जातीय छूवाछूत र कोरना भाइरस

dbbishwakarma डी.बी. विश्वकर्मा
वैशाख १०, २०७७

मेहनत, कला, सीप, जोश, जाँगर, इमान्दारिता हुनेहरुलाई धर्म वेदशास्त्रको माध्यमबाट शोषण गर्न थालियो । उनीहरुको श्रम र पसिनामा एउटा वर्गको रजाइँ हुन थाल्यो ।

भनिन्छ, मानिस समाजिक प्राणी हो । उसले सामाजिक विकास क्रममा विगत ३० लाख वर्षदेखि झुण्ड, कुल–कुटुम्व, गणगोत्रीय समुह, कविलायुग, राजा–महाराजाहरुको क्षेत्रीय राज्य हुँदै बिभिन्न कालखण्डहरु पार गर्दै आएको देखिन्छ । मानव समाजको संचालन साथै व्यवस्थापन गर्न मानवीय चिन्तन, मनन, सांगठनिक संरचना तथा गतिविधिहरुबाट रुपान्तरित र परिवर्तित हुँदै आएको छ ।

मानव सभ्यताको विकासक्रमलाई अध्ययन गर्दा रक्त सम्वन्धवालाहरुबाट गठित हुने गणगोत्रिय समाजकोे युग हुँदै कविला युगसम्म आइपुग्दा सही र गलत के हो ? भनी छुट्याउन त्यस समाजको मुखियाप्रतिको वफादारी वन्नु, विरोध गर्नुलाई मापदण्ड मानेर कानूनी वा गैरकानुनीको रुपमा लिइन्थ्यो ।

समाजशास्त्र एक सामाजिक विज्ञान हो । जसमा समाजको धेरै पक्षहरु आर्थिक, राजनैतिक, सांस्कृतिक, नश्लीय, मनोवैज्ञानिक, वैचारिक, नैतिक, कानूनी, शैक्षिक, भौगोलिक आदीको अध्ययन गरिन्छ । यिनीहरुको अस्तित्वको सुरक्षा, विकास प्रकृया र पद्धतिलाई समाजशास्त्रमा बुझ्न सकिन्छ ।

माानव समाजको इतिहास करिव ३३६० वर्षहरुको मध्यबाट सुरु भएको देखिन्छ । उसको विकासक्रमलाई नियाल्दा केही जिज्ञासा र प्रश्नहरु उब्जिनु स्वभाविक हो । जसको सम्वन्ध प्रत्यक्ष–अप्रत्यक्ष रुपमा मानव समाजको संरचनासँग जोडिन्छ । मानिसको अधिकारको सुनिश्चिता आम मानिसको विवेक, सामाजिक चेतना र शिक्षामा निर्भर गर्दछ ।

सैद्धाान्तिक र व्यवहारिक ज्ञानको योगलाई सामाजिक ज्ञान भनिन्छ । यसैबाट मानिस परिचालित हुन्छ । हिन्दु समाजभित्रको ऐतिहासिक गतिविधिहरु सामान्य देखिदैनन् । सबै घटनाक्रमहरु दर्दनाक छन् । प्रत्यक्ष–अप्रत्यक्ष रुपमा यसले समाजमा अझै जरा गाडेको छ । ति वास्तविक कारणहरुको व्याख्या र विश्लेषण गर्ने अवस्था बन्न सकेन । समाजलाई व्यवस्थापन गर्ने भनिएको एउटा संगठित वर्ग वा समुहले प्रायोेजित रुपमा मानव समाजलाई दुई कित्तामा विभाजित गर्‍यो ।

हिन्दु धर्मशास्त्र अनुसार ब्रम्हबाट पहिलो मानवको रुपमा मनुलाई पृथ्वीमा सृष्टि गरे । उनै मनुले मानिसले समाजमा पालना गर्नुपर्ने नियमहरुको संग्रह गरेर लेखिदिएको ग्रन्थलाई मनुस्मृति भनिन्छ । यो ग्रन्थलाई मनन र स्मरण गर्नु नै मनुस्मृति हो । ईसाई धर्मावलम्बीहरुको गिर्जाघर र मुस्लिमहरुको शारिया झैं हिन्दुहरुले यसलाई धर्मग्रन्थको रुपमा मान्दछन् ।

