उच्च माध्यमिक शिक्षा परिषद् पाठ्यक्रम तथा प्रशिक्षण महाशाखाले तनहुँ जिल्लाको डमौलीमा २०७० पौष १८ देखि २४ गतेसम्म उच्च माध्यमिक तहको दशजोड दुर्इमा अनिवार्य नेपाली विषय शिक्षण गर्ने शिक्षकहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यमा प्रा.डा.हेमाङ्गराज अधिकारी, प्रा.डा. बद्री. विशाल भट्टराई, प्रा.डा.ताराकान्त पाण्डेय र यो पङ्क्तिकार सम्मिलित थिए । जिल्लाका सहभागी शिक्षकहरुले कक्षामा व्याकरण शिक्षण गर्दा शास्त्र शिक्षण, विधागत पाठ शिक्षण गर्दा साहित्य शिक्षण, बोध तथा अभिव्यक्ति शिक्षण गर्दा अन्योल र वर्णयविन्यासमा शिक्षण गर्दा अस्पष्ट भएको जानकारी दिए । यसरी नेपाली भाषा शिक्षण गर्ने शिक्षक उल्लिखित चारवटा पक्षमा अलमलिएका भेटिए ।
अन्तक्रिर्याबाट विद्यालय तहका कक्षाकोठामा नेपाली व्याकरणको व्यावहारिक शिक्षण भनेको बुझिएन भन्ने प्रतिक्रिया आयो । क्याम्पसमा अनिवार्य नेपाली शिक्षण प्रशिक्षणमा समेत व्याकरणको शास्त्रीय शिक्षण गरिन्छ, व्यावहारिक शिक्षण गरिँदैन । शास्त्र बनाई गरिने व्याकरण शिक्षण शिक्षककेन्द्री हुन्छ । अहिले विद्यालयमा विद्यार्थीकेन्द्री व्याकरण शिक्षण हुन सकेको छैन । संस्थागत र सामुदायिक विद्यालयका पाठ्य पुस्तकका व्याकरणका अंशहरु शास्त्रीय शिक्षण गर्ने खालका छन् । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका पाठ्यक्रमहरुले व्याकरणलाई प्रयोग र पाठको सर्न्दर्भसँग मिलाएर शिक्षण गर्न निर्देशन गरेका छन् । यो निर्देशन अनुसार गरिने व्याकरण शिक्षण व्यावहारिक र व्याकरणको रचनात्मक शिक्षण हुन्छ । यो निर्देशन अनुसरण गर्दा शिक्षकका सामु धेरै शिक्षण समस्या उपस्थित हुन्छन् । किनभने निर्देशन र भाषा पाठ्य पुस्तकका पाठबिच तालमेल देखिँदैन । यो तालमेल मिलाउन अनुभवी र विज्ञबाट भाषा पाठ्य पुस्तकका पाठ लेखन तथा परिमार्जन गर्नुपर्ने अवस्था छ । उच्च माध्यमिक तहको अनिवार्य नेपालीको पाठ्य पुस्तक भने यो तालमेलका दृष्टिले अपवाद छ ।
अपवाद छ तापनि शास्त्रीय शिक्षणबाट मुक्त गर्दै व्याकरणको रचनात्मक शिक्षण गराउन नेपाली भाषा शिक्कहरुले खास मिहिनेत नगरेको अवस्था देखियो । नेपाली व्याकरणको रचनात्मक शिक्षण भनेको के हो ? भन्ने बारेमा पनि सहभागीहरु अलमलमा थिए । निर्दिष्ट भाषातत्व प्रयोग गरी कुनै घटना र अनुभवलाई मौखिक वा लिखित रचनात्मक सङ्कथनमा उनेर शिक्षण गरियो भने व्याकरणको रचनात्मक शिक्षण हुन्छ । प्रशिक्षणमा भाषातत्वका विभिन्न कोटि र पक्षलाई खास सङ्कथन ढाँचामा उनेर रचना गर्न लगाई कार्यशाला सञ्चालन गरियो । सञ्चालन गर्दा तहगत स्तरणको वर्णयात्मक सङ्कथनका ढाँचामा व्याकरणको रचनात्मक शिक्षण गर्ने काम ज्यादै चुनौतीपूर्ण देखियो । सामान्य सङ्कथनात्मक ढाँचामा रचनात्मक व्याकरण चुनौतीपूर्ण थिएन तर सहभागी प्रशिक्षार्थीबाट तहगत स्तरणयुक्त रचनात्मक सङ्कथन शिक्षण भने जटिल हुने अनुभव व्यक्त भयो । उनीहरुले त्यहाँ भएको कार्यमूलक प्रशिक्षणबाट रचनात्मक व्याकरण