घाम विनाको घलेल घुमाई

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७१

पृथ्वीनारायण क्याम्पसका विद्यार्थी थियौ हामी त्यस बेला। फुक्काफाल जिन्दगी, ‘शोक न सुर्ता भोक न भकारी’ टाइपको। कलेजकालीन दिनमा घुमफिर सजिलो थियो। लहडी तालले मन लागेको ठाउँमा पुगिन्थ्यो। अचेल बिन्दास भन्छन् नि, हो त्यस्तै। एक, दुर्इ जोर लुगा, ब्रस, मञ्जन र साबुन कोचिएको झोला बोक्यो, अनि हिँड्यो। के-को तामझाम, के-को तयारी – उठ् जोगी फट्कार छाला, जहाँ जाला भातै खाला। बिना पूर्व योजना पोखरा सेरोफेरोका चल्तीका सबै गाउँघर चाहारियो। घान्द्रुकको घाम तापियो, सिक्लेसको सिरेटो खपियो। मटि्टखान, पञ्चासे, धम्पुस, अस्ताम, घोडेपानी, पुन हिल, लान्द्रुक, जोमसोमतिर पनि बरालिइयो।

अचेलको कुरो अलि बेग्लै पर्‍यो। पारिवारिक जञ्जाल र जीवनयापनको कुटीखेलोले थोरै व्यस्त धेरै अस्तव्यस्त बनाएको जिन्दगी। फिरन्ते दुनियाँमा रमाउन लालयीत द्विविधामा थियो। परिस्थिति नेल ठोकेको कैदी जस्तो, मनस्थिति टाप ठोकेको बेलगाम घोडाजस्तो।

जनैपूणिर्मा र गाइजात्रासँगै जोडिएको टहोटें पर्वको छेकमा पोखरेली विद्यालयलाई तीनदिन छुटिट्ट हुने भएछ। माड्सावका फकिर मनहरूलाई राहत भइहाल्यो। यात्रा तय भयो ल्वाङघलेलको। तर, यी कलेजकालीन उन्मुक्त दिन थिएनन्। प्रारम्भमै टोलीको एक उत्साही एवं रसिक यात्रु मन अमिलो पार्दै यात्राबाट खुट्टा झिक्छ। हजुरआमा सिकिस्त रहिछन्, के गरोस् त विचरो – हिँड्ने भनेकै दिनमा अर्को एक जनाको फोन आउँछ-‘म कलंकीबाट हिँडे, दुर्इ बजे सम्ममा आइपुग्छु। अनि जाऔँला है।’ दिउँसो बस चढ्नलाई टुँडिखेलको हरिचोक पुग्नुपर्ने बेलामा उही बोल्छ फोनमा-‘आमालाई जँचाउन लानु पर्ने भो। तर, म आइहाल्छु। एकछिनपछि जाऔँ न।’ अर्को भन्छ-‘घरमा छोरी हेर्ने मान्छे भएन यार। उसलाई श्रीमतीको अफिसमा छोड्न जाँदैछु। एकैछिन पख् है।’ झन् अर्को एउटा चाहिँ सिर्द्धार्थ युथ क्लबमा पुस्तकालयसम्बन्धी बैठकमा अलमस्त, उसको अत्तोपत्तो छैन। उसको सेलफोन ब्रि्र्रेकाले अत्याउन पनि पाइएको छैन। संयोजन गर्ने साथी बम्कियो-अबदेखि घुम्न जाउँ भनेर कसैलाई भन्दिनँ। जान मन लागे एक्लै जान्छु।’ साथीहरू जुट्दा-जुट्दै समय र्घर्किएला कि, एकैछिनमा मुसलधारे पानी दर्किएला कि, उसको घुर्की नाजायज लाग्दैन।

अन्ततः दीपक, अशोक र माधव हरिचोक आइपुगे, घरै थन्कियो परिवन्दको बन्धन। यायावरी मन गोडामा बोक्दै कलेजकालीन मित्र मण्डलीका पाँच सदस्य निष्फिक्री अघि लागे। पोखरादेखि अन्दाजी १५ किमी उत्तरको ल्वाङघलेल गाविस ल्वाङ र घलेल नामका दुर्इ भिन्दै गाउँ मिलेर बनेको छ। अन्य पर्यटकीय गाउँ जस्ता चल्तीका होइनन् यी गाउँहरू। ल्वाङ गाउँमा गरिएको चिया र आल्मण्डको व्यावसायिक खेती र घलेल गाउँमा भर्खरै खुलेको साहसिक मनोरन्जनात्मक खेल क्यानोनिङबारे सुनेका थियौँ। यी नौला विषयले हामीलाई त्यता डोर्‍याउँदै थियो।

