ज्येष्ठ नागरिकप्रति गरिने दुर्व्यवहार र अवहेलनाका सवालहरु

Avatar आदर्श समाज सम्वाददाता
असार १, २०७०

पृष्ठभूमि

सामान्यतया ६० वर्षको उमेर काटेको मानिसलाई ज्येष्ठ नागरिक भन्ने गरिन्छ । औसत आयुको वृद्धि सँगसगै विश्वमा ज्येष्ठ नागरिकहरूको संख्या पनि बढ्ने क्रममा छ । त्यसैले हाल ७६ करोड रहेको ज्येष्ठ नागरिकहरूको संख्या सन् २०५० मा २ अर्व पुग्ने जनसंख्याविद्हरूको अनुमान छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ज्येष्ठ नागरिकहरूको जनसङ्ख्या २५ लाख अर्थात् कुलजनसङ्ख्याको लगभग ९% छ । त्यसैले विश्वका लागि नै ज्येष्ठ नागरिकहरूको व्यवस्थापन बढी चुनौतिपूर्ण बन्दैछ । संयुक्त राष्ट्रसंघले समय-समयमा अन्तर्राष्ट्रियरूपमा ज्येष्ठ नागरिकसम्बन्धी सभा सम्मेलनहरू गरेर पाकाहरूका समस्याहरू तर्फ पनि हरेक देश र समाजको ध्यान आकर्षण गर्ने प्रयास गरेको पाइन्छ । यसैको परिणाम स्वरूप संयुक्तराष्ट्रसंघ कै आहृवान अनुसार अक्टोवर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, सेप्टेम्वर २१ तारिखलाई विश्व अल्जाईर्मर्स दिवस (ध्यचमि ब्शिजimभचक म्बथ) र जुन १५ तारिखलाई ज्येष्ठ नागरिकहरूप्रति गरिने दूर्व्यवहार विरुद्धको विश्व जनचेतना दिवसको रूपमा विश्वभर मनाउने गर्दै आइएको छ ।

पश्चिमी मुलुकहरूमा युवा जनशक्तिलाई सरकारले रोजगारीको व्यवस्था गर्ने भएकाले वयस्क भईसके पछि उनीहरू आफ्नो खुट्टामा उभिन सक्षम हुन्छन् । पैत्रिक सम्पतिमा उनीहरू आशा गर्दैनन् र कानुनतः त्यसमा उनीहरूको हक पनि रहँदैन । उनीहरू बाबु आमासँग बस्नुभन्दा पनि रोजगारीका लागि सहज हुने गरेर स्वतन्त्ररूपमा अलग्गै बस्ने गर्दछन् । साथै ज्येष्ठ नागरिहरूको सामाजिक सुरक्षाको प्रायः सबै पाटो राज्यले जिम्मा लिएको हुन्छ । यसको अलावा पूर्र्वीय संस्कार भएका हाम्रो जस्तो मुलुकमा युवा पुस्ता पैतृक स्ाम्पतिमा बढीमात्रामा निर्भर रहन्छन् । आर्थिकरूपमा सवल नभएतापनि कतिपय सवालमा उनीहरू पश्चिमी सस्कार र सस्कृतिको देखासिकी गर्न भने पछि पर्दैनन्  र भरसक संयुक्त परिवारमा बस्न पनि चाहँदैनन् । जसले गर्दा यतिबेला हाम्रो जस्तो मुलुकको संयुक्त परिवारको स्वरूप खल्बलको संघारमा उभिएको छ र हरेक संयुक्त परिवार पारिवारिक द्वन्द्वतर्फ धकेलिने क्रममा देखिन्छन् । यही र यस्तै कारणले गर्दा हाम्रोजस्तो समाजका ज्येष्ठ नागरिकहरू यतिबेला बढीमात्रामा पारिवारिक र सामाजिक अवहेलना तथा दुर्र्व्यवहारको सिकार हुने गरेका छन ।