शिक्षणको वस्तुगत अवधारणा अवगत भएको बताए । प्रशिक्षार्थीहरु अलमलिएको दोस्रो पक्ष थियो, विधागत शिक्षणमा साहित्य शिक्षण हुने स्थिति । भाषा शिक्षणमा काव्य साहित्यमूलक शिक्षणलाई पुरानो परिपाटी भनिन्छ । भाषाको विकास र शिक्षणमा काव्य साहित्यको महत्त्वपूर्ण योगदान रहेको छ । प्रायोगिक भाषा विज्ञानको क्षेत्र मानिए पनि काव्य साहित्य शिक्षणकै छाहरीमा भाषा शिक्षण पल्लवित र पुष्पित भएको विधा हो । ज्ञान, विज्ञान र प्रविधि जस्ता काव्येतर साहित्यको विकास हुनुपूर्व काव्य साहित्यकै पाठ्यवस्तु शिक्षणका माध्यमबाट भाषा शिक्षण हुन्थ्यो । अहिले पनि अनिवार्य नेपाली शिक्षणमा काव्य साहित्यकै पाठ्यवस्तुको बाहुल्य छ । विद्यालय तहका नेपाली भाषा शिक्षक तयार गर्ने स्नातक र स्नातकोत्तर नेपाली शिक्षाका पाठ्यवस्तु र शिक्षण विधि पनि अधिक साहित्यमूलक छन् । विश्वविद्यालयका यस्ता पाठ्यवस्तु र शिक्षण विधिबाट प्रशिक्षित नेपाली भाषा शिक्षकले भाषिक सीप शिक्षण गर्दा साहित्यमूलक शिक्षण गर्नु र अलमलमा पर्नु स्वाभाविक थियो । अनिवार्य नेपालीमा राखिएका पाठ्यवस्तुका विधाहरु बोध र अभिव्यक्ति सिप शिक्षणका निम्ति हुन् । शिक्षकले विधालाई आधार बनाई भावबोध, पठन बोध, पाठक प्रतिक्रिया जस्ता भाषिक सिपको शिक्षण गर्नु पर्ने हुन्छ । प्रशिक्षण सर्न्दर्भमा न्यूनतम प्रशिक्षार्थीबिच यस्तो सिपगत परख गर्दै अलमल हटाउन खोज्ने प्रवृत्ति भेटियो । प्रशिक्षार्थीले यो कार्यमूलक प्रशिक्षणबाट साहित्यमूलक शिक्षण र भाषाको सिप शिक्षणको परख भएको प्रतिक्रिया दिए ।
प्रशिक्षार्थी अन्योलले अलमलिएको तेस्रो पक्ष थियो, बोध अभिव्यक्ति शिक्षण । उनीहरुले अनिवार्य नेपाली भाषा शिक्षणमा बोध र अभिव्यक्ति पक्षले कम स्थान पाएको बताए । श्रुतिबोध र मौखिक अभिव्यक्तिलाई भन्दा पठन बोध र लिखित अभिव्यक्तिलाई बढी महत्त्व दिएर उच्च कक्षाका पाठ्यवस्तुबाट बोध तथा अभिव्यक्ति शिक्षण गर्नु पर्छ । यस्तो शिक्षणबाट भाषाका बोध र अभिव्यक्ति सिपमा बानी निर्माण गराइन्छ । बानी निर्माण गर्न भाषा शिक्षणमा अधिकतम अभ्यासको आवश्यकता हुन्छ । सिपगत स्तरीकरणको थपोटले त्यो अभ्यास अर्थपूर्ण हुन्छ । सहभागीहरुले प्रशिक्षणबाट आफूमा बोध तथा अभिव्यक्ति शिक्षणमा सचेततापूर्वक सिपगत स्तरीकरणको थपोट गर्ने अवधारणा अवगत भएको बताए ।
सहभागीहरु अलमलमा परेको चौथो पक्ष थियो, परिवर्तित वर्तमान वर्णयविन्याससँग अस्पष्टता । अस्पष्टता हटाउन पावर प्वइन्टबाट वर्णयविन्यासको विकसित इतिहासको जानकारी गराइयो । सर्वप्रथम विद्वान् वीरेन्द्र केशरी अर्याल र राममणि आ.दी.ले नेपाली वर्णयविन्यास व्यवस्थापनका प्रारम्भिक प्रयास गरेका थिए । त्यसपछि चन्द्रिका व्याकरण (१९६९), नेकशुले (१९९१), त्रिवि र नेराप्रप (अनेशिनि २०३६ र नेवृश २०४०) र पाठ्यव|mम विकास केन्द्र सानो ठिमी (२०५६) बाट सुधारका प्रयासहरु भए । उल्लिखित प्रयास बाहेक लिलि र्टनर, पुष्कर शमशेर, श्याम प्रसाद, रामराज पन्त, झरोर्वादी आन्दोलन, रिसाल बन्धु, शिवराज आचार्य, मुकुन्दशरण उपाध्याय र चन्द्रगढी घोषणा पत्रका लिपि, उच्चारण, वर्णयविन्यास सम्बन्धी दृष्टिकोण र सुझाउ यस परिवर्तित वर्तमान वर्णयविन्यासका आधार हुन् । प्रयास र सुझाउका विभिन्न फुलबाट आवश्यक रस सङ्कलन गरी परिवर्तित वर्तमान वर्णयविन्यासरूपी महको जग निर्माण भयो । यही जगबाट त्रिविको अनिवार्य नेपाली स्नातक पाठ्यक्रम (२०६५/अनेशिनि २०६६) मा परिवर्तित वर्तमान वर्णयविन्यासले सर्वप्रथम विश्व विद्यालय तहमा प्रवेश गर्यो । स्नातकको अनिवार्य नेपाली पाठ्यक्रम र नेपाल प्रज्ञा प्रतिष्ठानको भाषा सङ्गोष्ठी (२०६७) का सुधारका जगमा उच्च माध्यमिक शिक्षा परिषद्को “सबैको नेपाली” पाठ्य पुस्तकबाट यस वर्णयविन्यासले उच्च माध्यमिक तहमा पनि प्रवेश पायो । नेपाल सरकार शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले वि.सं.२०६९ देखि विद्यालय तहका पाठ्य पुस्तक र शिक्षणमा वर्तमान परिवर्तित वर्णयविन्यास प्रयोग गर्ने नीति अवलम्बन गर्यो । यस नीतिको अवलम्बनपछि अहिले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालय तहहरुमा परिवर्तित वर्तमान वर्णयविन्यासले प्रवेश गरेका छन् । वर्तमान वर्णयविन्याससँग त्रिवि स्नातक, नेपाल प्रज्ञा प्रतिष्ठन र विद्यालय तहबिच नगण्य मतान्तर छन् । तर त्रिवि, पाविके र नेप्रप्र सबैले तत्सम शब्दका वर्णयविन्यासहरुलाई परम्परागत शास्त्रीय नियम र सूत्रबाट मुक्त बनाएका छन् । यिनीहरु तद्भव र आगन्तुक शब्दलाई समेत नियम र सूत्रको बन्धनबाट मुक्त गराउने प्रयासमा छन् । त्यसैले परिवर्तित वर्तमान वर्णयविन्यासमा शास्त्रीय नियम र सूत्रहरुको न्यूनीकरण छ । अबका विद्यार्थीले पुराना विद्यार्थीले झैँ वर्णयविन्यासका नियममाथि माथा पच्चिसी गर्न नपर्ने भएको छ । हामीसँग पुरानो नियम रटी माथा पच्चिसी गरेर नेपाली वर्णयविन्यास सम्बन्धी अशुद्धि घटाउन नसकिएको लामो अनुभव छ । पावर प्वइन्टमा सम्पूर्ण प्रशिक्षार्थीले मन्त्रमुग्ध बनी वर्तमान परिवर्तित वर्णयविन्यासका आधार र आधिकारिक प्रयोग विस्तारका सोदाहरण व्याख्यान सुन्ने र हेर्ने काम गरे । दशजोड दुर्इको अनिवार्य नेपालीको विशिष्टीकरण तालिका र प्रश्न निर्माण एवं उत्तर पुस्तिका परीक्षणमा समेत कार्यशाला सञ्चालित थियो । सहभागीहरुले उल्लिखित प्रशिक्षणबाट नेपाली व्याकरण, विधागत पाठ, बोध तथा अभिव्यक्ति र वर्तमान प्रचलित वर्णयविन्यास शिक्षणमा मात्र होइन प्रश्न निर्माण तथा उत्तर पुस्तिका परीक्षणमा समेत देखिने अस्पष्टता हटाउन सहयोग पुगेको बताए । अन्त्यमा सबै प्रशिक्षार्थीले अन्य जिल्लामा पनि यसरी नै कार्यशाला आयोजना गरे अनिवार्य नेपाली शिक्षणमा देखिएका अलमल र अस्पष्टता हटाउन सहयोग पुग्ने प्रतिक्रिया दिए ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
यसरी रित्तियो बक्राङ
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
मंसिर २२, २०८०पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०