जरा पनि थरीथरी

kalyaanpanta कल्याण पन्त
कार्तिक २०, २०७६

हरेक बोटबिरुवाका आआफ्नै प्रकारका पात, काण्ड र जरा हुन्छन्। पातहोस् या जरा ती पनि एकैनासका हुँदैनन्। कुनै जरा साधारण प्रकारका हुन्छन् भने कुनै अल्लि जटिल प्रकारका हुन्छन्। पृथ्वीमा आँखाले देख्न नसकिनेदेखि लिएर भीमकाय वनस्पतिहरु छन्। वर, पिपल, सिमल, आँप आदिका वृक्ष ठूला हुन्छन् भने क्लामाइडोमोनस, भोल्भक्स आदि जस्ता वनस्पति अत्यन्तै साना हुन्छन्, जसलाई राम्ररी हेर्न सूक्ष्मदर्शक यन्त्रको सहायता लिनु पर्दछ। हाम्रै वरपर फूल नफुल्ने ससानादेखि लिएर फूलफुल्ने वनस्पति थुप्रै छन्। खोलामा पाइने लेऊदेखि लिएर भित्तामा टाँसिने ससाना बोटबिरुवाहरु पनि अत्यधिक मात्रामा पाइन्छन्। अझ यस्ता बोटबिरुवा पनि छन्, कतिपयलाई हामीले याद गरेकै छैंनौं।

समग्रमा भन्दा जरा वनस्पतिको वानस्पतिक भागमध्येको एक हो। यो दुई प्रकारको भएपनि यसको रुपान्तरित भाग विभिन्न आकृतिमा देखिन्छन्। आर्थिक महत्वका हिसावले यो कुनै तरकारी या सजावटका लागि प्रयोग हुने वनस्पति पर्दछन्।

वनस्पति जगतमा मूलतः फूल फुल्ने र नफुल्ने खालका गरी दुई प्रकारका वनस्पतिहरु छन्। वनस्पतिका वर्गीकरणअनुसार ससाना बोटबिरुवाहरुलाई तल्लो वर्गका वनस्पति अन्तर्गत राखिएका छन्। यस अन्तर्गत ब्याक्टेरिया, लेऊ प्रजाति, ब्रायोफाइटा (चिसो भित्तामा उम्रने ससाना वनस्पति) पर्दछन्। यी बोटबिरुवाहरु फुल्दैनन्, फल्दैनन्। त्यसैले यस्ता खालका वनस्पतिलाई अपुष्पक वनस्पति भनिन्छ। यिनीहरुका जरा, पात र काण्ड छुट्याउन सकिदैंन। तसर्थ यिनीहरु वनस्पति भएर पनि जरा हुँदैन। यी ब्याक्टेरिया, लेऊ वर्ग, ब्राइफाइट जस्तैं माकेर्न्सिया, फ्युनारिया आदि फूल नफुल्ने वनस्पति हुन्। यसमध्ये ब्राइफाइटमा पर्ने वनस्पतिका केही जराजस्ता पलाएका हुन्छन्। यिनीहरुका वास्तविक जरा हुँदैनन् तर जराजस्तै अर्थात् राइज्वाइड भनेर चिनिन्छ। अकोर्शब्दमा भन्ने हो भने यी अत्यन्तै कम विकसित भएका जरा हुन्। पानी र खनिजतत्त्व यसैबाट तान्दछ।

फूलफुल्ने प्रजातिमा कोणधारी वनस्पति (जिम्नोस्पर्म) र अन्य सम्पूर्ण फलफूल दिने वनस्पति (एञ्जिओ स्पर्म) हुन्। फुल्ने प्रजातिका वनस्पतिहरु पृथ्वीमा २ लाख ५० हजारको हाराहारीमा पाइन्छ। यिनीहरुका जरा विभिन्न खालका हुन्छन्। उन्यू प्रजातिभन्दा माथि रहेका उच्चवर्गका वनस्पति जस्तैः कोणधारी वनस्पति र सपुष्पक वनस्पतिका जरा राम्ररी विकसित भएको हुन्छ। न्युरो, कालीसिन्की, मउरो जस्ता उन्यूहरुका जरा अत्यत्तै बलिया हुन्छन्। यिनका रंग कालाहुन्छन् तर यिनीहरुको काण्ड भने जमीन मुनि नै तेर्सिएर बसेका हुन्छ। काण्डबाटै रेशाजस्ता जरा पलाएकाहुन्छन्।

