दसैँ : सामाजिक तथा साँस्कृतिक महत्त्व

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०७२

दसैँलाई बडा दसैँ, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ। यो नेपालीहरूको प्रमुख पर्व हो। विशेष गरी हिन्दू धर्मावलम्बीहरूले आश्विन शुक्ल प्रतिपदादेखि पूणिर्मा सम्म मनाउने यो पर्व नेपालको सबै भागमा मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म दुर्गासप्तशती (चण्डी) पाठ गरि नव दुर्गा र तृशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आजा र आराधाना गरिन्छ। विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावनमाथी विजय हासिल गरेको उपलक्ष्यमा र खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने चलन छ। आश्विन (असोज) महिनाको शुक्ल पक्षको दशमी तिथिको दिन यस पर्वको प्रमुख दिन हो। बताइन्छ कि भगवान रामले यसै दिन रावणको वध गरेका थिए। यसलाई असत्यमाथि सत्यको विजयको रूपमा मनाइन्छ। यसकारण, यस दशमीलाई विजया दशमीको नामले जानिन्छ। वरपरका मानिसलाई समेत सजिलो होस् भन्ने हेतुले यो कार्य पूणिर्मासम्म गरिन्छ। आफ्ना नाता कुटुम्ब ठूला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मीठो खाना खाने-ख्वाउने, घर आगन, बाटोघाटो, गाउँ बस्ती सफासुग्गर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ। व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दसैँको उत्सव (पर्व) सुरु भएको हो। दसैँ पर्वले दश प्रकारका पापहरू- काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसा र चोरी त्याग्ने (छोड्ने) प्रेरणा दिन्छ।

महत्त्व : दसैँको सांस्कृतिक पक्ष पनि छ। नेपाल कृषि प्रधान देश हो। जब कृषक आफ्नो खेतमा सुनौलो फसल उमारेर अन्नरूपी सम्पत्ति घरमा ल्याउँछ तब उसको खुसी एवं उमंगको सीमा हुँदैन। यस खुसीको अवसरमा ऊ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भुटान र बर्मा (म्यानमार)मा यो पर्व विभिन्न प्रकारले मनाइन्छ। दसैँ नेपालीहरू र विशेषत : नेपाली हिन्दूहरूको सबैभन्दा ठूलो पर्व हो। नेपाली हिन्दू पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, ब्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ। हिन्दू चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने हुनाले दसैँ पनि अग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्छ। दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूणिर्मा -कोजाग्रत) सम्म १५ दिनको हुने भए तापनि पहिलो ९ दिनलाई नवरात्रि र दशौं दिनलाई दशमी वा दसैँ भनिन्छ, यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती छ। प्रतिपदा (घटस्थापना), सप्तमी -फूलपाती), महाअष्टमी, -कालरात्रि), महानवमी, विजया दशमी,र पूणिमा (कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन्।

घटस्थापना : आश्विनशुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ। यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ। यस दिन जमरा राखिन्छ, अको यस दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आह्वान गरिन्छ। यस दिन झसिमिसे बिहानीमै आत्मशुद्धिपश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउघरमा चलिआएको अन्न छरिन्छ। जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ। माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो। त्यस स्थानको नजीकै माटोको विशुद्ध जलपूर्ण घडा -कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ। अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चर्ढाई अनन्त शक्तिस्वरूपा महाकाली -संहार), महालक्ष्मी -सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजा-आजा गरिन्छ। ब्रह्मवैवर्त पुराण अनुसार वर्ण्र्ाा गरिएका नव दुर्गाहरू यी हुन् : प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङगला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-इशान, जगदम्बिका- जल, थल र आकाश। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्चारिणी, यसैगरी चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको क्रमशः पूजा गरिन्छ। षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ। सप्तमीका दिन दसै घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ। अष्टमीमा कालरात्रिको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ। खस मष्टपूजकले बाज उडाउने चलन छ। शस्त्रास्त्र (हातहतियार) हरूको पनि पूजा गर्नुपर्छ। महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन अपराजिता देवीको पूजा गरिन्छ। हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। आधारहरूको कारण उपर्युक्त दिन घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्तद्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ। नौ रात्रिसम्म पूजा गरेर अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुन्छन्। जमरालाई महौषधि भनिएको छ। निधारमा विजयस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ। जमराबाट शीतलता प्राप्त हुन्छ। विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन्। अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ। स्वास्थ्यको लागि अति उत्तम मानिन्छ। यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ र शङख, डमरु, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी), स्त्रोत्र रत्नावली, कालिका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। बलि दिइसकेपछि यस दिनको कार्य समापन गरिन्छ।