जीवनलाई अर्थपूर्ण बनाउन र पुरुषार्थ प्राप्तिको उद्देश्य पूरा गर्न धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको संकलन गरियो । यिनै शास्त्रहरुमा काम, कर्तव्य, अधिकार, पाप, धर्म, फलप्राप्ति, जन्म, मृत्यु र मुक्ति जस्ता कुराहरु लेखियो । मनुस्मृतिमा मानव समाजलाई चार वर्णमा (ब्राम्हण क्षेत्री, वैश्य र शूद्र) विभाजन गरिदिए । तर, उनले ब्राम्हण र क्षेत्रीलाई प्राथमिकतामा राखेर राज्य, शासन, सत्ता र शक्तिसित जोडेर आचार संहिताहरु लेखिदिए । जसको कारण उनीहरुलाई राज्यमा प्रभुत्व कायम गर्न महत्वपूर्ण रणनीतिक भूमिका प्रदान गर्‍यो ।

सिन्धु सभ्यताको समाज हिन्दुकरण भएपश्चात मनुस्मृतिलाई आफ्नो कानूनी किताव अर्थात धर्मग्रन्थको रुपमा मान्न थालियो । विस्तारै उन्नाइसौं सताव्दीसँगै यो शास्त्रले दिएको अधिकारको दुरुपयोग हुँदै गयो । जातीय प्रथा, राजनीतिक वा सामाजिक रुपमा ब्राम्ह्ण राजा महाराजाहरुको हितमा भयो । वर्ण व्यवस्थाको आधारमा काम र जातीय विभेद, छूवाछूत, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार निरन्तर जटिल रुपमा अघि बढ्दै गयो । शास्त्रले निर्देश गरेको धर्म, कानूनी मापदण्डहरु मानिसको आस्था र विश्वाससित जवरजस्त जोड्ने काम गरियो ।

छुवाछुतलाई मानवीय भुल बुझेर अब जातीय विभेदको व्यवहारिक रुपमै अन्त्य गर्दै एकजुट भई कोरोना भाइरसबाट बाँच्नु र बचाउनु पर्दछ । खुशीको साटासाट गर्नुपर्दछ । जसमा शान्ति र आनन्द प्राप्त हुन्छ ।

यो व्यवस्थाले वर्गको निर्माण गर्‍यो । समाजमा शोषक र शोषित वर्गबीचको मामला दर्दनाक एवं पीडादायक बन्दै गयो । त्यस वर्णाश्रम व्यवस्था शोषित, पीडित समुदायको लागि अभिषाप बन्यो । धर्म र आस्थाको आधारमा समाजलाई संचालन गर्न तिनै शास्त्रलाई आफ्नो अनुकुलतामा व्याख्या गर्दै शाखा–उपशाखाको नीतिशास्त्रहरु निर्माण गरियो ।

मेहनत, कला, सीप, जोश, जाँगर, इमान्दारिता हुनेहरुलाई धर्म वेदशास्त्रको माध्यमबाट शोषण गर्न थालियो । उनीहरुको श्रम र पसिनामा एउटा वर्गको रजाइँ हुन थाल्यो । पण्डित, राजा–महाराजाहरुको सेवा गर्नु, दान दक्षिणा गरी धर्म र पुण्य प्राप्ति हुन्छ भन्ने भ्रम श्रृजना गर्‍यो । यसले शिल्पी श्रमजीवी वर्गका समुदायको काँधमा धेरै ठूलो जिम्मेवारी बढ्यो । कृषि औजार, उत्पादन, पशुपालन, भान्सामा प्रयोग हुने भाँडाकुँडा, राज्य सुरक्षाको लागि आवश्यक हतियार वा धार्मिक शक्तिपीठहरुमा सजाइने देवी देवताको मुर्ति, गजुर, कलाकृतिहरुको उत्पादनमा शिल्पीहरुलाई लगाइयो ।

रातदिन, भोक प्यास, आफ्नो र परिवारको पनि ख्याल नराखेर शिल्पीहरु समग्र समाजको खातिर आफूलाई समर्पित गर्दै रह्यो । उनीहरुले आफ्नो निजी जीवनका पक्षहरु (स्वास्थ्य, सरसफाई, शिक्षा र सामाजिक गतिविधि ) मा ध्यान दिन भ्याएनन् । वर्ग समुदायबीच यिनै कुराहरु अनुलंघनीय बन्दै गयो । विभेदको सीमा रेखाहरु फराकिलो बन्दै गयो । पाप, धर्म, इश्वर र जातीवादी भ्रमहरुको प्रभाव यहीँबाट बढ्दै गयो ।

