चरम सीमामा बाह्र बुँदाहरू

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७२

स्वर्णीम एवम् स्वावलम्वी राष्ट्र नेपालमा केही निश्चित विषयले सीमाना काटेको छ। अकर्मण्य नेतृत्वले यहाँको परिस्थितिलाई नकारात्मक हिसाबले चरम सीमानामा पुर्‍याएका छन्। केही उत्कर्षहरू भने सकारात्मक प्रकृतिका छन्। चरम सीमाका तिनै कथाव्यथाको दुखेसो यहाँ छ।

१. नेपाली वीरता : गोर्खालीको बहादुरीको गाथा सगरमाथाको उचाइ समान भएर फैलिएको छ संसारभर। विभिन्न युद्धमा बहादुर नेपाली सपुतले गरेको प्रदर्शन अतुलनीय छ जसले नेपाली सेनालाई वीर गोर्खालीको दर्जा दियो। गजे घले लगायतका वीरहरूले भिसी पदक समेत प्राप्त गरे। यो त वीरताको इतिहास भयो। पछिल्लो समयमा भारतीय ट्रेनमा भएको घटनामा नेपाली मूलका भारतीय सैनिक रामबहादुर श्रेष्ठले देखाएको बहादुरीले विश्वमै गोर्खालीहरूले देखाएको वीरताको इतिहास दोहोर्‍याएको छ। भारतीय सेनाबाट अवकाश प्राप्त नेपाली रामबहादुर घर र्फकने क्रममा रेल बीच बाटैमा रोकियो । १८/१९ जना डाँकाहरूले रेलको डिब्बा डिब्बामा पसेर सयौ यात्रुहरूबाट गहना र पैसाहरू लुटे। अन्त्यमा चेलीबेटीको अस्मिता हरण पनि गर्न थाले। त्यही बेला रामबहादुरले दापवाट खुकुरी झिकेर एक एक गरी पाँच जना डाँकुहरूलाई छप्काए। अरू डाँकाहरू भागे। यसप्रकार ताजा इतिहासले भारत भूमिमा नेपाली साहस र वीरताको सिङ्गो चिनारी गराएको छ।

२. महँगी : आज नेपालमा महँगीले आकास छोएको छ। महँगीले नेपाली जनतालाई टाट पल्टाएको छ। प्रति रोपनी रु. ५,००० मा किनेको जग्गाको भाऊ प्रति आना ३० लाख पुगेको छ। त्यस्तै दैनिक चाहिने तरकारी तथा खाद्य वस्तुको भाउ आकासिएको छ। अझ दोकानपिच्छे भाउ भिन्दाभिन्दै छ। यसप्रकार महँगीको भारले आज हामी नेपाली मर्नु न बाँच्नु भएका छौँ। आम नागरिकले साह्रै कठिनाइमा आफ्नो जीवन धानिरहेका छन्। यसरी महँगीले चरम सीमा नाघेको छ।

३. गरिवी : आजको नेपालको आर्थिक स्थिति विश्वमै निकै कमजोर छ। विदेशी ऋणको ठूलो भारका कारण हरेक नेपाली जन्मने बित्तिकै ऋणको भागीदार हुनुपर्ने नियति छ। गरिबी सामना गर्न नसकेर मानिसहरू आत्महत्या समेत गर्न बाध्य छन्। ऋण खोजेर मरुभूमिमा आफ्नो भाग्य परीक्षा गर्ने नेपाली नौजवानहरूको संख्या लाखौं छ। पैसाका लागि लोग्नेले स्वास्नीलाई र बाउले छोरीलाई बेश्यालयमा बेचेका छन्। गरिबी निवारणका लागि ठूलो धनराशी दातृ संस्थामार्फत नेपाल आउँछ। तर तिनले दिएको रकममध्ये ७५ प्रतिशत त तिनकै प्रतिनिधिहरूका लागि खर्च हुन्छ। बचेको २५ प्रतिशत पनि स्वदेशका सम्भ्रान्तहरूले भेट्टाउँछन्। जसलाई चाहिने हो, त्यो समुदायसम्म यो सहयोग पुग्नै  पाउँदैन। त्यसैले दाताबाट प्रत्येक वर्ष अर्बौ सहयोग पाएर पनि समस्या चाहिँ जस्ताको तस्तै छ।

