थिलथिलिएको युवा मस्तिष्क

Avatar आदर्श समाज सम्वाददाता
श्रावण २७, २०७६

सन्दर्भ
राष्ट्रिय समाचार समितिले २०७१ पुष २ गते एउटा समाचार पठायो । जसको शीर्षक थियो, ‘दैनिक १५ सय युवा विदेशिदै, नेपाल वृद्धाश्रम बन्ने खतरा’ । पंक्तिकारको मथिङ्गलमा समाचारले राम्ररी, निरन्तर धक्का दिइरह्यो । समाचार आएको केहीपछि युवा दिवस पनि आयो । झन् भत्तभत्त हुने गरेर पोलिरह्यो। यी क्रिया–प्रतिक्रिया हुनुका पछाडि अवश्य युवा हुनुको पीडा र चिन्ता थियो । किनकि, आजकै दिनलाई दुई दशक अगाडि (सन् १९९९, १२ अगस्ट) संयुक्त राष्ट्र संघले एउटा उत्सवका रूपमा लियो । जुन उत्सवको उद्देश्य युवाका मुद्दालाई स्थापित गर्न सकियोस् भन्ने थियो । प्रत्येक १२ अगस्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरियो । जसको लक्ष्य युवाका सवालमा विश्वका सरकार एवम् सरोकारवालालाई सचेत र जागरूक गराउन सकियोस् भन्ने थियो । यो दुई दशकको अवधिमा पंक्तिकार हुर्कदै गरेको प्रदेशको गण्डकीमा जसरी असीमित पानी बग्यो त्यसै गरेर १२ अगष्टका असीमित दिन बित्दै गए । गण्डकीको पानी कहिले धमिलो हुँदै सङ्लदै मात्र होइन, किनार वारपार गर्नै नसक्ने गरी हुत्तिदै र रित्तिदै पनि बग्यो । त्यसै गरेर अगष्ट १२ का दिन पनि बिते । कहिले दर्जन ज्यादा संघसंस्थाको सहकार्यमा २०–३० जना पनि नपुग्दै, कहिले ३० बढी संस्थाको सहकार्यमा एक सय जना पनि नपुग्दाका र्याली निस्के । नजिकैबाट ती दिनलाई हेरेको पंक्तिकारले हिजो दशक अगाडि २०६७ साउन २७ गते यही समाचारपत्रमा ‘युवा समेट्न नसकेको युवा दिवस र नीति’ विषयक लेख प्रकाशन गरेको थियो । जहाँ सरकारले २०६६ सालमा ल्याएको युवा नीतिमा समेटिएका २४ वटा नीति, उक्त वर्षका लागि तय गरेको ‘हाम्रो आवाज ः हाम्रो वर्ष’ नारा र युवा दिवससँग केन्द्रित थियो । आज दशक पछाडि आउँदा पनि युवाको अवस्था उस्तै छ । हरेक वर्ष तय भएका नारा नारामै सीमित छन् । युवाका समस्यामा मलम लाग्न सकेका छैनन् । सीमान्तकृत, विपन्न, असहाय, असक्त र द्वन्दपीडित युवाको अवस्था झन् दर्दनाक छ । यसै सन्दर्भमा प्रस्तुत आलेख केन्द्रित छ ।

