गोरखा शब्द विश्वमा चर्चित

के.वी. मसाल
चैत्र १२, २०७५

नेपालमा मात्र होइन गोरखा शब्दले आज विश्वभरी नै चर्चा पाएको छ। ऐतिहासिक भुरे–टाकुरे राजाहरुको शासनदेखि लिएर शाहवंशको सुरुवात भएको जिल्ला हो गोरखा। नेपालको भूगोलमा तिब्बती सीमादेखि तराइको जिल्लासंग जोडिएको जिल्ला पनि गोरखा हो। उत्तरी भेग अर्थात सिर्दिबास देखि माथिका दूर्गम भूगोल जसलाई हिमाल पारिको गोरखा भन्ने गरिन्छ। गोरखा दरबार, गोरखनाथ मन्दिर, तल्लो दरबार जस्ता ऐतिहासिक सम्पदा गोरखामा रहेको छ। मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदाहरुछन भने कल्छुमन ताल, कालाताल नारदकुण्ड, दूधपोखरी जस्ता ताल र पोखरीहरु पनि गोरखामा रहेका छन। गोरखा भित्र मनास्लु, हिमालचुली जस्ता हिमचुचुराहरु र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु गोरखाका धरोहर हुन्।

पूर्वमा बूढीगण्डकी, पश्चिममा चेपे र मरस्याङदी नदी, दक्षिणमा त्रिशूली नदी र उत्तरमा स्वशासित तिब्बत क्षेत्रको बीचमा रहेको गोरखा आजभोलि विदेशीहरु मात्र होइन स्वदेशी पर्यटकहरु पनि पुग्ने गरेका छन। २०७२ वैशाख १२ गते बारपाक केन्द्रविन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्पले विनाश गरेको गोरखामा क्रमशः पुनः निर्माण भइरहेको छ। गोरखा जिल्लाका गुरुङ समुदायका ग्रामीणवस्ती बारपाक, लाप्राक जस्ता रमणीय ठाउँहरु पर्यटकहरुको गन्तव्य भएको छ। गाउँघरको सफा वातावरण, होमस्टेको सुविधा, सडक यातायातको विस्तारले गर्दा गोरखा जिल्ला आजभोलि आन्तरिक एंव बाह्य पर्यटक भिœयाउने जिल्लाको नाममा पर्न थालेको छ।

गोरखाको इतिहास खोज्ने हो भने पृथ्वी नारायण शाह भन्दा पहिला उपत्यकाका यक्ष मल्ल, पाल्पाका मणि मुकुन्दसेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि नेपाल एकीकरणको प्रयास भएको पाइन्छ। त्यस वेला पाल्पाराज्य ठूलो थियो। गोरखा पनि पाल्पाराज्यको अधीनमा थियो। पाल्पाका राजा मणिमुकुन्द सेनको मृत्युपछि उनका छोराले गोरखाराज्यलाई आफ्नो नियन्त्रणमा राख्न चाहेनन्। त्यस पछि विशाल गोरखा राज्य थुम, कोट र गाउँका मुखियाहरुले आफैँ राज्यको घोषणा गरी राज्य चलाउन थाले। यसरी राज्य विभाजन हुँदा लिगलिगकोट, माझकोट, सिरानचोक, अजिरकोट र बारपाक जस्ता राज्यमा गोरखा विभाजन भयो। राज्य संन्चालन गर्दा राजाको आवश्यकता पर्ने हुँदा लिगलिगकोटमा नयाँ परम्पराको थालनी भयो। जुन परम्पराले प्रत्येक वर्ष विजया दशमीको दिन दौडप्रतियोगिताबाट राजा छान्न थालियो। त्यसलाई लिगलिगकोटको दरवारबाट चेपेनदीको चेपेघाट सम्मलाई १३ कि.मि को दूरी निर्धारण गरियो। राजा हुने दौड प्रतियोगिताबाट वि.सं.१६१६ मा द्रव्यशाह राजा भएका थिए।

