कि ?

dipakbahadurkc दीपकबहादुर केसी
फागुन १४, २०७६

स्याङ्जा जिल्लामा रहेका कोटैकोटले बनेको जिल्ला पनि भन्न सकिन्छ । नुवाकोट, सतौंकोट, भीरकोट, गह्रौकोट, कालिकोट, कोल्मा बाहाकोट, चन्द्रकोट, गिरकोट, पेलाकोट, सिर्सेकोट, खैरीकोट, बागेकोट, रामकोट लगायत कोटैकोटका रमणीय वस्तीहरुको जिल्ला हो ।

गण्डकी प्रदेशमा पर्ने स्याङ्जा जिल्ला २०१८ सालभन्दा पहिले विशाल पश्चिम ४ नं. स्याङ्जा नुवाकोट (पल्लो नुवाकोट) राज्यको सदरमुकाम थियो । अहिलेको पर्वत जिल्ला पनि स्याङ्जामा थियो । ऐतिहासिक कर्णाली क्षेत्रमा बाइसे र गण्डकी क्षेत्रमा चौबीसे राज्यको समयमा पश्चिम ४ नं. नुवाकोटमारहेको सदरमुकाम २०१२ साल र पछि २०२४÷२०२५ मा स्याङ्जा पुतलीबजारमा सरेको हो । धानखेतमा पुतली लागेको कारणले यहाँको नाम पुतलीखेत रहेको पाइन्छ ।
स्याङ्जा जिल्लामा रहेका कोटैकोटले बनेको जिल्ला पनि भन्न सकिन्छ । नुवाकोट, सतौंकोट, भीरकोट, गह्रौकोट, कालिकोट, कोल्मा बाहाकोट, चन्द्रकोट, गिरकोट, पेलाकोट, सिर्सेकोट, खैरीकोट, बागेकोट, रामकोट लगायत कोटैकोटका रमणीय वस्तीहरुको जिल्ला हो । स्याङ्जा हिमालसँग जोडिएको छैन । तर नुवाकोटका अग्ला भूभागबाट हिमालको र छिमेकी जिल्ला बागलुङ, पर्वत, गुल्मी, पाल्पा, कास्की, तनहुँ, आदिको दृश्यावलोकन गर्न पाइन्छ । नुवाकोट समुद्र सतहदेखि १ हजार ९ सय मिटरको उचाइमा रहेको छ । नुवाकोट वर्तमान स्याङ्जा जिल्लाको उत्तरी भेगमा स्याङ्जा सदरमुकामबाट करिब १५ किमी उत्तर फेदीखोला गाउँपालिका, पौवेगौडे र पुतलीबजार नगरपालिकाको त्रिवेणीमा अवस्थित छ ।
ईसवी सम्वत् १५०० तिर भारतमा मुस्लिमहरुले आक्रमण गर्न थालेपछि भूपाल राणाजी नेपाल प्रवेश गरेका थिए । उनका छोरा खाञ्चाखान तथा उनका वंशले विस्तार गरेका राज्य भीरकोट, गहौंकोट, तथा ढोर र अर्का छोरा मिञ्चा खान (अजय सिंह खाँण) र उनका वंशले विस्तार गरेका स्याङ्जाको नुवाकोट राज्यको राजधानी थियो । उँचा पहाड र घनाजंगलले ढाकिएको नुवाकोटमा डाँडाकाँडा अत्यन्तै रमणीय र मनमोहक छन् ।
ऐतिहासिक एवं सांस्कृतिक महत्वका मठमन्दिरहरु कालाभैरव कालिका शिव मन्दिर सुनकेशरी जस्ता देवीहरु तथा पुरानो दरबार रहेको स्थान टुँडिखेल रानीको चौतारी, रानीपोखरी लगायत अन्य महत्वपूर्ण स्थानहरु रहेका छन् । यहाँबाट नजिकै रहेको रामकोटमा गुरुङ संग्रहालय र प्रथम तथा द्वितीय विश्वयुद्धमा ६० हजार गोरखा सैनिक मारिएका सम्झनामा गोरखा स्मारक साल्मेडाँडामा निर्माणाधीनक्रममा रहेको छ ।
