घमण्ड

आदर्श समाज सम्वाददाता
श्रावण १०, २०७१

‘घमण्ड’ को अर्थ नेपाली शब्दकोशमा खोज्ने हो भने आफ्नो मान, प्रतिष्ठा सत्ता आदिको आफूलाई सर्वेसर्वा सम्झने काम भाव अथवा घमण्ड, अभिमान, सेखी, मपाइँ तुजुक आदि विभिन्न धेरै नाम दिइएको छ। गर्व गर्नु र अहम्भाव दर्शाउनु पनि ‘घमण्ड’ नै हो। तर पनि यस्तो ‘घमण्ड’ के कसरी पैदा हुन्छ भन्ने सन्दर्भमा प्रकाश नपारीकन वास्तविक घमण्डको परिभाषा पूरा हुन सक्दैन। ‘घमण्ड’ धेरै किसिमको हुन्छ वंश, कुल, जातजातिको ‘घमण्ड’ जस्तै हाम्रै देशमा आज भन्दा पहिले ब्राम्हण, क्षेत्री जात हामी नेपालीले व्यवहोरेको हो। अनि त्यस्तै अहिले पनि अन्य जातजातिले जातीय राज्य चाहिन्छ भन्ने आफ्नो जातकै घमण्ड लिएको पनि चर्चा परिचर्चा भएकै हो। त्यस्तै राजनीतिमा लागेका नेता तथा दलमा पनि बहुमत प्राप्त गर्ने दल अनि ठूला पदमा बस्ने नेता तथा ठूला पदमा आशिन कर्मचारीहरूमा पनि पदकै घमण्ड पैदा हुन्छ। घमण्ड भन्ने बस्तु यस्तो नसा भने पनि हुन्छ, यसले पकडेपछि यसबाट छुट्कारा पाउन पनि कठिन हुन्छ।

हुन त वास्तवमा भन्ने हो भने घमण्ड अथवा अभिमान गर्न लायक यस संसारमा केही छैन भने हुन्छ। किनभने हाम्रो शरीर नै अस्थायी छ र जुन भन्ने आफ्नै पञ्चमहाभूतको शरीर एक दिन छाडेर यो आत्मारुपी चरो उडेर जाने हो। अभिमानलाई आफ्नो वशमा राखेर नम्रता र विनयशीलतालाई अपनाउन सकेमा अवश्य सज्जनको उपाधि प्राप्त गर्न सकिएला। धनको, जमिनको र मानको  मात्र होइन, घमण्ड पैदा हुने कुरा अझ धेरै छन्। जस्तै विद्या, बुद्धि, रुप, सौन्दर्य, कला आदिबाट पनि घमण्ड पैदा हुन्छ। उद्योग, धनदौलत, धन्दा आदिमा पनि अभिमान छ। तर यो अभिमान जसरी जन्म लिने स्रोत -सूत्र)  हरू छन्। तिनैबाट जन्मेर यसले पतन पनि गराउँछ। मानिसले ममा विद्या छ, म धेरै चतुरो छु, म बहुमतको नेता हुँ, म धनी छु, मैले धेरै दानधर्म गरेको छु। म बलियो, नौजवान छु, म धेरै सुन्दर छु, आदि विभिन्न कारणबाट अभिमान प्रादुर्भाव हुन्छ। मानिसमा मात्र होइन, हाम्रो धर्मशास्त्रानुसार दैत्य, दानव, हिरण्यकश्यपु, रावण, शिशुपाल आदिसँग पनि ठूलो अहङ्कार थियो। जसका कारण भगवानलाई पनि गन्दैनथे। त्यस्ता अभिमानीलाई कहिल्यै शान्ति हुँदैन। त्यै घमण्डकै कारणबाट नाश भएका छन्। साधारण मान्छेले धाक धक्कु लगाएर केही समयको लागि ठगठाग गर्न सफल हुन्छन्। हाम्रो आध्यात्मिक शास्त्रअनुसार अरुको त के कुुरा ज्ञानको पनि घमण्ड नगर भनिएको छ। हुन त मानिससँग जे जति छन् शरीर, मन, इन्द्रीय, बुद्धि, सामर्थ्य त्यो सबै भगवानबाटै प्राप्त भएको हो। उनैको कृपाबाट प्राप्त विषयबस्तुको अभिमान गर्नु मुर्खता हो। अभिमान भनेको ठूलो शत्रु हो। अहङ्कारले कसैको पनि कल्याण गर्दैन। किनभने भगवानले संसार बनाएकै मानिसहरूका लागि हो र मानिसहरूको सृष्टि गरेको भगवान आफैका लागि हो। भनाइको मतलव मानिस भगवानको भक्त बन्छ भने भगवानबाट सांसारिक बस्तु सबै प्राप्त गर्दछ तर मानिसले घमण्ड गरेर आफै प्राप्त गरें भन्छ। अनि ब्रि्रन्छ। मनुष्य जन्म दिएकै भगवानले नै हो। यसैले भगवानले मानिसलाई तीन शक्ति दिनुभएको छ। जो यसप्रकार छन् ः कर्म गर्ने शक्ति, ज्ञान आर्जन गर्ने शक्ति र भगवान तथा आफूभन्दा मान्यजन मान्ने शक्ति।