नेपालको इतिहासमा नै गोरखा जिल्लाको पहिचान र महत्व छुट्टै रहेको छ। नेपाल एकीकरणको वेला ज्योतिषको ज्ञान बाट गणितीय शिक्षा दिने ज्योतिष कुलानन्द ढकालको जन्म गोरखामा भएको थिायो। साथै भिमसेन थापा, , लखन थापा र दोस्रो विश्वयुद्धमा बर्मासँगको लडाइँमा वीरता कमाई भीसी पदक पाएका गजे घलेको घर पनि गोरखामा थियो। यसैगरी शाह वंशका राजाहरुमा पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्वर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह, नर भूपाल शाह, र पृथ्वी नारायण शाहको जन्म पनि गोरखामानै भएको थियो। गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट वा गाईको रक्षा गोरखामा गरिने ठाउँ भएकोले सोही आधारमा ठाउँको नाम गोरखा रहेको मानिन्छ। नेपाली भाषामा घाँसको फाटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुदाहुदै गोरखा भएको मानिन्छ। यो जिल्लामा घाँसका ठूला ठूला फाँटहरु खर्कहरु रहेका छन्। लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ। जयदेव द्वितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो। यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ।

राजसंस्थाको विलय पछि अहिले गोरखा जिल्लाका ऐतिहासिक स्थलहरु धार्मिक तथा पर्यटकीय स्थल बनेका छन्। गोरखा पुग्ने मानिसहरुले शाहवंशका पालाका दरबार, कोट र मठ–मन्दिरहरुको अवलोकन गर्ने गर्दछन्। पूथ्वीनारायण शाहको जन्म भएको गोरखा दरवार यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ। सदरमुकामबाट करीव ४० मिनेटको पैदल यात्रामा पुग्न सकिने गोरखा दरबारले ऐतिहासिक महत्व राखेको छ। यो दरबार राजा रामशाहको पालामा नै निर्माण भएको हो भन्ने भनाई छ। गोरखा बजारको मध्य भागमा रहेको अर्को दरबार पनि शाह वंशीय राजाहरुको इतिहाससँग जोडिएको छ। यस दरबारले मल्लकालीन वास्तुकलाको नमूना प्रस्तुत गरेको छ। यस दरबारको झ्याल ढोका र टुँडालहरुमा पौराणिक काष्ठ कलाको नमूना देख्न पाइँन्छ। गोरखा दरबारबाट करीव १ कि.मी. उत्तर पूर्वमा पर्ने उपल्लोकोट दृष्यावलोकनका लागि उपयुक्त स्थानको रुपमा रहेको छ। यस स्थलबाट विहानीको सूयोर्दयको रमणीय दृष्य हेर्न सकिन्छ। यस स्थलले ऐतिहासिक महत्व समेत बोकेको छ। हालको गोरखा दरबार निर्माण हुनु अघि राजा राम शाहको दरबार यसै स्थानमा रहेको मानिन्छ। गोरखा दरबारको नजिक गोरखनाथको मन्दिर एवं गुफा आकर्षणको अर्को केन्द्रको रुपमा रहेको छ।

गोरखा बजारमा एउटा चौतारो छ। यस चौतारोलाई राजा राम शाहले न्याय दिने चौतारोको रुपमा चिनिन्छ। यसैलाई राम शाह चौतारो भनिन्छ। राम शाहले कुनै कचहरी, सभा, न्याय र उजुरी सुन्ने, महत्वपूर्ण निर्णय र न्यायका कार्यहरु सबै यसै चौतारोमा बसेर गर्थे भन्ने भनाई छ। प्राकृतिक सुन्दरता, अनौठो भौगोलिक वातावरण, हिमाल देखि पहाड, सम्म मैदानी भाग र ठूला टारले फैलिएको छ गोरखा। ऐतिहासिक कोट, शक्तिपीठ र भुरेटाकुरे राजाहरुले निर्माण गरेका दरवार, कोट र मौलामा बनेका मन्दिरहरु गोरखा जिल्लाका धरोहर हुन। गोरखाको लिगलिगकोट ऐतिहासिक स्थल हो। हरेक क्षेत्रका हरेक कुराको इतिहास हुन्छ। इतिहासले नै सवैकुरा समेटछ, त्यसैले होला गोरखाको ऐतिहासिक लिगलिगकोट अहिलेको अवस्थामा पर्यटकीयस्थल भएको छ। खसराज्य स्थापना हुनु भन्दा पहिले लिगलिगकोट मगरहरु को अधीनमा थियो। त्यसैले नाम पनि मगर भाषामा रहेको छ। मगर भाषामा लिङलिङ को अर्थ सुन्दर दृष्य, हुन्छ।

