माघ महिनाको अन्तिम साताको एक बिहान ९:३० बजे मेरा एक जना मित्र सुरेन्द्र थापा मगरको फोन आयो, मेरो मोवाईलमा गोरखापत्र बाजेको पनि सद्गत् हुँदै रहेछ भनेर। थापाजीले पृ.ना. क्याम्पसका प्रमुख गेहेन्द्र कोर्इरालाकी माताज्यू परलोक भएको र सेतीनदीको तुलसीघाटमा दाहसंस्कार हुँदै गरेको समाचार बताउने क्रममा गरेको यस खबरले मलाई स्तब्ध बनाएको हो। अझ “गोरखापत्र बाजे” सेतीको नहरमा हाम्फालेर आत्महत्या गरेको सुन्दा त मलाई अत्यन्त दुःखी बनायो र अहिले पनि मलाई यस कुराले मर्माहत गराई रहेको छ।
गोरखापत्र बाजेसँग मेरो चिनजान २०२५ सालदेखिको हो। म मेरो जन्मघर पर्वत जिल्लाको दक्षिणभेगबाट पोखरा हुँदै काठमाडौं जान आएको थिएँ। एस.एल.सी. को वाषिर्क परीक्षा दिएपछि सोको नतिजा प्रकाशित नह“ुदै गाउँको स्कुलमा पढाउँदै थिएँ। काठमाडौं पढ्न जान हिँडेको लगातारको वर्षा र आकासमा लागेको बादलले गर्दा ७-८ दिन जहाज चलेन, उडान रद्द भइरह्यो। त्यस बेला सिर्द्धार्थ राजमार्ग र पृथ्वीराजमार्ग बनिसकेका थिएनन् । सिर्द्धार्थ राजमार्ग सायद बन्दै थियो। पोखराबाट काठमाडौं जान रोकिएको मेरो दैनिक कर्म एयरपोर्ट पुग्ने र जाहाज कुर्ने थियो। एउटा प्लेन पुरानो चल्थ्यो, सीमित उडान। केही उडान भईहाले पनि ‘ठूला-बडा’ जान्थे। गोरखापत्र बाजे पनि दैनिक आउने गर्दा रहेछन्- पत्रिका लिनको लागि एयरपोर्ट। एउटा गोरखापत्र मैले किनेको छु , त्यतिबेला उनीसँग। यही पत्रिका किन्दा किन्दै कसैले उनलाई बोलायो, केही टाढाबाट ‘गोरखापत्र बाजे’ भनेर। उनको नाउँ गोरखापत्र बाजे रहेछ भन्ने थाहा पाएँ, तर चिनजान भएको थिएन। त्यतिबेलाको प्रमुख पत्रिका भन्नु नै गोरखापत्र रहेको र मुख्यतः यही पत्रिकाको वितरक तथा विक्रेता उनी भएकोले सबैले गोरखापत्र बाजे भनेका होलान् भन्नेसम्म पनि मलाई बोध भएन । पत्रिकाको र मानिसको नाउँ एउटै कसरी भयो – यसले मलाई आर्श्चर्य बनाएको थियो, अको, बाजे भनेको हजुरबुबा, बुढालाई संवोधन गरिने नाताले यिनलाई युवकै अवस्थामा किन बाजे भने – भन्नेले पनि मलाई कौतुहल बनाएको थियो। यसको भोलिपल्ट बिहान पनि फेरि भेट भयो मेरो, यी गोरखापत्र बाजेसँग। यो दिन त अबेलासम्म कुरियो एउटा पनि जहाज आएन। यो दिन मेरो सामान्य कुरा भएको हो-उनीसँग। साह्रै फरासिलो र खुलस्त मान्छे भन्ने लागेको हो। यसै दिनको घटनाको एउटा दृश्य पनि मेरो सम्झनामा ताजा छ। विमानस्थलको अफिस भने पनि टिकट घर भने पनि त्यही थियो, ग्राउण्डको उत्तरतिरको सानो घर। यसै घरको नजिक दक्षिणतिर एउटा समीको चौतारी थियो। यात्रुहरुको प्रतीक्षालय जस्तै थियो यो।त्यहाँ ३,४ जना भद्रभलाद्मी जस्तै देखिने मानिस उभिएर कुरा गर्दै थिए। त्यसै समूहमा “जय नेपाल” कविजी भन्दै गोरखापत्र बाजे मिसिन पुगे। म नजिकै उभिएको थिएँ। गाउँबाट आएको ठिटो कसैसँग चिनजान थिएन। यिनीहरुको कुरातिर भने अत्यन्त उत्सुकतापूर्वक कान लगाएको थिएँ। एकजना कालो वर्णको व्यक्तिले केही पुरस्कार पाएको रहेछन् क्यारे राम्रो सुकिलो कोट, पाइन्टमा सजिएको, छोटो कपाल बनाएको फुर्तिलो युवकले उनलाई बधाई छ कविजी भनेपछि त्यो कालो अनुहारका व्यक्तिले “मैले यसमा आफ्नै मुटु नै निचोरेर लेखेको हुँ भूपी बाबु” भने अनि यी भूपि बाबु भनिएकाले पहिले पहिले सुन्तलाका केसरा निचोरेझैं गाइनेको मुटु निचोर्र्नु हुन्थ्यो अहिले आफ्नो मुटु निचोर्र्नु भएछ भनेपछि त्यहाँ उपस्थित सबै गलल्ल हाँसेका थिएँ। गोरखापत्र बाजे यो सर्कलमा मिसिएर कुरा गर्न थालिसकेका थिए। यसै दिन मैले थाहा पाएँ, एक जना कवि धर्मराज थापा र अको भूपी शेरचन रहेछन्, ठट्टा गर्नेमा।
