निष्ठाका सगरमाथा : गणेशमान सिंहको वीरगाथा

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७१

राजनीतिमा रुचि राख्नेहरूका लागि पढ्नैपर्ने एउटा उपयोगी पुस्तकको नाम हो ? “निष्ठाका सगरमाथा”। वि.सं. २०५५ मा प्रकाशित भई २०५८ मा दोस्रो संस्करण गरिएको उक्त पुस्तकका लेखक हुन् ? रेवतिरमण सुवेदी। एकजना सिद्धहस्त पत्रकार जो गणेशमान सिंहको निष्ठा र विश्वेश्वरप्रसाद कोइरालाको बुद्धिबाट प्रभावित भएर १७ वर्षको उमेरमा पटुकामा बम बोकेर प्रजातन्त्रको पुनर्बहालीको आन्दोलनमा होमिएका थिए, उनैद्वारा लिखित प्रस्तुत पुस्तकका बारेमा केही प्रकाश पार्ने कोसिस गरिएको छ। आवरणसहित एक सय ७४ पृष्ठमा गणेशमानलाई झल्काउने तस्वीरहरू समावेश गरिएको प्रस्तुत कृति नेपालको राजनीतिक इतिहास अध्ययन गर्नेहरूका लागि एक महत्वपूर्ण दस्तावेजको रूपमा लिन सकिन्छ। पत्रकार जिवेन्द्र सिंखडाका अनुसार निष्ठाका सगरमाथा मूलतः नेपाली जनतालाई सार्वभौम बनाउने र समृद्ध तुल्याउने आन्दोलन-मुलुकमा प्रजातन्त्र पुनःस्थापना गराउने २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सेरोफेरोमा केन्द्रित छ। पुस्तकले त्यो आन्दोलनका प्रणेता गणेशमानको पहलकदमी र अडानहरूलाई र्छल· पारेको छ। सिंखडाको भनाइलाई आधारस्तम्भ मानेर मैले प्रस्तुत”निष्ठाका सगरमाथा” कृतिभित्र समाविष्ट १६ ओटा अध्यायलाई खोतल्ने जमर्को गरेको छु।

अध्याय एकमा निष्ठा, त्याग, साहस र प्रतिवद्धताले गर्दा गणेशमान सगरमाथा नै बनेका छन् भन्दै विश्वमा नेपाललाई चिनाउँदा सगरमाथा र बुद्धको देश मात्र होइन अवदेखि गणेशमानको देश भनेर पनि चिनाउनुपर्छ भनिएको छ। २००७ सालको क्रान्तिका नायक तथा २०४६ सालको जनआन्दोलनका महानायक सिंहलाई नेपालका राष्ट्रिय विभूति भनिएको छ। नेपालको प्रजातन्त्र स्थापना र पुनःस्थापनाका सर्न्दर्भमा एउटै व्यक्तिले दुर्इ-दुर्इवटा क्रान्तिको नेतृत्व गरेको भन्दै भारतका गान्धी र रुसका लेनिनसँग तुलना गरी नेपालको प्रजातन्त्रका पिता भनिएको छ। रैती रहेका नेपालीहरूलाई जनता बनाउन प्रधानमन्त्रीको पद समेत त्यागेका हुनाले सिंहलाई “निष्ठाका सगरमाथा” हुन् भनिएको छ। अध्याय दुर्इमा जसरी भारतीय स्वतन्त्रता संग्रामका जनक महात्मा गान्धीका अनुयायीहरू दिल्लीको लाल किल्लामा भारत स्वतन्त्रताको उत्सव मनाइरहेका थिए, त्यो समय गान्धी नोआखलीको एउटा एकान्त कुनामा एक्लै विरक्तिएर चर्खा चलाइरहेका थिए भने रुसी बोल्सेविक क्रान्तिका नेता लेनिनका आखिरी दिनहरू पनि अत्यन्त विषाद र भयानक मानसिक पीडाबाट आक्रान्त भएर बितेका थिए भन्दै गणेशमानका आखिरी दिनहरू पनि त्यसरी नै पीडादायी बन्न पुगेका थिए। यतिसम्म कि २०३३ सालमा उनलाई र विश्वेश्वरप्रसाद कोइरालालाई फाँसीमा झुण्ड्याउनुपर्छ भनेर देशभरी स्यालहुइयाँ मच्चाउने, जनमत संग्रहका धाँदली मास्टर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर मन्त्री बन्न आतुर काँग्रेसीहरूको चिन्ता गणेशमानको मृत्युमा भन्दा पनि सत्तामा केन्द्रित रहेको थियो भनिएको छ। यसको प्रमाणको लागि २०५४ असोज २ गते गणेशमानको निधन भएकै दिन तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गर्न केही काँग्रेसीहरू लागि परेका थिए। यद्यपि जनआक्रोस भड्किने डरले त्यसो गर्न सकेनन् तथापि काँग्रेसलाई जन्माएर, हुर्काएर, बढाएर नेपाली राजनीतिको शिखरमा पुर्‍याउने गणेशमान दिवंगत हुँदा कमसेकम काँग्रेसीहरूले १३ औं दिनसम्म त सत्ता नसोचेर सिद्धान्त सोच्नु पर्दथ्यो भनिएको छ। वि.सं. १९९७ को शहिद पर्वको शिलशिलामा जेल परेका निडर सिंह जेल तोडेर भागेको कुरा र भरतपुर विमानस्थलको कुर्ची दुर्घटना प्रकरणबाट अपा· बन्नु परेको पीडा समेत उल्लेख गरिएको छ। भारतीय स्वतन्त्रता संग्रामको लक्ष्यलाई गान्धीका अनुयायीहरूले र रुसी बेल्सेविकको क्रान्तिको लक्ष्यलाई लेनिनका अनुयायीहरूले अनुशरण गर्न सकेनन् भन्दैमा गान्धी र लेनिनका ध्येय र लक्ष्य ओझेल वा धुमिल नभएका जस्तै क्रान्तिका नायक, २०४६ सालको जनआन्दोलनका महानायक सिंहको ध्येय र लक्ष्यलाई उनका अनुयायीहरूले अनुसरण गरेनन् भन्दैमा ती लक्ष्य र ध्येय सदाकालका लागि ओझेल भए भन्ने कुरा पनि हुन्न भनिएको छ। नेपाली जनताको राहातका लागि प्रजातान्त्रिक समाजवादी सिद्धान्तका आधारमा आर्थिक क्रान्तिका कुरा गर्ने गणेशमानको संसदवादीले नै उपेक्षा र अपहेलना हुनु दुर्भाग्य हो। कुनै बेला यिनीहरूलाई पक्कै गला लाग्नेछ भनिएको छ।

अध्याय तीनमा राजाभन्दा ठूलो शक्ति जनता हो भन्ने प्रमाणित गर्न हिडेका हुँदा गणेशमान सिंहले राजाले दिएको प्रधानमन्त्रीको पद अस्वीकार गरेका हुन् भन्दै उनलाई भोलिका पुस्ता र राष्ट्र सोच्ने उच्च कोटीको राजनेताको रूपमा स्वीकार गरिएको छ। अध्याय चारमा निरंकुश राणाहरूको क्रूर जेल यातनामा तीन बर्ष आठ महिनासम्म पिसिई जेल तोडेर भारत पुगेका गणेशमानले राणा शासकलाई पहिलोपटक “तँ” र “तिमी” भनेको र २००१ सालमा विश्वेश्वरप्रसाद कोइरालासँग भेट भएको कुरा उल्लेख गरिएको छ। लोकनायक गणेशमान र जननायक कोइरालाले आठ बर्ष जेल र ९ बर्ष निर्वासन सँगसँगै बिताएको कुरा उल्लेख गरिएको छ। सिंहलाई “मास लिडर” र कोइरालालाई “बुद्धिजीवी” नेताको रूपमा सम्बोधन गरिएको छ। २०३९ साउन ६ गतेका दिन कोइरालाको देहावसान भएको ठीक ५० दिनपछि २०३९ भदौ २४ गते गणेशमानले एकदलीय पञ्चायती व्यवस्था ढाल्नका लागि काँग्रेस र कम्युनिष्ट मिलेर जनआन्दोलनमा जानुपर्ने आवश्यकताको बारेमा बोलेका थिए भनिएको छ। अध्याय पाँचमा २०४२ सालको सत्याग्रहले नेपाली जनतामा राजनीतिको चेतनाको विकास गर्ने मौका पाएको कुराको चर्चा गरिएको छ। काँग्रेस र कम्युनिष्टका कार्यकर्ताहरू विभिन्न जेलहरूमा एकसाथ बसेका, एउटै भान्सामा खाएका र एउटै ओछ्यानमा रात बिताएका कुराको उल्लेख गर्दै काँग्रेस र कम्युनिष्टहरू एकअर्काका