तारुघाटमा आत्मानुभूति

कल्याण पन्त
मंसिर २५, २०७६

तारुघाटमा मेला लाग्छ भन्ने सुनेको हुँ। त्यहाँ ठूली एकादशीमा फूल तारिन्थ्यो। मस्र्याङ्दीको किनारमा ठूलो जात्रा लाग्दथ्यो। यसबाहेक तीज, जनैपूर्णिमा, माघेसंक्रान्ति आदि चाडपर्वमा टाढाटाढाका मानिस जात्रा भर्न आउथे। लमजुङमा लाग्ने ठूलो जात्रा मध्ये तारुघाटको जात्रा एक थियो।

मैले तार्कुघाट अर्थात् तारुघाटको बारेमा शुभोदय प्राथमिक विद्यालयमा २ कक्षा पढ्दादेखि सुनेको हुँ। त्यतिखेर तार्कुघाट बजारमा हाम्रो धान कुट्ने, तोरी पेल्ने मिल थियो। मेरा पिता बटुकृष्ण पन्त सधैं तारुघाट, त्यही कामको लागि जानुहुन्थ्यो। राति अबेर गरी घर फर्कनुहुन्थ्यो। सधैं रातिराति गरेर तारुघाटबाट आउने पिताको काम कस्तो होला भन्ने मलाई त्यतिबेला मनमा लागिरहेको थियो। तारुघाट बजारबाट मेरो गाउँ डौलियाँडाँडा ५ किलोमिटर पर उत्तरतिर उकालो लागेपछि आउँथ्यो।

एकपटक ३ कक्षामा पढ्दाखेरिको कुरो हो, म र सँगै पढ्ने साथी केशव पन्त, पवनविलास लोहनी भएर गाउँबाट तल तारुघाट घुम्ने भन्दै झर्यौं। तारुघाट झर्ने मूलबाटो थियो, हामी बिस्तारै ओरालो लाग्यौं। छापाको वन आएपछि हामी अलिकति त्रसित बन्यौं किनकि त्यहाँ दिउँसै तर्साउछ भन्थे। हामी त्यस ठाउँमा पुगेपछि दौडेर ओरालो झर्यौं। कुसुन्डेचौरमा पुगेपछि ठूलोठूलो सास फेर्दै फेरि तलै लाग्यौं। कोइरालेको चौताराबाट तल के झर्दै थियौं, पानीको छिटा पर्न थाल्यो। हामी हतारहतारमा चौतारोबाट तल घुमाउने बाटोको दोभानमा पुग्दा पानीले निथु्रक्क भिज्यौं। हामी रुखको आड लागेर बस्यौं। पानी पर्न बन्द भएपछि हामी बजार झर्यौं कि फक्यौ त्यति याद छैन। करिब ८ वर्षको छँदाखेरिको यो घटना हुनुपर्छ। गाउँबाट तार्कुघाट बजार नजिक पुगेको वा बजारमै पुगेको यो पहिलो घटना थियो।

तार्कुघाट बजारको बारेमा मलाई केही मेरा भानिज दाइ प्रकाश पाण्डेबाट थाहा पाएको हुँ। उहाँको घर पुकोर्ट, तनहुँ हो तर त्यतिखेर उहाँ हाम्रै घरमा बसेर पढ्नुहुन्थ्यो। घरमा खाना खाइवरी सधैँ पढ्नको लागि उहाँलगायत अन्य यादव, कुविर, श्यामकृष्ण, बन्धु दाइहरु बजारतिर दैनिक झर्नुहुन्थ्यो। बेलुकी रमाइलो गरी फकेर्र आउनुहुन्थ्यो। बजारको बारेमा थप सुन्ने मौका उहाँहरुबाट नै पाएको हुँ।

