धम्म’ को सट्टा ‘धर्म’ शब्दको प्रयोग किन?

सन्दर्भः २५६३ औं बुद्ध जयन्ती

डा. गेहेन्द्रमान उदास “पोखरेली”
जेठ ३, २०७६

‘धम्म’ शब्द बौद्ध वाङ्मय, पाली भाषा, गौतम बुद्धको शिक्षा र जीवन शैलीमा अरु धर्मले प्रयोग गरेको परम्परागत प्रचलित ‘धर्म’ भन्दा धेरै फरक छ। आफ्नै मौलिकता र अस्मिताको गहिराई र गरिमा भएको शब्द हो “धम्म”। ‘धम्म’ शब्दमा गौतम बुद्धले अथक प्रयत्न गरेर अवलोकन, अध्ययन, अनुभूति र अनुसन्धान गरी मनुष्यको जीवन जीउनका लागि शाश्वत (दिगो वा अन्तहीन) शान्ति र सन्तुष्टमय सुखी सामाजिक जीवन शैलीको मार्ग पत्ता लगाएर प्रवर्तन गर्नु भएको जीवन–दर्शन हो। त्यसैले ‘धम्म’ शब्दमा सामाजिक जीवन शैलीसँग आबद्ध संस्कार, संस्कृति, विधि–व्यवहार सदाचार सद्गुण आदि निहित भएको वा भरिपूर्ण भएको छ।

अध्यारोमा बत्ती बाल्यौँ भने, त्यसको ज्योतिले टाढा वा नजिकका अँध्यारोमा रहेका सबै वस्तुहरु देखिन्छन्, चिनिन्छन्। त्यस्तै गरेर धम्म शब्दलाई गहिराइमा बुझ्न बोध गर्न सक्यौँ भने व्यक्तिगत जीवन शैली मात्र होइन, परिवारको, टोलछिमेकको र राष्ट्रकै मात्र पनि होइन, सम्पूर्ण मानव जीवनको सामाजिक जीवन शैली शाश्वत शान्तिमय र सन्तुष्टमय सुखी बन्न सक्छ। अनित्य यो भवसागरमा बाँचुञ्जेल सम्म बाँच्नुको महत्व र महानता बोध गर्न सकिन्छ।

अब परम्परागत ‘धर्म’ शब्दको अर्थ र संस्कार–सांस्कृतिबारे छोटो खोजतलास (अनुसन्धान) गरौँ। सबभन्दा पहिले ‘धर्म’ लाई हिन्दू धर्मले दिएको अर्थ संस्कार र संस्कृतिको कुरा गरौँ। करिब पाँच हजार वर्ष पहिले हिन्दू धर्मलाई शुरुमा वैदिक धर्म अर्थात वेदमा आधारित धर्म भनिन्थ्यो। गौतम बुद्धको ‘धम्म’ को सट्टा वैदिक धर्म शब्द नै प्रयोग गर्नु भनेको धम्मको अर्थलाई विस्थापित गर्नु हो। किनभने हिन्दू वाङ्मयमा धर्मको अर्थ स्वर्ग प्राप्त गर्न सकिने लोकविश्वास भएको पुण्यकार्य र ईश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रविहित कर्म भनिएको छ। धर्मद्रोही भनेर नास्तिक, असुर, राक्षस पनि भनिएको छ। (नेपाली वृहत शब्दकोशः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, २०५५) हिन्दूधर्मावलम्बीहरुमा अहिले धर्मको अर्थ, संस्कार–संस्कृति र कर्मकाण्ड यही नै भइरहेछ।

