ग्रेटर नेपाल कि बेटर नेपाल ?

आदर्श समाज सम्वाददाता
पौष ७, २०७२

पछिल्लो समयको भारतीय अघोषित नाकाबन्दीसँगसँगै राष्ट्रियताको नारा चकोर्रुपमा उठ्यो। हिजोका दिनमा भए राष्ट्रियताको नारा सायद सडकमा घन्किन्थ्यो। आजकलचाहिँ त्यो नारा दन्किने ठाउँ फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल बन्न पुगेका छन्। नेपालको राष्ट्रियता भन्नासाथ जानेर-नजानेर भारतमा गएर ठोकिन्छ। यही राष्ट्रियतासँग जोडेर कहिलेकाहिँ ग्रेटर नेपाल पनि आउने गर्छ। कहिले अलि बढी तात्ने र कहिले केही मत्थर हुने ग्रेटर नेपाल अभियान नेपाल-ब्रिटिस इण्डियाको इतिहाससँग जोडिएको छ।

ग्रेटर नेपालका हाम्रा अभियानकर्ताले ग्रेटर नेपालको रुपमा दाबी गरेको भूभाग अहिले भारतीय सीमाभित्र पर्दछ। त्यसमा पनि भारतको उत्तराखण्डमा यो भूमि धेरै छ। हामी २०६७ सालमा भारतको उत्तराखण्डको एउटा प्रमुख सहर पिथरागढ पुगेका थियौँ। पिथरागढ सहर बैतडी सदरमुकामदेखि सडकमार्गबाट तीन घण्टाको दूरीमा पर्छ। यता, वैतडी सदरमुकाम अन्धकार भए पनि उताको पिथरागढचाहिँ झण्डै युरोपको कुनै सहरको झझल्को आउने खालको झलमल्ल छ। त्यही झलमल्लमा एक रात बिताएपछि विहानीपख टहलिन बाहिर निस्कँदा एक पाठक थरका भारतीयसँग भेट भयो। उनी नेपालको इतिहासको जानकार रहेछन्। नेपालमा दरबार हत्याकाण्ड भएको १० वर्ष हुँदै थियो। उनले भनेका कुरा कति सत्य थिए कति असत्य त्यो आफ्नो ठाउँमा होलान् तर उनले दरबार हत्याकाण्डभित्रका थुप्रै रहस्यमय कथा हामीलाई सुनाए। हामी काडमाडौँमा बस्नेलाई भन्दा हाम्रो देशमा घटेका घटनाभित्रका रहस्यहरू एक भारतीय नागरिकलाई बढी थाहा भएको देखेर हामी छक्क परेका थियौँ।

पिथरागढमा गोर्खा किल्ला रहेछ। नेपाल एकीकरण अभियानको पश्चितमतर्फको नेतृत्व गरेका अमरसिंह थापा अङ्ग्रेजमाथि विजय गर्दै पिथरागढ पुगेपछि त्यहाँ किल्ला बनाएका रहेछन्। अहिले त्यही गोर्खा किल्लामा पिथरागढ जिल्ला अदालत छ। हाम्रो यहाँ सिंहदरबार भन्नासाथ प्रधानमन्त्रीको मुकाम बुझिएजस्तो त्यहाँ गोर्खा किल्ला भन्नासाथ अदालत भन्ने बुझिन्छ। अदालत र गोर्खा किल्ला पर्यायवाची शब्द बनेका रहेछन्।