समाजमा जातीय छूवाछूत यति दर्दनाक र पीडादायक बन्यो । त्यो मानवले मानवलाई गर्ने व्यवहार कल्पना गर्न सकिंदैन । मानिसले, मानिसलाई किन चिन्न सकेनन् ? किन मानवीय व्यवहार गरेनन् ? फोहोरको डंगुरमा मुख डोबेर आची खाने कुकुर, बिरालो, झिङ्गा, फट्याङ्ग्राहरु तिनै धर्मवादीको मानिसको हितैषी भए ।

तर, जीवन रक्षक मानव अछूत र पराई भए किन ? भगवान साँचो रुपमा छन ? किन भगवानलाई ठगेको, नडराएको ? के भगवान कसैको एकलौटी हुन् ? भगवान छन् भने संपूर्णलाई समान सन्तान मान्नु पर्दैन ? सन्तानलाई कहीँ विभेद गरिन्छ ? विभेद गर्नेलाई दण्ड सजाय हुनुपर्दैन ?

भगवानको सुन्दर मुर्ति र कलाकृतिहरु भोकप्यास कालोमैलो जसरी हुन्छ, मन्दिर निर्माणमा सजाउने शिल्पीहरुलाई नै छुनबाट बञ्चित गराउने किन ? कोही जतिसुकै फोहोरी, असभ्य, अज्ञानी भएपनि शुद्ध मानिने किन ? आवश्यकताका राम्रा, मिठा र बहुमूल्य वस्तुहरुमा छोइछिटो नहुने किन ?

यस्ता कुरिति र कुसंस्कारहरुले सताव्दीऔंसम्म यो प्रथाले समाजमा जरा गाड्यो । जहाँ मानवीय समवेदनालाई बुझ्न सकेन । जुन जिरिङ्ग आङ फुलिएर, मन कुँडिएर त्यो समाजसित दुख लाग्नु स्वाभाविक बन्दछ ।

राज्यका राजा–महाराजा, शासक, पण्डित, पुजारी, पुरोहित, उपल्लो वर्ग वा जाति विशेष भनिनेहरुको मनुस्मृतिमा आधारित वर्ण र जाती व्यवस्थाको जगमा सदिऔंसम्म क्रुर, अन्याय, अत्याचार, हेला, विभेद, छूवाछूत जस्ता अमानवीय व्यवहारबाट लादियो । यसरी पिल्सिएर जिउनुपर्दाको पीडा भोग्नेलाई मात्रै थाहा हुन्छ ।

आज राज्यले केही नीति नियम र कानून बनाई जातीय भेदभावमा रोक लगाउन खोजेको छ । यो केही सकारात्मक कुरा हो । तर, राजनीतिक, सांस्कृतिक, सामाजिक र धार्मिक कुनै न कुनै कोणबाट अझै यो प्रथा समाजमा व्याप्त छ । व्यवहारिक रुपमा अन्त्य हुन सकेको छैन । दुर्गम तथा ग्रामीण क्षेत्रमा चेतनाको अभावले भन्न सकिन्छ । तर, शहर बजारका पढे, लेखेको, शिक्षित, बौद्धिक समाजमा पनि अझै छूवाछूत र विभेद अझै व्याप्त छ ।

आज विश्वमा कोरोना नामको भाइरसले आतंक मच्चाएको छ । दिनदिनै संक्रमितहरु बढिरहेका छन् । त्यसरी नै मानिसहरु मरिरहेका छन् । यो रोगले धनी, गरिव, उद्योगी, व्यापारी, मजदुर, प्राधापक, डाक्टर, विधार्थी, शिक्षित, अशिक्षित, धर्म, जाती, लिंङ्ग, राजनीतिज्ञ, धार्मिक गुरु, पुजारी कसैलाई पनि माया मानेर छाड्ने अवस्थामा छैन । यसले हरेक राष्ट्र, समाज र परिवारबीच दूरी बढाएको छ । परिवारमा एकले अर्कालाई छुन नसक्ने छूवाछूतको अवस्था सृजना गरेको छ । यसरी टाढा हुँदाको पीडा जो कसैले महसुस गर्न सक्छ ।

सताव्दीऔंदेखिको जातीय छूवाछूतको पीडा कस्तो भयो होला ? एक पटक सबैले आँखा चिम्लिएर सोचौं, मनन् गरौं । छुवाछुतलाई मानवीय भुल बुझेर अब जातीय विभेदको व्यवहारिक रुपमै अन्त्य गर्दै एकजुट भई कोरोना भाइरसबाट बाँच्नु र बचाउनु पर्दछ । खुशीको साटासाट गर्नुपर्दछ । संसारमा सबैभन्दा इच्छाइएको वस्तु खुशी हो । जसमा शान्ति र आनन्द प्राप्त हुन्छ ।

हाम्रो सुझाव