सानो छँदा मलाई सबै कुराको त्यति हेक्का भएन। तर पनि तारुघाटमा मेला लाग्छ भन्ने सुनेको हुँ। त्यहाँ ठूली एकादशीमा फूल तारिन्थ्यो। मस्र्याङ्दीको किनारमा ठूलो जात्रा लाग्दथ्यो। यसबाहेक तीज, जनैपूर्णिमा, माघेसंक्रान्ति आदि चाडपर्वमा टाढाटाढाका मानिस जात्रा भर्न आउथे। लमजुङमा लाग्ने ठूलो जात्रा मध्ये तारुघाटको जात्रा एक थियो। बजारमा लाखेनाच पनि हुने गर्दथ्यो। यो नाच अहिले कसैकसैले भनेको सुन्छु, ‘तारुघाटको प्रसिद्ध नाच हो रे’। मलाई पनि यो लाखेनाच धेरै स्थानको भन्दा उत्कृष्ट छ भन्ने लागेको छ। जात्रा लाग्दाको बखत हामीले पनि धेरै पटक बजारको लाखेनाच हेरेका छौ। शहर बजारकै झल्को दिन तारुघाटमा १५, २० किलोमिटर टाढाबाट पनि जात्रा हेर्न आउथें । त्यसो त यो बजार सदरमुकाम बेंसीशहर भन्दा पनि चहलपहलमा थियो। गाउँगाउँमा पाइने डोको, नाम्लो, डालो, थुम्से आदि त्यहीं पाइथ्यो।

बाल्यकालको अवस्थामा हामी वर्षको एक, दुई पटक जात्रा हेर्न बजार झरेका छौं। दिनभर लाखेनाच हेरेर बेलुकी गाउँतिर दाजुभाइदिदी बहिनीहरुसितै फकेर्ंका छौं। बजारमा खासै चिनेजानेका कोही हुँदैनथें। त्यो बजार नै हामीलाई ठूलो शहर जस्तो लाग्थ्यो, त्यहाँ कपडादेखि खानेकुरा जे पनि पाइन्छ भन्ने थियो। पछि तीन कक्षा शुभोदय प्राविमा पढिसकेपछि हामी ४ कक्षा पढ्न बजारको स्कूलतिर पढ्ने भयौं। बजारमा ठूलो स्कूल छ भन्ने सुनेका थियौं। हामीले ३ कक्षा पास गरेपछि शुभोदयमा ‘भोलि बजार पढ्न जाने सबै आओ’ भनेर शुभोदयका गुरु लक्ष्मीनारायण श्रेष्ठले भन्नुभयो। उहाँलाई हामीले ‘पारीमास्टर’ भन्थ्यौं किनकि हाम्रो डौलियाडाडाँको घरबाट पाग्रेंखोला पारी उहाँको घर थियो। सबैले उहाँ पारीको डाडाँबाट आउने हुँदा ‘पारी मास्टर’बाट सम्बोधन गर्दथें।

हामी तीन कक्षा पास गरेका विद्यार्थीहरु ९ जना थियौँ। बिहानै ९ बजे नै शुभोदयमा बडो उत्साहसाथ भेला भयौँ। नयाँ स्कुल कस्तो होला, कसरी पढाउलान् भन्ने एकदमै कौतुहलता थियो। त्यहाँबाट हामी सबै विद्यार्थी उमगंले तारुघाट झर्यौं। म पहिलो पटक आधिकारिक रुपमा बजार पढ्न झरेको २०३३ साल पुस १२ गते थियो। हामी सबैको नाम हामीसितै जाने गुरुले लेखाउनुभयो र विधिवत हामी तारुघाटको स्कुल भर्ना भइयो। स्कूलमा नाम लेखाएपछि पहिलो दिन प्रार्थनाको लागि लाइनमा बस्यौं। फराकिलो आँगन, बाँके परेको स्कूल, १५, १६ जना पढाउने शिक्षकहरु प्रार्थनाको समयमा सबै देखा पर्नुभयो। त्यहाँ हामीले धेरै ठूलाठूला पढाउने गुरुहरु देख्यौँ। अझ अग्ला टोपी लगाउने व्यक्ति स्कुलको सबैभन्दा ठूला मान्छे हो भनेको सुन्यौ। उहाँ दुब्लो र अग्लो हुनुहुन्थ्यो। त्यत्तिकै अग्लो अर्को एकजना पनि हुनुहुन्थ्यो। साँच्चै नै त्यो टोपी लगाउने मान्छे स्कूलको सबैभन्दा ठूलो हुनुहुँदो रहेछ, हरिशरण शर्मा। हामीले उहाँलाई हेडसर भनेर सम्बोधन गरेको सुन्यौं।

