जसरी एक मेसिन मजबुत हुनुको लागि सबै पार्टपूर्जा पक्की र सक्कली हुनुपर्छ, त्यसै गरी देश मजबुत हुनको लागि व्यवस्था सक्कली हुनु पर्छ अनि व्यवस्थालार्ई चलाउने व्यक्ति पनि असल हुनुपर्छ। तर हाम्रो देशले त्यस्तो अवसर पाउन सकेको छैन। यत्रो लामो समयसम्म सुव्यवस्था नपाउनु नेपाल र नेपालीको दुर्भाग्य नै हो। आज देशको शासन व्यवस्थामा नै क्यान्सर लागेको जस्तो अनुभूति हुन लागेको छ। प्राकृतिक हिसाबले सुन्दर देश नेपाल व्यवस्थाको बेथितिले चिन्ताजनक स्थितिमा छ। देशमा विदेशीको चलखेल बढ्दैछ।
चार जात ३६ वर्णको फुलवारी आज फूलै नफुल्ने मरुस्थल सावित भएको छ। हो पनि साँच्चै नेपाली सपुत भनेर चिनिने ती योद्धा आज आफ्नो आफ्नो स्वार्थमा भुलेका छन्। सबैको आफ्नो आफ्नो अभिमान मात्र बढेको छ। छोरा भएर नेपालआमाको सेवा गर्ने त एक प्रतिशतको पनि भावना छैन। आज ती आमा मदौरु जस्ती भएर सुतिरहेकी छन्। ती सपुत नेताहरूमध्ये धेरै जसो कपुत बनी ती आमालाई लुछिरहेका छन्। आमाको सिङ्गो काख सानो सानो चोक्टा पारी त्यसमाथि आफ्नो खुसीमा विराजमान हुने सोच सबैको छ। त्यस्तो सोच भएकाहरूले आमा जस्तो पवित्र शब्दको अपमान गरेका छन्। के आमा शब्दको अपमान भएको छैन – आमालाई मदौरु बनाएका छैनन् – ती नेताहरूले ती आमाको छातिमा चार चार वर्षसम्म कपटी पासा खेलिरहेका छैनन् – जवाफ के छ तिनीहरूको – सबैलाई कुर्ची नभई नहुने। अचेल त झन् गणतन्त्रको झ्याली पिटिन्छ। गणतन्त्रको अर्थ सबै जनताप्रति समान व्यवहार गर्नु भनेर बुझाइन्छ। तर त्यही वचनलाई व्यावहारिकतामा ढाल्ने कस्ले हो ? कुनै जातिलाई उचाल्ने कुनै जातिलाई पछार्ने नीतिले देशलाई गणतन्त्रमा लैजाँदै कि इच्छातन्त्रमा लैजाँदै छ। सोच्नुपर्ने कुरा छ।
देशको विकासको अर्थ सबै अशिक्षित पिछडा वर्गलाई उचित शिक्षादीक्षा दिई जागरुक बनाई प्रगति पथमा अगाडि लैजाने र बुद्धिजीवी सर्कलको लेभलमा पुर्याउने अभियान बनाउनु हो। तर त्यसकोे सट्टा यहाँ केही बुद्धिजीवीलाई टाउको निमोठेर तल पछार्ने प्रवृत्ति बनेको छ। अनि शोषित निमुखा माथि शासन कायम राखी एक आपसमा लडाउने प्रवृत्तिको सृजना भएको छ। नाटकीय रूपमा पिछडा जातिलाई माथि उठाउने नाममा कुनै वर्गलाई पछार्नु भनेको स्वार्थ र संघर्षको बीउ त्यसै दिनबाट रोप्न लागेको सिद्ध हुन्छ। उत्थानको नाममा आफ्नो शासनको वर्चस्व कायम गर्न खोजिएको छ। पिछडा निमुखा वर्गलाई उचित व्यवस्था मिलाई देश भरका सबै जातिलाई एक सूत्रमा बाँधी समान व्यवहार गरी देशको सामाजिक आर्थिक, बौद्धिक विकासलाई क्रमिक रूपमा निःस्वार्थ भावले विकास पथमा लैजानु नै प्रमुख दायित्व हो। तर त्यस्तो हुन सकेको छैन।
कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृत्ति देश टुक्राउने खेल खेलाउनु हो। लोकतन्त्र र गणतन्त्रको अर्थ देशका जनताको स्तर मापन गरेर बुद्धिजीवी वर्गको स्तरमा पिछडा वर्गलाई क्रमिक रूपले विकास गराउँदै सबैलाई उच्च मापदण्डमा पुर्याउनु हो। सानो बच्चालाई एकै चोटि ठूलो बनाउने मनसायले खाना कोचाई कोचाई खुवाएर कदापि ठूलो हुन सक्दैन बरु त्यो बच्चा विरामी बन्ला। त्यस्तै प्रकारले एकै पटकमा “छुमन्तर कि बाचा” गरेर ती अशिक्षित निमुखा गरिव वर्गलाई कहिले पनि विकासको चरम विन्दुमा पुर्याउन सकिँदैन। त्यसको लागि सबै नेपालीलाई हातेमालो गरी अघि बढ्नु आजको आवश्यकता हो। सबै जाति सबै भाषाभाषी आपसमा हातेमालो गरी अघि बढ्नुको विकल्प छैन। राजनीतिक दलले अँगालेको नारा राम्रो र रूप नराम्रो जस्तो देखिँदैछ। आफ्नो नीतिलाई लागु गर्न देश विकासको स्तरलाई तल झार्नु ठूलो मूखता हुनेछ। सक्षम र दक्ष कर्मचारी तन्त्रलाई सुचारु राख्न नितान्त आवश्यक देखिन्छ। कर्मचारी भनेका मेसिनका पूर्जा हुन्। कर्मचारीको स्तरमा आरक्षणलाई ध्यान दिई बौद्धिक स्तर घटाउनु देश विकासमा अभिशाप सिद्ध हुन सक्ने सम्भावना धेरै छ। त्यसैले काखा र पाखा गर्ने नीति त्यागी तल्लो तहका जनतालाई माथिल्लो स्तरमा ल्याउने फर्मुला अपनाउनुपर्ने आवश्यकता हाम्रो अगाडि छ। जनताको लर्डाई नेताहरूको रजाई हुनु भएन। भूपरिवेष्ठित देशमा समुन्द्री बाटो नजोडिएकाले गर्दा विदेशसँग निर्भर भई तिनीहरूलाई कर तिरी समान भित्र्याउन बाध्य छौं हामी। त्यसमाथि देशभित्रकै संघीय प्रान्तहरूलाई पनि कर तिर्दै आघात गर्ने स्थिति सृजना हुने हो कि भन्ने स्थिति आयो। मधेसमा फलेको धान चामल खानको लागि हिमाली क्षेत्र बस्ने जनतालाई कत्तिको सस्तो पर्ला ? के तिनीहरूले खान पाउलान् ? पहाडको ढुङ्गा, पत्थर, मधेसमा लैजान कत्तिको सजिलो होला ? ती जटिल विषयहरूको गहन सोच विचार विना संघ या प्रान्त बनाउनु पनि भविष्यको लागि अभिसाप हुन सक्छ। मधेस मात्र अलग, पहाड मात्र अलग बनाउनुको अर्थ के हो ? सबै प्रान्तमा पहाड चाहिन्छ, हिमाल चाहिन्छ, मधेस चाहिन्छ, तब मात्र सबैमा नदी नाला, बन जंगल, उब्जाउ भूमि र चट्टान बरावर उपलब्ध हुनेछ। ती सबै वस्तु सबै जनताको लागि अति आवश्यकीय छन्।
नेताहरूलाई जनताहरू सबै समान र मेरा जनता हुन् भन्ने बोध हुनुपर्छ । चाहे काला हुन्, गोरा हुन्, थेप्चे हुन्, चुच्चे हुन्, सबैलाई समेट्न सक्ने भावना नेतामा हुनु पर्छ। मेरो जाति, मेरो रंगको, मेरो पक्षको भनेर जनताहरूलाई टुक्राई शासन गर्ने विचार भएका नेता कहिल्यै पनि सफल हुन सक्दैनन्। एक सक्षम नेतृत्व भएको नेता त्यो हो जसले कुनै पनि जाति, भाषा, रंग वर्णको माने नराखी जनतालाई एक ढिक्कामा बाँधेर राख्न सक्षम हुन्छ। जुन नेताको नेतृत्वमा हिँड्न जनता स्वतःस्फुत प्रेरित भएका हुन्छन्, त्यो नै एक सक्षम नेता हो। जनताको मनभित्र त्यो नेताको नेतृत्वमा परिचालित हुन आंफूभित्र नै कुत्कुत्याएको हुन्छ। कसैको करकापले होइन। ती नेताले मात्र सोच्न र बुझ्न सक्छन् देशको परिस्थिति, हाम्रो समाजको गठन कस्तो छ, टोल, छर छिमेको गठन कस्तो छ, नेपालको माटो, हावापानी कस्तो छ, त्यससँग मिल्ने संविधानको परिकल्पना हुनुपर्छ।
हाम्रो देशभित्र हेरौँ भने नेता जस्तो नराम्रो भए पनि त्यसलाई त्याग्न सक्ने जनताको निर्ण हुँदैन। किनभने सरल सीधासाधा जनताले समाज त त्यता गयो म गइनँ भने एक्लै हुन्छु, छिमेकी त्यता गयो म नगए म त एक्लै हुन्छु, इष्टमित्र त्यता गए म एक्लै हुन्छु, त्यो नेताले धम्की दिएको छ मलाई केही पो गर्छ कि – त्यो त मेरो आफन्त, मेरो जाति, मेरो धर्मको, आदि आदि कुराहरूको दिमागमा भएको दवावले गर्दा आज जनतामा आफ्नो निर्ण गर्ने अधिकार खोसिएको छ। जनता आफै, आफ्नो तर्फबाट स्वतन्त्र हुन सकेका छैनन्। जनता स्वतन्त्र हुने पाठ नसिक्नु अनि नेतृत्व वर्गमा स्वार्थ लुक्नुको कारण देश आज एक्काईसौं शताव्दीमा पनि अविकसित रूपमा नै प्रस्तुत छ। जनतालाई पनि स्वार्थी पाठ सिकाइन छोडिएको छैन। यसको फलस्वरूप देश संघर्षको मोडमा उभिइरहेको छ, विकासको पथमा होइन। सुव्यवस्था नपाउनुको कारण पनि यही हो। यत्रो ४ वर्षसम्म संविधान बनाउन सकेको छैन, ४ वर्षसम्मको छलफल अझै कम परिरहेको छ, यो आर्श्चर्यको कुरा हो। भोलिको पिँढीलाई लाग्ने व्यथा कसैले सोचेका छैनन्। देशलाई रुवाण्डा, सोमालिया, सिरिया जस्तो बनाउने आधारशिलाहरू तयार हुँदैछन्। के सधै हाम्रा पिँढीहरू एक आपसमा लडेर बस्ने हो ?
त्यसैले सबै नेपाली जनता आफैमा स्वतन्त्र हुने पाठ सिक्न जरुरी छ, लहैलहैमा लागेर होइन। आफ्नो चेतनाको कारणले सही के हो गलत के हो छुट्याउन सक्ने हुन जरुरी छ। तब मात्र हाम्रो विकास हुन्छ। हामी मिलेर देशको विकास गर्न सक्छौँ, राम्रो नेता चुन्न हामी सक्षम हुन्छौँ।
तपाईंहरू सबैले आफैलाई प्रश्न गर्नुहोस् के म स्वतन्त्र छु – के हामीले सही नेता चुनेका छौँ – के देश विकास र हाम्रो विकास यही प्रक्रियाले सम्भव छ ? के यी नेतालाई पछ्याएर हाम्रो भविष्यका सन्ततिहरूको सुख शान्तिसँग जिउन पाउने अधिकार, व्यवस्था पक्का हुनेछ ? तपाईंको आत्माले नै खुद जवाफ दिनेछ, तपाई सही हुनुहुन्छ या गलत तपाईं आफै छुट्याउनुहोस्। तपार्इंको आत्माबाट निस्केको जवाफको पछि हिँड्नु होस्। पक्का देश विकास, जनताको विकास हुनेछ र हाम्रो भविष्यका सन्ततिहरू एक आपसमा मिलीजुली खुसीसँग रहने छन्। देश प्रगतिको शिखरमा उभिनेछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०