विषयप्रवेश
साधारण भाषामा युवा कसलाई भन्ने ? जसका आ–आफ्नै मापदण्ड छन् । युवाका सन्दर्भमा नेपाल सरकार र संयुक्त राष्ट्र संघले निर्धारण गरेको मापदण्डै फरक छ । नेपाल सरकारले १६ वर्षदेखि ४० वर्षसम्म उमेर समूहलाई युवा घोषणा गरेको छ । संयुक्त राष्ट्रसंघले १५ वर्षदेखि २४ वर्ष उमेर समूहका व्यक्तिलाई । यसरी उमेर मापदण्डमै फरक परेको दिवसको कार्यान्वयन पनि उस्तै–उस्तै छ । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् १९९९ मा हरेक वर्ष अगष्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको थियो । लगत्तै सन् २००० अगष्ट १२ देखि युवा दिवस मनाउन शुरु पनि गर्यो । नेपालका सन्दर्भमा भने २००४ सालदेखि यो दिवस मनाउन शुरु गरिएको हो ।
देशले युवा दिवस मनाइरहँदा दिनदिनै युवा पलायनको शृङ्खलाको चाङ चुलिँदो छ । देशमा रोजगारीका अवसर नहुँदा दशक अगाडि दैनिक छ सय नेपाली विदेशिनु परेको थियो । आज दशक पछाडि आइपुग्दा त्यो संख्या बढेर दैनिक करिब एक हजार पाँच सय पुगेको तीतो यथार्थ हामीले सुनिरह्यौं । समाचार पढिरह्यौं । जुन संख्या वैदेशिक रोजगार विभागको स्वीकृति लिएर जानेको हो । हजारौंको लस्कर लागेर खाडी मुलुकमा दुःखका आँसु, रगत र पसिना बगाउन दिनदिनै नेपाली दाजुभाइ अन्तर्राष्ट्रिय एयरपोर्टमा लाइन लागिरहेका छन् । यो समस्याको समाधान कहिले ? कसले गर्ने ? सरकारले १०–१५ हजारमा खाडी मुलुक पठाउन इजाजत दिएको छ । तिनै लाइसेन्सधारी २० हजार तलबका लागि दुई लाख रुपैयाँसम्म लिएर खाडी मुलक जान प्रेरित गरिरहन्छन् । यस्ता समस्याको समाधान कहिले गर्ने ? कसले गर्ने ? के नेपाल आमाका इमान्दर सपुतलाई पाखुरामा मासी रहँदाका दिनसम्म सधैं विदेशीको गुलामी र गधा जस्तो बनाउन तल्लिन रहने ? यसको दोषी कसलाई मान्ने ? हुन त, संसारभर करिब दुई अर्ब ३२ करोड मानिस आप्रवासीको रूपमा छन् । त्यसमध्ये करिब २५ प्रतिशत मानिस एसिया र प्रसान्त क्षेत्रमा मात्र रहेका छन् । एक देशका मानिस अर्को देशमा काम गर्न जाँदा उनीहरूमाथि पारिश्रमिकलगायतका सुविधा, न्यूनतम मानवअधिकारका सन्दर्भमा विदेशी नागरिक भएका कारणबाट विभेद हुने गरेको पाइन्छ । हाम्रा दाजुभाइ, दिदीबहिनीले पनि त्यो विभेद भोगिरहेका छन् । कैंयौं छोराछोरी अध्ययनको शीलशीलामा अलपत्र परेर सञ्चारमाध्यममा रोइरहेको हामीले देखेका छौं । यसका अलवा व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, विवाहलगायतका कारणले विदेश र भारतमा जाने नेपालीको संख्यालाई अभिलेख गर्न सक्ने सामथ्र्य हामीसँग छैन, यसर्थ त्यो संख्याको एकीन टुंगो छैन । २०६८ सालको जनगणना प्रतिवेदनले देश बाहिर रहेका नेपालीको संख्या १९ लाख १७ हजार ९०३ देखाएको छ । जसमध्ये पुरुषको संख्या ८६.७ र महिलाको १३.३ प्रतिशत थियो । अब २०७८ को पुर्वसन्ध्यामा आइपुग्दा त्यो संख्या कति पुग्ला भनेर त्राहीत्राही हुनुपर्ने अवस्था छ ।
अर्को चिन्ताको सन्दर्भ झ्न केही विदेश गएका युवालाई स्वदेश फर्क कृषि क्रान्तिमा लाग भनेर प्रेरित गरिरहँदा झोलामा फार्म सञ्चालन गरेकाले अनुदान हत्याउने र जो विशुद्ध कृषि कर्म गरिरहेका छन् । गाउँ समाजमा हेपिएका, चेपिएका दिनदुःखी, असहाय र वेसहारा छन् उनीहरु अनुदानका लागि आवश्यक कागजपत्र बोकेर कहिले यता कहिले उता गर्दै रातदिन आँसुको भल बगाउन बाध्य छन् । यो अवस्थाको सिर्जना कसरी भएको छ ? यस्ता कुराका बारेमा हुने चालखेल कसले बुझ्ने ? यी तमाम समस्या हाम्रै बीचमा रहेका अस्वस्थ प्रतिष्पर्धा र राजनीतिक कित्ताकाटका कारणले सिर्जेका हुन् । जसलाई समाधान गर्न अब युवा एक भएर जाग्नैपर्छ । युवामा रहेको जोश र जागर यस्ता समस्या समाधानमा केन्द्रित गर्नुपर्छ ।