प्रमुख दुश्मन होइनन् बरु एकअर्काका प्रमुख मित्र शक्ति हुन् भन्ने कुरा सत्याग्रहको अवसरले जुराएको कुरा उल्लेख गरिएको छ। गणेशमानले पञ्चायतइतर राजनीतिक शक्तिहरू एक भएर संयुक्त आन्दोलन गर्नुपर्ने विचार सार्वजनिक गरेका थिए भनेर उल्लेख गरिएको छ। अध्याय छमा सिंहको नेतृत्वमा काँग्रेस र कम्युनिष्टहरूको संयुक्त जनआन्दोलन गर्ने निर्णयको साथै २०४६ माघ ५, ६ र ७ गते जनआन्दोलनको मिति सिंहकै निवास चाक्सीवारी, काठमाडौंमा नेपाली काँग्रेसको राष्ट्रिय भेलाद्वारा २०४७ फागुन ७ गतेदेखि जनआन्दोलन गर्ने घोषणा भएको कुरा उल्लेख गरिएको छ। जुन भेलामा भारतीय नेताहरूले सम्बोधन गरेका र विशेषगरी भारतका पूवप्रधानमन्त्री चन्द्रशेखरले दिएको भाषणले नेपाली युवाहरूको मनलाइ प्रभावित पारेको उल्लेख गरिएको छ।

अध्याय सातमा गणेशमानकी सहधर्मिणी नेपाली नारी जागरणकी प्रेरणा र प्रतीक श्रीमती मंगलादेवी सिंह जो अन्याय, अत्याचार, शोषण र दमनकारीका लागि सिस्नोझैं पोल्ने नारी हुन्, उनीलाई २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्दा केहीले विरोध गर्नु निर्रर्थक थियो भनिएको छ। स्वयम् गणेशमानले “प्रजातन्त्रमा चुनाव लड्ने हरेक जनताको हक हो” भनेर सटिक जवाफ दिएका थिए भनिएको छ। अध्याय आठमा गिरिजाप्रसाद कोइरालाले २०४८ पुस १४ गतेका दिन आफ्नो मन्त्रीमण्डलमा रहेका ६ जना काँग्रेसका मन्त्रीहरूलाई आफू र पार्टीसभापति कृष्णप्रसाद भट्टराइसँग एकवचन नसोधी हर्टाईएकोमा सिंह चिन्तित भएको चर्चा गरिएको छ। २०४८ फागुन १ देखि ३ गतेसम्म झापाको कलवलगुडीमा नेपाली काँग्रेसको आठौं अधिवेशनमा कृष्णप्रसाद भट्टराईलाई पुनः पार्टीसभापति बनाउन सिंह कम्मर कसेर लागेको हुँदा सभापतिमा चयन भएको कुरा र प्रधानमन्त्री कोइरालाले २०४८ मंसिर १९ देखि २४ गतेसम्म भारत भ्रमण गर्दा गरिएको टनकपुर सन्धिको विरोध गरेको समेत उल्लेख गरिएको छ। अध्याय नौमा २०५० जेठ ३ गते एमाले महासचिव मदन भण्डारी र संगठन विभागका प्रमुख जीवराज आश्रति चढेको जीप दासढुंगामा रहस्यपूर्ण ढंगले दुर्घटना भई मृत्यु भएकोमा गणेशमान ज्यादै दुःखी बनी रोएका थिए भनेर उल्लेख गरिएको छ। मदन भण्डारी २०४६ सालको जनआन्दोलनले जन्माएको एउटा चमत्कारी, प्रभावशाली र जिम्मेवार नेता थिए भनेर चर्चा गरिएको छ। काँग्रेसमा जो नेता पार्टीका बलियो देखिन्छ उसैको निकटमा हुने होड र सँधै एकअर्काको खुट्टो तान्ने प्रवृत्ति बढेकोमा सिंहले चिन्ता व्यक्त गरेको कुरा समेत उल्लेख गरिएको छ।