गार्खा किल्लाको कुरा आउनासाथ नेपाली मन जिज्ञासु नहुने कुरै थिएन। दूध डेरी चलाएर बसेका ती पाठक नेपाल-अङ्ग्रेज युद्धका पनि पूरै जानकार रहेछन्। नेपाल एकीकरण अभियानमा नेपालीले पाएको सफलता र विफलताका कथा उनले हामीलाई सुनाए। उनले भने-‘गोर्खालीहरू भारतीय भूमिमा विजय प्राप्त गर्दै अगाडि बढे। तर जति-जति विजय प्राप्त गर्दै अगाडि बढे, उतिउति पराजितमाथि अत्याचार पनि गर्दै हिँडे। गोर्खालीले २३ वर्षसम्म जंगली राज गरे। जितको उन्मादमा स्थानीयमाथि असभ्य व्यवहार गरे। त्यसपछि भारतीयले गोर्खालीलाई असभ्य र अङ्ग्रेजलाई सभ्य बुझ्न थाले। गोर्खालीले भारतीयमाथि गरेको अन्याय र अत्याचारका कारण पछि पुनः नेपाल अङ्ग्रेज युद्ध हुँदा भारतीयले अङ्ग्रेजलाई सघाए र गोर्खालीको पराजय हुँदै गयो। यदि गार्खालीले विजित जनतामाथि अन्याय नगरी आफ्नै दाजुभाई ठानेका हुँदा हुन् त आज यो भूमि नेपालकै हुन्थ्यो। त्यस बेला स्थानीय जनताको सहयोग विना कुनै पनि पक्षले युद्ध जित्न सक्तैनथ्यो। त्यसैले नेपालीकै कारण नेपालले यो भूमि गुमायो।’ गोर्खालीले आफूले विजय गरेका ठाउँमा क्रूरता देखाएको कुरा पुष्टि गर्न उनले हामीलाई पृथ्वीनारायण शाहले कीर्तिपुर विजय गरेपछि कीर्तिपुरेको नाककान काटेको इतिहाससमेत सुनाए। कीर्तिपुरेको नाककान काटेको इतिहासको प्रमाण तेस्र्याएपछि हाम्रो मुखमा बुजो लाग्यो। गोर्खालीले त्यसो गरेनन् होला भनेर हामीले भन्न सकेनौँ।

उनको भनाइ सत्य हो वा होइन तर उनले नयाँ रहस्योद्घाटन गरे । हामीले नेपालको इतिहासमा गोर्खालीको बहादुरीको मात्र कथा पढेको हो। क्रूरताको कथा कतै पढिएन। क्रूरता प्रदर्शन भएकै थिएन र लेखिएन कि नलेखेर पढिएन, त्यो कुरा दिग्गज इतिहासकारहरू जान्लान्। तर हामीले मात्र बहादुरीका कथा पढ्यौँ र त्यही बुझ्यौँ। मैले पढे/बुझेको नेपालको सुनौलो र बहादुरीपूर्ण इतिहासको कुरा गर्दा उनले भने-‘त्यो एकपक्षीय इतिहास हो। आफ्नो इतिहास संसारमा कसले नराम्रो लेख्छ र ? त्यसैले जहाँ आफ्नो इतिहास आफैँ लेखिन्छ, त्यहाँ सत्य कुरा कहिल्यै लेखिन्न।’

गोर्खाली हारजितको इतिहासको यति कुरा भएपछि अब ग्रेटर नेपालतिर कुरा मोडियो। नेपालका केही व्यक्तिले टिष्टादेखि काँगडासम्मको भूभाग नेपालको हो भन्ने दाबी गरेर ग्रेटर नेपाल अभियान चलाएको कुरामा पनि पाठक धेरथोर जानकार रहेछन्। हामीले ग्रेटर नेपाल अभियानको कुरा गर्दा उनी मुसुक्क हाँसे र भने-‘कुनै जमानामा जम्मा २३ वर्ष जति नेपालले जितेर शासन गरेको यो भूभाग अब नेपालको हुने हो भने त संसारको राजनीतिक चित्र नै बदलिन्छ। कुन-कुन देशले कुन-कुन भूभाग कुन कालखण्डमा जितेका छन्, सोही अनुसार दाबी गर्ने र पाउने हो भने देशको सीमाना कताबाट कता पुग्ला ? फेरि २३ वर्ष नेपाल अधिनस्थ हुँदा यो भूमि नेपालको हुने भए बाँकी सबै अवधि भारतकै अधिनस्थ यो भूमि भारतको चाहिँ किन नहुने हो ?’