दिवसको सार्थकता
प्रत्येक वर्ष फरक विषयवस्तु दिने र संसारका युवालाई समेटेर अगाडि बढाउनु युवा दिवसको मुख्य उद्देश्य हो । यो वर्ष पनि ‘शिक्षामा रूपान्तरण ः उद्यमशीलता र नवप्रवर्तन’ नाराका साथ युवा दिवस मनाइँदै छ । युवा भनेका देशको राजनीतिक, आर्थिक, भौतिक, नैतिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका संवाहक हुन् । युवालाई शिक्षा, स्वास्थ्य, वातावरण, विज्ञान, प्रविधि, अध्ययन, अनुसन्धान, अन्वेषण र विश्लेषणलगायतका विषयमा प्रोत्साहित गर्नुपर्छ । युवाको सर्वाङ्गीण पक्षको विकास र संरक्षण गरी प्रतिभा पलायनलाई निरुत्साहित गराउँदै श्रमबजारको खोजीमा भौतारिएका युवाका समस्यालाई सम्बोधन गर्न आवश्यक छ । देशको सर्वाङ्गीण विकासका क्षेत्रमा उनीहरूको सार्थक सहभागिता सुनिश्चित गर्नु आवश्यक छ । युवालाई सिर्जनशील, सीपयुक्त, उद्यमी र जिम्मेवार नागरिकका रुपमा विकसित हुने अवसर राज्यले प्रदान गर्नुपर्छ ।
राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, न्याय र शान्ति स्थापनाका लागि युवा शक्ति परिचालन गर्न सक्नुपर्छ । सुखी नेपाली र समृद्ध नेपालको नारा सफल पार्न युवाको सख्यात्मक र गुणात्मक सहभागिता आवश्यक छ । जसका लागि राज्य सञ्चालकहरू जिम्मेवार हुन जरुरी छ । सहभागिता र अवसरका दृष्टिले नेपालका युवाको अवस्था सन्तोषप्रद छैन, त्यसमा पनि महिलाको त अझ नाजुक अवस्था छ । यसैले युवाका विभिन्न अधिकारलाई सही रूपमा सम्बोधन गरी उनीहरूमा रहेको ज्ञान, सीप, अनुभव र सिर्जनशीलतालाई राष्ट्रिय विकासमा मूलप्रवाहीकरण गर्नेतर्फ राष्ट्रका नीति तथा कार्यक्रम निर्देशित हुन आवश्यक छ । वर्तमानमा त्यो हुन सकेको छैन, सहभागिताका नाममा पार्टीको कार्यकर्ता हो–होइन ? उसको हिजोको राजनीतिक धरातल के थियो ? जस्ता मापदण्ड नभई योग्यताका आधारमा राज्यका सबै तह तथा निकायमा समान सहभागिताको सुनिश्चित गर्न आवश्यक छ । यो समयको माग हो । यसो हुन सके मात्रै केही हदसम्म युवा दिवस मनाउनुको सार्थकता हुने छ ।

