निष्ठाका प्रतिमूर्ति : सुशील कोइराला

आदर्श समाज सम्वाददाता
माघ २८, २०७२

यति बेला पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको अकस्मात् निधनले देशमा सन्नाटा छाएको छ। ‘क्यान्सरलाई जितेँ’ भनेर सधैँ राजनीतिक कार्यक्रममा सक्रिय कोइरालाको निधन नेपाली काङ्ग्रेसको १३ औँ महाधिवेसनको पूर्वसन्ध्यामा भएको छ। नेपाली काङ्ग्रेसको जिल्ला अधिवेसन समाप्त भएको मध्यरातमा उनको निधन भयो।

‘राजनीतिमा थकाई भन्ने शब्दावली छैन’ भन्ने जननेता मदन भण्डारीको भनाइका प्रतिमूर्ति सुशील कोइरालाको जीवनमा देखियो। उनले राजनीतिमा कहिल्यै थकाइ मारेनन्। जीवनको अन्तिम घडीसम्म राजनीतिमा सक्रिय कोइरालाको जीवनगाथा हामी सबैका लागि प्रेरणादायी छ। बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादी धारणाबाट प्रेरित भइ राजनीतिमा सक्रिय भएका कोइराला वीरगञ्जको ठाकुरराम हाइस्कुलमा अध्ययनरत रहँदादेखि नै राजनीतिमा लागेका थिए। उनका पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डिएफओ रहँदा भाइ अरुणसँगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न गएका थिए। यो २०११ सालतिरको कुरा हो। पछि २०१२ सालमा वीरगञ्जमा सम्पन्न नेपाली काङ्ग्रेसको छैठौँ महाधिवेसनमा उनी सहभागी भएका थिए।

उनी २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरको मोर्चामा सहभागी हुनुका साथै वि.सं. २०१५ सालको संसदीय निर्वाचनको प्रचारप्रसारमा उनी आफ्नो गृहनगर नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भए। वि.सं. २०१५ सालको निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त गरेपछि अस्थिर समयमा उनी राजनीतिमा क्रियाशील रहँदारहँदै राजा महेन्द्रले सैन्यबलको आडमा २०१७ सालमा पुस १ गते निर्वाचित संसद भंग गरेपछि नेपाली काङ्ग्रेसका नेता सुवर्णयमशेरलाई नेपालको राजनीतिबारे जानकारी दिन आफ्ना भाइ अरुण कोइरालासँग सुशील कोइराला कलकत्ता गएका थिए। कोइरालाले २०१७ सालदेखि २०३७ सालसम्म भारतका विभिन्न ठाउँमा निर्वासित जीवन बिताएका थिए।

नेपाली काङ्ग्रेसको नेतृत्वमा भएको विमान अपहरण काण्डमा सुशील कोइराला संलग्न थिए। पछि भारतमा पक्राउ परेपछि उनले भारतका विभिन्न ठाउँमा तीन वर्षभन्दा बढी जेल जीवन बिताएका थिए। वि.सं. २०३७ साल बैशाख १ गते नेपालमा जनमत सङ्ग्रहअगाडि उनी स्व. गिरिजाप्रसाद कोइरालासँगै आममाफी पाएर बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय भएका थिए। यसैगरी, नेपाली काङ्ग्रेसको अगुवाइमा २०४२ सालमा भएको सत्याग्रहमा उनी अत्यन्त सक्रिय भएर लागेका थिए। कमजोर स्वास्थ्य अवस्थाका बाबजुद कुनै पनि आन्दोलनमा उनको सक्रियता कहिल्यै पनि कमी भएन। २०४६ सालमा भएको जनआन्दोलनमा पनि उनी अग्रपंक्तिमा रहेर सक्रिय रहेका थिए। त्यत्ति बेला उनी आफ्नो गृह जिल्ला बर्दियाबाट गिरफ्तार परेका थिए।

२०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रको जननिर्वाचित सरकारलाई अपदस्त गरेपछि नेपाली काङ्ग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गतेदेखि ३ महिना जनरबन्दमा परेका थिए। निरंकुश राजतन्त्रविरुद्ध सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला भारत र नेपालमा गरी छ वर्षभन्दा बढी जेल जीवन बिताएका राजनीतिकर्मी हुन्।

नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यदेखि महामन्त्री, पार्टीउपसभापति, पार्टीसभापति बनेका कोइरालाले पद, प्रतिष्ठा र पैसाका लागि कहिल्यै मरिहत्ते गरेनन्। पटक-पटक आफ्ना सान्दाजु गिरिजाप्रसाद कोइरालो आफू प्रधानमन्त्री हुँदा मन्त्री पद खाऊभन्दा समेत उनले इन्कार गरे र नेपाली काङ्ग्रेसको पार्टीसंगठनमा क्रियाशील रहे।

२०७० साल माघ २७ मा मुलुकको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारको नेतृत्वमा मुलुकले गएको असोज ३ मा नयाँ संविधान पाएको थियो। हठी र आफ्नो काममा दत्तचित्त हुने स्वभावका कोइरालाले संविधान घोषणाको समय एक साता स्थगित गर्नसमेत मानेनन्। संविधान घोषणापछि संविधानका केही त्रुटि सच्याउनुपर्छ भनेर उनै कोइरालाले संविधान संशोधनको प्रस्ताव अघि सारे। संविधान हतारमा घोषणा गरेर गल्ती गरिएछ भनी आत्मालोचनासमेत गरेको उनका सहकर्मीले बताएका छन्।