यहाँको कालाभैरवको मन्दिर निकै शक्तिशाली र पुरानो शक्तिपीठको रुपमा मानिन्छ । हालमा यो मन्दिरको जिर्णोद्धार गरेर आधुनिक ढंगले निर्माण गरिएको छ । नुवाकोट राज्य सवल तथा ठूलो राज्यका रुपमा स्थापित राज्य नभएको भए पनि यसले विशेष महत्व राख्दछ । मिञ्चा खानले आफ्नो नवगठित राज्यको राजधानी बनाउनको निमित्त त्यहाँ एउटा सुरक्षित कोट अर्थात् नयाँ किल्ला बनाएकोले यसलाई नयाँ कोट वा किल्लाको नामबाट यस राज्यको नाम पछि नुवाकोट हुन गएको मानिन्छ । नुवाकोटे राजाहरु स्याङ्जाको आरुखर्क र नागडाँडाका दरबारमा बसोबास गर्दै आएका थिए । केही वर्ष पहिले ती दरबाहरु पनि भत्काइएको थियो ।
यहाँका चेलीबेटी महिलाहरु तीज पर्वमा आफ्ना वेदनाहरु तिजेगीत मार्फत् यसरी व्यक्त गर्दथे । ‘नुवाकोटे राजै निस्तो खाजा के सित खाऔं ?’ पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नु पूर्व बाइसे चौबीसे राज्यअन्तर्गत नुवाकोट राज्यमा यहाँका राजा रजौटाहरु गह्रांैकोट भीरकोट सतौंकोट ढोर र पैयांै रहेको थियो । नुवाकोट राज्यका राजवंशले कास्की, लमजुङ, गोरखा हुँदै एकीकृत विशाल आधुनिक नेपालको निर्माण गरी नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा नहुँदासम्म नेपालमा यही वंशको शासन थियो ।
पर्वत जिल्ला बनेपछि स्याङ्जाको धेरै भूभागहरु लिमी ज्ञाँदी , आर्थर, पैयाँै लगायत पर्वतमा र ढोर, राईपुर, आदि तनहुँमा कृस्ति, नाच्नेचौर, निर्मलपोखरी, भरतपोखरी, फुर्सेखोला, दक्षिणी भाग कास्कीमा गाभिएका थिए ।
स्याङ्जा कालीगण्डकीको रामनदी घाटदेखि कास्की जिल्लाको सीमाना फेदीखोला गाउँपालिकाको कुभिण्डे भञ्ज्याङसम्म ७९ किमी सिद्धार्थ राजमार्ग पर्दछ । स्याङ्जा यातायातको दृष्टिकोणले सुगम पहाडी जिल्लाभित्र पर्दछ । २०१८ सालमा खनेको सुनौली पोखरा सिद्धार्थ राजमार्ग नेपालको पुरानोमध्येको एक हो । पृथ्वी राजमार्ग १० वर्षपछि २०२८ सालतिर र पूर्व पश्चिम राजमार्ग पनि धेरैपछि बनेका बाटा हुन् । सिद्धार्थ राजमार्ग बनेको यति लामो समय हुँदा पनि यसको स्तरोन्नति हुन सकेको छैन ।

स्याङ्जामा रहेका तीनवटा पालिकाहरु आँधीखोला, फेदीखोला र पुतलीबजार नगरपालिकालाई एकीकरण गरी एउटै शक्तिशाली र ऐतिहासिक नाम नुवाकोट उपमहानगरपालिका भइदिए नुवाकोटको सेरोफेरोमा रहेका सम्पूर्ण गाउँवस्ती, सडक, पर्यटकीय स्थलहरु, धार्मिक मठमन्दिर, खोलानाला आदि सम्पूर्ण भूगोल र प्राचीन इतिहासलाई समेत समेटेर एकीकृत गर्दा अत्यन्तै स्वागतयोग्य हुनेछ र यो क्षेत्रमा विकासका योजना परियोजना लागू गर्दा पनि विवादित हुने छैनन् ।