समस्याको चुरो र वर्तमानको माग
नेपालका सन्दर्भमा काम भन्दा कुरा बढी हुने गरेका छन् । पछिल्लो समय देशमा राजनीतिक चलखेलले गर्दा युवापुस्ता निभेकका खेताला भएका छन् । सधैं अर्काको भरेङ बनिरहेका छन् । युवाका नाममा विभिन्न छलफल हुन्छन् । युवा शसक्तीकरणका वहस चल्छन्, अन्तरक्रिया हुन्छन्, कार्ययोजना बन्छन् । तर ती कतिका प्रभावकारी भएका छन् ? यसका विषयमा कसले प्रश्न उठाउने ? विभिन्न सरकारी, गैरसरकारी संघसंस्था स्थापना भएका छन् । उक्त संस्थाले सञ्चालन गरेका युवाकेन्द्रित गतिविधिमा युवाको पहुँच, सहभागिता, उपलब्धी र उपदेयता कस्तो छ ? यसको लेखाजोखा हुन नसक्नु सबैभन्दा ठूलो दुःखको कुरा हो ।
वर्तमानलाई हेर्न हो भने, चामलका बियाँ जस्ता रहेका युवालाई गलत मार्ग निर्देशन गरिएको देखिन्छ । प्रायः गरेर कम पढेलेखेका, असल–खराब राम्ररी ठम्याउन नसक्ने दस्ताको जोश र जागर आफ्नो स्वार्थका लागि समाजमा सभ्य भनिएका, पढेलेखेका, राज्य सञ्चालनको साँचो समातेकाहरूले उपयोग गरिरहेका छन् । विभिन्न बहानामा युवा शक्तिको सहायता विना राष्ट्र विकास असम्भव छ भनेर झुटा सपना देखाउँदै आफ्नो दलको प्रचारप्रचारमा अल्मल्याउने, बेरोजगारीको फाइदा उठाउने, क्रान्ति र परिवर्तनका नाममा भरेङ बनाउने काम भएको देखिन्छ । दशक अगाडिको युवा दिवस मनाउँदै गर्दा कास्की काँग्रेसको १२ औं महाधिवेशन चलिरहेको थियो । यज्ञबहादुर थापा, पोषनाथ शर्मा र रामचन्द्र त्रिपाठी सभापतिका लागि चुनाव लडिरहेका थिए । कयौं युवा पार्टी कार्यालय चिप्लेढुंगादेखि सभागृहसम्म फरक–फरक झुण्डका जय नेपालका भजन गाइरहेका थिए । आज देशमा विभिन्न तहका सरकार आएका छन् । लामो समयको अन्यौलता हटेर टोलटोलले स्थानीय सरकार पाए पनि युवा झुण्ड–झुण्डका जय नेपाल र लालसलामका नारा लगाइरहेका छन् । त्यो संस्कारको अन्त्य हुन आवश्यक छ ।
२०७४ असोज २८ गतेदेखि स्थानीय सरकार सञ्चालन ऐन लागु भइसकेको छ । स्थानीय सरकारले स्थानीयस्तरबाटै युवालाई सही तरिकाले परिचालन गर्न आवश्यक छ । यो हुन सक्यो भने बल्ल राज्य सञ्चालनको जग बलियो हुन्छ । जग भनेकै युवा हुन् । राज्यले सञ्चालन गरेका युवा प्रोत्साहन पुरस्कार सही प्रतिभाका हातमा पर्नुपर्छ । युवाले पनि त्यो बुझ्न आवश्यक छ, आँफू कुन प्रयोजनका लागि कसरी कसको, सिँढी र भरेङ भएको छु । क्रान्ति, परिवर्तन र विकासका नाममा नाराबाजी गर्दै हिँड्दाको उपलब्धि के भयो ? कति व्यवहारमा लागु भयो ? यसको यथार्थ नबुझी युवा आँफै विचलित भइरहने हो भने राज्य सञ्चालन, विधि–विधान निर्माण र समृद्धिमा युवा परिचालन हुनु त परै जाओस् सुझाव संकलनका सन्दर्भमा पनि कहिल्यै सहभागिता गराइनन् ।
अब, समय फेरिएको छ । देशमा धेरै परिवर्तन आइसक्यो । यो परिवर्तनसँगै युवाको जीवनमा परिवर्तन आउन आवश्यक छ । युवाका नाममा प्रत्येक वर्ष भित्रने परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि युवा जाग्नु आवश्यक छ । सरकारी र गैह्र सरकारी संघसंस्थाले सञ्चालन गरेका कार्यक्रमको प्रभावकारिता बारेमा मूल्याङ्कन गर्न आवश्यक छ । यस्ता कार्यको वैज्ञानिक र व्यवहारिक तवरबाट गुणदोष केलाउने सामथ्र्य आम युवाले राख्न सक्नुपर्छ ।
देशमा दिनप्रतिदिन भोलिका आधारशीला मानिएका युवा पुस्ताको हत्या भइरहेको छ । स्कूल गएका युवायुवती, मेलापात गएका दिदीबहिनी, समाचार सङ्कलनमा गएका दाजुभाइ, छोराछोरी बलात्कृत भएका छन्, मारिएका छन् । यस्तो जर्जर अवस्थामा युवा दिवस मनाउनु टिठ लाग्दो अवस्था बाहेक केही होइन । त्यसैले एउटा युवाले अर्का युवालाई हर्ने नजरमा समानता हुनुपर्छ । एउटाको समस्यालाई सबैको समस्या भनेर समाधानका लागि सहकार्य, सहयात्रा र समन्वय गर्न आवश्यक छ । आफूलाई ठूलाठालु ठान्नेले अब सोच्न सक्नुपर्छ हामी सबैको आउने प्रक्रिया र आउने ठाउँ त्यहीँ हो, भोलि जाने प्रक्रिया र जाने ठाउँ पनि त्यही हो । दुई दिनको जिन्दगीमा तेरो मेरो, यो पार्टी ऊ पार्टी जस्ता सन्दर्भमा विभक्त हुनु व्यर्थ हो । यसर्थ, हरेक युवाको भूमिका देशको असल शक्तिलाई सञ्चयन गरी राज्य सञ्चालनका पक्षमा साझेदारी गर्नु हो । अब एक थुकी सुकी, सय थुकी नदी मान्यतालाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ यो वर्तमानको माग हो । हरेक घरमा, टोलमा हुने टोले गफमा सबै युवाको सहभागिता हुनुपर्छ । त्यो गफ युवाको नेतृत्व र व्यक्तित्व विकासमा केन्द्रित हुनुपर्छ । त्यो हुन सकेमात्र युवा सहभागिताको सफलता हात लाग्छ नत्र हात्ती आयो फुस्सा झैं अनेक दिवस आउँछन् र जान्छन् ।