सुशील कोइरालाले सबैभन्दा ठूलो त्याग निष्ठाको राजनीति हो। नेपाली काङ्ग्रेसका संस्थापक नेता बिपि कोइरालाले अंगिकार गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादका आदर्शलाई उनले जीवनपर्यन्त पछ्याइरहे। तर सिंगो पार्टीकाई बिपिको आदर्शमा हिँडाउन सकेनन्। उनी निष्ठावान भए तर उनका सहकर्मी निष्ठावान हुन सकेनन्। २०४६ सालयता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्ग्रेसका धेरै नेतालाई डामेर जेल पठाएको छ।

आफू सभापति निर्वाचित भएपछि लामो समयसम्म पनि उनले नेपाली काङ्ग्रेसका भातृ संगठनलाई पूर्णता दिन सकेनन्। उनी निरीहजस्ता बने। संविधान घोषणा भएपछिको प्रधानमन्त्रीको निर्वाचनमा कोइरालाको उम्मेदवारी अत्यन्तै आलोच्य बन्यो। अघिल्लो दिनसम्म प्रधानमन्त्रीको उम्मेदवार नबन्ने उनको अडान एकाएक रातारात किन फेरियो, कुन आकाशवाणीबाट उनी प्रधानमन्त्रीको उम्मेदवार बने, आदि प्रश्नले जीवनको अन्तिम कालमा उनलाई निकै आलोच्य बनायो।

व्यक्तिको मृत्युपछि उनको गुनगान गाउने हाम्रो पूर्र्वीय संस्कार छ। जिउँदो हुँदा उछितो काढ्ने मरेपछि अमृत वषा गर्ने परम्परा सुशील कोइरालाको अवसानपछि पनि देखिँदैछ। उनी देवत्व ग्रहण गर्ने व्यक्ति होइनन्। उनमा पनि राम्रा र नराम्रा गुण थिए तर नराम्राभन्दा राम्रा गुणले उनलाई अविस्मरणीय बनाएका छन्। विशेष गरेर राजनीति गर्ने व्यक्ति पारदर्शी हुनुपर्छ भन्ने लोभलाग्दो पाठ उनले देखाएर गएका छन्। त्यसमाथि सरलता, त्याग र निष्ठाको राजनीति उनको व्यक्तित्व झल्काउने बेदाग जलप हुन्। विभिन्न आस्था र विचारबाट चारतिर फकेका नेता र दललाई एक ठाउँमा ल्याएर संविधान घोषणा गराउन नेतृत्वदायी भूमिका खेल्ने उनको कार्यशैली प्रेरणादायी छ। त्यसभन्दा ठूलो पाटो नेपाली राजनीतिले पाएको उनको सादगी जीवन हो। राजनीतिलाई ऐस, आराम र मागी खाने धन्दा बनाएर दुर्नाम भएका बेला उनीमात्र नेपाली राजनीतिको अपवादका पात्र बने। बिडम्बना नै मान्नुपर्छ, आफूलाई सर्वहाराको नेता भन्नेहरू उच्च पदमा पुगेपछि करोडौं सम्पत्तिको मालिक बनेर निस्केका छन् तर पुँजीवादी पार्टीभनिने नेपाली काङ्ग्रेसका नेता सुशील कोइराला र सन्त नेता कृष्णप्रसाद भट्टराई सर्वहारा भएर निस्के। सुशील कोइराला डेराबाट डेरामै सर्ने र डेरामै मर्ने असली सर्वहारा हुन्। डेराबाट घर, घरबाट महल हुँदै अत्यन्त विलासी जीवन बिताउने कम्युनिष्ट नेताहरू सर्वहारा वर्गमा प्रतिनिधि पात्र हुन् भनेर कसरी पत्याउन सकिन्छ –

सुशीलको निधनले नेपाली राजनीतिले एउटा शालीन व्यक्तित्व गुमाएको छ। जीवनभर लोकतन्त्रप्रति निष्ठा, सरल र सादगीपूर्ण जीवन, निजी सम्पत्त्रि्रति अनाशक्ति, व्यक्तिगत जीवनप्रतिको सम्पूर्ण मोह त्याग गर्ने व्यक्तित्व सुशील दादाको अमूल्य पुँजी हो। त्यसका अलावा उनमा कोइराला परिवारलाई व्यवस्थापन गरेर राख्न सक्ने खुबी थियो। अब कोइराला परिवारको लिगेसी को बन्ने भन्नेबारेमा द्वन्द्व पनि हुन सक्छ। नेपाली काङ्ग्रेस आजसम्म परिवारवादबाट त्यत्ति टाढा जान सकेको देखिँदैन। यसको सही व्यवस्थापन काङ्ग्रेसजनले गर्नुपर्छ। कोइरालाको निधनपछि यति बेला शेषनागलेझैं कोइरालाको बखान गर्ने हाम्रा नेताहरूले निष्ठाको राजनीति गर्दै सादगी जीवन जिउन र निजी सम्पत्तिको मोह त्यागमात्र गर्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने थियो।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width