लुम्रेसम्म जानलाई हेमजाको मिलनचोकमा बोलेरो जीप पाइँदो रहेछ। भाडामा अतिरिक्त पैसा थपेर छ बजे जाने गाडीलाई पाँच बजे नै जाने बनाइयो। दुर्इ जना मुस्किलले अट्ने अगाडिको सिटमा तीन जना राखे चालक भाइले। तीमध्येको दुब्लो एक जनालाई छानेर आफू छेउ राखे, जो चालककै आधा सिट ओगट्दै गिअरलाई दुर्इ खुट्टाको बीचमा पारेर बसेको थियो। धन्न चालक सुमन भाइ भने सानो काँटीका रैछन्। भन्दै थिए-‘घाटा लाग्छ भनेरै नमोटाएको।’ ऋणमा किनेको गाडीको कमाइले घरर्खर्च र बैंकको किस्ता बुझाउन पुगेकाले सन्तोषी जीवन रहेछ ती भाइको।

हाम्रो बोलेरो गाडी घरी भिरैभिर उक्लिन्थ्यो, घरी मर्दी खोलाको तिरैतिर कुद्थ्यो। वर्षाको याम, पानी नपरे केको पोखरा – पानीबाट ओत्न पालले छोपिदिएपछि निरीह बनेका छतका यात्रु हावाले नउडाओस् भनि हातले पाल समात्दै डल्लो परेका थिए।

मर्दीखोलाको उत्तरतर्फ लमतन्न तेर्र्सिएको उर्बर फाँटमा धान हलक्क बढ्दै थियो, फाँटै हरियो पारेर। फाँटको पुछारमै देखियो, मर्दी छेकेर पोखरामा पानी भित्र्याउन बनाइएको संरचना। पोखरेलीले दैनिक पिउने पानीको स्रोतको त्यो रूप देखेर हाम्रा माड्साप मित्रले ज्रि्रो टोके। धानबालीमा हालिने रासायनिक मल, किटनाशक औषधी र डाँडापाखाका बस्तीका सबै थरी फोहरमैला बोकेको यो मर्दी खोलाको पुछारमा खानेपानीको मुहान कुनै पनि दृष्टिकोणले उपयुक्त थिएन। जब जंघारमा चालकले गाडी हाले खोलो तर्नलाई, बोलेरोले पाङ्ग्राको हिलो राम्ररी पखाल्यो। खोलाको पानी हल्का धमिलियो। भोलि घरको धारामा त्यही हिलो पुग्ने तर्कनाले हाम्रो मन अमिलियो। ‘म त अबदेखि यो पानी उमालेर पनि खान्नँ, जारको पानी खान्छु?दिव्यज्ञान फुरे झैँ गरी एउटाले भन्नेबित्तिकै अर्काले मुखाले जवाफ फर्काइहाल्यो-‘जारको पानी राम्रो भन्ने पो के ग्यारेन्टी भयो र ? त्यस्मा नि यस्तै खोलाको पानी छानेर हालेको पो हो कि ?’

खोला तरेपछि भेडाबारी, खोराको मुख हुँदै गाडीको अन्तिम स्टप लुम्रे पुग्दा साँझको साढे छ बजिसकेको थियो। अझै एक घण्टा उकालिन बाँकी नै थियो। यसअघि नै घलेल गाउँका होम स्टे र क्यानोनिङका अभियन्ता राम गुरुङसँग भएको फोन सम्वादले काम गरेछ, गाडीबाट झर्ने ठाउँमा स्थानीय युवक हामीलाई लिन आइपुगे। होम स्टेको आत्मीयता यहीँबाटै सुरु भएझैँ लाग्यो। सानैमा दशैँमा मामाघर जाँदा मामा बाटोमै लिन आउनु हुन्थ्यो। स्मृतिमा ती दिन बल्झिए अनायासै र लाग्यो हामी कतै आफन्तकहाँ नै जाँदैछौँ। ती युवकको नाम झन् रमाइलो थियो( जापान सोल्टी। अन्दाजी २५ वर्षका यी ठिटा पनि क्यानोनिङ प्रबर्द्धनमा लागेका रहेछन्।