पाठक भन्दै गए-‘यो भूमि नेपालको हुनलाई यहाँका जनताले नि चाहनु पर्‍यो नि। जम्मु कास्मीरमा त्यहाँको जनसंख्याको ठूलो हिस्साले भारतबाट छुट्टिन खोज्दा त भारतले छुट्टिन दिएको छैन भने यहाँका जनता त गे्रटर नेपालको हिस्सा हुने त कल्पना पनि गर्दैनन्। यो झलमल्ल हुँदै गरेको भूमिलाई त्यो अन्धकार भूमिको हिस्सा बनाउन उत्तराखण्डको कुनै पनि भारतीय तयार छैनन्।’ उनले नेपाल र भारतको तुलनात्मक विकासतर्फ इङ्गित गर्दै भने।

आफ्नो भूमि सबैलाई प्यारो हुन्छ। इतिहासको कुनै कालखण्डमा हामीले जितेको भूमी वर्तमानमा पनि हाम्रो भैदिएको भए हुन्थ्यो भन्ने बहस महत्वपूर्ण नै होला। तर त्योभन्दा महत्वपूर्ण चाहिँ त्यहाँका जनता नेपाली हुन चाहन्छन् कि चाहन्नन् भन्ने हो। त्यसपछि अर्को महत्वपूर्ण कुरा हामीसँग भएको भूमिको संरक्षण हो। हामीले हाम्रो भूमिको राम्रोसँग संरक्षण गर्न सकेका छैनौँ। भारतीय सीमामा धेरै ठाउँमा भारतले नेपालको भूमि मिच्दै छ। अब त लिम्पियाधुरामा त चीनसमेत नेपाली भूमि अतिक्रमणको साझेदार बनेको छ। यो दृश्य टुलुटुलु हेर्नबाहेक हामीले केही गर्न सकेका छैनौँ। त्यसैले आफूसँग भएको जमिन समाल्न नसक्ने तर नयाँ जमिन दाबी गर्ने कुरा कि बच्चा खेल हो कि बुद्धि बिलासका लागि गरिएको बुद्धिविलास हो। इतिहासको हवला दिएर आधुनिक युगमा कहिँ कतै देशको सिमाना बढाउन सकिँदैन, न त यस्तो दाबीलाई कसैले उचित नै ठान्छ।

हामी एकातिर भारतले तराइलाई टुक्र्याएर आफनो भूमिमा मिसाउन खोज्यो नि भन्ने अर्कातिर सिक्किम, दार्जिलिङ त नेपालको भूभाग रहेछ नि भन्ने तर्क पनि गर्ने हो भने यस्ता तर्क आफैँमा विरोधाभासपूर्ण हुन्छन्। विरोधाभासपूर्ण कुराले हामीलाई नै कमजोर बनाउँछ। आज भावनामा बहकिएर दुर्इ पक्षीय सम्बन्ध बिगार्नु हुँदैन। अर्थहीन बहस गरेर फाइदा केही छैन।

देशका लागि भूगोल महत्वपूर्ण हो, तर सम्पूर्ण कुरा भूगोल होइन। आज विश्वमा भूगोलमा साना-साना देखिएका राष्ट्र पनि आफूलाई विश्व राजनीतिक मञ्चमा ठूला सावित गर्दै छन् र भूगोलमा ठूला देखिएका कतिपय राष्ट्र पनि लिलिपुटियन सावित हुँदै छन्। त्यसैले बुझ्न पर्ने कुरा के हो भने हामीलाई हाम्रो देश ग्रेटर चाहिन्छ तर ग्रेटर नेपाल भूगोलले हुँदैन। आजकल ठूलोको अर्थ भूगोल होइन अर्थतन्त्र हो।

बरु अब हामी ग्रेटर नेपालको सपना छोडेर बेटर नेपाल बनाउनतिर लागौँ। जे जति हामीसँग छ त्यसैलाई बेटर बनाउ। बगैँचा ठूलो भएर सुन्दर हुँदैन। उचित सजावटले सुन्दर हुन्छ। यसकारण बेटर नै ग्रेटर हो भन्ने कुरा मनन गरौँ। भएको नेपाललाई बेटर बनाऊँ त्यही नै ग्रेटर नेपाल हुन्छ। ग्रेटर नेपालका लागि खेर गइरहेको शक्ति अब बेटर नेपालमा खर्च गरौँ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width