अध्याय दशमा २०५० मंसिर २६ गते न्यूयोर्कमा संयुक्त राष्ट्रसंघले गणेशमानलाई मानव अधिकार पुरस्कार दिदै अभिनन्दन गरेको र संयुक्त राष्ट्रसंघका वुत्रोस वुत्रोस घालीले “मानव अधिकार र राजनीतिक अधिकारका निम्ति ५० बर्षभन्दा लामो निर्भीक संर्घष्ा गर्ने गणेशमान विश्वका मानव समुदायकै ठूलो गौरव हुन्” भनेर प्रशंसा गरेका थिए भनेर चर्चा गरिएको छ। त्यसैगरी भारतका नेता अटलविहारी वाजपेयीले “सिंहको यो पुरस्कारले एशियाकै गौरव बढेको छ” भनेर बधाई ज्ञापन गरेको कुरा उल्लेख गरिएको छ। यस अघि २०४८ मा पनि संयुक्त राज्य अमेरिकाले सिंहलाई “पिस रन पुरस्कार” प्रदान गरेको थियो भनेर चर्चा गरिएको छ। अध्याय एघारमा काठमाण्डौ क्षेत्र नं. १ को उपनिर्वाचनमा सर्वसम्मतबाट काँग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई उम्मेदवार बनाइएकोमा काँग्रेसले नै घात गरी हराएको र त्यसमा प्रधानमन्त्री कोइरालाको मुख्य हात रहेको चर्चा गरिएको छ। २०५० चैत्र २ गतेका दिन सांसद ढुण्डीराज शास्त्रीको निवासमा बैठक बसी प्रधानमन्त्री कोइरालाको विरुद्धमा छत्तीसे समूह जन्मिएको र पैतीस जना सांसदले “माइन्युटिङ” गरेर प्रधानमन्त्रीको राजीनामा नआए सरकारले पेश गर्ने विधेयकमा भोट नदिने निर्णय गरेको कुरा उल्लेख गरिएको छ। त्यही मौकामा एमालेले प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने उदेश्यले संसदको विशेष अधिवेशन डाकेकोमा छत्तीसेहरूले अविश्वास प्रस्तावमा “फ्लोर क्रसिङ” गर्ने अनुमति मागेकोमा भट्टराईले उल्टै अविश्वासको विपक्षमा भोट खसाल्न कडा निर्देशन दिएकाले प्रधानमन्त्री जोगिएको कुरालाई चर्चा गरिएको छ। २०५० चैत्र १५ गतेका दिन काँग्रेसका कार्यसमितिको बैठकमा प्रधानमन्त्रीले १९ गतेसम्मको लागि राजीनामा दिने-नदिने समय मागेको हुँदा १९ गतेसम्म बैठक सारिएको र उक्त दिन प्रधानमन्त्रीले कुनै निर्णय नदिएकाले सर्वसम्मतले सभापतिलाई प्रधानमन्त्रीको बारेमा किनारा लगाउने अभिभारा सुम्पिएकोमा भट्टराईले प्रधानमन्त्रीलाई “क्षमादान” दिएको घोषणा गरेको र उक्त घोषणा सुनेपछि काँग्रेसी कार्यकर्ता कृष्णा अमात्यले भट्टराईलाई – “चरित्र नभएकी केटी, भविष्य नभएको केटा र आँट नभएको नेताको पछाडि लाग्दा सबैले दुःख पाउँछन्” भनेर व्यङ्ग्य गरेकी थिइन् भनेर चर्चा गरिएको छ। अध्याय बाह्रमा प्रजातन्त्रवादी भनाउँदा सांसदहरूले देश र जनताको हित विपरित कार्य गरी कुबाटोमा हिडेर लोकतन्त्रको खिल्ली उडाएकोमा गणेशमानको दिल दुःखेको कुराको चर्चा गरिएको छ। २०५१ असार ६ गते भरतपुर विमानस्थलमा सिंहलाई षड्यन्त्रपूर्ण ढंगले लडाएर घाइते बनाइएको हो भनिएको छ। २०५१ असार २६ गते श्री ५ को सरकारको वाषिर्क नीति र कार्यक्रमलाई काँग्रेसका ३६ जना सांसदहरू सदनमा अनुपस्थित भएर असफल तुल्याइदिएपछि प्रधानमन्त्री कोइरालाले काँग्रेसका ७४ जना सांसदको बलमा मध्यावधिको सिफारिस लिएर दरबारमा गएको चर्चा गरिएको छ। प्रधानमन्त्रीको हैसियतले मध्यावधि निर्वाचनको सिफारिस गर्ने अधिकार प्रयोग गरेकोमा विरोध नभई धमिजा प्रकरणको महाअभियोग लाग्ने संभावना र संसदमा आफू अल्पमतमा परेपछि संसदनै भंग गर्ने काम गरेकोमा सिंहले प्रधानमन्त्रीको चरित्र र प्रवृत्तिको विरोध गरेका थिए भनेर उल्लेख गरिएको छ। २०५१ भदौ ३१ गते ललितपुरको एउटा सार्वजानिक