नारीवादी विर्मश र नेपाली समाज

yuwarajpoudel युवराज पौडेल
मंसिर १२, २०७६

आजभोलि केटालाई केटी मिलाउनै धेरै गाहे भयो। पहिले केटीहरुको सङ्ख्या धेरै थियो, तर पछि गएर अवैध ढङ्गले भ्रुण पहिचान गराउने र भ्रुण पतन गराउने धन्धाका कारण थुप्रै छोरीहरु नजन्मदै मर्नुपर्यो।

मलाई कीर्तिपुरमा एम.फिल.को अन्तिम सेमिस्टरमा के विषयमा शोध गर्ने भन्ने समस्या आइपर्यो। मलाई अरु विषयमा भन्दा बढी रुचि नारीवादी साहित्यको विश्लेषण गर्ने कुरामा थियो। त्यसको लागि मैले नारीवादसँग सम्बन्धित थुप्रै सामग्रीहरु पनि जोडे र अध्ययन पनि गरेँ। तर एक दिन मसँगै पढ्ने एक जना महिला सहपाठी साथीले ‘के हो पुरुष भएर पनि नारीवादी अध्ययन गर्ने’ भन्दै छेड हानेर भन्नुभयो र अरु केही महिला साथीहरुले पनि त्यस कुरालाई हाँसो मजाक जस्तो गरी उहाँकै समर्थन गर्नुभयो। उहाँहरुको कुरा ससर्ती हेर्दा सामान्य देखिए पनि त्यो कुराले मलाई निकै गम्भीर बनायो। मैले कतै यो विषय रोजेर गल्ती त गरेको छैन भन्ने लाग्यो। अन्त्यमा, मैले त्यो विषयलाई त्यत्तिकै छाडेर ‘साहित्यको समाजशास्त्रीय अध्ययन’ मा शोध गरेँ। औपचारिक शिक्षाको उपल्लो तहमा अध्ययन गर्ने महिलाहरुमा त यस्तो चेतना छ भने आम कुनाकन्दरामा बस्ने महिलाहरुमा पितृसत्ताको प्रभाव कस्तो होला भन्ने चिन्ताले त्यतिबेला म केही दिनसम्म बिथोलिएको थिएँ।

मेरो एक जना आफन्त दाजु जसले विश्वविद्यालयमा पढाउनुहुन्छ। उहाँका दुईओटी छोरी भएपछि अर्को सन्तान पनि छोरी नै जन्मिइन्। एकदिन कुराकानीको सिलसिलामा दाइलाई मैले सोधेको थिएँ, ‘किन तीनओटी छोरी जन्माउनु भएको? ’ दाजुको उत्तर थियो, ‘भाउजुले छोरा नभई हुँदैन भनी, त्यसैले म यो निर्णयमा पुग्न बाध्य भएँ।’ खास कुरो के भएको रहेछ भने डाक्टरले छोरो नै हुन्छ भनेका तर जन्मने बेलामा छोरी जन्मिएको रहेछ। मैले फेरि भाउजुलाई त्यस्तो छोरो नजन्माई नहुने के परेछ नि भनेर दाजुलाईसोध्दा दाइ भन्नुहुन्थ्यो, ‘भाउजुलाई पनि भाउजुकी आमाले बढी दबाब दिनुभयो रे’। विश्वविद्यालय तहमा पढाउने मेरा दाजुको बाध्यता देखेर म अवाक् भएँ।

त्यस्तै, मेरा छिमेकी भाइलाई पहिलो सन्तान छोरी जन्मेपछि दोस्रो सन्तान छोरी नै हुन्छ कि भन्ने चिन्ताले सताएपछि कुन्नि कुन ठाउँमा हो छोरा वा छोरी छुट्याइदिन्छ भन्ने थाहा पाएर गएछन् रे। डाक्टरले साङ्केतिक रुपमा निराशाको भाव व्यक्त गर्दै छोरी नै छन् भनेपछि ‘एबोर्सन’ गराएछन्। त्यसमा पनि बुहारीकै बढी दबाब भएको कुरा छिमेकी भएका नाताले बुझ्न मलाई गार्हौ थिएन।