४. भोकमरी : चरम सीमामा गरिवी र महँगी भएपछि भोकमरी पनि हुने नै भयो। नेपालको सुदूर पश्चिम मात्रै होइन, मुलुकभरिकै दुर्गम क्षेत्रमा यस्तो भोकमरीको समस्या छ। उब्जाउ भनिएको तराईमै पनि गरिबीका कारण आज खाए भोलि के खाउँको अवस्थामा कैयौं परिवार छन्। पेटभरि भात खाने दिन सालभरमा एकाध पटक मात्रै आउँछ। खानेकुराको अभावमा आत्महत्या गरेका समाचार हामीले पढ्न पाउँछौँ। राज्यले भात मात्रै खाना हो भनेकाले पनि दुर्गम भेकमा भोकमरी बढेको छ। त्यहाँको आलु, जौ आदिलाई खाना मानिँदैन। त्यसैले हेलिकप्टरबाट बोकाएको चामल महँगोमा बेचिन्छ जुन सर्वसाधारणको पहुँचमा हुँदैन। कुहेको चामल महँगोमा किन्न खोज्दा पनि लामो लाइन बस्नुपर्ने बाध्यता दुर्गमका बासिन्दाको छ।

५. भ्रष्टाचार : आजको परिस्थितिमा नेपालमा भ्रष्टाचार खुब मौलाएको छ। पहिले टेबुल मुनिबाट आफ्नो काम चलाउँथे भने अहिले हाकाहाकी घुस चल्न थालेको छ। नेपालमा भ्रष्टाचार कतिसम्म चुलिएको छ भने एउटा निवेदन दर्ता गर्न पनि चिया खाने पैसा खोजिन्छ। ठूलाठूला घर फोर्ने र बैँक लुट्ने अपराधमा प्रहरीकै संलग्नता भएको पाइनु दुःख लाग्ने कुरा हो। नेताहरू मन्त्री बन्नासाथ भ्रष्टाचारमा चुर्लुम्म डुबेको इतिहास छ। शिक्षण संस्थामा, मन्त्रालयमा, न्यायालयमा, प्रशासनिक क्षेत्रमा जता हेर्‍यो त्यतै भ्रष्टाचार मात्र देखिन्छ। प्रहरी, सेना या निजामती सेवामा भर्ना हुन या बढुवा हुन लाखौं रूपैया नजराना टक्र्याउनुपर्छ।

६ मिसावट : आजको युग नै मिसावटको युग हुन थाल्यो। नाफाका लागि दुधमा पानी, बेसारमा इट्टाको धुलो र मकैको पीठो मिसावट गरिन्छ। खाद्य पदार्थमा विषादीको प्रयोग उस्तै बढेको छ। करेला, भण्टा, फर्सी घिरौंला, काँक्रोमा सुर्इ लगाएर अप्राकृतिक रूपमा ठूलो बनाउने चलन आजकल सामान्य भएको छ। शुद्ध र ताजा खानलाई आफैंले फलाउनुपर्छ,  नत्र शुद्ध खान्छु भनेर सोच्दै नसोचे हुन्छ। दुध, घ्यु, तेल सबैमा मिसावट छ। शुद्ध ताजा दुध, घ्यु खानलाई आफैले गाई, भैसी पालेर मात्र खानुपर्छ। खाद्यपदार्थमा मिसावटका कारण घरघरमा मानसिक रोगी बढ्दै जाने छाँट पनि देखिएको छ।

७ लोड सेडिङ : जलस्रोतमा धनी देश हाम्रो नेपाल। तौरतरिका र व्यवस्था मिलाउन नजानेकाले सबैभन्दा बढी लोडसेडिङ हुने देश पनि नेपाल नै भएको छ। यसलाई एउटा विडम्बना नै मान्नुपर्छ। विश्वकै सबैभन्दा अग्लो सगरमाथाको देश, विश्व शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देश, जलस्रोतमा धनी देश नेपाललाई आज सबैभन्दा ज्यादा लोड सेडिङ हुने देशको ख्याति पनि मिल्दैछ। अदूरदर्शी नीति र अस्थिर राजनीतिका कारण २४ घण्टामा १८ घण्टा लोडसेडिङ भोग्न बाध्य छन् नेपालीहरू। लोडसेडिङको मारमा मुलुक परेको एक दशक भइसक्दा पनि अझै छिटै यसबाट मुक्त हुने छेकछन्द देखिँदैन।

