दुःखीका आँसु लाग्लान कि नलाग्लान् ?

जीवन बराल सङ्घर्ष जीवन बराल सङ्घर्ष
जेठ २४, २०७७

यतिबेला देश अस्तव्यस्त छ । जनता रोगले भन्दा भोकले मरिरहेका छन् । यही बेला नेपालको राजनीति भने विदेशीको जालोमा फट्फटाई रहेको छ । नेपालका नेता विदेशीको चाकडी गरेर हामी माथि लुट गरिरहेका छन् । अझै नेपालीको दानापानी खाएर छिमेकीको गाना गाएर दोहोरो अंकले आर्थिक वृद्धि गरिरहेका छन् । हालै सार्वजनिक भएको कोरोना उपचार खर्चले त्यही भनिरहेको छ ।

अहिले यसरी बन्दाबन्दीमा पर्नुपर्ने, दिनप्रतिदिन कोरोना संक्रमण खरायोको गतिमा दौडिरहने, सरकार कुम्भकर्ण जस्तो निदाइरहने । दिनहुँ छिमेकी राष्ट्रबाट कोरोनाका संक्रमण भएका नेपाली दाजुभाइ भित्रिइरहनु यी सन्दर्भका दोषी अरु कोही नभएर हाम्रा नेता नै हुन् । उनीहरुकै कारण आज यो अवस्था सिर्जना भएको छ । किनकि नेपालमा भएका प्रायः उद्योगधन्दा धेरै जसो नेता र पार्टीहरुले निजीकरणको नाममा ध्वस्त बनाए । दाताले सहयोग दिएका उद्योग बेचेर खाए, यी उद्योगधन्दामा काम गर्ने नेपाली जनता विदेश जान बाध्य कसले बनायो ? जसको सहज उत्तर हाम्रा अहिलेका नेताहरुले । देशमा परिवर्तन गर्ने नाममा, देश सिंगापुर बनाउने नाममा हामी जस्ता सोझा–साझा नेपाली जनतालाई मैदानमा उतारेर, जनवाद लोकतन्त्र, समाजवाद अनि साम्यवादको दुहाई दिएर कति नेपाल र नेपालीको धन जनको क्षति गराए । एक पटक मात्र होइन अनेकन पटक त्यस्ता आन्दोलन भएका छन, त्यो शान्तिपूर्ण होस् या रक्त क्रान्तिको नाममा होस् ।
देशमा विभिन्न त्याग र बलिदान भए । विभिन्न राजनीतिक परिवर्तन भए । तर स्वरुप उस्ताको उस्तै । नेता फरक भए, नेता बदलिए, देशको मुहार फेरिएन । नेताको दैनिकी विकास भयो, देशको विकास भएन । झन् गरीबीतिर लम्कदै गयो । यसको असर आज चारैतिर देखिएको छ । तर मेरो आशय जनताको सहभागितालाई अवमूल्यन गर्न खोजेको पक्कै होइन । जनताको त्याग र बलिदानलाई उच्च समान गर्नै पर्छ । देशमा भएको सीमित विकासलाई असीमित अमूल परिवर्तन र विकास गर्ने छौं भन्दै, हो मा हो मिलाउन लगाइयो । आज म जस्ता नेपाली जनतालाई पछुतो पक्कै लागेको हुनुपर्छ । यिनीहरुलाई किन चिन्न सकिएन ? आज यतिसम्म नाङ्गिए कि, यिनीहरु को हुन् यिनीहरुको चिनारी के हो ? छुट्याउनसमेत गाह्रो भयो र आज आएर बल्ल चिन्न सकियो । यिनीहरुको असली अनुहार उदांगो भएको छ । यिनीहरु को हुन् र कसका लागि काम गर्दै छन् ? नेपाली नेताका लागि नेपालको राजनीति एक व्यापारीको व्यापार जस्तो छ । जुन व्यापारको मुनाफाले उनीहरु समृद्ध देश अमेरिकाका धनी व्यापारी भन्दा माथि पुगेका छन् ।

कोरोनासँग सङ्घर्ष गर्नु पर्ने बेलामा सरकार आफनै अन्तरसघर्ष र विदेशीको इच्छा पूर्ति गर्नमा तल्लित देखियो । भारत लगायत बिदेशमा रहेका केही नेपाली बाहेक सायद ३ महिना अगाडि कोही संक्रमति थिएनन । यदि सरकारले त्यो बेला चाहेको भए भन्न सक्थ्यो । अवस्था कोभिड १९ को अझ खराब बन्न सक्छ ।

हिजो भगवान् नै यिनै नेता हुन् भनेर यिनीहरुले जे–जे भने, हामी जनताहरु पछि लाग्यौ । राजाले लुटे, देश विकासमा राजा बाधक बने भन्न लगाइयो । हामीले हो मा हो मिलायौ र गणतन्त्र ल्यायौ । बहुमत भएन भने भारी बहुमत दिऔ, धर्म संस्कृतिले विकास गर्न दिएन भने हामी चुप बस्यौ । इसारामा रातरात धर्म निरिपेक्ष गरियो त्यसमा पनि मौन बस्यौ । यो मात्र होइन, हाम्रा पुराना पुर्खाको चिनारी र धर्म संस्कृति मास्दा अनि होलिवाइन प्रकरणसम्म पनि चुप बसेकै हो । विडम्बना हाम्रा दलाली नेताबाट हामी माथी यहाँसम्मको धोका हँुदैछ भन्ने कुरा बुझ्न सकेनौ । नेताको नियत राम्रो भएको भए हाम्रो देश विकास हुन्थ्यो नै । भएका कलकारखाना, उद्योगलाई संरक्षण गर्दै अरु उद्योग र रोजगार सिर्जना हुँदै जाँदो हो । बिडम्बना, यिनीहरुको सोच देश जनताको विकास होइन, आफू र आफ्नाको सक्दो विकासमा लागेको देखिन्छ । चरनाम नाङ्गिदा पनि यिनीहरुलाई होस् हुँदैन । नेपाल र नेपालीको हित चाहने भएको भए एमसीसी पास गर्नुपर्छ भनेर बस्ने थिएनन् । हामी जनताले बोल्न पर्ने थिएन । यिनीहरु एकमतले खारेज गर्ने थिए । सिमानाका बारेमा हामी जनताले बोल्नु पर्ने थिएन । हाम्रो काम यिनीहरुको स्वागत गर्ने मात्र हुने थियो । बिडम्बना, हामी जनताले यिनीहरुलाई बाटो देखाउनु पर्ने खबरदारी गर्नु पर्ने त्यति गर्दा पनि उनीहरुको गलत बाटो हामीले हिँड्नु पर्ने ? महाकाली सन्धि गर्दाको तितो यथार्थले समेत पोल्न नसकेर अझ लाज पचाएर सरकार पक्ष र प्रतिपक्ष हुनु दुखद् हो । विभिन्न काण्ड र झुण्डहरु मौलाएर चारैतिरबाट घेरिदा पनि आफ्नो कमाउ धन्दाको व्यापार बिस्तारमा उनीहरु व्यस्त छन् । जसरी हुन्छ कमाउनिष्ट बन्नु उनीहरुको दैनिकी हो । यसैले राष्ट्रघातीहरुले गणतन्त्रको पवित्र नाम भित्र कालो धब्बा पोतिदिएका छन् ।

कोरोनाको मामिलासरकार धेरै पटक चुक्यो । यही बीचमा धैरै काण्डहरु भए, तिनीहरुको फेहरिस्त तयार पारिरहनु पर्छ जस्तो लाग्दैन । तर सत्य के हो भने कोरोनाबाट जोगिन हामीलाई प्रसस्तै समय मिलेकै हो । कोरोनासँग सङ्घर्ष गर्नु पर्ने बेलामा सरकार आफनै अन्तरसघर्ष र विदेशीको इच्छा पूर्ति गर्नमा तल्लित देखियो । भारत लगायत बिदेशमा रहेका केही नेपाली बाहेक सायद ३ महिना अगाडि कोही संक्रमति थिएनन । यदि सरकारले त्यो बेला चाहेको भए भन्न सक्थ्यो । अवस्था कोभिड १९ को अझ खराब बन्न सक्छ । नेपाल अब यो मितिबाट लकडाउनमा जादै छ । यो मितिबाट, यो मितिसम्म भारतलगाएत विभिन्न रोजगारीमा जानु भएका नेपालीहरु आउनु होला । यो अवसर तत्काल दिन सकिने छैन भनेर भन्न सक्नु पर्दथ्यो । उल्टै सरकार तिनीहरु नेपाली नै होइनन्, मात्र गुलामी गर्न विदेशिएका हुन् भन्ने जस्तो व्यवहारमा तल्लिन भयो । सरकारलाई लागेन तिनीहरुले आफुलाई बेचेर पनि देशलाई गुलामी हुनबाट बचाएका छन् । अर्थतन्त्र बचाएका छन् । तिनीहरुको उक्त योगदान नभएको भए यी नेताहरुले भ्रष्टाचार, घुसखोरी गर्ने पैसा कहाँबाट आउथ्यो नेताज्यू ? आजका दिनसम्म आइपुग्दा कति नेपाली संक्रमित भए, कति रोए, कति त्यही देशमा बिलिन भए, कति खान र बस्न नपाएर बिजोग भएको सुन्नु परेको छ । कति हिँड्दा हिँड्दै प्राण त्याग गरे । आफ्नो घर परिवार बनाउँछु अनि देशलाई पनि टेवा पुग्ने छ भनेर गएका होइनन र ? पहिले पनि ल्याउनु अहिले पनि ल्याउनु नै थियो । कमसेकम त्यो बेला संक्रमण बढेको थिएन । आफ्ना छोराछोरी जस्तै माया गर्नु सरकार र राज्यको दायित्य थियो । सरकार यहीँनेर चुक्यो आफ्नै छोराछोरीलाई अर्काको भरमा जिम्मा लगाई अर्काका छोराछोरीलाई पालेर बस्यो । सरकार बोर्डरमा रोएका चित्कारलाई बसुरीको धुनमा सम्झेर नाँचिरह्यो । कैयौं नेपाल आमाका वीर सपुतले लामो पैदल यात्रा गर्दै पैतालामा फोका र पिठ्ठुमा पोका लिएर आइरहँदा आफ्नो घर परिवार त के नेपालसम्म प्रवेश गर्न नपाई आफ्नो इहलिला समाप्त गर्नु प¥यो । साच्चै दुःखीका आँसुले कसलाई सराप्छ सरकार ? ती आँसु तिमीलाई लाग्लान् नि नलाग्लान् ?