अर्को टोपी नलगाउने अग्लो व्यक्ति चाहिँ अंग्रेजी शिक्षक हुनुहुँदोरहेछ। उहाँको नाम धेरैपछि मात्र थाह भयो। उहाँ प्रेमराज चिलुवाल हुनुहुँदो रहेछ। निमाविसम्मका पढाउने बेग्लै सर र मावितिरका लागि पढाउने बेग्लै सर हुँदा रहेछन्। हामीले यो कुरा त्यहीँ सिकेका हौं। सात पिरियडको क्लासमा सातै घन्टी हुने, प्रत्येक घन्टीमा विषयगत शिक्षकले पढाउने हुन्छन् भन्ने त्यही सिकेको हुँ। जब कि शुभोदयमा पढ्दा घन्टीको व्यवस्था थिएन। शिक्षकले ठूलो स्वरमा बाहिर चिच्याएर ‘ल प्रार्थनाको बेला भयो’ भन्नुहुन्थ्यो, अनि छुट्टी हुँदा पनि ‘छुट्टी’ भनिन्थ्यो। हामी कक्षाबाट अटाइनअटाइ हतारहतार गरेर बाहिर निस्कन्थ्यौं। दौडेर नजिकै रहेको घरमा गएर मकै, भट्ट खान्थ्यौं।

तारुघाटको स्कूलमै लाइनमा बस्दा हामीले चिनेका अर्को एकजना चिरिच्याँट्ट परेर कालो टोपी लगाउने, च्याट्ट शरीर परेका अर्को एकजनालाई गुरु भन्दा रहेछन्। उहाँले हामीलाई ७ कक्षामा संस्कृत पढाउनुभएको थियो भने, ८, ९ र १० कक्षामा उहाँले नै नेपाली विषय पढाउनु भएको हो। नाम त धेरैको थाहा पायौं, उहाँ रामचन्द्र पण्डित, रम्घा तनहुँका हुनुहुँदोरहेछ। उहाँले आफ्नो कोकिल कण्ठले कहिलेकाँही कविता वाचन गर्नुभएको याद आइरहन्छ। उहाँको पढाउने कला हामीलाई असाध्यै मन पर्थ्यो। अरुलाई सर भनिदों रहेछ। नेपाली पढाउनेलाई गुरु भनिदों रहेछ। हामीले त्यही तारुघाटमा आएर सिकेका हौ। गाउँमा पढ्दा पढाउने सरलाई मास्टर नै भनेर सम्बोधन गरिन्थ्यो।

स्कूलमा पुगेको त्यही शैक्षिक सत्रको पहिलो दिन । स्कूलको एकापट्टि पूर्वी छेऊबाट हिँडने बाटो रहेछ । माथिल्लो र तल्लो आँगन गरी दुईओटा फराकिला मैदान रहेछन्। मैदानको झण्डै बीचबाट माथि गाउँबाट आउनेहरुको लागि मूलबाटो नै थियो। त्यस मैदानमा सरस्वतीको मन्दिर पनि थियो। त्यो मन्दिर सरस्वती पूजाको दिनमा मात्र खुल्छ भन्ने सुनेका थियौ। पहिलो दिन हामी शुभोदय स्कुलका करिब १०, १२ जना विद्यार्थीहरु घण्टी बजेपछि लाइन लाग्यौं। लाइन मिलाउने सरले बडो मेहनतका साथ हामीलाई शुभोदय भनेर अगाडि लाइनमा बसेकालाई समातेर ‘सीधा अगाडि हेर’ भन्नुभयो। अरु लाइनलाई पनि त्यसै गरी मिलाउनुभयो।