८. चोरी, डकैती र हिंसा: आज राष्ट्रमा चोरी डकैती जस्ता अपराध अस्वाभाविक हिसाबले बढी राज्य आतंकको रूप लिँदैछ। जताततै हत्या, हिंसा, अपहरण, बलात्कार, चोरी, डकैती, लुटपाट आदि चलेको छ। पैसा कमाउन विदेश गएका व्यक्तिहरू स्वदेश र्फकनासाथ त्राहिमाम् हुन्छन्, आफ्नो ज्यान जोगाउन, कमाइ जोगाउन। राजनीतिक संक्रमणले पनि यस्ता अपराधलाई बढाएको हो। तर त्यो भन्दा खतरा के प्रवृत्ति देखिँदैछ भने अपराधले राजनीतिक संरक्षण पाउँदैछ। अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण दुवैले मुलुकको शान्ति, अमन, चैन र सुरक्षाको स्थिति कमजोर पारेका छन्।

९. बलात्कार : हाम्रो समाजमा बलात्कार जस्तो जघन्य अपराध बढ्दै गरेको देखिन्छ। नेपालीलाई लज्जित पार्ने यो अपराध पहिले बाहिर नआएर अहिले मात्रै बाहिर आएकाले बढेजस्तो देखिएको हो कि साँच्चिकै बढेको हो भन्ने यकिन चाहिँ भएको छैन। सुरक्षामा खटेका प्रहरी जवानहरूले महिला प्रहरीलाई, किशोरीलाई बलात्कार गरेको सुनिन्छ। बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका छन्। यौन पिपासु पुरुषका आँखामा अन्जान बालिकाहरू पर्नु झन् दर्दनाक पक्ष हो। २०६७ सालदेखि २०७१ चैतसम्मको ५ वर्षको अवधिमा मात्रै ७३ जना बालिका बलात्कारमा परेका छन्।

१०. अपहरण : सुरक्षा संयन्त्र कमजोर भएको अवस्थामा जताततै अपहरणका घटनामा उल्लेख्य वृद्धि भएको हामी पाउँछौँ। खास गरी साना नानीहरू अपहरणको सिकार भइराखेका छन्। पत्रपत्रिका पढ्दा, रेडियो र टिभी खोल्दा कहीँ न कहीँ साना नानीहरू अपहरणमा परेको समाचारमा पढ्न, सुन्न र हेर्न पाइन्छ। अपहरण गरेपछि ठूलो रकम फिरौती माग्ने गरेको पाइन्छ। स्कूल गएका बाबुनानीहरू बेलुका र्फकने हुन् कि होइनन् भनेर बुबाआमा चिन्तामा हुन्छन्। यस्तो अवस्था एक दुर्इ ठाउँमा मात्र नभएर सारा मुलुकमै व्याप्त छ।

११. बोक्सीकाण्ड : २०६७ फागुन १४ गते एक ४५ वर्षे चौधरीलाई समाजले बोक्सी भनी उसैको विष्टा खुवाएपछि उनले गाउँ नै छोडिन्। आजको एक्काइसौं शताव्दिको विकसित समयमा पनि हाम्रो समाज बोक्सी प्रथामा चुर्लुम्मै डुबेको छ। कसैलाई आफ्नै विष्टा खुवाइदिएका छन्, कसैलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन्। कसैलाई लामा झाँक्रीलाई बोलाएर तातो पनियोले डाम्ने गरेको पनि पाइन्छ।

१२. संविधान : २०६२/६३ को आन्दोलनले संविधानसभामार्फत नयाँ संविधान लेखिनुपर्ने माग गरेको हो। आन्दोलन सफल भई संविधानसभाको निर्वाचन भयो तर मुलुकले संविधान पाएन। त्यो पहिलो संविधान सभा भंग भई अर्को चुनाव गरियो। तर त्यसले पनि संविधान मस्यौदाको मिति गुजारिसकेको छ र कहिले लेखिन्छ भन्ने टुंगो छैन। आन्दोलन सफल भएको एक दशक भइसक्दा पनि देशले संविधान नपाउनु विडम्बना नै हो। संविधान सभाका लागि प्रत्यक्ष अप्रत्यक्ष गरी खर्बौ रुपैयाँ खर्च भैसक्यो। ६०१ सभासद् बोकेको संविधान सभाले आर्थिक भार बढाउनु बाहेक अन्य प्रगति गरेको आभास नेपाली जनतालाई भएको छैन।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

मुख्य समाचार