मर्दीका माछा बोकेर उनीसँगै हामीहरू उकालियौँ। पूणिर्माको भोलिपल्ट भए पनि बादलले जुनको उज्यालो छेकेको थियो। धमिलो उज्यालोमा गफिँदै पाइला सारिरहेका थियौँ हामी। सिमसिमे पानीले भन्दा पसिनाले न्रि्रुक्कै भिजेका थियौँ। जापान सोल्टीले हामीलाई डोर्‍याउँदै हाम्रो आश्रयस्थल पुर्‍याउँदा साँझ रातमा परिणत भइसकेकोे थियो। पाहुना आउने थाहा भएर होला, पिँढीमा गुन्द्री तयार थियो। त्यहीँ आइपुग्यो नास्ता र केही पछि खाना पनि। साँझ रमाइलोका विविध रंगको इन्द्रधनुषले सजिएको थियो। फोनको कमजोर सिग्नलले घरायसी बन्धनबाट थप मुक्ति दियो। हरेकको उन्मुक्त मुद्राले वातावरणको रौनकतालाई झन् मादक बनाएको महसुस हुन्थ्यो। मित्रता सुरु भएपछिका २५ वर्षका रोमाञ्चक क्षण र प्रीतिकर घटना सम्झेर हामी पटकपटक नोस्टाल्जिक बन्यौँ। जुटेका सम्बन्ध सम्झियौँ। टुटेका सपना र छुटेका साथको बात मार्‍यौँ। शरीरभरि अनौठो तरंग फैलिरह्यो। मनको गहिराइसम्मै प्रसन्न भयौँ। गाला च्यात्तिने गरी हाँस्यौँ। घरिघरि गम्भीर पनि बन्यौँ।

चिसो हावालाई झन् चिसो पारेर आकास वषिर्यो। पोखराको गर्मीबाट भागेर एकै दिनलाई मात्रै भए पनि कतै चिसो ठाउँमा गई सिरक ओढेर सुत्ने रहर पालेको साथीको मुहारमा आलोकको पुञ्ज देख्न सकिन्थ्यो। हुन पनि दुइटा सिरक खप्टेर ओढ्न मिल्ने गरी चिसो थियो घलेलको छिप्पिँदो रात।

रातिदेखिको झरी अविरल दर्किरहृयो बिहानभर। हिमाली दृश्यपानको धोको, अनि ल्वाङ गाउँका चिया र आलमण्ड बारी हेर्ने चाहना पोल्टामै राखेर खाना खाइयो। अझ डोरीको सहायताले पानीको छाँगोबाट झर्ने साहसी खेल क्यानोनिङको अनुभव गर्ने उत्कट इच्छा ‘सहिद’ बनेकोमा थकथकी लाग्यो। हिँड्ने बेलामा आकास अलिअलि खुल्यो। आँगनबाट हेर्दा उँदोतिर सपको चालमा पोखरा हाम फाल्दै गरेको मर्दी टल्कियो। अनि, पारी भित्तामा गुजमुज्ज रिभान गाउँ। माछापुच्छ्रे पनि देखिन्छ कि भनेर आँखा तन्कायौ हामीले। तर, तुवाँलोको बाक्लो पर्दा हाम्रो दृष्टिले छिचोल्न सकेन।

असाध्यै रसिली, फरासिली रहिछन् हाम्री घरधनी शान्ति दिदी। सार्दीखोला माइत भएकी यी गुरुङसेनी दिदीका श्रीमान् खाडीतिर कतै रहेछन्। दुर्इ वर्षदेखि होमे स्टे चलाएकी यी फुर्तिली दिदीले दुर्इ सन्तानको लालनपालन र रेखदेखदेखि घरधन्दा, खेती किसानी गर्नसमेत भ्याएकी थिइन्। साथीले सोध्यो-‘विदेसिएका श्रीमान्को भन्दा बेसी आम्दानी तपाईको होमस्टेको होला हगि दिदीझ् उनी मुस्कुराइन् मात्र।