त्यस्तै, एक दिन मेरा एक जना छिमेकी बुबाले ‘छोराको बिहे गर्न खोजेको केटी नै पाइएनन्’ भन्नुभयो। मैले आफ्ना चिनेजानेका सबै इष्टमित्रहरु, साथीभाइहरुसँग कुरा गरेँ। तर सबैले ‘अहिले त केटी नै पाइन छाडे, सबै केटाको बिहे गर्नुपर्यो मात्रै भन्छन्, केटीको बिहे गराइदिनु पर्यो भनेर कोही आउँदैनन्’ भन्नुभयो। मैले यसैबीचमा धेरै बिहेको कारोबार गराइदिने परिचित अनुहारहरुसँग पनि कुरा गरेँ तर उहाँहरुले पनि यस्तै भन्नुभयो, ‘आजभोलि केटालाई केटी मिलाउनै धेरै गाहे भयो। पहिले केटीहरुको सङ्ख्या धेरै थियो, तर पछि गएर अवैध ढङ्गले भ्रुण पहिचान गराउने र भ्रुण पतन गराउने धन्धाका कारण थुप्रै छोरीहरु नजन्मदै मर्नुपर्यो। ’ यी प्रसङ्गले मलाई तिनै आफन्त दाजु र छिमेकी भाइको सम्झना आयो। यी घटनापछि मलाई नेपालमा महिला समानताको कुरा फगत नारा र गफमात्र रहेछ भन्ने गहिरोसँग अनुभूति भयो। नारीवादका चर्का भाषण गर्नेहरुप्रति पनि भित्रभित्रै दया लागेर आयो।

नारीवाद भनेको नारी र पुरुषलाई समान ठान्ने एउटा आन्दोलन हो। नारी समानता र सशक्तीकरणका पक्षमा आवाज उठाउनुलाई नै नारीवाद मानिन्छ। यो पश्चिमा संसारबाटै प्रवेश गरेको आन्दोलन हो। सर्वप्रथम बेलायतमा महिलालाई भोट हाल्न कानूनी रुपमा अधिकार दिनुपर्छ भन्ने आवाज उठाउँदै महिलावादी आन्दोलन देखापरेको हो। यसमा पछि विभिन्न धारा, प्रवृत्ति र आन्दोलनहरु जोडिँदै गए। नारीवादी मूल प्रवृत्तिभित्र पनि उदार नारीवाद, र्याडिकल नारीवाद, माक्र्सवादी नारीवाद र समाजवादी नारीवादजस्ता भिन्न धारहरु देखापरेका छन्।

यी नारीवादी धारहरुको मूल ध्येय नारीलाई पितृसत्ताको उत्पीडनबाट मुक्ति दिलाउनु नै हो तापनि पुरुष, समाज, राज्य, यौन, सौन्दर्य आदि सम्बन्धमा यिनीहरुकै बिचमा पनि थुप्रै मतभिन्नताहरु छन्। मूलतः नारीवादले पितृसत्ताले महिलालाई ‘यौन वस्तु’ का रुपमा हेर्छ भन्ने मान्यता राख्दै महिलामाथि हुने सबै प्रकारका दमन र विभेदका विरुद्धमा आवाज उठाउँछ। यसले हजारौ वर्षदेखि पुरुषले महिलामाथि घरपरिवार, समाज र राज्यमा समेत उत्पीडनको माखेसाङ्लो खडा गरेको ठान्छ।

दक्षिण एशियाली नारीवादी अभियन्ता तथा लेखक कमला भसिन भन्छिन्, ‘पितृसत्ता एउटा मानसिकता र सामाजिक प्रणाली हो, जसले पुरुषहरु उत्तम हुन्छन् र महिला पुरुषभन्दा निम्न र निकृष्ट हुन्छ भन्ने धारणा राख्छ। ’यसले पितृसत्ताले खडा गरेका उपरी संरचनाहरुका विरुद्धमा आन्दोलित अभियान हो, जसले महिला समानता, स्वतन्त्रता र सहअस्तित्वको कुरा गर्छ। यो यौनिक विषय नभएर जेन्डरको विषय हो। प्राकृतिक रुपमा महिला, पुरुष र तेस्रो लिङ्गी हुने कुरालाई कसैले बदल्न सक्दैन। प्राकृतिक रुपमा त सबै समान नै छन्, सबैको आआफ्नो भूमिका प्रकृतिले दिएको छ।

जन्मिसकेपछि छोरीले पढ्नु हुँदैन, छोरी जान्ने हुनु हुँदैन, बाहिरको काम पुरुषले गर्ने हो, महिलाले बच्चा जन्माउने र घरको सबै काम गर्ने हो भनेर समाजले जुन विभेदपूर्ण भूमिका दिएको छ, त्यो समाजले दिएको विषय हो। नारीवादले यही सामाजिक विभेदका विरुद्ध लक्षित अभियान वा आन्दोलन हो। प्राकृतिक यौनिकता नभएर महिला भएकै कारणले कमजोर देख्ने सामाजिक प्रणाली र यसले खडा गरेका विमर्शहरुबाट नै लैङ्गिक विभेदको सुरुवात भएको हो। यो सामाजिक दृष्टिकोणको विषय हो र सामाजिक दृष्टिकोण बदलेर नै यसको अन्त्य गर्न सकिन्छ।

मानव इतिहासको दसौँ हजार वर्षसम्म नारी र पुरुष समानतापूर्वक बसेका थिए। आदिम साम्यवादी युगमा पुरुष र महिलाका बीचमा कुनै विभेद थिएन। जब निजी सम्पत्तिको उदय भयो, त्यसपछि पुरुषहरुको सम्पतिमाथिको अधिकार स्थापित भयो। आफूले जीवनभर कमाएको सम्पत्ति आफ्नो मृत्युपछि कसले उपयोग गर्ने भन्ने प्रश्न उठेसँगै विभेदको चक्र सुरु भयो। परिवार र निजी सम्पत्तिको प्रारम्भ भएपछि मात्र विभेदका शृङ्खलाहरु सुरु भएका हुन्। सामन्तवादी युगबाट यहाँसम्म आइपुग्दा नारीवाद आफ्नै तरीकाले विश्वभरि फैलियो।

नेपालमा पनि भर्खरभर्खर नारीवादी चेतनाको सुरुवात भएको हो भन्दा फरक नपर्ला। लोकतन्त्र प्राप्तिपछि मात्र महिला अधिकारका विषयहरुले बढी चर्चा पाएका हुन्। नेपाली नारीवादमा थुप्रै अधिकारकर्मी, लेखक, साहित्यकार, राजनीतिज्ञहरु जोडिनुभएको छ नेपाली नारीवादी आन्दोलन लरखराउँदै हिँड्ने कोसिस मात्र गर्दै छ। प्रारम्भबाटै यसमा थुपै समस्याहरु देखिएका छन्। नेपाली नारीवादी आन्दोलन र अभियान मूलत शहरकेन्द्री देखिएको छ। मूलधारका सम्भ्रान्त र शिक्षित महिलाहरुले सबैभन्दा बढी नारीवादको वकालत गरिरहेको अवस्था छ। तिनले कर्णालीका महिलाका पीडा अनुभूत गर्न सक्दैनन्। तिनले छाउपडी अनुभूत गर्दैनन्, गरिब महिलामाथि हुने उत्पीडनको स्वर तिनले बोल्नै सक्दैनन्। ती राजनैतिक रुपमा केही चर्चामा आएका बलात्कारका मुद्धामा मिडियामा ‘सेलिब्रेटी’ बन्न दौडधुप गर्छन् तर सुदूर गाउँमा बस्ने महिलाहरुका पीडाको वास्ता गर्दैनन्।

कतिपयले नारीवादीको बिल्ला भिरेर पुरुषको ठाडो विरोध गर्छन्, जहाँकि महिला उत्पीडनको विषय व्यक्ति पुरुषको नभएर पुरुषवाद प्रवृत्तिको विरोध हो भन्ने बुझ्दैनन वा बुझ्न रुचि राख्दैनन्। सबै पुरुष पितृसत्ताका समर्थक हुँदैनन् र सबै महिला पितृसत्ताका विरोधी पनि हुँदैनन् भन्ने तथ्यलाई नारीवादका उग्र कुरा गर्नेहरुले बिर्सन्छन्। दूर दराजमा पितृसत्ताका अस्त्रहरु कसरी महिलामाथि दमनमा उत्रिएका छन् भन्ने कुरा तिनले बाँच्ने संसारले देख्दैन्।

कतिपय त यस्ता नारीवादी पनि छन, जसले दिनभरि राजधानीका तारे होटलमा आइएनजीओको डलरका लागि सेमिनारमा ‘र्याडिकल फेमिनिज्म’ का कार्यपत्र प्रस्तुत गर्छन्, तर व्यावहारिक जीवनमा पुरुषभन्दा पनि बढी पितृसत्तात्मक छन्। नारीवादीहरुले नारीवादी आन्दोलनमा पुरुषहरुले खेलेको भूमिकालाई त्यति महत्त्व दिँदैनन्। अहिले नारीवादी अभियानलाई सघाउने पुरुषहरुको विश्वव्यापी सञ्जाल ‘मेन इङ्गेज’ नै बनिसकेको छ भन्ने तथ्यलाई तिनीहरुले बुझ्नु जरुरी छ। नेपालमा पनि कृष्ण धरावासी, सञ्जिव उप्रेती जस्ता थुप्रै नारीवादी लेखक छन्, जसले आफूलाई नारीवादी लेखक भन्दा गर्व गर्न सक्छन्।

महिला उत्पीडन सामाजिक विभेदको विषय हो। सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक दृष्टिकोणमा महिलालाई कमजोर ठान्ने संरचनालाई बदल्नु नै नारीवादको वास्तविक मर्म हो। अधिकारका मात्र चर्का कुराले नारी समानता प्राप्त हुँदैन। सामाजिक डिस्कोर्सलाई व्यवहारमै बदल्ने अभियानले मात्र महिला समानता प्राप्त हुन्छ। शिक्षा, रोजगार र अवसरको सिर्जना गरी महिलालाई आत्मनिर्भर नबनाएसम्म नारीवादी आन्दोलन फगत सिद्धान्तमात्रै हुन्छ।

महिला आत्मनिर्भर बन्दै जाने हो भने सम्पत्तिको एकाधिकार जमाउने पुरुषवाद आफै कमजोर हुन्छ। छोरा भएन भनेर रुँदै मन्दिर धाउने महिलाहरु पितृसत्ताका सबैभन्दा बलिया प्रतिनिधि हुन्। घरपरिवारमा बुहारीलाई ससुराले माया गरे पनि सासूले नै उत्पीडनमा पारेको कथा भानुभक्तदेखि रुद्रराज पाण्डेसम्मले साहित्यमा अभिव्यक्त गरि नै सकेका छन्। पुरुषलाई दोस्रो विवाह गर्न सबैभन्दा बढी उक्साउने पनि पुरुषभन्दा बढी महिला नै हुन्छन्। हामी ‘लोग्नेको कमाइ भएपछि आफूलाई नकमाए पनि हुन्छ’ भन्ने मान्यता राख्ने महिलाहरुको बाहुल्यता भएको समाजमा छौँ। तीजमा लोग्नेका लागि महिला व्रत बस्नुपर्ने बाध्यता आजका कुनै पुरुषले राख्छन् होला भनेर पत्याउन सकिदैन। यसैले प्रवृत्तिको विरोध गर्ने हो, व्यक्तिको विरोध गर्ने होइन। फेरि विरोधका लागि मात्र र ‘पपुलिष्ट देखिनका लागि मात्र जे मा पनि पुरुषको विरोध गर्ने ‘र्याडिकल’ प्रवृत्तिले पनि कसैको हित गर्देन। हजारौ वर्षदेखिको उत्पीडनको अन्त्य पुरुषको विरोध गरेर भन्दा पुरुषलाई साथमा लिएर नै गर्न सकिन्छ भन्ने कुरा पनि समावेशी महिलावादीहरुले बुझ्नुपर्छ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालको राजनीति र जनताको अवस्था

सार्कलाई पुनर्जीवन दिने चिन्ता

पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

हाम्रो परिचय क्षेत्र हिमवत्खण्ड नेपाल

जनता र नेता बीच अन्तर

प्रमुख समाचार

कावासोतीमा बस पल्टियो सेनाका १७ जना घाइते

थप प्रमुख समाचार

त्रिपिटक बाचन हुने

धनुषामा बम बिस्फोट ३ को मृत्यु ३ घाइते

सेल्फी किङ्ग पोष्टर र गीत सार्वजनिक