२०७२ साल असोज ३ गते हाम्रो देशमा लोकतान्त्रिक गणतन्त्रात्मक नयाँ संविधान लागू गरेपछि देशमा स्थापित निकायहरुको पुनर्गठन अन्तर्गत ७५३ पालिका र स्याङ्जामा ७ वटा पालिकाको गठन गरिने भने पनि यहाँको भूगोललाई पायक पर्ने गरी मिलाउँदा ११ वटा स्थानीय तहमा विभाजित गरिएको छ । जसमा गल्याङ, चापाकोट, पुतलीबजार, भीरकोट, वालिङ नगरपालिका र अर्जुनचौपारी, आँधीखोला, फेदीखोला, कालीगण्डकी, बिरुवा र हरिनास समेत ६ वटा गाउँपालिका पर्दछन् । यतिधेरै पालिकाहरु बनाउँदा राज्यले तोकेको न्यूनतम आवश्यक आधारभूत जनसंख्या मापदण्ड पूरा भएको पाइँदैन ।
यहाँ पुतलीबजार नगरपालिका बनाउँदाका बेलाबखतमा पनि यहाँको भूगोल र पुरानो ऐतिहासिकतालाई हेर्दा नुवाकोट नगरपालिका नामकरण गर्नेतर्फ कसैको ध्यान गएन । किनकि यो देशमा २०४६÷०४७ पछि बहुदलीय व्यवस्था आएपछि यहाँका राजनीतिक दल र ती दलका नेताहरुले चलाउँदैआएका दोकान र निजी स्वार्थ र दलगत स्वार्थलाई बढी सर्वेसर्वा ठानेर ती खेलाडी राजनीतिमा सांसद मन्त्री हेभीवेट शीर्षनेता पनि रहे ।
स्याङ्जाको भूगोललाई हेर्दा पुतलीबजार नगरपालिका नाउँको सट्टा नुवाकोट उपमहानगरपालिका भए वेस होला कि जस्तो लाग्छ । फेदीखोला गाउँपालिकाका ५ वडा आँधीखोला गाउँपालिका ६ वडा र पुतलीबजार नगरपालिका १४ वटा जम्मा २५ वटा वडा हुन्छन् । यदि नगरपालिका वा उपमहानगरपालिकाका लागि आवश्यक परे अर्जुनचौपारी गाउँपालिकालाई पनि मिलाएर लैजाँदा नुवाकोट उपमहानगरपालिका भई दिए यहाँको चौतर्फी विकासमा सहज हुनेछ । किनकि २ वर्ष पहिले फेदीखोला गाउँपालिकाले गण्डकी प्रदेशको सहयोगमा सिद्धार्थ राजमार्गमा रहेको बृहत् भालुपहाडको गुरुयोजना ल्याएका थिए ।
अनुमानित ४५ करोडको लागतमा विविध कार्ययोजना तयार पारिएको पत्रपत्रिका र मिडिया संचारबाट जानकारीमा आएको थियो । स्याङ्जाको नुवाकोट, कालाभैरव, गल्यामको राम्चेदेवी, पञ्चधाम, पञ्चासे, अन्धाअन्धीको दह, पितृभक्त, श्रवणकुमारको समाधिस्थल, रातोपानी डहरेकी देउराली सतौंको चण्डिस्थान मन्दिर आदि शक्तिपीठ तथा धार्मिक पर्यटकीयस्थलको केवलकार आदि गुरुयोजना ल्याउने चर्चा बेलाबखतमा उठान गरिए पनि हालसम्म त्यस्तो प्रभावकारी योजना अघि बढेको पाइँदैन ।