नेपालको सर्न्दर्भमा भन्नु पर्दा पनि संयुक्त परिवारमा बस्ने चाहानामा निकै कमी आउन थालेको पाइएको छ । केही मात्रामा यसलाई हालको परिस्थिति र युवाहरूको बाध्यताको उपज पनि भन्न सकिएला तर बाबुबाजेले आर्जन गरेको सम्पति जति आफ्नो हात लगाएर वृद्धवृद्धाप्रति जिम्मेवारी बोध नगरी भरसक उनीहरूलाई अलग्गै राख्ने वा वृद्धाश्रमतिर धकेल्न चाहनेहरूको संख्या पनि यहाँ कम छैन । वृद्धावस्थाको बाबु आमाले अब उनीहरूलाई केही दिन सक्तैनन । जे जति सक्थे दिइसके । यो अवस्थामा आइपुगेका उनीहरू शारीरिक र मानसिक दुबै हिसाबमा कमजोर भएका हुन्छन् । त्यसैले उनीहरू छोराछोरीलगायत सम्पूर्ण आफन्तजनहरूसँग माया, ममता, स्नेह र ढाडस चाहन्छ । तर परिस्थितिका सूचकहरू यसको उल्टो तर्फ जान थालेका छन् । वृद्धवृद्धा संयुक्त परिवारमा नै छन् भने पनि घर परिवारको पछिल्लो पुस्ताबाट जिम्मेवारी बोधका साथ स्नेह, दया र सद्भावपूर्वक उनीहरूको पालनतालन गर्नेहरूको सङ्ख्या निकै कम हुन थालिसकेको छ । सम्भ्रान्त र सम्पन्न छोराबुहारी भएकै परिवारका वृद्धवृद्धा पनि वृद्धाश्रममा भेटिनु यसैको प्रमाण नभएर अरु के हुन सक्तछ ?  कतिपय ज्येष्ठ नागरिकहरू घर बाहिर र समाजबाट भन्दा पनि आफ्नै घर परिवारबाट बढीमात्रामा प्रताडित हुनु परेको तीतो सत्य हाम्रो सामु स्पष्ट  छ । साजिल्ला रामनगरी गाविस २ निवासी ८५ वर्षीय ज्येष्ठ नागरिक बाबुलाल यादव छोराबुहारीले कुटपिट गरी खान नदिई घरबाट निकालेकाले गाउँबाट २५ किलोमिटरको बाटो हिँडेर साा प्रहरी उपरीक्षक रमेश खरेललाई उजुरी गर्दै गरेको फोटो २०६९ माघ २६ गते बिहीबारको कान्तिपुर दैनिकमा छापिएको छ । यो एउटा उदाहरण मात्र हो । यस्ता घटनाहरू खोज्दै जाने हो भने तपाईँ हाम्रो घरपरिवार र गाउँबस्तीहरूमा हजारौको संङ्ख्यामा पाउन सकिन्छ । बोक्सीको आरोपमा प्रताडीत हुनेहरू पनि यस्तै सामाजिक हिंसा र दुर्व्यवहारका शिकार भएका हुन् भन्दा फरक नपर्ला । ज्येष्ठ नागरिकप्रति गरिने हिंसासम्बन्धी पछिल्लो त्यस्तो कुनै अध्ययनको सर्न्दर्भ यहाँ उल्लेख गर्न म त्यति समर्थ छैन । तर पुरानै भए पनि जोरीयाट्रक सेन्टर नेपालले गरेको एक अध्ययनको प्रसङ्ग उल्ललेख गर्न उपयुक्त नै होला भन्ने मलाई लागेको छ । यो अध्ययन अनुसार नेपालका प्रसिद्ध दुर्इ दैनिक पत्रिका कान्तिपुर र अन्नपूर्णपोष्टमा सन् २००८, जुलाईदेखि सन् २०१० को जुलाईसम्म नै ज्येष्ठ नागरिकहरू माथि गरिएका दुर्र्व्यवहारसम्बन्धी ११० वटा घटनाहरू प्रकाशित भएका छन् । अझ भावनात्मक र मनोवैज्ञानिकरूपमा गरिएका दुर्र्व्यवहार घटनाहरू यसमा समाबेस गरिएका छैनन् । यसबाट के निष्कर्ष निस्केको छ भने ज्येष्ठ नागरिकहरूले विशेष गरी आफ्नै हकवाला, अंशियारा र छरछिमेकहरूबाट नै बढीमात्रामा दुर्व्यवहार र अवहेलनाका घटनाहरू ब्यहोर्न पर्ने गरेको रहेछ । अध्ययन अनुसार यस्ता घटनाहरू नेपालका ठूला सहरहरू काठमाण्डौ, पोखरा र विराटनगरमा बढी मात्रामा घटेका पाइएका थिए । यतिमात्र किन –

आजभोलि पनि हरेक दिन जसो कुनै न कुनै पत्रिकामा यस्ता दुर्र्व्यवहारका घटनाहरू छापिने गरेकै छन् । यसबाट के बुझ्न सकिन्छ भने आवश्यक मात्रामा हाम्रो समाज ज्येष्ठ नागरिकहरूप्रति सम्वेदनशील छैन । इन्सेकद्वारा प्रकाशित मानवअधिकार स्थिति-सूचक अङ्क-४ फागुन, २०६९ मा सो वर्ष मात्र ६० वर्षभन्दा माथिका ७१ जना ज्येष्ठ नागरिकहरूको हत्या गरिएको तथ्याङ्क प्रकाशित छ । सामाजिक सुरक्षा भत्ता नपाएर सम्बन्धित जिल्ला प्रशासनदेखि गाविससम्म ज्येष्ठ नागरिकहरू धर्नामा बस्नु परेको र प्रहरीले बल प्रयोग गरेर हटाउँदा राज्यपक्षबाट ज्येष्ठ नागरिकहरूप्रति हुन गएका अवहेलना र दुर्र्व्यवहारका घटनाहरू कान्तिपुर र नागरिक जस्ता राष्ट्रिय पत्रिकामा दिनहुुजसो निस्केका छन् । त्यति मात्र कहाँ हो र ? राज्यले २०६३ सालमा बनाएको ज्येष्ठ नागरिक ऐन २०६३ ले ब्यवस्था गरेका सहुलियत, सुविधा र छुटको प्रत्याभूति गराउन काठमाण्डौमा ज्येष्ठ नागरिकहरूले महिनौ महिना पत्याउनै नसक्ने गरी धर्ना बसे । तर मागको कुनै सनुवाई हुन सकेन, उल्टै उनीहरूलाई बल प्रयोग गरेर धर्नाबाट हटाउने काम गरियो ?नागरिक दैनिकको २६ बैशाख, २०७० को सम्पादकीय) । यसलाई ज्येष्ठ नागरिकहरूप्रतिको राज्यको कस्तो ब्यवहार भन्ने हो ? तपाईँ हामीहरूले यसको परिभाषा खोज्नै पर्छ ।