जरा जमीन मुनिको भागमा हुने भएकोले यो माटोबाटअत्यन्तै गहिराइ वा सतहमै फैलिएर गएका पनि हुन्छन्। यसको मुख्य काम भने सम्पूर्ण बोटबिरुवालाई माटोमा अड्याएर राख्ने र पानी तथा खनिज तत्त्व सोसेर लिनु हो। जरा हरियो बाहेक अरु रंगका हुन्छन्। यसबाट ससाना हाँगाका शाखाप्रशाखा फैलिएर आँख्लामा छुट्टिएका हुन्छन्। मूल जराबाट थुप्रै ससाना हाँगा उत्पत्ति भएर गएका हुन्छन्। यसलाई मुख्यतया दुई भागमा बाँडिन्छ, रेशादार जरा (फाब्रस रुट) र मूल हाँगाबिंगा भएका जरा (ट्याप रुट)। रेशादार जरा एकदलीय बोटबिरुवा जस्तैः धान, मकै, गहुँ, कोदो आदिमा पाइन्छ । यसको मूल विशेषता भनेकै कुनै पनि रेशाहरु ठूलो हुँदैनन्। सबै एकै प्रकारका रेशा हुन्छन्।

जरा मुख्यतःदुई थरी भए पनि यसका विभिन्न रुपहरु हुन्छन्। त्यसलाई रुपान्तरित जरा भनिन्छ। उदाहरणको लागि मूला, डल्लेमूला, गाजर, शखरखण्ड, सिमीहरुको जरा फरक खालका छन्। यिनीहरुको प्रकार विभिन्न थरीका हुन्छन्। मूल जरा अर्थात् ट्याप रुटहरु हाँगाबिंगा पलाएका हुन्छन्। यसका मसिना हाँगाबाट अर्को हाँगा पलाउने र फेरि त्यसैबाट अर्को निस्कने हुन्छ। तोरीको जरा हेर्ने हो भने यसको मूल जराबाट अन्य अत्यन्तै साना मसिना हाँगाबिंगा पलाएका हुन्छन्। यस्ता प्रकारका जरा अन्य पनि हुन्छन्। मूलाको जरा ठूलो हुन्छ। यसको भागबाट ससाना रौंजस्ता मसिना निस्केका हुन्छन्। अझ मूलाको बीच भागमा मोटो हुन्छ तर छेऊ र टुप्पाको भागमा तिखारिदैं गएको हुन्छ। यस प्रकारको जरालाई फ्युजीफर्म जरा भनिन्छ।

गाजर र मूलाको जरा हेर्ने केही हदमा मिल्दोजुल्दो देखिए पनि फरक छ। यसको गानो एउटै प्रकारको हो तर यिनीहरुको बनावटमै अन्तर छ। मूलाको लम्बाइको बीचतिरका भाग केही मोटाइ भएको हुन्छ। माथिको भाग केही सानो हुन्छ तर फेदतिरको भागभने पूरै चुच्चिएर गएको हुन्छ। तर गाजरमा भने जराको माथिल्लो भागको मोटाइ बढी र त्यसपछि तलको भागको क्रमशःचुच्चिएर गएको हुन्छ। यसको आकार हेर्दा ठ्याक्कै कोणिय आकार (कोन) को हुन्छ। यस प्रकारको जरालाई कोनिक रुट अर्थात् कोणिय जरा भनिन्छ। त्यसरी नै सलगमको जरा अन्य वनस्पतिको भन्दा फरक छ। यो आकारमा डल्लो गानो हुन्छ। यो गानोको बीचको भाग फुकेको भुरुङ आकारको हुन्छ। पातको उत्पत्ति यही गानोबाट नै हुन्छ। ससाना मसिना कपालको रौंजस्ता जराहरु यही गानो फैलिएर गएको हुन्छ। यस प्रकारको गानोलाई वनस्पतिशास्त्रको भाषामा न्यापिफर्म रुट अर्थात् डल्लाकार जरा भनिन्छ।

केही बोटबिरुवाका जराहरु बेग्लै खालबाट पलाएका सहायक जरा हुन्छन्। जस्तै मकै, उखुमा तल जमीनमुनि जरा आइसकेपछि पनि जराभन्दा माथिबाट ढल्नबाट जोगाउने गरी काण्डको वरपरबाट टेको लगाउने गरी जराहरु पलाएका हुन्छन्। यसले अग्लो बोटबिरुवालाई सीधा अड्याएर राख्न सहयोग गर्दछ। यस्तो जरालाई स्टिल्ट रुट भनिन्छ।

