चन्द्रावती वाग्ले : संस्कृति संरक्षणको उदाउँदो चन्द्र

asafalgautam असफल गौतम
भाद्र ६, २०७७

हाम्रो घरदैलोमा कुशे औशीको आगमनसँगै नेपालीका महान् चाडपर्वले दैलो खोल्न थाल्छन् । जसमध्ये पहिला आउने भाद्र द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने नारीको महत्वपूर्ण चाड तीज यतिबेला शुरु भइरहेको छ । तीज आम नेपालीको चाड भएकाले साझा रूपमा मनाउँदै आएको पाइन्छ ।

भगवान् शिवको आराधनासँगै, नाचगान, मनोरञ्जन, स्वतन्त्र, आनन्दमय हर्षोल्लासका साथ मनाइने तीजका सन्दर्भमा दिदीबहिनीले संस्कार, संस्कृति संरक्षणका साथै मनका विरह र वेदनालाई गीतिमाध्यमबाट अभिव्यक्त गर्दै आएको पाइन्छ ।
सामान्य हिसाबले तीज मनाउँदै आएकी चन्द्रावती वाग्ले पछिल्लो समय संस्कारसँगै संस्कृति संरक्षणमा क्रियाशील रहन थालेकी छन् । उनका आफ्नै सिर्जनाका सार्मथ्यले छोटै समयमा सांस्कृतिक अभियन्ता बनेर हिँड्दा हिँड्दै उनी उदाउँदो चन्द्रका रुपमा चम्किन थालेकी छन् ।

हिजो आज नयाँ नेपालको नारा फलाकिएको छ तर चारैतिर वेथिति छ । जनता महङ्गी, अभाव, रोग, भोकले तहसनहस मात्र होइन, खान नपाएर भोकै मरिरहेका छन् । भ्रष्टाचारी र तस्करहरु हत्या हिंसा, शोषण–दमनमा व्यस्त छन्् । स्वर्ग जस्तो नेपालमा बेइमानी खेल घिनलाग्दो भएर मौलाएको छ । यस्तो अवस्थामा वाग्ले भने आफ्ना पाखा पखेरा सम्झेर टोलाउँछिन् अनि ‘नरोए आमा’ भन्दै यसरी गीतका फाँकी फुकाउँछिन्ः
घुमेर आयो वर्ष दिनको तीज
गए दिदी बहिनीहरू माइत वरिलै
आमा तिम्ले पकाएको तो मीठो दर खान
अहिले पनि जुरेन साइत वरिलै

वर्षदिनमा आउने तीजमा विवाहिता दिदीबहिनी माइत जाँदा आफू जान नपाउनुको पिरलो मात्र होइन, कैयौं चेली आमाले पकाएको दर खाने साइत जुरेन भनेर चित्त बुझाउन बाध्य छन् । वाग्लेले आमालाई नरुन आग्रह मात्र गरेकी छैनन् । उता बाबाआमा बाटो हेरेर टोलाउँदाको दर्दनाक अवस्थालाई पनि उनले हृदयले छामेकी छन् । अनि ‘आइन छोरी भनेर’ आमाबाबाले बाटो हेरेको कल्पना गर्दै मनमा हुरी चल्न थालेपछि वाग्ले पुनः अर्को फाँकी यसरी व्यक्त गर्दछिन् :
जबमा आउँछन् तीज र तिहार मनमा चल्दछ हुरी बरिलै
म आउने बाटो हेरेर सधै बाबा–आमा बसे होलान कुरी बरिलै

हामीले मनाउँदै आएका चाडपर्व हाम्रा संस्कार संस्कृति मात्र होइनन् । दूरदराजका दिदीबहिनी, आमाछोरी मिलन गराउने मिलनका प्रतिक र पुल हुन तापनि कहिलेकाहीँ परिस्थिति असहज पुग्छ । त्यसमा हामीले गुनासो गर्नु हुँदैन । जिन्दगी यात्रा हो कहिले सहज, कहिले असहज भन्दै ‘गरिन गुनासो’ भन्न थाल्छिन् । किन भने नारी सृष्टिकर्ता मात्र होइनन् संहारकर्ता पनि भएकाले रुप एक भए पनि व्यवहार र जिम्मेवारी धेरै छन् । यसैले चन्द्रावती सबैलाई सम्झदै भन्छिन् :
देखाइन कहिल्यै आँखामा आँसु,
आमाको मन फेरि रुन्छ भनेर
जति पीर परे पनि बाहिर कतै भनिन्,
बाबाको शिर तल झुक्छ भनेर ।

राखिन कहिल्यै समस्या धेरै
दाजुको मन सानो होला भनेर
पोखिन कहिल्यै मनका पीडा
भाउजुको मन फेरि होला भनेर ।

सोध्द्धा भाइबहिनीले के छ हाल खबर,
भन्दिन्थे हासेरै ठीक छ भनेर
कति थिए मनका रहर बसे मनै मारेर,
के हुन्छ र आफन्तलाई पीर पारेर ।
चन्द्रावती कहिले अम्बिका भण्डारीसँग ‘माइती देशै झलल’ भनेर माइती देश सम्झिन् पुग्छिन्, कहिले ‘हाम्रो माइती घर’ भन्दै यसरी स्वर मिलाउन पुग्छिन् :
मै चरी भए त भुरुरु उडेर
भर्खरै जाऊ कि भैm हुन्छ बरिलै
धरर यो मन रुन्छ बरिलै ।

यसरी प्रारम्भिक चरणमा संयुक्त तीजेगीत निकाल्दै आएकी चन्द्रावती पछिल्लो समय आफ्नै स्वर संगीतमा मौलिक तीजेगीतका माध्यमबाट हाम्रो सनातन संस्कार संस्कृतिको संरक्षणमा क्रियाशील छन् ।
कास्कीको मिजुरे–६ गोर्जे हालको मादी गाउँपालिका–९ मा पिता मित्रलाल र माता सरस्वती अधिकारीका कोखबाट २०२८ सालमा जन्मेकी चन्द्रावती अधिकारीबाट वाग्ले हुँदै तनहुँको म्याग्दे गाउँपालिका–६ कर्मघर पुगिन् । कर्मघरको कर्मसँगै उनी हिजोआज पोखराको न्युरोडमा बसोबास गर्न थालिन् । गाउँमा जन्मेर हुर्के बढेकी वाग्लेले आफैलाई शहरको सुविधाले दिएका तमाम सन्दर्भले घोच्यो । क्रमशः तीजका गीत बजारमा आउने क्रममा ‘शहरको सुविधा र म’ शीर्षकको गीत पनि सार्वजनिक भयो । जहाँ उनी भन्छिन् :
पाइन्छ भनी गाउँ छोडेर शहरमा
मनका इच्छा पूरा गर्ने रहरै रहरमा ।
गाउँको रातो ढुंगे घर भोटे ताल्चा लाएर
कोठाभारा तिरी बसे सहर आएर ।

हिजो धेरै दिदीबहिनी के–के न हुन्छ भनेर शहर झरे । आज कोरोनाले शहरबाट गाउँ धपाइएका झण्डै २५ प्रतिशतले तत्कालीन विद्रोहीलाई सराप्दै गरेको देखिन्छ भने केही आफ्नै बुद्धि नपुगेर बजार झरेकामा आफ्नै जिन्दगीसँग गुनासो गरिरहेका छन् । उनीहरुको त्यो व्यवहार देख्दा बुढापाकाले गाउँघरमा भन्ने गरेको ‘गाँठी न गुँठी जर्जरी उठी’ उखान चरितार्थ देखिन्छ । यस्तै सन्दर्भले चन्द्रावती जस्ता सर्जक मनलाई छुन्छ ।

लुतो न कनाई भने जस्तो, केही कामधाम छैन तापनि शहरमा मान्छेको जिन्दगी यति यान्त्रिक बनेको छ कि, कुकुरको न काम न फुर्सद जस्तो भएको छ । पछिल्लो समय प्रविधिको विकासले २४ सै घण्टा मोवाइलमा घोप्टी परेको देखेर धेरै आमा दिदीबहिनीले छोराछोरीको नामै घोप्टे राख्न थालेका छन् । यस्ता सत्यलाई नजिकबाट देखेकी चन्द्रावतीले आफूलाई त्यही रुपमा उभ्याउन सकिन सकिनन् फरक सन्दर्भ हो तर फुर्सद नपाएको सन्दर्भलाई लिएर यसरी ‘दर्जा बेरोजगारको’ भन्छिन् :
वर्ष दिनको तीजमा पनि दुई दिन फुर्सद पाउँदिन
यही गुनासो बाबाको छोरी आउँदिन
जागिर खाए बिदा पाउँथे बेरोजगार छु नामको
अहिले पनि तीज खल्लो मेरी आमाको ।

चन्द्रावतीले तीजमा छोरी नआएका आमाका पीडा, माइतीको कुकुर पनि प्यारो हुन्छ भन्ने सन्दर्भलाई मात्र होइन, आम नेपाली दिदीबहिनी जो आफन्त, इष्टमित्र भेट्घाट हुन पाएका छैनन्, जो बेरोजगार हुँदा पनि फुर्सद पाएका छैनन सबैलाई सम्झेकी छन् र त्यो भन्दा जटिल जो जागिरे जीवन बिताउन बाध्य भई जागिरका लागि शहर आउनेका बाध्यता र विवशता डर लाग्दा छन् । त्यही वास्तविकतालाई टिपेर उनले शहरिया जीवनका रहनसहन, चालचलन, राखनधरन, खानपान र कामधन्दालाई गीतका फाँकी बनाएर “जागिरे नारी” नाम दिन्छिन् र भन्छिन् :
होइनन् हेर नारीहरु पुतली र खेलौना
मै जागिरे नारीको सुन बिलौना
पढ छोरी सुख पाउली भन्नु हुन्थ्यो आमाले,
तर मलाई फुर्सद छैन कामै कामले ।

समयको कालक्रममा धेरै परिवर्तन भयो तर हाम्रो मानसिकता अझै परिवर्तन हुन सकेको छैन । नारीलाई समाजमा हेर्ने दृष्टिकोण अझै साँघुरो छ भनेर उनले नारी खेलौना होइनन् भनेर विद्रोह गरेकी छन् । चन्द्रावती वास्तविक जीवनकी गीतकार हुन् । किनकि, गरीब, दीनदुःखी र सच्चा श्रमजीविका ढुकढुकी उनका गीतका विषय बनेका छन् । सरल शब्द र ठेट गाउँँले भाका उनका गीतका संगीत बनेका छन् ।

हिजोआजका तीजेगीतबाट फिटिक्कै सन्तुष्ट नभएर होला उनले हाम्रो संस्कार सिकाएकी छन् । पछिल्लो समय लोकगीतमा मात्र होइन, तीजगीतमा पनि यौन उत्तेजनात्मक शैली मौलाउँदै गएको छ । घर परिवारसँगै बसेर गीत हेर्न सक्ने अवस्था छैन । त्यसमाथि पनि नारी स्वतन्त्रता र स्वाधिनतामाथि धावा बोलिएको छ । आफूलाई लोकसंस्कृतिका संरक्षक ठान्ने पुरुषसमेत ‘प्रयोग’का नाममा साडी लगाएर झुम्राका छाती उचाल्दै हिँडेको देख्दा उनलाई उदेक लाग्छ । हाम्रा मौलिक संस्कृतिको हत्या गर्ने ती साच्चै अपराधी हुन् । तर हामी जुन समाजमा खाइखेलेका छौं यहाँ अपराधीलाई चौतारीमा राखिन्छन् । अब यो विशृङ्खल समाजमा शृङ्खला मिलाउन आवश्यक देख्छिन् । यसैले वाग्ले आफू हिँडेको बाटो, हुर्केको माटो र आफ्नो आजसम्मको जीवनको पाटोलाई गीतमा उन्छिन् । यसैले उनका गीतमा अरुले चमक लगाउन पर्दैन त्यसैले उदाउँदो चन्द्र बनेर देखिन्छन् । पछिल्लो समय बजारमा आएको जागिरे नारीको लोकप्रियताले गर्दा वाग्ले पुलकित देखिएकी मात्र होइन् छोटो समयमै जागिरे नारी–२ नाम दिएर पुनः हिजो गीतका बान्की दिन बाँकी विरह र वेदनालाई “जागिरे नारी–२” शीर्षकमा गीत बजारमा ल्याएकी छन् । हेरौं उक्त गीतको एक फाँकीः
हेर्दा मात्रै सुखी हो यो जागिरेको जिन्दगी,
जिउनु पर्ने खुसीहरु राखी बन्दकी ।
साथीसँग मनका कुरा दिल खोलेर हास्नलाई
रहरै छ दुई दिन माइत गई बस्नलाई ।
जागिरे जिन्दगी आफैमा बन्धनले बाँधिएको जिन्दगी हो । त्यसमा हाम्रा समाजका नारी अझै बढी पीडित छन् । जसलाई उनले टपक्क टिपेकी छन् । यसो भनिरहँदा नारी सधै पीडामा, दबाबमा अभावमा छन् भनेर वर्तमान सरकारले दिएको स्वाधिनताको अपमान गर्न खोजिएको होइन तर सत्य के हो भने,

महिलाले धेरै सङ्घर्षपछि पर्याप्त अधिकार पाएका छन् । उनीहरु पाएको अधिकारसँगै आफ्नो कर्तव्य र दायित्वप्रति सचेत हुनै पर्छ । किनकि त्यसको सही सदुपयोग नहुँदा हिजो आज देखिन थालेका चश्मा र अण्डकोष फुटेका घटना धेरै देख्न पर्ने विकराल अवस्था आउन सक्छ त्यसतर्फ व्यक्ति स्वयम् सचेत हुनैपर्छ ।

चन्द्रावती गायनमा मात्र होइन लेखनमा पनि क्रियाशील छन् । विशेष गरेर कविता र काव्य लेखनमा क्रियाशील वाग्ले पति वियोगपछि विरह र वेदनाका पोकालाई आफ्ना सिर्जनाका बान्की बनाएर उदाइरहेकी छन् । यस क्रममा उनले सिन्दुरको धर्को पुछिए पनि हृदयमा मुछिएको माया कति अटल–अमर छ भनेर देखाउन पछि परेकी छैनन् । किनकि वाग्लेले पति हरिशचन्द्र वाग्लेको स्मृतिमा ‘हरिशचन्द्र’ शोककाव्यसमेत प्रकाशन गरेकी छन् । वाग्लेले काव्यमा आफ्नै मन र जीवनलाई पोखेकी छन् ।
चन्द्रावती आफैमा साहित्यकार ,कलाकार र समाजसेवी भावनाकी भएकाले सोही प्रकृतिका काम गरेकी छन् । उनले पतिको नामलाई जीवन्त तुल्याउन ‘हरिषचन्द्र वाग्ले क्रियाशील पत्रकार महिला पुरस्कार’ अक्षयकोषसमेत स्थापना गरेकी छन् । १ लाख १ हजार १ सय ११ रुपैयाँको कोषको ब्याजबाट क्रियाशील पत्रकार महिलालाई पुरस्कृत गरेर थप उर्जा प्रदान गर्ने कार्य आफैमा स्तुत्य छ । कहिलेकाहीँ भावनामा बग्दा ‘टाउकोको दबाइ नाइटोमा’ भनेजस्तो पुरानो उखान चरितार्थ हुने कर्मबाट भने बच्नैपर्ने हुन्छ । वाग्ले सचेत स्रष्टा, साधक र समाजसेवी भएकाले त्यसतर्फ उनको ध्यान पुग्ने छ भन्न सकिन्छ ।

हाम्रो समाजमा सत्य रुचाइँदैन किनकि त्यो तीतो हुन्छ । पंक्तिकार आज चन्द्रावतीको व्यक्तित्व लेखनमा लाग्दै गर्दा हिजोको सत्य भने बिर्सन हुँदैन । सत्य के त भने, कैयौं वर्षदेखि चन्द्रावती पोखराको बाटो र माटोमा लडीबुढी लेखिन् । आफ्नै जागिरे जिन्दगीको कुटो–कोदालो र घर परिवारको लुते धन्दामा गुमनाम जिन्दगी बिताउँदै सफलताका सिँढी चढ्दै गइन् । उनी नायब सुब्बा तहमा पुग्दा सफलतामा दाह्रा गाँड्नेले बदनाम गराउन खोजे भनिएको दुर्गन्ध फैलियो तर आजको महानगरमा हिजो मालीका रुपमा छिरेर आज मालिकको ठाँटबाँठसँग अधिकृतको घुम्ने कुर्चीमा मेहनत–पसिनाको फसल थाप्ने हैसियत बनाउँदासम्म पनि गुमनाम थिइन् । तर आज समय फेरिएको छ । हिजो अरुका समाचार पढ्ने चन्द्रावती आफै सफलताका समाचारका शीर्षक बनेकी छन् । आज पंक्तिकार तिनै सन्दर्भसँग जोडिएका पर्व गीतका फाँकीबाट प्रभावित भएर दुई चार अक्षर लेखिरहेको छ । यसबाट प्रष्ट हुनुपर्छ साच्चै हाम्रा संस्कार संस्कृति अमूल्य निधि हुन् । यिनको शक्ति र सामथ्र्यलाई चन्द्रावतीले राम्ररी बुझेकी छन् र निरन्तर बुझिरहुन यही कामना ।

हाम्रो सुझाव