पिसाब फेरेपछि दैलो देखेँ भने जस्तो पुरानो उखान । सरकारले कोरोनाले आक्रान्त भएपछि हिजोदेखि रोइरहेका छोराछोरीलाई भित्र्यााएर पनि सहज तरिकाले क्वारेन्टाइनमा राखिएको छैन । बेलामा चेकजाँच गरिएको छैन । मानिसको मृत्युपछि चेक जाँच गरिएको छ । केही दिनको फरकमा आएका मानिस र तत्काल आएका मानिसलाई अलग गरिएको छैन । समयको हिसाबमा फरक फरक राख्नु पर्ने हो । पशुपन्छी, माछा र कुखुरा पाल्दा त समयको हिसाबले अलग गर्ने गर्छन् तर हाम्रो सरकार भने यो के गरेको छ उदेक लाग्दो छ । धेरै भन्दा धेरै मानिसलाई एउटा कोठामा राख्नु खतराको संकेत हो । कसैलाई संक्रमण भएको रहेछ भने नभएकोमा सजिलै सर्नेछ । यो अस्तव्यस्तका बाबजुद कोरनाबाट छिटै छुट्कारा पाउन मुस्किल हुने देखिन्छ ।

ओम्नी काण्डपछि स्वास्थ्यमन्त्री कहाँ छन् थाहा छैन । सायद उनी घरमा पाहुना व्यवस्थित गर्दै होलान् । अहिले पनि नेपाल यो सुन्दा र देख्दा लाग्छ हाम्रो देशमा हामी नेपालीको सरकार छ या विदेशी पराइको ? नेपालको सरकार विदेशीले बनाइदिन्छ । नेता विदेशीले चुनिदिन्छ । हाम्रो एजेन्डा विदेशीले तयार गरिदिन्छ । अनि कसरी हाम्रो देश बन्छ ? कसरी विकास हुन्छ ? अनि कसरी नेपालीहरु देशमै रोजगारी पाउँछन् ? जबसम्म राष्ट्रले योग्य नेता पाउने छैन, तबसम्म यो रीति दोहोरिने छ । नेपालीहरु विदेश गइरहने छन्, कोरोना र कोरोना जस्तै रोग भित्रिइरहने छन् । यो भित्रनुमा भारत र अन्य मुलक गएका नेपालीको दोष होइन । कोरोना भित्रनुमा मुख्य कारण हाम्रै सरकार र नेताको दोष हो । कोरोना रोगीलाई घृणा र हेला होइन उनीहरुलाई उच्च सम्मान गरौ । उनकै कारण हाम्रा नेता र सरकारमा बस्नेहरु धनी भएका छन् । हिजो यिनै नेतालाई धनी बनाउने यी नेपाली आमाका दुःखी छोराछोरीको आँसु लाग्ला कि नलाग्दा यही सोचिरहेछु ।

हाम्रो सुझाव