सभामा गणेशमान सिंहले “नेपाली काँग्रेसले आफ्नो कुरा नसुनेको र आफूलाई अपमान गरेको” भन्दै नेपाली काँग्रेस छोडेको घोषणा गरेको कुरा उल्लेख गरिएको छ। त्यतिखेर छत्तीसेहरूले गणेशमानले किन काँग्रेस छोडे भनेर चिन्ता गर्नुको सट्टा मध्यावधि निर्वाचनमा टिकट पाउनका लागि गिरिजाकै सामू घुँडा टेके भनेर उल्लेख गरिएको छ। गणेशमानले पार्टीपरित्याग गरेपछि प्रस्तुत पुस्तकका लेखक रेवतिरमण सुवेदी लगायत केही शुभचिन्तकले अब हामीले “के गर्ने ?” भन्ने जिज्ञासा राख्दा गणेशमानले “गिरिजा प्रवृत्तिलाई बहुमतको सरकार बनाउनु दिनु हुँदैन, दिएमा राष्ट्रियता माथि ठूलो खतरा आउनेछ” भनेर भनिएको कुरा र काँग्रेसले मध्यावधि चुनावमा चुनावी पर्चा र पोष्टरमा वी.पी.को “समाजवाद” लाई छोडेर “विकासवाद” राखेकोमा निन्दा गरेको कुरा उल्लेख गरिएको छ। निर्वाचनमा काँग्रेस माइलो पार्टीबन्न पुगेको र एमाले सरकार बनेको एवं पुस १ गते प्रजातन्त्रको हत्या भएको कालो दिवसको दिन काँग्रेसबाट सभामुख रामचन्द्र पौडेल बन्ने र रा.प्र.पा.बाट उपसभामुख बन्नेमा रामचन्द्र कमल थापा बीच हस्ताक्षर भएको थियो, जसले गर्दा गणेशमान अत्यन्त दुःखी बनेका थिए भनिएको छ र त्यही दिन माओवादी आन्दोलनको बीउ पनि रोपिएको थियो भनेर चर्चा गरिएको छ साथै कोइरालाले “फु” गरेर एमाले सरकार ढाल्न मन्त्र उच्चारण गरेको कुरा र धमिजाकाण्डमा संसदमा महाअभियोग आउने निश्चित भएपछि गिरिजाले मध्यावधि गराएको र फेरि एमालेको सरकारले पनि “धमिजाकाण्ड” को फाइल पल्टाएर बयान लिन थालेपछि गिरिजाले एमाले सरकारलाई ढाल्न लागेको हो भन्ने कुराको चर्चा गरिएको छ।

अध्याय तेह्रमा देशमा सबै पार्टीर तिनका नेताहरूले अप्रजातान्त्रिक चरित्र देखाएकोमा चिन्तित गणेशमानले काँग्रेस पार्टीपरित्याग गरेर राजनीतिक पार्टीर तिनका नेताहरूले २०४६ सालको जनआन्दोलनको खिल्ली उडाएको छ भन्दै देशव्यापी जनजागरणको अभियान सञ्चालन गरिरहेको बेलामा २०५१ असार ६ गते षड्यन्त्रपूर्ण ढंगले नढालिएको भए उनी उक्त अभियानमा देशभर जान सक्थे र जनताले साक्षात्कार गर्न पाउथे भनेर चर्चा गरिएको छ। २०५३ बैशाख २६,२७ र २८ गतेका दिन काठमाडौंमा भएको काँग्रेसको नबौ महाधिवेशनले भट्टराईको सहयोगमा कोइरालाले चिरञ्जीवी वाग्लेलाई हराएर सभापति बनेको कुराको चर्चा गरिएको छ। पार्टीपरित्याग गरेको गणेशमान उपस्थित नहुनाले काँग्रेस आत्मा उडिसकेको लास जस्तो थियो भनेर चर्चा गरिएको छ।

अध्याय चौधमा राप्रपा, सद्भावना र काँग्रेसको गठबन्धनको सरकारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेकामा तत्कालै देउवालाई संसदीय दलको नेताबाट हटाएर गिरिजा संसदीय दलको नेतामा चयन भएको कुराको चर्चा गरिएको छ। त्यसैबेला बामदेव गौतमले नेकपा एमाले फुटाएर “माले” पार्टीको नेता बन्न पुगेको चर्चा गरिएको छ। गणेशमानको देहावसान हुँदा काँग्रेसहरूले अत्यन्तै निन्दनीय प्रवृत्ति