शान्ति दिदीसँग विदा भयौँ तर होमस्टेको रमाइलो अनुभवले पछ्याइरहेको थियो। गाउँले शुद्ध घ्युले टपिङ गरेको भातको चोइली, लाखुटो भनिने ठूलो खालको निउरो र असला माछाको डिनर अनि पोलेका मकै र अलौटा मकैको ब्रेकफास्टको स्वाद ज्रि्रोमा बसिरहृयो स्थायी बनेर।

मध्याहृन भइसक्दा पनि धुवाँजस्तो कालो बादलले वातावरण घाम डुबेपछिको साँझ जस्तो पारेको थियो। तर पनि दायाँबायाँ दृष्टि फ्याँकेर हिँडिरहेको थियौँ हामी। पारी पाखामा देखिएको धमिलो आकृति मर्दी हाईड्रोपावरको पाइप र अन्य संरचना हो भन्न सकिन्थ्यो। यस क्षेत्रमा यो हाइड्रोपावरसँगसँगै विकासका नाममा आएको मोटर बाटो रुग्ण र जीर्ण बनिसकेको रहेछ।

लुम्रेसम्म हिँडेपछि गाडी भेटियो, कस्सो हामी छिटो भयौँ र भित्र रामै्र सिटमा बस्न पायौँ। छुट्टी सकिएपछि सहर फर्किनेको भिड विस्तारै थपियो। मर्दीको पानी जसरी दक्षिणतिर बग्दै थियो, उसैगरी गाडीमा सहर झर्दै थिए गाउँका युवायुवती। पानी र जवानी पहाडमा अडिन्न भन्ने नरेन्द्र मोदी अनायासै झुल्किए हाम्रो चेतमा र अलप भए।

गाडीको छतमासमेत टनाटन मान्छे थिए। हामी भने मख्ख थियौँ भित्र बस्न पाएकोमा। यस्तैमा एक विरामी महिला चढ्ने भइन्। उनलाई सिट छोडेर हाम्रै एक साथी छतमा उक्लियो। नौ जना त पहिल्यै रहेछन्, समात्न मिल्ने ठाउँ पहिले अरुले नै ओगटेकाले अप्ठेरो ठाउँमा निरीह बन्दै बसेछ बिचरो। ट्रयाक्टरका ठूला टायरले थिल्थिलिएको सडक घरी दायाँ कोल्टिन्थ्यो घरी बाँयाँ। समथर भूभागमा त ठीकै थियो, मर्दी नजिकको भिरको सडकमा भने यस्तो कोल्टाइले उत्पातै डर बोकेर ल्यायो। झन् ड्राइभरले नै मुन्टो निकालेर छतका यात्रुलाई आदेश दिए देब्रे साइडमा भन्दा दाहिने साइड अर्थात् खोलातिर भन्दा भित्तातिर वजन पर्ने गरी बस्न। गाडी पल्टिहाले पनि खोलातिर नखसोस् भन्ने आशय उनको थियो। मुटुको ढुकढुकी तीब्र पार्न यति नै काफी थियो। हेम्जाको मिलनचोकमा गाडीबाट उत्रिदा भने मनबाट डर पनि उत्रिसकेको थियो।

यति धेरै रमाइलो हुँदाहुँदै पनि घलेल यात्रा अधुरै रहृयो। निरन्तरको झरीले क्यानोनिङ गर्न पाइएन। बादलको पर्दा नउघ्रिएपछि हिमाली दृश्य ओझेलमै परे। त्यसैले अलिकति खल्लो पनि लाग्यो। तर पनि ग्रामीण जीवनको एउटा मीठो स्वाद पस्कियो घलेलले हामीलाई। गाउँमा रमाउने कर्मशील पात्रहरू नाचे हाम्रा आँखामा( सुमन ड्राइभर, राम गुरुङ, जापान सोल्टी, शान्ति दिदी, हेड सर आदि। त्यसबाहेक अविरल छङ्छङनिे छाँगो, मर्दीका असला माछा, जंगली निउरो आदिका प्रतिबिम्ब पनि सुस्पष्ट सल्बलाए मानस पर्दामा। यिनै जीवन्त स्मृति सँगालेर हामी पुनः यान्त्रिक जीवनमा हेलिन पोखरा आइपुग्दा झरी रोकिइसकेको थियो।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग