चिनियाँ मित्रको आँखामा पोखरा

उदयबहादुर अमात्य
मंसिर २४, २०७६

पर्यटकहरुको झुकाव स्वाभाविक रुपले केही फरकपना खोज्ने खालका हुन्छन्, साथै उनीहरु जुन ठाउँ घुम्न पुग्छन् त्यहींकै इतिहास र परम्परा बोकेको मौलिक भौतिक संरचनाहरु हेर्ने उत्कृष्ट आकांक्षा र अभिलाषा बोकेका हुन्छन्।

हालसालै मैले एक चिनिया मित्रसंग परिचित हुने अवसर पाएँ। वहाँको नाम हो स्यु कुइ थिङ। उहाँ प्राविधिकको रुपमा पोखरा आउनु भएको हो। पोखराको नजिक लेखनाथ स्थित एक कारखानामा केही हप्ताका लागि प्राविधिक सेवा प्रदान गर्न उहाँ तेश्रो पटक उहाँको पोखरा आगमन भएको हो। उहाँ पहिलो पटक यस्तै कामको सन्दर्भमा सन् २०१२ सालमा पोखरा आउनु भएको रहेछ।

यस्तै भलाकुसारी गर्दै जाने क्रममा मेरो र उहाँको परिचय त्यही कारखानामा भयो भने उहाँसंग कुराकानीको क्रममा उहाँसंग आत्मीय सम्बन्ध बढ्यो। उहाँलाई भेटघाट गर्न म पनि कारखानामै जाने गर्थे भने, कहिले उहाँ बस्नु भएको होटलमा जान थालें। उहां कारखानामा अति व्यस्त रहेको हुनाले पोखराको यताउता घुमेर दृष्यावलोकन गर्ने अवसर पाउनु भएको थिएन। तर गत २०७३ वैशाख १९ गते मे १ तारिख परेको हुनाले कारखानामा काम भएन र उहाँ एक्लै दिनभरी पोखराको बजार क्षेत्र घुम्नु भएको रहेछ र मलाई उहाँले आफ्नो मोबाइलबाट खिचिएका केही महत्वपूर्ण फोटोहरु देखाउनु भयो।

उहाँले विशेष गरी पोखरा बजारमा रहेका पुराना पुराना घरको फोटो र केही मन्दिरको फोटो खिच्नुभएको रहेछ र केही पहिले देखेका पुराना घरहरु यस पालि आउँदा नदेखेकोमा दुःख र आश्चर्य पोख्नु भयो। मैले अनायास उहाँलाई सोध्दा तपाईं कति वर्ष पहिले पोखरा आउनु भयो त भनी सोध्दा सन २०१२ सालमा सोही कारखानामा प्राविधिक सेवा दिन आएको थिएं“ भनेर भन्नु भयो। ४ वर्ष पहिले आउँदा अलि बढी पुराना घर परम्परागत शैलीको देखें अहिले अलि नया“ आधुनिक घरहरु बढेको र पुराना मौलिक घरहरु लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो।

उहाँले आफ्ना चिन्तायुक्त तर्कलाई पुष्टयाउँदै र थप प्रष्ट पार्दै भन्नु भयो कि यदि पोखरामा सबै आधुनिक घरहरुले मात्र भरिएमा त्यसले पोखरा घुम्न आउने पर्यटकहरुको संख्या पक्कै पनि घटाउँछ र समग्र पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पानेर्छ। उहाँको तर्क अनुसार पर्यटकहरु विभिन्न देशमा घुम्न जाने एउटा प्रेरक तत्व भनेको त्यहाँको परम्परागत शैलीको वास्तुकला, पुराना आवास भवन र पौराणिक भौतिक सम्पदाहरु नै हुन्। किनभने त्यस्ता सम्पदाहरुमा तत्तत् स्थानको इतिहास, संस्कृति, परम्परा र मौलिकता बोकेका हुन्छन् र पर्यटकहरु त्यस्ता सम्पदा देख्न लालयित हुन्छन्। त्यस्ता सम्पदाहरुलाई नजिकैबाट नियाल्ने, फोटो खिच्ने र त्यहां भित्र पस्दा नै पर्यटकहरु रोमाञ्चित हुन्छन् र एक खालको आत्मसन्तुष्टी प्राप्त गर्दछन्।

उहाँले यस कुराको पुष्टी गर्न आफ्नै देश चीनका केही शहरहरुको पुराना क्षेत्रका बस्तीहरुमा पर्यटकहरुको भिड नै लाग्ने गरेका दृष्टान्तहरु प्रस्तुत गर्नु भयो। उहाँले अझ थपेर के तर्क राख्नु भयो भने विदेशी पर्यटकहरु आधुनिक घर र भवनहरुबाट आकर्षित हुँदैनन्। किनभने यस्ता आधुनिक भवनहरु उनीहरुले अन्यत्र पनि धेरै देखिसकेका हुन्छन्। पर्यटकहरुको झुकाव स्वाभाविक रुपले केही फरकपना खोज्ने खालका हुन्छन्, साथै उनीहरु जुन ठाउँ घुम्न पुग्छन् त्यहींकै इतिहास र परम्परा बोकेको मौलिक भौतिक संरचनाहरु हेर्ने उत्कृष्ट आकांक्षा र अभिलाषा बोकेका हुन्छन्।

पोखराको सन्दर्भमा उहाँले अर्को चिन्ता के व्यक्त गर्नु भयो भने पोखरामा वायु प्रदूषण निकै बढेको र त्यही कारणले पोखराबाट देखिने हिमश्रृंखलाहरु नदेखिएको हो कि भन्ने तर्क राख्दै सोही कारणले तुवांलो बढेर हिम श्रृंखलाहरु नदेखिएको होकि भन्ने अनुमान व्यक्त गर्नु भयो। यस्ता प्रदूषण घटाउन निकै गाह्रो हुने तर आफ्ना पुराना भौतिक संरचनाहरुको संरक्षण गर्न चाहेको भए सम्भव हुने तर्क राख्दै पोखराको पर्यटन क्षेत्र बचाउँन उचित कदम चालेको भए हुन्थ्यो भन्ने आशय व्यक्त गर्नु भयो । उहाँको तर्क के रह्यो भने जति पनि विदेशीहरु पोखरा घुम्न आउनुको एउटा प्रमुख तात्पर्य नै पोखराबाट देखिने हिमश्रृंखला हो। किनभने संसारको धेरै जसो ठाउँमा यति नजिकैबाट यति लामो र यति विह“गम हिमश्रृंखला हेर्न पाइँदैन भन्ने तर्क राख्नु भयो।

उहाँको भनाई अनुसार पोखराबाट देखिने हिमश्रृंखला नै पोखराको मुख्य विशेषता हो र पर्यटकरुको लागि प्रमुख आकर्षण हो। फेरि त्यही हिमश्रृंखला हेर्न भनेर उनीहरु लमो समय कुर्न सक्दैनन्। २/४ दिनका लागि भ्रमण गर्न आएका पर्यटकहरुले हिमश्रृंखला हेर्न नपाएपछि उनीहरु निराश भएर फर्कन्छन् र भविष्यमा आफ्ना दृष्यावलोकन भ्रमणस्थल अन्तै मोड्न सक्छन् भन्ने विचार पोख्नु भयो। यसले पनि पोखराको पर्यटनलाई निकै नकारात्मक असर पुग्नेछ भन्ने उहाँको गहिरो चिन्ता थियो।

उहाँले व्यक्त गर्नु भएको यस्ता चासोहरु पोखराको पर्यटनको दिगो विकास गर्ने सम्बन्धमा अत्यन्त महत्वपूर्ण जस्तो लागेको हुनाले सम्बन्धित सबैको ध्यानाकर्षण होस् भनेर यो पंक्तिकारले सवैसमक्ष राखेको हो। पोखराको वातावरणीय ह्रास, वातावरणीय प्रदूषण लगायत पोखराले आफ्ना मौलिकता विस्तारै गुमाउँदा पोखराको पर्यटन विकासलाई निश्चित रुपले नकारात्मक असर पारेको हुन्छ।

उहाँ चिनिया मित्र (स्यु कुइ थिङ्) लाई उहाँको विचार एकदम महत्वपूर्ण छ भन्दै एउटा यस्तै विचार सहित एउटा छोटो लेख चिनिया भाषामा नै लेखेर दिनुस् भन्दा उहाँले मेरो यसरी लेख्ने बानी नै छैन भनेकोले यो पंक्तिकार आफैले उहाँको विचार सबैको सामु राख्ने जमर्को गरेको हो । उहाँको जस्तो चिन्ता अन्य पर्यटकहरुका पनि हुन सक्दछन् र शायद उहाँहरुले यस्तो कुरा भन्न नपाउँदै पोखराबाट विदा भइसकेका होलान्।

अबका दिनहरुमा हामीले पोखराको वातावरणीय ह्रासलाई कसरी न्यूनीकरण गर्न सकिन्छ र पोखराका मौलिकता बोकेका परम्परागत शैलीमा बनेका घरहरु, भौतिक संरचनाहरु संरक्षण र संवद्र्धन गर्दै पोखराको पर्यटन क्षेत्रको विकासलाई दिगो बनाउन सकिन्छ भनी नीति र कार्यक्रमहरु निर्माण गरि कार्यान्वयन गर्न सकोस भन्ने वहाँको पनि चाहना रहेकोले वहाँको विचारलाई जनसमक्ष ल्याउन नै यस सानो लेख प्रस्तुत गरेको छु।

Related News

सम्बन्धित समाचार

hero news full width