कर्म गनेर्र्े शक्ति भनेको कर्तव्य तथा अर्काको सेवा गर्नका लागि सेवाभाव तथा हितका लागि कर्म गर्नका लागि हो। ज्ञान प्राप्त गर्ने शक्ति भगवानलाई र आफूभन्दा माथिको मान्यजनलाई मान्ने चिन्तन, मनन गर्नेे शक्ति। तर मानिसले यी माथिका तीन शक्तिलाई नै दुरुपयोग गरेर आफै मपाई बनेर अभिमानमा डुबेको छ। तर यो ‘घमण्ड’ भने पनि अभिमान भने पनि विषालु सर्प हो भन्ने कुरा मानिसले बुझेकै छैन।

अतः हरेक मानिसमा एक न एक प्रकारको घमण्ड लिएर हिडेकै देखिन्छ। कोही म धेरै धर्मात्मा छु, हरिभजन गर्दछु भन्ने घमण्डमा छन्, कुनै म कवि लेखक हुँ, धेरै पढे लेखेको छु भनेर पनि घमण्ड लिने छन्। तर भगवानकै कृपाबाट मात्र घमण्ड निर्मूल हुन्छ, भगवानको भक्त छैन भने त्यस्तो अभिमान छुट्दैन पनि भनिन्छ। भगवानकै भक्त नारदजीमा पनि अभिमान थियो। जसका कारण नारदजीले भगवानलाई श्राप दिनुभएको छ। नारदजीले भगवानलाई बाँदरबाट सहयोग लिनुपर्नेछ भनेर श्राप दिनाले नै लंकामा रावणसँग युद्ध गर्नुपर्दा पूरा सहयोगका लागि बाँदर वर्गमा नै भगवान रामचन्द्र निर्भर रहनुपरेको हो भनिएको छ। तथापि भक्त नारदजीको श्रापबाट भगवानको रामावतार भएर द्वापर युगमा लोकको कल्याण भएको छ।

यसरी परमभक्त नारदजीले भगवानलाई श्राप दिनुपरेको कारण पनि वडो रोचक र रमाइलो छ। एकपटक नारदजी घुम्दै हिँड्दै गर्दा एउटा राजाको दरबारमा पुग्नुभएछ। त्यहाँ राजाकै परमसुन्दरी छोरी राजकुमारीलाई देख्दा आकषिर्त हुनुभएछ। त्यसपछि उक्त सुन्दरीसँगै विवाह गर्ने इच्छा प्रादुर्भाव भएछ। अनि राजासँग मनसाय व्यक्त गर्दा राजकुमारीले स्वयंवर गर्ने राजकुमारहरूको सभामा प्रतिस्पर्धाको लागि जान सक्ने आशय व्यक्त भएछ। त्यसपछि भगवान विष्णुसमक्ष गएर नारदले आफ्नो अनुहार सुन्दर एवं राम्रो बनाइ दिनका लागि याचना गर्नुभएछ। भगवानले भन्नुभएछ भक्तको लागि जस्तो अनुहार उपयुक्त एवं कल्याणकारी हुन्छ, त्यस्तै गराउँला। त्यसपछि नारदजी उक्त राजकुमारहरूको सभामा उपस्थित हुनुभएछ। तर नारदजीको अनुहार भने बाँदरको अनुहार जस्तै देखेर सभामा सबै हाँसेको र राजकुमारीले पनि अर्कै राजकुमारलाई स्वयंवरको माला पहिर्‍याएको देखेपछि नारदजीले त्यहाँबाट तुरुन्तै बाहिर निस्केर ऐना हेर्दा आफ्नो अनुहार बाँदर जस्तै देखेपछि आफू भगवानको सच्चा भक्त भएको अभिमानले गर्दा नारदजीले पनि भगवानलाई श्राप दिनुभएको हो। त्यसैले अभिमान भनौं अहङ्कार महात्माहरू तथा भगवानमा पनि हुन्छ तर उहाँहरूको श्राप तथा क्रोध पनि कल्याणकारी नै हुन्छ।