वरको रुखको जरा पनि अचम्मको हुन्छ। यो पूर्णतया वयस्क भइसकेपछि आफ्ना मूल जरा बाहेक अर्को प्रकारको जरा हाँगाहरुबाट लत्रिएर तलझर्दछ र माटो भेटेपछि जमीनमुनि जान्छ। यस प्रकारको जराको मुख्यकामबढीभार भएकाहाँगालाई भाँचिनबाट जोगाउनु हो। पुराना बूढा रुखहरुमा यस्ता प्रकारका जराले खम्बाको काम गर्दछ। यस्ता जराहरु प्रशस्त मात्रामा देख्न सकिन्छ। यस प्रकारको जरालाई प्रोप रुट भनिन्छ।

सुनाखरी (अर्किड) को जरा पनि गजबको हुन्छ। यो रुखको मूलहाँगा वा सहायक हाँगामा टाँसिएर आएको हुन्छ। रुखमाथि आउने हुनाले यसको जरा त्यत्तिकै हावामै फकेर्को हुन्छ। अरु बोटविरुवाको जरा भन्दा यसको जरा अल्लि बेग्लै खालको देखिन्छ। जराको टुप्पो मुलायम सानो टोपीजस्तो आकार भएको हुन्छ। रुखबाट झुण्डिन्छ। हावामा झुण्डिने भएकोले यसलाई एरियल रुट भनिन्छ। हावामा भएको चिसोपन (आर्द्रता) लिएर नै आफूलाई चाहिने जलांश यसले परिपूर्ति गर्दछ।

भटमास, सिमी, बोडी, रहर, मास, केराऊ, चना आदि जस्ता गेडागुडीका बोटबिरुवाहरुका जरामा गिर्खा पलाएका हुन्छन्। यी गिर्खाहरुमा ब्याक्टेरियाहरु रहेका हुन्छन्। त्यहाँ रहेका ती ब्याक्टेरियाले वायुमण्डलमा भएका नाइट्रोजनलाई सोसेर लिन्छन् र नाइट्रोजन भएका यौगिक बनाउँछन्। गेडागुडीमा भएका जरा र ब्याक्टेरियाको बीचमा एक प्रकारको सम्बन्ध रहेको हुन्छ। त्यस सम्बन्धलाई सिम्बायोटिक एसोसियसन भनिन्छ।

शखरखण्डका जरा गानोको रुपमा हुन्छ। यो सुनिएको हुन्छ। यस आकार नमिलेको जस्तो अनियमित खालको हुन्छ। यस प्रकारको जरालाई ट्युवरस रुट भनिन्छ। केही बोटबिरुवाहरुका जरामा थुप्रै ससाना गानाहरु समूहमा झुण्डिएका हुन्छन्। यस्ता जरालाई फ्यासिकुलट रुट भनिन्छ, जस्तै कुरिला, लाहुरे फूलमा। जाबो भन्ने एक प्रकारको वनस्पति जसको काण्ड चपाउँदा पर्पराउँदछ। यो रुखमा टाँसिएर माथितिर जान्छ। सितिमिति यस्ता जरालाईबाहिर राम्रोसित निकाल्न सकिन्न। यसले एकदमै बलियो गरी आधार भागलाई समातेको हुन्छ। मनिप्लान्टको जरा पनि यही प्रकृतिको हुन्छ।

समुद्र किनारी भागतिर पाइने एक प्रकारको वनस्पति जसलाई म्यानग्रुभ भनिन्छ। यी वनस्पतिको जरा केहीभाग जमीनमुनि जान्छ धेरैजसो जराहरु जमीनबाहिरबाटै माटोलाई समातेको हुन्छ। यिनीहरुको जरामा ससाना छिद्रहरु हुन्छन्, यसै भागबाट श्वासप्रश्वास हुने गर्दछ। आकाशबेलीको लहरामा चुस्ने खाल (सकिङ रुट) हुन्छ। जरानै खुम्चने खाल (कन्टाकटाइल रुट)को पनि हुन्छ, जस्तै क्रोकस। मकरकाँची, ब्रायोफाइलको जरा पातमै रहेको हुन्छ। पछि जमीनमा भएपछि यो चारैतिर बढ्दछ।

समग्रमा भन्दा जरा वनस्पतिको वानस्पतिक भागमध्येको एक हो। यो दुई प्रकारको भएपनि यसको रुपान्तरित भाग विभिन्न आकृतिमा देखिन्छन्। आर्थिक महत्वका हिसावले यो कुनै तरकारी या सजावटका लागि प्रयोग हुने वनस्पति पर्दछन्। वनस्पतिमा हुने विभिन्न खालका जराहरु पनि आफ्नै महत्त्वका छन्।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

हाम्रो परिचय क्षेत्र हिमवत्खण्ड नेपाल

जनता र नेता बीच अन्तर

तारुघाटमा आत्मानुभूति

चिनियाँ मित्रको आँखामा पोखरा

प्रमुख समाचार

टिपर दुर्घटनामा दुईको मृत्यु