यही अर्थ, संस्कार–संस्कृति र धार्मिक कर्म–काण्ड, अरु धर्ममा पनि हुवहु यही विश्वास र व्यवहार अपनाइरहेछ। अँग्रेजीमा धर्मलाई रेलिजन भन्दछन्। रेलिजन को अर्थ अक्सफोर्ड डिक्सनरीमा यस्तो दिएको छ – (ईश्वर अथवा देवताहरुको अस्तित्वमा विश्वास गरी ईश्वर देवताहरुसँग सम्बन्धित भएको पूजा प्रार्थनाहरु जस्तै यहुदी, क्रिश्चियन, इस्लाम र अरु संसारका धर्महरुमा गरिन्छ। ओर्सिपको नेपाली भाषामा ‘पूजा–प्रार्थना’ हो। नेपाली राजकीय वृहत शब्दकोशले ओर्सिप अर्थात पूजाको अर्थ देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रशन्न पार्न, अनुकुल पार्न वा पुण्य आर्जन गर्न श्रद्धा भक्ति पूर्व गरिने कार्य भनिएको छ। उक्त अक्सफोर्ड डिक्सनरीले पनि ओर्सिपको यस्तै मिल्दोजुल्दो अर्थ दिएको छ, : जस्तै (ईश्वर अथवा देवताहरुलाई प्रार्थना गरेर, अरुसँग गीत (भजन) आदि गाएर मनाइने उत्सव)

तर ‘धम्म’ को अर्थ, संस्कार–संस्कृति, उपरोक्त अन्य धर्मको अर्थभन्दा विल्कुल फरक छ। यसलाई महामानव गौतम बुद्धले विल्कुल फरक विचार, बुद्धि र संस्कृतिमा प्रस्तुत गर्नुभएको छ। बौद्धग्रन्थ त्रिपिटिक समेत विभिन्न भाषामा उपलब्ध ग्रन्थ र बुद्धको जीवनशैलीको महान अध्येता, बाबा साहेब डा. भीमराव रामजी आंवेडरले ‘धम्म’ शब्द प्रयोग गर्नुभएको छ। उहाँको मौलिक ग्रन्थको नाम हो (बुद्ध र उहाँको धम्म)

संसारका विभिन्न धर्मले देखाएको सोच–विचार विधि व्यवहार, संस्कार–संस्कृतिभन्दा विल्कुल फरक खालको वैज्ञानिक र लोकको बौद्धिक र करुणा भावको विकास गरी शाश्वत शान्ति र सन्तुष्टमय सुखी जीवन बिताउनका लागि आंम्वेडकरले आफ्नो ग्रन्थ ‘द बुद्ध एण्ड हिज धम्म’ को तेस्रो खण्डमा निम्न जानकारी दिनु भएको छ, जसको सारतत्व यस प्रकार छ।

१.     बुद्धले आफ्नो धम्ममा, आफ्नो लागि केही पनि विशेष स्थान राख्नुभएको छैन। अर्थात ईशा (क्राइष्ट) र पैगम्बर मुहम्मदले आफूलाई ईश्वर अर्थात खुदाको दूत भनेका छन् भने राम तथा कृष्ण आदि अवतारी देवताहरुले परमात्मा विष्णुको अवतार भनेका छन्। तर बुद्धले ईश्वरत्वको त्यस्तो दावी कहीँ गर्नुभएको छैन। “म मेरा माता पिताको प्राकृत पुत्र हुँ” मात्र भनेका छन्।

२.     बुद्धले कसैलाई कहिल्यै मुक्ति दिने (मनोकामना पूरा गर्ने) आशा–आश्वासन दिनुभएन उहाँले आफूलाई मार्ग–दर्शक वा पथ–प्रदर्शक वा बाटो देखाउने मात्र हुँ भन्नु भयो। मोक्षदाता होइन भन्नुभएको छ। अर्थात ईसाई धर्मले ईसालाई ईश्वरको पुत्र हुँ भनी स्वीकार नगरेसम्म, र इस्लामहरुले मोहम्मदलाई खुदा (ईश्वर) ले पठाएको दूत हो भनी स्वीकार नगरेसम्म, हिन्दूहरुले कृष्ण आदि अवतारवादीहरुलाई विष्णु (ईश्वर) हो भनी विश्वास नगरेसम्म कसैलाई पनि मोक्ष (मुक्ति) प्राप्त हुँदैन भने जस्तै मोक्ष दाता हुँ भनी बुद्धले दावी गरेका छैनन्।

३.     बुद्धले आफ्नो वा आफ्नो (बु्द्ध) धम्म शासनका लागि कुनै प्रकारको अपौरुषेयता (अलौकिक) कुराको दावी राख्नु भएन। उहाँको धम्म मानवको लागि मानवले आविष्कार गरेको (मानवतावादी) धम्म हो भन्नु भएको छ।

