जनता र नेता बीच अन्तर

शिवप्रसाद गौतम
मंसिर २५, २०७६

पृथ्वीनारायणले ‘घूस दिन्या र लिन्या देशका शत्रु हुन्’ भनेका छन् तर अहिले घूस दिने र लिने देशका मित्र हुन् भन्ने आभिव्यक्ति समाजमा झल्केको छ। किन भने घूस्याहरु नै यज्ञ महायज्ञमा प्रशस्त धन दिएर दानवीर बन्दछन्।

जनता नभई कुनै पनि व्यक्ति नेता बन्न सक्तैन। देशमा बस्ने मानवहरुको समष्टि रुप, समूह, जनसमूह, लोक वा जनता हो। कुनै राजनीतिक दल वा जनसमुदायलाई असल बाटो देखाउने नायक, नेता हो। अर्थात् लैजाने, बाटो बताइदिने व्यक्ति, नायक मालिक व्यक्ति, कुनै दल वा जनसमुदायलाई असल बाटो देखाउने, नेतृत्व गर्ने व्यक्ति, नेता हो।

देशको सार्वजनिक पद धारण गर्न जनताको अभिमत पाएर विजयी भएको व्यक्ति नेता हो। जानी नजानी नेता हुँ भनी धाक लगाउने काम, आफ्नो सामथ्र्य विना पनि बडप्पन देखाउने प्रकृया नेता गिरी हो। नेपालमा कसैले तपाई भनोस नभनोस् आफै मपाई हुने नेताहरु प्रसस्त छन्। जनताको सेवा नगरी कुनै पनि व्यक्ति नेता हुनै सक्तैन। नेता हुनलाई पहिले जनता हुनै पर्छ।

नेपालको राजनीति जति बुझ्यो उति ह्रो, झन बुझ्यो झनझन गाह्रो छ। यहाँ जनता कराउँदैछन् नेता घर बनाउँदै छन्। जनताको आवाज ईश्वरको आवाज हो भन्ने नेताले बुझ्दैन। नेताहरुलाई जनताको काम गर्न हात खुट्टा गल्छन्, कमिसन आए ठूला –ठूला डल्ला खान्छन्। जनता भन्छन् बहुदल आयो, नेता भन्छन् तँलाई होइन हामीलाई आयो। छोराले आमालाई भनेछ आमा–आमा बाबा आउनु भयो। आए त आए तेरो लागि आएका हुन र आए त आए मेरो लागि आए। चुप लाग खेल्न जा।

नेपालका नेता चुनावका बेला जनतालाई ढोग गर्छन्। उनीहरुको मतको मात लागे र विजयी भए पछि “खोलातर्यो लठ्ठी विर्स्यो” गर्छन्। नेपालका नेता कस्ता छन् – (१) नेताका अगाडि भ्रष्टाचार को बखान व्यर्थ छ किन भने उनीहरुको पेशा नै भ्रष्टाचार हो। (२) नेताका भाषण, गोहीका आँसु हुन्। (३) नेताका भाषण बाह्र वर्ष सुने पनि झूटाका झूटै हुन्छन्। (४) नेताको बोली, वर्ष दिन टली। (५) नेताको बोल्ने कुरा र गर्ने काम अर्कै हुन्छ अर्थात् हात्तीको चपाउने र देखाउने दाँत जस्तै हुन्छ। (६) नेपालका नेता नेता भएर जनतासँग दुश्मनी गर्छन् भनाइको अभिप्राय : जनतालाई ठगेर आफ्नो भूँडी भर्छन्। जनताको नून खाए पछि देशको भलो गर्नु पर्छ भन्ने नेपालका नेतालाई ख्याल छैन। नेपालका नेता बजेट कहाँ पोख्छन्? आफ्नै पकेटमा। नेपालको प्रशासन र राजनीतिमा घूसखोरी जनता बोल्न सक्दैनन् मुख फोरी।

घूस खानु र भूस खानु खराब हो। घूस खाने र भूस खाने एउटै हुन्। घूस खानेलाई कानूनले छेक्दैन, आख्तियारले भेट्दैन। घूस खानेले जुस खायो, नखानेलाई पोल लाग्यो। नेपालमा घूस नखाने कर्मचारी र दिशा नखाने सुँगर एउटै हुन् भन्ने घूस्याहाहरुको अभिव्यक्ति छ। घूस नमाग्ने कर्मचारी र विष नलाग्ने सर्प उस्तै हुन्। घूस दिने मानिसको घुस्सी सहने नेपालका कर्मचारीहरुको परम्परा छ। नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वादी दर्ता गर्छ भने भ्रष्टाचारी नेता प्रशासक प्रतिवादी दर्ता गर्छन्। वादी भन्दा प्रतिवादीको जित बढी भएको छ।

विशेष अदालतले प्रमाण नपुगेको भनी वादीदावी खारेज गरेका प्रशस्त उदाहरणहरु छन्। घुस्याहा भन्ने जानेपछि घूस दिऊँ कि भनेर सोधिरहनु पदैर्न। भ्रष्टाचारी नेता र प्रशासक आर्थिक चलखेल बढी हुने मन्त्रालय रोज्छन् भने सदाचारी जहापनि काम गर्न तत्पर हुन्छन्। भ्रष्टाचारी नेतालाई कानूनले छेक्दैन। भ्रष्टाचारीलाई सबैले शिष्टाचार गर्छन् भने सदाचारीलाई तिरस्कार। बडा महाराज पृथ्वीनारायणले ‘घूस दिन्या र लिन्या देशका शत्रु हुन्’ भनेका छन् तर अहिले घूस दिने र लिने देशका मित्र हुन् भन्ने आभिव्यक्ति समाजमा झल्केको छ। किन भने घूस्याहरु नै यज्ञ महायज्ञमा प्रशस्त धन दिएर दानवीर बन्दछन्। भ्रष्टाचारीहरु नै समाज सेवा र धार्मिक व्यक्तिको रूपमा परिचित भएका छन्।

यस विषयमा सामाजिक सोच गलत छ। अहिले नेपालमा सदाचारी नेता र प्रशासकहरु नै सम्मानित हुन्छन्। उनीहरु नै पदोन्नति र सरकारी पद प्रतिष्ठा पाएर सम्मानित हुन्छन्। भ्रष्टाचारीहरुका परिवारको समाजमा इज्जत प्रतिष्ठा छ। सदाचारीका परिवारले असामाजिक विकास विरोधी खुपी हारा आदिको लाञ्छना भोग्नु परेको छ।

नेपालमा सय भारी खर काट्ने भन्दा त्यही खर जलाएर खरानी पार्नेहरूको बोलवाला बढी छ। पोखरा शहरको गौचरण सार्वजनिक पाटन, पाटी पौवा, चौपारी, पोखरी लोप गर्ने, सार्वजनिक सम्पत्ति हडप्नेहरू नै पुरुषर्थी र इज्जतदार भएका छन्। सार्वजनिक जग्गा आफ्नो नाममा दर्तागरी लालपूर्जा लिने आफूलाई पुरुषार्थी ठान्छन्। खोला नदी र शहरका मूल सडकको किनारामा काल्पनिक सुकुम्वासी राखेर उनीहरको मतबाट विजयी भएर भ्रष्टाचार गर्ने विषयमा कुनै पनि राजनीतिक दल अछुतो रहन सकेका छैनन्।

प्राकृतिक स्रोत साधन दोहोन गरेर धनी हुने संस्था र व्यक्ति देशमा प्रशस्त छन् तर यिनको संरक्षणमा कसैको चासो छैन। हरियो वन नेपालको धन भन्ने उखान छ तर यसलाई नष्ट गर्ने व्यक्ति नेता र सामुदायिक वन उपभोक्ता समिति सरकारी कार्यालय प्रशस्त छन् कृषि प्रधान देश भनिन्छ तर कृषि भूमि दिन प्रतिदिन नष्ट गर्नेहरूको बोलबाला बढी रहेको छ। यस्ता दुष्कर्म रोक्ने कानूनी अधिकार पाएका सरकारी कार्यालयहरु नै आफै झाक्री आँफै बोक्सी भएका छन्। जसले गर्दा सर्वसाधारण जनताहरु ठूलो मारमा परेका छन्।

यी सम्पूर्ण विकृतिहरु सहन गर्ने सर्वधारण जनता मात्र छन्। देशमा प्राकृतिक प्रकोप महा भूकम्प, बाढीपहिरो अनावृष्टि, अतिवृष्टि, बन्द हडताल, नाकाबन्दी आदिको मार जनताले भोग्नु पर्छ। सरकारी योजना नेताको हितमा चल्छन्। सर्व साधारणको हितमा चल्दैनन्। जनतालाई ऋणमा डुवाइएको छ भने नेता प्रशासक मोज गरिरहेका छन्। नेपालमा लोकतन्त्र प्राप्तिको प्रतिफल जनताको लागि “कौवालाई वेल पाकेर हर्ष न विस्मात भएको छ।”

Related News

सम्बन्धित समाचार

hero news full width