हामी ऐन बनाउँछौ तर कार्यान्वयन गर्दैनौँ । ऐन बनाउने तर कार्यान्वयन नगर्ने राज्यपक्षको यस्तो कमजोरीलार्ई हामीहरू नैतिकतासँग जोड्दैनौ । विजय सँग जोड्छौ र त्यसलाई एक किसिमको बहादुरी ठान्दछौ । यसै कारण कतिपय ऐन कानुनहरू बन्छन् तर कार्यान्वयन हुँदैनन् । त्यस्तै भएको छ ज्येष्ठ नागरिक ऐन २०६३ र सोसम्बन्धी नियम र कार्यविधिहरूको कार्यान्वयन पनि । विगत अठार-उन्नाई वर्षदेखि राज्यले ज्येष्ठ नागरिकहरूलाई उपलब्ध गराई आएको सामाजिक सुरक्षा भत्तासम्म पनि हामी समयमा र हिनामिना बिना उनीहरूको हातमा पुर्‍याउन सक्तैनौ भने काम गर्ने हाम्रो अरु क्षमता कस्तो होला ? यसै अनुमान गर्न सकिन्छ । कास्की जिल्लाका ज्येष्ठ नागरिकहरूले २०६८।०६९ आर्थिक वर्षको जेठ र आषाढ दुर्इ महिनाका सामाजिक सुरक्षा भत्ता पाउन नसकेकाले उनीहरूको हकमा वकालत गर्दै हिँड्न बाध्य कास्की जिल्ला सराङ्कोट -५ का ७७ वर्षे पूर्णप्रसाद तिमिल्सिनाजस्ता ज्येष्ठ नागरिकहरूको आवाजलाई राज्यले कहिले सम्वोधन गर्ने हो ? बजेट पुगेन अरे, केन्द्रबाट निकासा आएन रे । राज्यलाई अरु सबै बजेट पुग्ने, ज्येष्ठ नागरिकले नियम बमोजिम पाउनुपर्ने सामाजिक सुरक्षामा बजेट नपुग्ने यस्तै छ यहाँको चलन । यस्ता मामलाहरू सबै चेतनशील र जिम्मेवार नेपाली नागरिकहरूको साझा चासो र चिन्ताको बिषय बन्न सक्नु पर्दछ (१ जेठ, २०७० नागरिक दैनिक ) । हामी थुपै्र दिवसहरू  मनाउँछौ । हिसाब गर्ने हो भने हरेक दिनजसो एक न एक दिवस मनाई रहेका हुन्छौ । तर हिँड्दैछ पार्इृला मेट्दैछ भने जस्तै दिवस मनाइसकेको भोलिपल्ट देखि नै यसका मर्महरू बिर्सन्छौ । यस्तो नहोस् आज २०७० आषाढ, १ अर्थात् १५ जुन सन् २०१३ गतेका दिन मनाइने ज्येष्ठ नागरिकहरूप्रति गरिने दुर्व्यवहार विरुद्धको यो विश्व जनचेतना दिवस पनि । यो दिवसको सन्देश पनि तपाई हामीहरूले आफ्ना मान्यजनहरूप्रति आदरभाव राख्न सकौँ । उनीहरूले तपाई हामीबाट अनावश्यकरूपमा कुनै पनि दुर्व्यवहार र अवहेलनाको सहन गर्न नपरोस् र अन्त्यमा मातृ देवो भवः, पितृ देवो भवः आचार्य देवो भवःको जुन भावना मर्म हो त्यससलाई सबैले आत्मसात गर्न सकौँ । यो दिवसले यही नै सन्देश दिन सकोस् ।  सबैले यसैमा शुभेच्छा राखौ । धन्यवाद ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

सामुदायिक विद्यालय, निजी विद्यालय र स्थानीयतह

अन्तराष्ट्रिय फौजदारी अदालत तथा रोम विधान

अमेरिकी रणनीति र नेपाल

थिलथिलिएको युवा मस्तिष्क

प्रमुख समाचार

पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग