चर्चा नोटरी पब्लिक व्यवस्थाको

सन्दर्भ : १२ औं नोटरी पब्लिक दिवस

Avatar अधिवक्ता डि.पि.अधिकारी
फागुन १, २०७५

परिचयात्मक

नोटरी पब्लिकको व्यवस्था एक विश्वव्यापी मान्यता हो। संसारका सबैजसो देशहरुमा नोटरी पब्लिकको सेवा प्रचलनमा छ। कतिपय देशहरुमा यो विगत सयौं वर्षदेखि प्रचलनमा थियो भने कतिपय देशहरुमा यो विषय नयाँ प्रयोगको रूपमा रहेको छ। नेपालको सन्दर्भमा २०६३ फाल्गुण १ गतेबाट नोटरी पब्लिक सम्बन्धी ऐन २०६३ कार्यान्वयनमा आएपछि नोटरी पब्लिकको सेवा प्रचलनमा रहिआएको छ। नोटरी पब्लिकको व्यवस्था र सेवा नेपालको परिप्रेक्ष्यमा एक नयाँ अभ्यास भएकोले शुरुका दिनहरुमा केही समस्याहरु देखा पर्नु स्वभाविक भएता पनि नोटरी पब्लिकको सेवालाई मर्यादित, विश्वसनीय, समयानुकूल र सर्वमान्य बनाउनुपर्ने तथ्यलाई मनन गर्नुपर्ने हुन्छ।

नेपालमा नोटरी पब्लिकको सेवाको व्यवस्था गर्ने गराउने कार्य २०६३ सालबाट मात्रै कार्यान्वयनमा आएको भएता पनि यस सम्बन्धी अवधारणा धेरै पहिले नै निर्माण भइरहेको थियो। विनिमय अधिकार पत्र ऐन २०३४ र धितो पत्र कारोवार ऐन २०४० ले नोटरी पब्लिकको आवश्यकतालाई महसुस गरेको पाइन्छ। अन्य राष्ट्रहरुमा गरिएको नोटरी पब्लिकको व्यवस्थाको दाँजोमा नेपालमा यो निकै पछि मात्र प्रचलनमा आएको छ। २०६३ फागुन १ गतेदेखि ऐन लागू भइसकेपछि आजका दिनसम्म आउँदा नेपालमा करीब ३ हजार ३ सय जना नोटरी पब्लिकहरु कार्यरत छन्। यी मध्ये १७९ जनाले अनुवादकको परीक्षा उतीर्ण गरी नेपाली अंग्रेजी भाषाको अनुवाद गर्ने कार्य गरिरहेका छन्। सेवाग्राहीहरुको लागि नोटरी पब्लिकको सेवा क्रमशः सरल र सुगम बन्दै आएको छ।

नोटरी पब्लिकको ईतिहास

आजभन्दा करीब ३ हजार वर्ष पहिले नै रोमन कानूनमा न्यायिक कार्यविधिको अभिलेख (नोट) राख्ने व्यक्तिलाई नोटरियस भनिन्थ्यो। पछि रीतपूर्वक खडा गरिएका लिखतहरुमा साक्षी बस्ने प्रचलनको शुरुवात भयो र नोटरीलाई साक्षी राख्न थालियो। त्यस्तो गवाही वा साक्षीलाई महत्वपूर्ण प्रमाणको रूपमा लिन थालियो र नोटरी पब्लिकको कार्य साक्षी बस्ने क्रमसँग विकसित हुन थाल्यो।   उस बखतको नोटरी पब्लिकको विकासको प्रारम्भिक चरण त अझ स्क्राइबेयी बाट शुरु हुन्छ। स्क्राइबेयीको काम नोट  गर्ने हुन्थ्यो। पछि टेबलियस अर्थात् राइटरको रूपमा विकसित हुँदै नोटरियस अर्थात नोटरी  भएको पाइन्छ।

सिसेरोको पालामा नोटेयीको रूपमा नोटरीले काम गरेको पाइन्छ। यसरी त्यतिबेला नोटारियस वा नोटेयीको काम बयानहरुको टिपोट गर्ने, त्यसलाई माइन्यूट वा संक्षेपमा अभिलेखन गर्ने कार्य हुन्थ्यो। पछि गएर नोटरियसको स्थान रजिष्ट्रार वा उच्च सरकारी ओहोदासँग सम्बन्धित हुन थाल्यो। बेलायतमा १३÷१४ औं शताब्दीदेखि नोटरी पब्लिक प्रचलनमा आएको हो। शुरुमा नोटरीको नियुक्ति पोपहरुद्वारा हुन्थ्यो। सन् १२७९ मा पोपले आर्कविशप अव क्यान्टरबरीलाई नोटरीको नियुक्ति गर्नका लागि अख्तियार प्रदान गरेका थिए। शुरुका दिनमा नोटरीहरु चर्च अन्तर्गत रहने गर्दथे। सन् १५३३ को द एक्ट कन्सर्निङ पिटर्स पेन्स एण्ड डिस्पेन्सेशनले पोपको अधिकारलाई कटौती गर्यो। त्यसपछि पोपहरुद्वारा नोटरीको नियुक्ति हुन छाड्यो। राजाले यो अधिकार आर्कविशप अव क्यान्टरबरीलाई दिए र पछि माष्टर अव दि फेकल्टीजले यो काम गर्न थाल्यो।

पछि क्रमशः अन्य देशहरुमा पनि नोटरीको व्यवस्था हुन थाल्यो। अहिले आएर विश्वका प्रायः सबै देशमा नोटरी पब्लिकको व्यवस्था गरिएको छ। यद्यपि नोटरी पब्लिकलाई दिइने जिम्मेवारी भने विभिन्न देशमा फरक फरक रहेको छ। कतिपय देशमा स्थानीय निकायले गर्ने सबै जसो काम नोटरी पब्लिकलाई जिम्मा दिइएको पाईन्छ। पछिल्ला दिनहरुमा नोटरी पब्लिकको व्यवस्था विश्वव्यापी रूपमा व्यापक भएको छ। अमेरिकामा करिब ४० लाख नोटरी पब्लिकले सेवा प्रदान गरेको देखिन्छ। त्यहाँ २ प्रकारका नोटरी पब्लिकहरु कार्यरत रहेका छन्– नोटरिज एट ल र लेयी नोटरीज। सामान्यतया नोटरी पब्लिकहरु कानून व्यवसायीहरु नै हुन्। कानूनको अभ्यास र ज्ञान नभएको व्यक्ति नोटरी पब्लिकको रूपमा काम गर्न सक्षम नहुन सक्छ भन्ने बारेमा एक रोचक प्रसंग जोडिएको छ।

सन् २००३ को सेप्टेम्बर १२ मा म्यारिलिन रेयीस बोस नामक व्यक्तिले दक्षिण अष्टे«लियाको उच्च न्यायालयमा नोटरी पब्लिकको अख्तियारी पाउनको लागि दरखास्त दिँदा उनको निवेदन अस्वीकार गर्दै न्यायाधीश डेबेल्लेले भनेका थिए– “नोटरी पब्लिक बन्नको लागि थुप्रै वर्ष कानून व्यवसाय तथा वकालत गरेको हुनुपर्छ। अष्टे«लियन कानून र व्यवसायिक कारोवार एवं द्विपक्षीय करार आदि लिखतहरुको राम्रो ज्ञान हुन आवश्यक छ।” यसरी नोटरी पब्लिक बन्नको लागि कानूनी अभ्यास, दक्षता, कुशलता तथा तालिम प्राप्त हुनुपर्ने कुरालाई उपरोक्त भनाईले पनि स्पष्ट पारेको छ।

नोटरी पब्लिकको अर्थ/आवश्यकता

एन साक्लोपेडिया ब्रिटानिका अनुसार कुनै पनि लिखतको प्रमाणित गर्ने, शपथ गराउने पदाधिकारीलाई नोटरी पब्लिक भनिन्छ। कुनै पनि लिखत वा सम्झौताहरु कानूनी रूपले प्रभावकारी हुनको लागि तिनीहरुलाई प्रमाणित गर्नुपर्ने हुन्छ। सो प्रमाणित गर्ने कार्यलाई नोटराइजेशन भनिन्छ। यसरी लिखतहरुलाई नोटराइज गर्नुको मुख्य उद्देश्य भनेको त्यस्ता कागज वा लिखतहरु किर्ते हुनबाट जोगाउनु हो। करारनामा, कारोवार सम्बन्धी सम्झौता, शपथ, कवुलियतनामा, बयान, मन्जुरीनामा, इच्छापत्र आदि लिखतहरुमा सम्बन्धित पक्षहरुले नोटरी पब्लिकको रोहवरमा सहीछाप गर्नाले किर्ते, छलछाम र करकापको स्थिति नरहने हुनाले यसको आवश्यकता र महत्व स्थापित भएको छ।

नोटरी पब्लिकको पद सार्वजनिक जवाफदेहिताको पद हो। नोटरी पब्लिकको मुख्य काम भनेको सर्वसाधारण वा समग्र पब्लिकहरुको कानून बमोजिम गरिदिनु पर्ने लिखत सम्झौता वा कानूनले तोके बमोजिमका अन्य सेवाहरु छिटो छरितो र सुलभ रूपमा प्रदान गर्नु हो। नोटरी पब्लिकको सम्बन्ध एकातिर कानून व्यवसायसँग छँदैछ अकोर्तर्फ कानून व्यवसायीको पेशाभन्दा यो पृथक पेशा र सेवा हो। कानून व्यवसायीले विवादित विषयवस्तुमा कानूनी अभ्यास गर्दछन् भने नोटरी पब्लिकले सामान्यतः अविवादित विषयवस्तु ननकन्टेन्सस म्याटरसँग डील गरेका हुन्छन्। कानून व्यवसायीसँग एक पक्षको मात्र सम्बन्ध हुन्छ भने नोटरी पब्लिकसँग दुवै पक्षको सम्बन्ध रहन्छ।

कानून व्यवसायीले आफूले मस्यौदा गरेका सबै लिखतमा आफ्नो परिचय खुल्ने गरी रिपोर्ट नगर्न सक्छन् भने नोटरी पब्लिकले आफूले खडा गर्ने लिखतहरुमा अर्को पहिचान खुल्ने गरी प्रमाणीकरण गर्दछन्। यो खण्डलाई नोटरियल सर्टिफिकेट भनिन्छ। यस्तै पक्षहरुले हस्ताक्षर गर्ने लिखतको पिँधमा नोटरी पब्लिकले आफ्नो छुट्टै कथन जोडेका हुन्छन्। यसलाई एसक्याटोकल भनिन्छ। तर कानून व्यवसायीको हकमा यो प्रयोगमा आउँदैन। यसैगरी नोटरी पब्लिकले आफूले गर्ने सबै कार्यको आफ्नो कार्यालयमा अभिलेख खडा गर्नु पर्दछ। यसलाई नोटरियल एक्ट  वा प्रोटोकल भनिन्छ भने कानून व्यवसायीले आफ्ना सबै मुद्दाहरुको अभिलेख नराख्न पनि सक्दछन्। यस्तै नोटरी पब्लिकले आफूले हस्ताक्षर गर्ने प्रत्येक स्थानमा आफ्नो सील÷एम्बोस अनिवार्य रूपमा लगाउनु पर्दछ भने कानून व्यवसायीले सील लगाउनु पर्ने बाध्यता नहुन सक्छ। नोटरी पब्लिकले आफूले दिने सेवा आफ्नै कार्यालयबाटै अन्त्य हुन्छ भने कानून व्यवसायीले दिने सेवाको छिनोफानो न्यायालयबाट मात्रै हुन्छ। यी भिन्नताहरुका वावजुद पनि नोटरी पब्लिक र कानून व्यवसायी बीच अन्योन्याश्रित सम्बन्ध रहन्छ। यिनीहरु धेरै हदसम्म एक अर्काका परिपूरक हुन्।

नेपालका सन्दर्भमा नोटरी पब्लिकको ब्यवस्था      

सर्वसाधारणहरुको लिखत प्रमाणित गर्न गराउन, सक्कल नक्कल प्रमाणिकरण गर्न गराउन, अनुवाद गराउन, किर्ते जालसाजी करकापपूर्ण कार्यबाट मुक्त गर्न २ पक्षका बीचको करारनामा सहज तरीकाले सम्पन्न गराउन, वारेसनामा, मन्जुरीनामा, इच्छापत्र, लेनदेन र कारोवार सम्बन्धी कार्यहरुमा कानूनी रूपले एवं भरपर्दो तरीकाले सम्पन्न गर्न गराउन अख्तियारप्राप्त सार्वजनिक जवाफदेही भएको अधिकारीको आवश्यकतालाई मध्यनजर गर्दै नेपालमा ढिलो भए पनि नोटरी पब्लिकको प्रावधानको आरम्भ गरिएको हो।

नोटरी पब्लिक सम्बन्धी ऐन, २०६३ को प्रस्तावनामै लेखिएको छ “लिखत गर्दा लिखतमा हस्ताक्षर गर्ने व्यक्तिको एकीन गरी जालसाजी र कितेर्जन्य काम कारवाही नियन्त्रण गर्नका लागि नोटरी पब्लिकको कानूनी व्यवस्था गर्न बान्छनीय भएकाले प्रतिनिधि सभाको घोषणा २०६३ जारी भएको पहिलो बर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएको छ।” यसरी नोटरी पब्लिक सम्बन्धी ऐन, यसको नियमावली तथा नोटरी पब्लिक सम्बन्धी अवधारणाको आधारमा नोटरी पब्लिकको व्यवस्था गरको हुनाले सर्वसाधारण जनताहरुलाई धेरै सेवा सुविधा मिल्न सक्ने देखिन्छ। नोटरी पब्लिकबाट प्रदान गरिने सेवा सुविधा मध्ये कतिपय मात्र हाल देशको सन्दर्भमा प्रचलनमा रहेको अवस्था छ भने कतिपय देशहरुमा नोटरी पब्लिकका अवधारणाहरु भन्दा पनि बढी सेवा नोटरी पब्लिकको कार्यालयबाट प्रदान गरिएको पाइन्छ। नोटरी पब्लिकको व्यवस्थाले स्थानीय निकाय, प्रशासनिक कार्यालयहरु, सुरक्षा निकाय तथा न्यायालयको काम कारवाहीमा समेत टेवा पुग्न सक्ने देखिन्छ। विगतमा नोटरी पब्लिकको व्यवस्था नहुँदा सरकारी तथा निजामती कर्मचारीहरुमाथि अनावश्यक बोझ थियो भने हाल नोटरी पब्लिकको प्रावधानले सरकारी र प्रशासनिक कार्यलाई अनावश्यक झन्झटबाट मुक्त गर्न खोजेको देखिन्छ।

नेपालमा नोटरी पब्लिकको अख्तियारी प्रदान गर्ने अधिकार प्राप्त निकायको रूपमा नेपाल नोटरी पब्लिक परिषद् रहेको छ। नेपाल नोटरी पब्लिक परिषद्ले नोटरी पब्लिकहरुको परीक्षा लिने, प्रमाणपत्र प्रदान गर्ने, अनुगमन गर्ने, कारवाही र बर्खास्ती गर्ने सम्पूर्ण अधिकार राख्दछ। ऐनको दफा ५ अनुसार नोटरी पब्लिक परिषद्मा महान्यायाधिवक्ताको नेतृत्वमा निज सहित ९ जना सदस्य रहने व्यवस्था गरिएको छ।

ऐनको दफा १९ ले वर्तमान सन्दर्भमा नोटरी पब्लिकले गर्ने कामहरुलाई निम्न ३ बुँदामा समेटेको छ:

  • कुनै लिखत प्रमाणीकरण गर्ने।
  • एक भाषामा लेखिएको कागजात अर्को भाषामा अनुवाद गर्ने।
  • कुनै सक्कल कागजको नक्कल प्रमाणित गर्ने।

यसरी नोटरी पब्लिकको व्यवस्था गर्नको लागि आवश्यक ऐन, कानून बनिसकेको, सो सम्बन्धी केन्द्रीय संरचना खडा भैसकेको तथा परिषद्बाट करिब  ३ हजार ३ सय जना नोटरी पब्लिकहरुले प्रमाणपत्र लिई कार्य गरिरहेको अवस्थामा नेपालमा नोटरी पब्लिकको सेवा अब स्थापित भैसकेको छ। यसको बारेमा अन्यथा चिन्तन गर्नुभन्दा विद्यमान व्यवस्था र व्यवहारलाई कसरी परिष्कृत गर्न सकिन्छ भन्ने तर्फ लाग्नु उपयुक्त देखिन्छ। नोटरी पब्लिकको सेवालाई अझ व्यापक, थप जिम्मेवार, अनुशासित र मर्यादित बनाउनको लागि अझै केही सुधारजन्य कार्यहरु गर्न गराउन आवश्यक देखिन्छ र त्यस तर्फ सम्बन्धित निकायहहरुको ध्यान जान आवश्यक छ।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width