त्यहाँ रामपुरे, तनहुँ, सुदर्शन प्रावि, हराबोट रुद्रदेवीबाट आउने विद्यार्थीहरुका छुट्टै लाइन थियो। हामी अन्य भन्दा साना कदका रहेछौं। हामीलाई शुभोदयका फुच्चे भनिएको कताकति याद छ। सिठ्ठी बजाएर ‘गोडा फाट’, ‘सर्तक’ भनेर बडो कमान्डिङ तरीकाले भनिदों रहेछ। त्यसपछि हामीले राष्ट्रिय गान गायौं र आफनो कक्षाकोठातिर लाग्यौं। कक्षा पहिलो दिन एकदम शान्त थियो। त्यहाँ चार दिशाबाट आउने विद्यार्थीहरु थिए। तनहुँस्थित रामपुरे, हराबोट, अमले र शिख्र डौलियाडाँडाका प्रावि आउने विद्यार्थी थिए। गाउँबाट झर्दा पहिलो दिन कसैलाई पनि त्यो विद्यालय थाह नहुन सक्थ्यो। तर पछि मात्र त्यस विद्यालयको नाम थाह भयो।

त्यस विद्यालयको वास्तविक नाम रहेछ, श्री वीर भक्ति माध्यमिक विद्यालय। हामीलाई त्यसभन्दा अघि तारुघाटको स्कूल भन्ने सिवाय अरु केही थाह थिएन। हामीले त्यहाँ ठूल्ठूला व्यक्तिहरु पनि पढ्न आएका देख्यौ। तिनीहरु ९, १० मा पढ्दा रहेछन्। बाँके परेका ठूलो भवनमा २ ओटा तला थिए र तलमाथि गरी जम्मा १४ ओटा कोठा थिए। ढुंगाले छाएको भवन, ढुंगामाटोको गारो, कतै सिमेन्टका, कतै काठका ब्ल्याकबोर्ड, लामालामा बेन्च, एकापट्टि छेऊमा केटी र अकोर्पट्टि केटाहरु बस्ने व्यवस्था मिलाइएको रहेछ। सानो स्कूलबाट आएका हामी ठूलो स्कूलमा आउँदा दंग पर्यौं । गाउँको स्कूलको सानो मैदान र तारुघाट बजारको स्कूलको मैदान तुलना नै गर्न मिल्दैनथ्यो।

पहिलो दिन अंग्रेजी पढाउने सर इन्द्रविलास अकेला आउनुभो। उहाँ पहिले बेंसीशहरमा पढाउनुहुन्थ्यो रे भन्ने पछि चाल पाइयो। उहाँले अंग्रेजी पढाउनु भएको अहिले पनि याद आउछ। उहाँले अंग्रेजी शब्दको उच्चारण गर्दा जिब्रो फट्कारेर हातका औलाले पनि कान फट्काएझैं गरी उच्चारण गर्न सिकाउनु भएको अहिले पनि हिजो सिकेको जस्तो लाग्छ। घन्टी बजाएर पिरियडको सुरुवात हुन्छ र घन्टी बजाएरै पिरियडको अन्त्य हुन्छ भन्ने मैले त्यतिखेरै थाह पाएको हुँ। गाउँमा पढ्दा घण्टी बजाउने चलन नै थिएन। विषय पिच्छे नयाँ सरहरु आउनुहुन्थ्यो। पढाएर जानुहुन्थ्यो। छुट्टै माहोलमा हाम्रो दिनचर्याको सुरुवात हुँदै थियो।

Related News

सम्बन्धित समाचार

hero news full width