निष्कर्ष
युवा त्यो समूह हो जो राष्ट्रको भविष्यको कर्णाधार, वर्तमानको साझेदार, विकास र परिवर्तनको संवाहक हो । यसर्थ राष्ट्र निर्माणमा युवाको भूमिकालाई अर्थपूर्ण र क्रियाशील रूपमा हेरेर राज्यले त्यही व्यवहार गर्नुपर्छ । यदि युवालाई राज्य सञ्चालन प्रक्रियामा समावेश नगराउने हो भने, उनीहरूको उर्जा र प्रतिभाबाट लाभ लिनुको सट्टा अस्थिरताको सामना गर्नुपर्ने स्थिति आउन सक्छ । हिजो राष्ट्रिय युवा नीति ०६६ तय गरिनु, सोही नीति कार्यान्वयनका लागि युथ भिजन निर्माण हुनु, राष्ट्रिय युवा परिषद् गठनको विधयक संसद्बाट पास हुनु युवाका लागि सुखद् कुरा हो । तर, अझै पनि राज्यको नीति निर्माण र निर्णय प्रक्रियामा युवाको सार्थक सहभागिता सुनिश्चित हुन सकिरहेको छैन । जबसम्म राज्य संयन्त्रले युवालाई एकजुट बनाएर समसामयिक समस्यालाई समाधानका लागि अगाडि ल्याउँदैनन् तबसम्म नारामा मात्र सीमित रहेका दिवस मनाएर केही हुने वाला छैन । किनकि, देशमा रहेका पाँच प्रतिशत योग्य र समक्ष जनशक्तिलाई ९५ प्रतिशत खराब पक्षले ध्वस्त पारिरहेका छन् । ढुक्क भएर बाँच्न पाउने, सहीलाई सही र गलतलाई गलत भन्न र बोल्ने पाउने अवस्था छैन । त्यही खराब मार्ग अवलम्बन गरेको परम्परागत संस्कारलाई आम नेपालीले मनिप्लाष्ट जसरी संरक्षण गरिरहयौं भने अझै कैयौं वर्ष युवा खाडीमा पसिनाको बाढी बगाइरहने । राज्य सञ्चालनका लागि दाँत फुक्लेका, कपाल फुलेका र ढाँड कुप्रिएका जोडीले राइँदाइँ गर्दाका दिनसम्म युवाका आँखामा आँसु, मनमा विरह, जीवनमा निराशा बाहेक अर्को उपलब्धी हात लाग्ने वाला छैन ।

असफल गौतम

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

बाल दिवस : एक सन्दर्भ

नेपालको शैक्षिक गतिविधि एक समीक्षा

धर्मनिरपेक्षताको सवाल र धर्मसापेक्षता

आत्महत्या र त्यसको रोकथाम

प्रमुख समाचार

रुपन्देहीमा गोली चल्यो, १ को मृत्यु