पछि २०२७ सालमा २/३ वर्ष म पोखरामा बसें। पत्रिका त्यतिबेला पनि नियमित पढ्थें। यसले गोरखापत्र बाजेसँग मलाई नजिक बनायो। मैले देखेको हुँ, त्यतिबेला देखिने वर्षा याममा मकैबारीले ढाकेको पोखराको पातलो बस्ती भएको गल्ली गल्लीमा हिंड्दै रोचक ढंगले पत्रिकामा छापिएका खबर र शीर्षक चिच्याउदै, पत्रिका पढ्नपट्ट िसबैलाई आकषिर्त गराएका हुन्- गोरखापत्र बाजेले। “जय नेपाल” को अभिवादन उनले गर्दा पञ्चायतको निर्दलियता, निरङकुशतामाथि एक प्रजातान्त्रिक योद्धाले धावा बोलेको छ भन्ने अर्थ दिन्थ्यो हामी युवकलाई। म आफ्ना किशोर अवस्थादेखि नै मार्क्सवादी दर्शनप्रति आस्था राख्ने एक कम्यूनिष्ट कार्यकर्ता भनेर उनले सुरुदेखि चिनेका हुन्। तर, मसँग उनको सम्बन्ध, वैचारिक र व्यवहारिक दुबै दृष्टिबाट प्रजातान्त्रिक राजनीतिकर्मी बीचको सम्बन्ध नै प्रतित हुन्थ्यो। २०३६ सालको जनमत संग्रहको चुनावी अभियानको दौरान र सो पछिका दिनमा हामी दुर्इबीच झन् नजिकको सम्बन्ध रह्यो।राजनैतिकरुपले तर, कम्युनिष्टका विभिन्न गुट र उपगुटले प्रजातान्त्रिक आन्दोलन र बहुदलीय व्यवस्थाको पुनस्र्थापनाका अभियानमा भाँजो हालेको विरुद्ध उनले मसँग नै आफ्नो आक्रोश पोख्दथे। उनको निःस्वार्थ प्रजातान्त्रिक भावना बुझेको मैले स्वभाविकरुपमा ती आलोचना स्वीकार गर्दथें।
२०४४ सालको एकदिनको कुरा हो, पञ्चायतको कुनै समारोहमा झा“की, जुलुस निकाल्न पञ्चहरु चिप्लेढुङ्गामा जम्मा भएका थिए। त्यहाँ गोरखापत्र बाजे समाचारपत्रका शीर्षक पढ्दै पत्रिका हातमा लिएर बेच्दै हिँड्दै उच्चस्वरमा भन्दै थिए- “पञ्चायत ढल्यो”। पञ्चहरुकै बीचमा पञ्चायत भनेर केहीबेरपछि ढल्यो भन्दै हिंडेको पञ्चहरुलाई सह्य भएन। किन यसो भनेको भनेर प्रतिवाद गर्दै घेरे। उनले एउटा पत्रिकाको मुख्यपृष्ठको पञ्चायत र अको पत्रिकाको ढल्यो जोडेर भनेका रहेछन्। निर्भिकतापूर्वक उनले पञ्चहरुसंग-“पत्रिकाको शीर्षक पढ्न नपाउने” भनेर मुकाविला गरे। यस्तो थियो उनको निडरपन प्रजातन्त्रप्रतिको समर्पण।
गोरखापत्रबाजेको दुःखद् निधन हुनु केही दिनअघि म गएको थिएँ महेन्द्रपुलस्थित उनको पत्रिका पसलमा। १/२ बजेको हुँदो हो दिउँसोको, दोकानमा उनकी बुहारी बसेकी रहिछन्। पिताजी हुनुहुन्न – मैले बुहारीसँग सोधेका शव्द सुनेर होला दोकानबाहिर पत्रिकामाथि सुतेका उनी उठे । एकछिन हामी सँगै कुरा गर्यौँ। देशको वर्तमान अवस्थाप्रति उनले निराशा व्यक्त गरे। यस्तो उदास र निराश अवस्थामा मैले उनलाई कहिल्यै देखेको थिइनँ। उनको त्यत्रो हौसला कहाँ हरायो ? कसरी तिरोहित भयो उनको त्यो उत्साह ? मलाई धेरैबेर छोयो उनको त्यो अवस्था देख्दा।
गोरखापत्र बाजेको दुःखद निधन भए पनि उनले पोखरेली जनताको चेतनामा ल्याएको जागृति हामीले बिर्सनु ह“ुदैन। मुलुकको प्रजातान्त्रिक आन्दोलनका उनी एक अथक तथा निष्ठावान योद्धा हुन्। त्योभन्दा बढी मुलुकको चौथो अंग पत्रपत्रिकाको आर्थिक पक्ष र पाठकहरु वृद्धिको पक्षका त उनी स्तम्भ नै हुन्। यस्ता गुणकारी गोरखापत्र बाजेप्रति हामी कृतज्ञ हुनैपर्छ , उनलाई बिर्सन हुँदैन, उनी गुमनाम हुनु हुँदैन। उनको सम्झनामा उनको नाममा एउटा अक्षयकोष खडा गरेर उनले योगदान दिएको विधामा एउटा पुरस्कारको व्यवस्था कमसेकम हामीले गर्नै पर्दछ।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०