यसै सन्दर्भ अन्तरर्गत श्रद्धेय भिक्षु अशोघोषका भनाइहरु पनि प्रस्तुत गर्ने अनुमति माग्दछु। उहाँले लेख्नुभएको छ, “यहाँ बुद्ध धर्म? (धम्म) को बारेमा मेरो दृष्टिकोण प्रस्तुत गर्दछु। निम्नलिखित तथ्यहरु बुद्धवादका विशेषता हुन्।

(१)    देव–ब्रह्मादि केही अमानवीय शक्तिको सहायता विना आफ्नै उत्साह र लगनद्वारा स्वतन्त्र विकास हुनुपर्छ,

(२) अनात्मवाद अर्थात यो शरीरमा अथवा बाहिर सदाकालिक स्थायी केही वस्तु छैन,

(३) अनिश्वरवाद

(४) अरहस्यवाद

(५) जाति र वर्गभेद हीन

(६) संसारमा मुख्य प्रश्न खाद्य

(७) समान जीविका

(८) सारा संसार एउटै परिवार जस्तो हुनुपर्छ भन्ने भावना

(९) युद्धको नाश गरेर शान्तिको स्थापना

(१०) बहुजन हिताय बहुजन सुखायको उद्देश्यले काम गर्नु, गराउनु, (११) स्वतन्त्रता मानव मात्रको अमूल्य वस्तु सम्झनु।

उपयुक्त एघारओटा कारण बुद्ध धर्म? (धम्म) को विशेष अंग हो। (साभारः ‘भिक्षु अश्वघोषका छानिएका रचनाहरु’, सम्पादक कोण्डन्य– प्रकाशक बुद्धविहार भृकुटी मण्डप, काठमाडौं, वि.सं. २०७५ पृ. ११–१२)

यसरी धम्म र धर्मको बीचमा फरक अर्थ, संस्कार–सांस्कृति र जीवन शैलीको यथार्थता भए पनि आजकाल बौद्धवादीहरुले समेत धम्म शब्दलाई प्रयोग नगरी धर्म शब्दलाई प्रयोग गर्दछन्। धम्म शब्द बौद्धवाङ्मयमा र पालिभाषामा मौलिक र पहिचानयुक्त शब्द हो। तर विद्वानहरुले समेत यो कुराको विचार नगर्नु वडो आश्चर्यको कुरा छ।

मज्झिम निकायमा गौतम बुद्धले ‘धम्म’ शब्द नै प्रयोग गर्नुभएको छ जस्तै ‘कुल्लुपमं भिक्खने धम्म देखेमि नित्थरणन्थाय नागहणाय”, त्रिरत्न बन्दनामा ‘धम्मं’ शरण गच्छामी’ भन्ने र ‘धम्मपद’ पुस्तकलाई पनि ख्याल नराखेर यो महत्वपूर्ण कुरालाई संस्कृत भाषाका विज्ञहरुको सङ्गत वा प्रचारले प्रभावित भएर ‘धम्म’ को सट्टा ‘धर्म’ को प्रयोग गर्दछन्। यहाँसम्म कि डा. अम्वेडकरको द बुद्ध एण्ड हिज धम्म ग्रन्थको हिन्दीमा अनुवाद गर्दा अनुवादक श्रद्धेय भदन्त आनन्द कौसल्यायन र बम्बई सिद्धार्थ प्रकाशन ई. सं. १९९१ को पाँचौ संस्कारणले समेत ‘भगवान बुद्ध और उनका धर्म? ’ भनी धम्मको ठाउँमा सम्पूर्ण किताबमा ‘धर्म’ शब्द नै प्रयोग गरेका छन्। त्यसरी नै नेपालीमा अनुवाद गर्दा पनि अनुवादक ललितरत्न शाक्यज्यूले र प्रकाशक दायक सभा धर्मशीला, बुद्ध विहार, पोखराको दोस्रो संस्करण समेतमा ‘भगवान् बुद्ध र उहाँको धर्म? ’ भनी धम्मको सट्टा धर्म शब्द नै प्रयोग गरेका छन्। विद्वान बौद्ध र प्रकाशकहरुले पनि यी सबै कुराको ख्याल नगर्नु बडो आश्चर्यको कुरा भएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width