तर भालु पहाड फेदीखोला र पुतलीबजार नगरपालिकाको साँध सिमानामा रहेको छ । स्थानीय संचरनाको गठन गर्ने क्रमको बेलामा फेदीखोला र आँधीखोलाको एउटै आँधीखोला गाउँपालिका भनिएकोमा शीर्षस्थ नेताहरुले पहल गरिदिएको भए र सबैलाई पायक पर्ने सेतीदोभानको बिजुली पावर हाउस रहेको पहिराको चौर भन्ने ठाउँको प्रस्ताव गरी दिएको भए त्यतिबेला फेदीखोलावासीहरुले आन्दोलन र सडक जाम गर्न बाध्य हुने थिएनन् । फलस्वरुप राज्यले तोकेको मापदण्डविपरीत २ वटा बेग्लाबेग्लै फेदीखोला र आँधीखोला गाउँपालिका बन्न गए । हालमा उक्त भालु पहाड वृहत् योजनाको केही चर्चामा आएको छैन । साँध सिमानाको विवाद भएर हो वा किन रोकियो, यो पंक्तिकारलाई जानकारी छैन ।
स्याङ्जाको दक्षिण भेगमा रहेको भीरकोट नगरपालिकाको प्रस्तावनाको बेला बयरघारी, दार्सिङ, दहथुम, आँधीखोला, भीरकोट आदि आधा दर्जन जति सम्भावित नामका प्रस्तावना गरिएका थिए । जसमा उक्त ठाउँको भूगोल प्राचीन इतिहास र आजको आवश्यकतालाई हेरेर भीरकोट नगरपालिका नामकरण गरियो । जो अत्यन्तै स्वागतयोग्य नाम हो । पोखरा उपत्यकामा पनि पोखरा उपमहानगर र लेखनाथ नगरपालिकाको आ आफ्नो अस्तित्वमा थिए तर यहाँको भूगोल र अन्य विभिन्न आवश्यकतालाई सूक्ष्म अध्ययन गरेर दुवैलाई मिलाएर एउटै पोखरा महानगरपालिका नामकरण गरियो । जो अत्यन्तै वैज्ञानिक र देशकै ठूलो भूगोल भएको महानगरपालिका हो ।
यसरी नै स्याङ्जामा रहेका तीनवटा पालिकाहरु आँधीखोला, फेदीखोला र पुतलीबजार नगरपालिकालाई एकीकरण गरी एउटै शक्तिशाली र ऐतिहासिक नाम नुवाकोट उपमहानगरपालिका भइदिए नुवाकोटको सेरोफेरोमा रहेका सम्पूर्ण गाउँवस्ती, सडक, पर्यटकीय स्थलहरु, धार्मिक मठमन्दिर, खोलानाला आदि सम्पूर्ण भूगोल र प्राचीन इतिहासलाई समेत समेटेर एकीकृत गर्दा अत्यन्तै स्वागतयोग्य हुनेछ र यो क्षेत्रमा विकासका योजना परियोजना लागू गर्दा पनि विवादित हुने छैनन् ।
केही समय पहिले मात्र आँधीखोला गाउँपालिकाको आफ्नो क्षेत्रमा पर्ने पिृतभक्त श्रवणकुमार र उनका दृष्टिविहीन मातापिताको भव्य सालिक पुतलीबजार नगरपालिका भित्र पर्ने नागडाँडामा स्थापना गरिएको छ । जो सराहनीय र स्वागतयोग्य काम भएको छ । तर, यो ठाउँ र यो काम एउटै स्थानीय निकायमा भैदिएको भए अरु बढी वेस हुने थियो । अब ढिलै भए पनि पुतलीबजार, फेदीखोला र आँधीखोला यी तिनै पालिकाको स्तरोन्नति गर्नेक्रममा हालका वडाहरु यथास्थानमा राखेर एकीकरण गरेर एउटै नुवाकोट उपमहानगरपालिका वा नगरपालिका भइदिए तिनवटै पालिकामात्र होइन, स्याङ्जाली जनता र देशका सम्पूर्ण नेपाली जनतालाई पनि यो महान ऐतिहासिक कदमको नयाँ सन्देशले खुसी छाउनेछ ।
यदि एकीकरण सम्भव हुँदैन भने पनि पुतलीबजार नगरपालिकाको नाम ऐतिहासिक नुवाकोट नगरपालिका नै राखेमा अत्यन्तै स्वागतयोग्य हुनेछ । नुवाकोट कालाभैरव तथा सम्पूर्ण मठमन्दिरका देवीदेवताकी जय जय जय । अस्तु ।

हाम्रो सुझाव