महासप्तमी : सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्त्व अधिक रहेको पाइन्छ। नवरात्रको सप्तमीका दिन बेलपत्र, धानको गाभा, अनार, अदुवाको बोट, कच्चु, उखु, केरा आदि नौ प्रकारका पल्लवहरू दसैं घरमा भित्र्याउने कार्यलाई फूलपाती भित्र्याउने भनिन्छ।वर्षा ऋतु सिद्धिएर शरद ऋतुको स्वागतका लागि नयाँ पालुवाहरू घरमा भित्रयाउँदा घरभित्र रहने रोग बृद्धिकारक जीवांश (भाइरस, ब्याक्टेरिया) र विभिन्न प्रकारका नकारात्मक कीटाणु र जीवाणुहरू औषधीय पालुवाको प्रभावले घरमा रहन सक्दैनन्। यस दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ। यी नौ पातमा क्रमशः ब्राह्मण, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आह्वन गरेर सोह्र सामग्रीले पूजिन्छ। अर्का यहाँनेर यस तथ्यलाई पनि सम्झनु आवश्यक छ कि इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र ब्रत गरेका थिए। यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ। किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन्। साथै यसै दिन गोरखा दरबारको दसैँघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौँको जमलमा ल्याई प्रोसेशन र बढाइँ साथ हनुमानढोका दरवारमा भित्रयाइन्छ्र

महाष्टमी : नवरात्रिको आठौं दिनमा महाकाली (भद्रकाली)को विशेष पूजा-आजा गरिन्छ। देवीभागवत् अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तिशाली भद्रकाली -करोडौं योनी-शक्ति)का साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने चलन छ। पूजापश्चात् यी देवीलाई बोका, कुखुरा, हाँस, राँगो आदि बलि दिइन्छ। यी दिनमा मानिसहरू आ-आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवतालाई पूजी बलि दिन्छन्। शाकहरूले नरिवल, कुभिण्डो, केरा, घिरौँला, आदि फल अपण गर्दछन्। काठमाडौँको तलेजु भवानीको मन्दिर पनि यस दिन सर्वसाधारणको लागि खुल्ला रहन्छ। यसै दिन दसैँघर (हनुमानढोका)को मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि अर्पण गरिन्छ। महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ। धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पूजा गर्छन् र दशमीमा विर्सजन गर्छन्। वैदिककाल साधना, सिद्धि, सामर्थ्य, शक्ति र सौर्यताको संगम हो। वेदमा आयुधको बारेमा प्रशस्त चर्चाहरू पाइन्छन्। भगवान् शिवको हातमा रहेको त्रिशुल, बज्र आयुध नै हुन्। अहिंसाको सर्न्दर्भमा जति व्याख्या भएको छ, त्योभन्दा धेरै आयुधको चर्चा र युद्धले पनि स्थान पाएको छ। हामी खस जाति देवताको पूजा गर्दा आयुधको पूजा गछौर्ं। हिमालका देवता शिवजी, रुद्र सबै आयुधधारी नै छन्। नवदुर्गा भगवतीका १८ वटै हातहरूमा आयुध (हतियार) हरू छन्। भगवतीको सम्मानस्वरूप आयुध पूजा गर्नु शास्त्रसम्मत नै छ। हिन्दु धर्मावलम्बीहरू अहिंसावादी हुन् तर वैरीले जब राष्ट्र, समाज, संस्कृति सिद्धयाउन आँटे भने हतियारको पूजामात्र नभएर उठाउन पनि तयार छन्।

महानवमी : नवरात्रिको नवौ दिन विशेष गरी सिद्धिधात्रि देवीको पूजा-आजा गरिन्छ। यसै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ। यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुर्इ वर्षदेखि दस वर्षसम्मका नवकन्याको पनि पूजाआजा गरिन्छ। बलिको अर्थ त्याग, बलि दिनु अर्थात् त्यागिदिनु। काम, क्रोध, लोभ, मोह, मद, मार्त्र्सय, इष्र्या, छल, कपट, यी दस प्रकारका विकार छन्। विकारबाट ग्रस्त मानिस कामवासनाले युक्त, क्रोधी, लोभी, मोहग्रस्त, मद र मार्त्र्सयले चुर भएको हुन्छ। नवदुर्गाका प्रसादले यी अवगुण हटून्, सुख, शान्ति, समृद्धि प्राप्त होस् भन्ने भाव दसैंको हो। कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद, मार्त्र्सयको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ। यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहंकारी दुर्भावना उत्पन्न हुन्छ। त्यस्ता दुर्भावनालाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो।

विजया दशमी : नवरात्रिको दशौ दिनलाई विजया दशमी पनि भनिन्छ, र यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजया दशमी भनिएको कथन छ, सोह्र सामग्रीले भगवती दुर्गा र अरु देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीलाई चर्ढाई आरती र पुष्पाञ्जलि गरिन्छ। यति गर्नाले कसैले पनि आफूमाथि दमन -विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ। त्यसपछि निम्न मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छकँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछः ‘आवाहनं नजानामि नजानामि विर्जसनम्। पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।’ यसपछि देवीका मूतिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ। अनि घरका मोलमान्छेले भगवतीको प्रसाद स्वरूप अविर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिण दिई आशीर्वाद दिन्छन्। अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दसैँको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउन जान्छन्।

टीकालाउँदा दिनेआशिष :-

आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राधवे।

ऐर्श्वर्य नहुषे गतिश्च पवने मानन्च दुर्योधने।।

दानं सूर्यसुते बलं हलधरे सत्यन्च कुन्तीसुते।

बिज्ञान विदुरे भवन्तु भवता कीर्तिश्च नारायणे।।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width