र चरित्र प्रदर्शन गरेका थिए बरु तत्कालीन उपप्रधानमन्त्री बामदेव गौतमले गणेशमानलाई राष्ट्रिय सम्मान दिनुपर्छ भनेर मन्त्री परिषद्मा अडान राखेको हुँदा राष्ट्रिय सम्मान दिइएको कुरा चर्चा गरिएको छ। त्यसैबेला काँग्रेसहरूको पहलमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई हटाएर सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइएको कुरा उल्लेख गरिएको छ। एकातिर थापाले राजाका सामू मध्यावधि निर्वाचनका लागि सिफारिस गरेको र अकोर्तिर एमालेले चन्दको साथ लिएर विशेष अधिवेशनको समावेदन चढाएको कुरा उल्लेख गरिएको छ। विशेष अधिवेशन बालाउने कि मध्यावधिको मिति तोकिदिने – भनेर दुविधामा परेका राजाले सवोर्च्च अदालतसँग राय माग्दा अदालतले विशेष अधिवेशनको पक्षमा फैसला गरेको हुँदा फागुन ८ गते थापा सरकारको अविश्वासको प्रस्तावमा मतदान हुँदा काँग्रेसले थापाको पक्षमा मतदान गरी प्रधानमन्त्रीमा थापानै कायम रहन पुगेका र उनले मध्यावधि चुनावको औचित्य समाप्त भयो भनेर कुर्लिएका थिए भनिएको छ। साथै त्यसपछि पनि काँग्रेसले थापाकै नेतृत्व स्वीकार्‍यो भन्ने कुृराको चर्चा गरिएको छ। अध्याय पन्ध्रमा २०४२ देखि २०४६ सालसम्म काँग्रेसका दोस्रो पुस्ताका नेताहरूको दिनचर्या बडो बैरागलाग्दो, टिठलाग्दो थियो र साथै उनीहरू निराशा र हतोत्साहको चरम अवस्थामा पुगेका थिए भन्दै उनीहरूको मन र मस्तिष्कमा सत्ता प्राप्ति र सम्पत्ति आर्जनको तृष्णा बढेको हुँदा पञ्चायतमा पस्न समेत तम्तयार थिए भनेर चर्चा गरिएको थियो। अध्याय सोह्रमा २०४६ सालको जनआन्दोलनको उपलब्धिलाई मागी खाने भाँडो ठानी दुरुपयोग गरेको हुँदा गणेशमान जस्तो त्यागी र साहसी पुरूषले पनि काँग्रेस पार्टीकाई परित्याग गरे भनेर चर्चा गरिएको छ।

निचोडमा भन्दा, प्रस्तुत “निष्ठाका सगरमाथा” पुस्तकमा लेखक रेवतिरमण सुवेदीले नेपालका राजनीतिक दल र तिनका नेताहरूमा गाम्गीय, जिम्मेवारीबोध, उत्तरदायित्वबोध, राष्ट्रप्रेम, जनप्रेम, स्वाभिमान एवं इमान्दारिता हराउँदै गएकोमा लौहपुरुष गणेशमानले चिन्ता व्यक्त गरेको कुरा चर्चा गरिएको छ। २०४६ सालको जनआन्दोलनद्वारा पुनःस्थापित प्रजातन्त्र बाँदरको हातमा नरिबल बन्न पुगेको र २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं नेपाली काँग्रेसका सवोर्च्च नेता गणेशमान सिंहले मन कुँड्याएर काँग्रेस पार्टीसमेत परित्याग गरेको कुरा प्रष्टसँग उल्लेख गरिएको छ। सरल र ओजपूर्ण भाषाशैलीको प्रयोगले प्रस्तुत पुस्तक पठनीय र संग्रहणीय छ। यति हुँदाहुँदै पनि गणेशमान सिंहलाई उचाल्दा अरूलाई नहोच्याइएको भए राम्रो हुनेथियो। कुनै एउटा व्यक्तिको टाउको काटेर सिंहलाई अग्लो देखाउनु आवश्यक थिएन। किनभने सिंह शरीरको कद होचो भएपनि सिंहको विचार सगरमाथा जस्तै अग्लो छ भनेर समस्त विश्वले नै जाने बुझेको कुरा हो।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width