मानिसले अहङ्कार त्याग्नका लागि भगवानकै कृपामा भर पर्नुपर्छ किनभने भगवानकै कृपाबाट प्राप्त गरेको यो शरीर तथा इन्द्रियहरू सबै भगवानमा नै अर्पण गरेर हामीले प्राप्त गरेको श्रीसम्पत्ति पनि भगवानबाटै प्राप्त भएको हुँदा हामीले घमण्ड गर्नुपर्ने केही छैन। किनभने हाम्रो बुताले प्राप्त भएको केही पनि छैन भन्ने भावना प्रादुर्भाव गराउन सकेमा अहङ्कार भनौ अभिमान स्वतः आपैm हटेर जान्छ।  हरहमेसा भगवानलाई सम्झेर भगवानकै कृपाबाट नै म संचालित छु भन्ने र भगवानकै शरणगतमा जानाले नै अहङ्कार हटाउन सकिन्छ। अन्यथा अरु उपाय देखिदैन। जो भगवान भरोसामा पर्दैन, त्यो अहङ्कारको मुखमा परेर त्यसको अस्तित्व नै नाश हुन सक्दछ।

त्यसैले जो जसले आफ्नो कल्याण र उन्नती चाहन्छ, त्यसले धनको ‘घमण्ड’ गरेको छ भने म भन्दा धनी अरु पनि धेरै छन् भन्ने सम्झनु पर्‍यो। विद्या अथवा पढाइलेखाइको घमण्ड छ भने मभन्दा लाखौ विद्वान छन्, त्यस्तै विषय र बस्तुमा अनगिन्ती अरु पनि छन् र यो संसार ज्यादै विशाल छ भन्ने सम्झेर आफूलाई क्रमशः घटाउँदै लगेर आफ्नो हृदयको अभिमानलाई हटाउन सकेका खण्डमा आफ्नो पनि उन्नती एवं प्रगति हुन्छ र देश समाजको पनि कल्याण हुन्छ। मेरो गोरुको बाह्रै टक्का भन्नेझै आफ्नै घमण्डलाई न छोड्ने हो भने आफ्नै आत्मकल्याण पनि हुँदैन र समाजको सेवा पनि हुन सक्दैन। वास्तविक भन्ने हो भने हाम्रो आध्यात्मिक दर्शनको रहस्य भनौं अथवा निचोड भनाइ पनि यही नै हो। मानिस ज्ञानी बन्ने र मुक्ति हुने बाटो पनि यही हो। अहङ्कार, अविद्या, अज्ञानताकै कारणले हुन्छ। त्यसैले शरीर, धन, असत्य हुन् भन्ने जाने पनि मान्छेले घमण्ड गर्नाले नै आफ्नो विवेक तथा बुद्धिलाई पनि सहीरुपमा प्रयोग गर्न सक्दैन। त्यतिमात्र होइन घमण्डरुपी अन्धकारले स्र्वर्गका सातै द्वार तप, दान, सम, दम, लज्जा, सरलता र सबैको ढोकाहरू बन्द हुन्छन् भने र महाभारतकै आदि पर्वमा भनिएको छ। त्यस्तै चिनियाँ दार्शनिक महात्मा लाओत्सेले भन्नुहुन्छ, अभिमानबाट क्रोध (रिस) प्रादुर्भाव हुन्छ। रिसले कुनै कुरा पनि ठीक बेठिक जान्न सक्दैन, अनि विनाशको मार्ग अपनाउँछ। जसले गर्दा त्यो मानिसले कहिल्यै शान्ति प्राप्त गर्न सक्दैन। जबसम्म मनमा अहंकार रहन्छ, तबसम्म शान्ति प्राप्त नहुने हुँदा ‘घमण्ड’लाई त्याग्नुपर्दछ। ‘घमण्ड’ त्याग्नका लागि उपाय पनि भन्नुहुन्छ, लाओत्से प्रेम, नम्रता र सदाचार जीवनमा समयानुकुल ल्याउनुपर्दछ। माथि भनिएझैं प्रेम भन्नु भगवानप्रतिकै आस्था र मानवप्रतिकै सदभाव तथा प्रेमपूर्ण व्यवहार हो।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width