चीनसँग सडक सञ्जालबाट जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ ऐतिहासिक नाका हुन्। चीनसँगको व्यापारिक कारोबार भने अहिले केरुङ नाकाबाट मात्र हुन लागेको छ। तातोपानी नाका भूकम्पपछि बन्द छ। भारतले गरेको नाकाबन्दीले अहिले चीनसँग सिमा जोडिएको मुस्ताङको कोरला, हुम्लाको हिल्सा, ताप्लेजुङको ओलाङचुङगोला, सङ्खुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोरखाको लार्के र मुगुको नाग्चेलाग्मा नाकाको सम्भाव्यता अध्ययन गर्न दुुबै देश जुटेका छन्।
चीनसँग नेपालका हिमाली १६ जिल्लाका सिमा जोडिएका छन। सिमामा भौगोलिक हिसाबले अति विकट, धेरै स्थानमा हिमाल कडा चट्टान र हिमताल छन्। तर पनि सिमाका ती जिल्लाका मानिसले हिउँ नपर्ने महिनामा पैदल मार्गबाट तिब्बतसँग व्यापारिक कारोबार गर्दै आएका छन्। दार्चुला चीन र भारत दुबैसँग सिमा जोडिएको जिल्ला हो। दार्चुलाका मानिसले चीनसँग व्यापार गर्ने प्रमुख नाका व्यास क्षेत्र हो। व्यासबाट चीनको तिब्बत क्षेत्रमा आवतजावत गर्दा ला भन्ज्याङ पार गरी जानु पर्ने हुन्छ। भन्ज्याङलाई तिब्बती भाषामा ‘ला’ भनिन्छ। त्यसैगरी, बझाङका मानिसले अपि बेसक्याम्पको सिमाबाट पहिले देखि नै ब्यापार गर्दै आएका छन। उपल्लो डोल्पाका छ गाविस साल्दाङ, मिजेर, तिन्जे, मुकोट, छार्का र धो समुद्री सतहबाट करिव पाँच हजार मिटरम छन्। छार्का गाउँ विश्वकै अग्लो स्थानको मानव बस्ती मानिएको छ। यी गाउँका मानिसले पनि हिउ नपर्ने महिनामा तिब्बतसँग व्यापार गर्दै आएका छन। अहिले चर्चामा नआएको मनाङको नार र फु गाउँका मानिसले पनि तिब्बती नाकाबाट सिजनमा व्यापार गर्दै आएका छन् भने गोरखाको लाके नाकाबाट समेत पाँच दशक अघिसम्म नुनको व्यापार गर्दै आएका थिए।
हिमाली जिल्लामध्ये क्षेत्रफलका आधारमा सबैभन्दा सानो जिल्ला रसुवा हो। पूर्वमा सिन्धुपाल्चोक, दक्षिणमा नुवाकोट, पश्चिममा धादिङसँग सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ भने चीनको स्वशासित क्षेत्र तिब्बत छ। नेपाल-चीन सिमाना रसुवागढी डेढ शताब्दी पुरानो ऐतिहासिक धरोहर हो। यो नाका नेपाली इतिहासको साक्षी पनि मानिन्छ। बहादुर शाह र जंगबहादुर राणाका पालामा तिब्बतसँग भएको लडाइमा यही गढीबाट नेपालीले लडेर तिब्बतसँग युद्ध जितेका थिए। रसुवागढी प्राचीन कालमा नेपाल र भोटबीच चल्ने व्यापारको प्रमुख नाका थियो।
लिच्छवी कालमा अंशुवर्माको शासनकालका बेला उनकी छोरी भृकुटी यही नाका हँुदै घरमाइती गर्ने गर्थिन्। मल्ल कालमा पनि रसुवागढी नाकाबाट तिव्बतसँग व्यापार हुने गरेकाले यो परम्परागत र ऐतिहासिक नाका हो। मध्यकालको उत्तराद्धसम्म पनि यो ठाउँ प्रमुख व्यापारिक मार्ग र केन्द्रका रुपमा परिचित थियो। चीनसँगको लडाइका बेला नेपाली लडाकूले आफ्नो सुरक्षाका लागि रसुवागढी बनाएका हुन। रसुवागढीमा ठूला-ठूला ढुङ्गा कुदेर बनाइएको अग्लो पर्खाल लगाइएको छ। त्यस गढीमा शत्रुलाई निसाना लगाउन स-साना ४७ प्वाल ६० फिट लम्बाइ छ फिट उचाई र छ फिट चौडाइको गढी निर्माण भएको छ।
अहिले केरुङ नाका खुलेको छ। काठमाडौंदेखि केरुङसम्मको एक सय ७४ किमी बाटो करिव सबै ठाउँमा सिंगल लेनको छ। रसुवाको भूगोलमा पर्ने अधिकांश सडक वषामा पहिरोको जोखिम छ। उता, चीनको केरुङतर्फको बाटो अब करिव तीन महिना हिउँले अवरुद्ध हुन्छ। काठमाडौं, केरुङ हुँदै चीनको सिगात्सेसम्मको दूरी तातोपानी नाकाको तुलनामा एक सय १२ किलोमिटर टाढा पर्दछ। अर्थात् काठमाडौं-केरुङ-सिगात्सेसम्मको दूरी सात सय १० किलोमिटर छ भने काठमाडौं-तातोपानी-सिगात्सेको दूरी एक सय १२ किलोमिटर कम अर्थात् पाँच सय ९८ किलोमिटरमात्रै छ। भौतिक पूर्वाधारका हिसाबले वषौर्देखि सञ्चालनमा रहेको तातोपानी नाका सजिलो छ। बिजुली, टेलिफोन, इन्टरनेट, बैंक तथा होटललगायतको बजार व्यवस्था तातोपानी नाकामा दुबै मुलुकका सिमा क्षेत्रमा छन्। तर केरुङ नाकामा दुबै देशका सिमा क्षेत्रहरुमा ती सबै सुविधा छैनन्।
अहिले चीनले सिल्करोडको अवधारणामा नेपालको केरुङ नाकालाई राखेको छ। जसका कारण पूर्वाधारहरू केरुङतिरै विकास होस् भन्ने पक्षमा चीन छ। अको उसको तिब्बती मामला हो। तातोपानी नाकाबाट चीनले सुरक्षा खतरा मानेको छ। भूकम्पपछि तातोपानी खासा नाका बन्द छ। राजधानीबाट एक सय १४ किलोमिटर टाढा रहेको तातोपानी नाकाबाट सबैभन्दा बढी तयारी कपडा आयात हुने गरेको थियो। खाद्य वस्तुमा स्याउ, लसुन, प्याज र अदुवा भित्रिन्थ्यो। यो नाकाबाट खाद्यान्न भने आउँदैन। सीमा क्षेत्रका तिब्बती नै नेपालबाट खाद्यान्न लगेर गुजारा चलाउँने गर्दै थिए। यहाँबाट पेट्रोलियम पदार्थ र अन्य व्यापारिक सामान ल्याउन सकिने भौगोलिक अवस्था छ। प्रशासनिक प्रक्रिया पूरा गर्दा चीनका विभिन्न सहरबाट व्यापारिक सामान नेपाल भित्रिन १५ देखि २५ दिन लाग्ने गर्दछ। यो नाका तिब्बतसँग जोडिएको भए पनि उपभोग्य वस्तु भने धेरैजसो चीनको ठूला सहरबाट आउने गर्दछन्।
सीमा क्षेत्र खासादेखि नेलाम, सिगात्से हुँदै तिब्बतको राजधानी ल्हासासम्मको भूभागमा खाद्य वस्तु उत्पादन कम हुने गर्छ। चीनको सिचुआन प्रदेशको छिन्दुमा खाद्यान्न उत्पादन हुने गर्छ। तिब्बतको सान्थुङबाट भने नेपालमा नेपालमा बर्सेनि ठूलो परिमाणमा स्याउ भित्रिने गरेको छ। छिन्दुबजार पुग्न ल्हासा पार गर्नु पर्छ। यो नाकाबाट बर्सेनि २० अर्बका वस्तु आयात हुने गरेको छ। त्यसमध्ये झन्डै २५ प्रतिशत तयारी कपडा पर्दछ। सामान साटासाटको माध्यमबाट झन्डै ४ दशकअघि तातोपानी नाकाबाट सुरु भएको चीनसँगको व्यापार अहिले बैंकिङ प्रणालीमा आधारित छ।
खासाबाट नेलाम, सिगात्से हुँदै तिब्बतको राजधानी ल्हासा पुग्न सडक मार्गबाट झन्डै दुर्इ दिन यात्रा गर्नु पर्छ। मितेरी पुलबाट खासा १० किमी छ। अरनिको राजमार्गको बाह्रबिसेसम्मको सडक कालोपत्रे छ। बाह्रबिसेबाट मितेरी पुलसम्मको २६ किमि सडक भने भूकम्पपछिको पहिरोले निकै क्षति पुर्याएको छ। त्यसै कारण सरकारले चीनसित दोस्रो महत्वपूर्ण व्यापारिक नाका खोल्न १६ किलोमिटर स्याफुबेंसी-रसुवागढी सडक निर्माण गरेको छ। रसुवागढी सीमाबाट २२ किलोमिटर दूरीमा चीनको केरुङ सहर छ। यो नाका खुलेपछि तातोपानीबाट भन्दा चिनियाँ सामान यहाँबाट रसुवा, नुवाकोट, धादिङ, काठमाडौं उपत्यकाका अतिरिक्त गल्छी हुँदै तराई र भारतसम्म लान सहज हुनेछ। चीनले सुक्खा बन्दरगाह निर्माण र रसुवागढीदेखि स्याफुबेसी सम्म १६ किलोमिटर सडकको स्तरोन्नति गरी दुर्इ लेनको बनाउने भएको छ।
तातोपानीभन्दा नजिकको अको नाका हो तिब्बतको टिङकी जुन नाका दोलखा जिल्लाको सिमामा पर्दछ। तातोपानी नाकाभन्दा दोलखा जिल्लाको तिब्बतको टिङकी अर्थात् लामाबगर नाका ७१ किलोमिटर नजिक छ। यो नाका पनि ऐतिहासिक हो। तातोपानी नाका खुल्नुभन्दा अगाडि यो नाकाबाट काठमाण्डौसँग ब्यापारी कारोबारसमेत हुने गरेको थियो। भूगोलको दृष्टिले पनि हाल सञ्चालनमा रहेका केरुङ र तातोपानीभन्दा यो नाकाको सडक सुरक्षित देखिन्छ। अहिले पनि दोलखाका लप्चीबासी तिब्बतको फलेक भन्ने स्थानको बजारमा निर्भर छन। लप्ची र फलेक नाकाका बजार हुन। अहिले लामाबगरमा छोटी भन्सार पनि छ। लामाबगरमा सीमा प्रशासन, भन्सार, प्रहरीको संरचना छ। अहिले तिब्बत तिरको भूगोलमा भीर, पहरा र जंगल छ। त्यहाँबाट तिब्बतका स्थानीयले सीमासम्म सडकको ट्रयाक खोलिसकेका छन्। तिब्बतको फलेकदेखि नेपालको लामाबगर जोडन करिव ३० किमी सडक बनाउनु पर्छ। लामाबगर पुग्न सिंगटीसम्म २९ किमी डबल लेनको ग्राभलिङ सडक सञ्चालनमा छ। सिंगटी-तामाकोसी १५ किमी ट्रयाक खोल्न बाँकी छ। तामाकोसी बजारबाट सिन्धुलीसम्म ५५ किमी कालोपत्रे सडक छ। अब करिब ३० किलोमिटर सडक विस्तार गर्न सके नाका जोडिन सक्छ। हाल लामाबगरदेखि दोलखाको सदरमुकाम चरिकोटसम्म ६८ किलोमिटर सडक निर्माण भइसकेको छ। चरिकोटबाट अरनिको राजमार्ग हुँदै काठमाडौंसम्म एक सय सय ३३ किलोमिटर कालोपत्रे सडकमा यातायात चालु छ। लामाबगर नाकाबाट तिब्बत जोडन सरकारले यस वर्ष नौ सय मिटर सुरुङ मार्ग निर्माण गर्ने भएको छ।
गोरखामा दुर्इ नाका धेरै वर्ष अघिदेखि सञ्चालनमा छन्। सामागाउँ र छेकम्पार दुर्इ स्थानमा रहेको नाका पाँच हजार मिटरभन्दा बढी उचाइमा छन्। हिउँ परेको समयमा आवागनम बन्द हुन्छ। तर नाका खुलेपछि सर्वसाधारण एकै पटक हिउँदभरिलाई पुग्ने सामग्री लिन पैदल चौरी झुपाको साथमा तिब्बत जाने प्रचलन छ। सदरमुकाम गोरखाबाट आरुघाटसम्म सडक विस्तार भए पनि नाका पुग्न सात दिन पैदल यात्रा गर्नु पर्छ। सामागाउँ नाका लमजुङ र मनाङतर्फ पर्छ भने छेकम्पार नाका धादिङ र रसुवातर्फको सिमानामा पर्दछ। सामागाउँ सदरमुकाम गोरखाबाट ५२ कोस अर्थात १७१.६० किलोमिटर टाढा पर्दछ भने छेकम्पार ५० कोस अर्थात १६५ किलोमिटर दूरीमा पर्दछ। अहिले ती नाकाबाट ल्याएका सामान गोरखाका हिमालपारिका छ गाविसले मात्रै उपभोग गर्दै आएका छन्।
नेपाल हुँदै चीन र भारतलाई जोडने सबैभन्दा छोटो दूरीको प्रस्तावित मार्ग भएको नाका हो : सङ्खुवासभा जिल्लाको किमाथाङ्का। नेपालमा उत्पादित वस्तु किमाथाङ्का लैजान सात दिनभन्दा बढी समय लाग्छ। यहाँका बासिन्दा तिब्बतका देन्दाङ र चाँगा बजारबाट खानेकुरा ल्याउँ छन्। देन्दाङ र चाँगाबाट ल्याएका सामान किमाथाङ्का र चेपुवामा बिक्रीका लागिसमेत राखिन्छ। यी गाविसबाट नजिक रहेका मकालु, पावाखोला, हटियाका स्थानीयले समेत चिनियाँ सामग्रीकै प्रयोग गर्छन्। चीनतर्फ भने सीमावर्ती गाउँ चाँगासम्म सडक निर्माण भइसकेको छ। त्यहाँसम्म फराकिलो ग्राभेल सडक, केन्द्रीय प्रसारण लाइनको बिजुली पनि छ। किमाथाङ्का नाकाबाट सदरमुकाम खाँदबारी जोडने सडक निर्माणको काम थालनी भएको छ। चीन र भारत जोडने सबैभन्दा छोटो मार्ग मानिएको तीन सय ७६ किलोमिटरको कोसी राजमार्ग खाँदबारी र किमाथाङ्का दुबै तर्फबाट सडक खन्ने काम सुरु गरिएको छ। किमाथाङ्काबाट खाँदबारीको दूरी एक सय १३ किमी छ।
मुस्ताङ र चीन जोडने कोराला व्यवस्थित नाका हो। मुस्ताङको उपल्लो भेग लोमन्थाङ क्षेत्रको १४ हजार फिट उचाइमा अवस्थित कोरला विशाल मैदानी फाँटको बीचमा रहेको छ। दुबै देशको सजिलो र खुल्ला पठार क्षेत्रमा अवस्थित कोरलाबाट तिब्बतको दक्षिणपट्टि सबैभन्दा नजिकको सहर सागा ३० किलोमिटरमात्र टाढा छ। पोखराबाट कोरलासम्म दुर्इ सय ७० र मुस्ताङ सदरमुकाम जोमसोमदेखि कोरलासम्म जम्मा एक सय १३ किलोमिटर कच्ची सडकले जोडिएको छ। लोमान्थाङका बासिन्दाले अहिले त्यहाँ चल्ने सवारी साधनका लागि चाहिने पेट्रोल, डिजेल चीनबाटै ल्याउने गरेका छन्। लोमान्थाङवाट चीनको ढोङवा बजारको दूरी करिव एक सय ५० किलोमिटरमा छ। ढोङवा बजारबाट कोरला नाकासम्मको सडक निकै समथर र चौडा भएकाले ढुवानीका लागि समस्या छैन। नेपालतर्फ पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने फराकिलो भूमी छ। मुस्ताङ समथर भूभाग र स्याडो रेनजोन पनि भएकाले बाढी , हिरोले बाटो अवरुद्ध हुने समस्या पनि छैन। ढोङवा बजारबाट ल्हासा र माउण्ट कैलाशसम्म छ लेनको चाक्लो सडक भएकाले पनि अन्य बजारबाट आवश्यक सामग्री ल्याउने विकल्प पनि खुला रहन्छ।
उपल्लो मुस्ताङमा हिउँदमा हिउँ पर्ने र तल्लो म्याग्दी क्षेत्रमा वषामा बाढी, पहिरोले सडक अवरुद्ध पार्ने यो रुटका समस्या हुन्। तर जोमसोमको फराकिलो फाँटमा सुख्खा बन्दरगाह निर्माण गरी वषायाममा तिब्बतबाट ल्याइएको सामग्री स्टोर गर्न सकिन्छ। कोरला नाका पोखरा-बेनी-जोमसोम-लोमन्थाङ-कोरला सडक उत्तरको तिब्बत र दक्षिणको सुनौली जोडने सबैभन्दा नजिकको नाका हो। कोरलाबाट मानसरोवर तीर्थस्थलसमेत सबैभन्दा नजिकमा पर्छ।
सडकको पहुँच नपुगेको र ढुवानीको माध्यम चौंरीमात्रै भएकाले ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट ठूलो राहत पुग्ने अवस्था छैन। तिब्बतले नेपाली सिमाना टिप्ताला भन्ज्याङ नजिकैको आफ्नो भूभाग सिङमाग्याजेसम्मै ग्राभिलिङ सडक विस्तार गरेको छ। सिङमाग्याजेबाट मुख्य व्यापारिक केन्द्र रिउबजार गाडीमा दुर्इ घण्टामा पुगिन्छ। तिब्बती व्यापारीले नेपालीलाई बिक्री गरेका सामान सिङमाग्याजेसम्म आफैंले ढुवानी गरिदिन्छन। नेपालीका लागि आवश्यक चामल, नुन, तेललगायत उपभोग्य वस्तु रिउबजारबाटै ल्याइन्छ। सीमा क्षेत्रका तीन गाउँमा तिब्बती सामान प्रयोग गरिन्छ। सदरमुकाम फुङलिङबाट सीमा पुग्न ९५ किमी पार गर्नु पर्छ। यसको पूर्ण तथा व्यावसायिक प्रयोग गर्ने हो भने पूर्र्वी नेपाललाई सहज हुनेछ।
सोलुखुम्बुसँग जोडिएको चीनको नाङपाला चार वर्षदेखि बन्द छ। यो खुलाउन सके नाङपालादेखि खाद्यान्न, लत्ताकपडा, पेट्रोलियम पदार्थलगायत सामग्री ल्याउन सकिन्छ। यहाँ सडक भने बनेको छैन। तर, नाम्चेदेखि नाङपालाको याक र चौंरीमार्फत भारी बोकाएर सामान ल्याउन सकिन्छ। नाका बन्द भए पनि नाङपालाभन्दा केही पर तिब्बतकै थिंग्रीसम्म अझै चौंरीखर्क, नाम्चे र खुम्जुङ गाविसका बासिन्दाले जान पाउने व्यवस्था छ। यो नाका खोल्न सकेमा चीनबाट सिमेन्ट, रडलगायत पूर्वाधार निर्माणका सामग्रीसँगै दैनिक उपभोग्य सामग्री ल्याउन सकिन्छ।
हुम्लाको हिल्सा यारी नाकाको तिब्बततर्फको भागमा कालोपत्रे सडक छ। नेपालतर्फ भने सदरमुकाम सिमकोट जोडने सडक निर्माण पूरा हुन सकेको छैन। सदरमुकामबाट सीमा जोडने करिब ९० किलोमिटर सडकमध्ये ४५ किलोमिटर सडक निर्माण भएको छ। सीमाबाट सदरमुकाम सिमीकोटतिर सडक निर्माण भइरहेको छ। सीमाको तिब्बतर्फको भाग शेराबाट करिब ३० किमी टाढा तिन्चु भन्ने मैदानमा व्यवस्थित बजार छ। अहिले पनि नेपाली त्यहीबाट चिनियाँ सामान ल्याउने गर्छन्। नेपालतर्फको सडक अर्थात् हुम्लाको सदरमुकाम सिमिकोट हँुदै राष्ट्रिय सडक सञ्जालसँग निर्माणाधीन सडक जोडने हो भने चीनबाट सहजरुपमा पेट्रोलियम पदार्थ तथा खाद्य सामग्री ल्याउन सक्ने अवस्था छ।
मुगुको गमगढीदेखि तिब्बतको व्यापारी केन्द्र हयाजिमारसम्म ८४ किलोमिटरको दूरी छ। अहिलेसम्म गमगढीदेखि रोवा गाविसको कम्फासम्म १४ किलोमिटरमात्र कच्ची सडक बनाइएको छ। प्रत्येक वर्ष साउनको तेस्रो सातादेखि तिब्बतको हृयाजीमारामा दुर्इ हप्तासम्म लाग्ने हाटमा मुगुबासी पुगी यार्सा तथा जडिबुटी बेचेर त्यहाँबाट वर्षभरि पुग्ने खाद्यान्न, लत्ताकपडालगायतका सामग्री ल्याउने गर्छन्।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१हर्षोल्लासका साथ मनाइयो तीज
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१