गोरखा जिल्लामा लिगलिगकोट बाहेक अन्य सानाठूला गरी ३६ ओटा कोटहरु छन। सवै भन्दा बढी अग्लो कोट अजिरकोट हंसपुरमा छ। जसको उचाइ ६ हजार ५०० मिटर रहेको छ। अन्य कोटहरु मा उपल्लोकोट, जुन हनुमान भन्ज्याङ को पूर्वपट्टी उकालो चढेपछि भेटिने कोट हो। जुन कोटमा वज्र भैरवको मूर्ति छ। गोरखा जिल्लाका अन्य रमणीय पहाडको श्रृङ्खलामा रहेका अन्य कोटहरुमा मिरकोट, धुवाँकोट, लकाङ्कोट, ताकुकोट, श्रीनाथकोट, वुङ्कोट जस्ता ऐतिहासिक कोट छन। तर पनि पश्चिम गोरखाको आँपपीपल गाविस–४ स्थित सामुद्रिक सतह बाट १ हजार ४ सय ३७ मिटर उँचाइमा रहेको लिगलिगकोट ऐतिहासिक दृष्टिकोण ले महत्वपूर्ण मानिन्छ। किनकि लिगलिगकोट आफैमा इतिहास हो। शाहवंशको राजतन्त्रको सुरुवात भएको ठाउसंग लिगलिगकोट जोडिएको छ। प्राकृतिक दृष्टिकोणले पनि लिगलिगकोट सुन्दर र महत्वपूर्ण छ। यहाँबाट मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ। लिगलिगकोटबाट गोरखा, लमजुङ र तनहूँ का अधिकांश भूगोल पनि अवलोकन गर्न सकिन्छ। गोरखा जिल्लाको दक्षिण सीमामा रहेको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल मनकामना हो। चाहे धर्मको लागि होस अथवा शैक्षिक भ्रमणको लागि होस मेची महाकालीका मानिसहरु मनकामना पुग्ने गरेका छन। मनकामना पुगे पछि त्यहाँ हेर्न पर्ने ऐतिहासिक महत्वका स्थलहरु कतिपयले थाहा नपाउँदा केवल मन्दिरको दर्शन गरेर मात्र फर्किनेहरुको सख्या पनि कम छैन। मनकामना माई को ऐतिहासिक कुरा, सिद्ध लखन थापाको नामसंग जोडिएको छ। मनकामना पुगेपछि त्यहाँबाट अध्ययन गर्न सकिने धेरै कुराहरु रहेका छन। धार्मिक कुरा त छँदै छ, चाहे प्रकृति प्रेमीहोस् अथवा संस्कृति प्रेमी सबैलाई अध्ययन स्थलको रुपमा मनकामना बनेको छ।

मनकामना मन्दिरको बारेमा राजा राम शाहको नाम जोडिएको छ। आजभन्दा करिव तीनसय वर्षअघि हाल मनकामना देवीको मन्दिर भएको ठाउँमा एउटा किसानले हलो जोत्दा एउटा ढुंगामा ठेस लागेछ र ढुंगाबाट दूध र रगत बग्न थालेछ। यो सुनेपछि लखन थापाले त्यहाँ तान्त्रिक पूजा गरेपछि रगत रोकिए छ। यो घटनापछि गोरखाका राजाले मनकामना माईको सेवा गर्न लखन थापा र उनका दरसन्तानलाई जग्गा बिर्ता दिई लालमोहर गरिदिएछन। यहाँका मूल पूजारी सुरुदेखि हालसम्म पनि रैथाने थापामगर छन। हालको मगर पूजारी पनि लखन थापाको १७ औं पुस्ताका सन्तान हुन।

घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र पहिचान बुझ्न एकपटक पुग्नैपर्ने ठाउ हो, गोरखाको बारपाक। प्रमुख पर्यटकीय गाउँको पहिचान कमाएको बारपाक ०७२ को भूकम्प पछि पुनः निर्माण भइ रहेकोछ। दराँैदी नदीको किनारैकिनार पुगिने बारपाक जाँदा प्रसिद्ध दर्जनाँै झरना र धेरै हिमशृंखला देख्न सकिन्छ। १ हजार १ सय ५० घरधुरी भएको बारपाकमा घले जातिको बाहुल्य छ। बारपाकमा नेपालकै सुन्दर गाउँहरुमध्ये अग्रस्थानमा रहेको बारपाकमा स्थानीयहरुले पर्यटकका लागि होम स्टेको समेत व्यवस्था गरेका छन। पर्यटकलाई बारपाक प्रवेशद्वारबाट झ्याइँझ्याईँ बाजा बजाएर स्वागत गरिन्छ। बाजागाजा सँगसँगै गाउँ घुमाई स्थानीय परिकार गहुँको केक खान दिने, अन्तक्र्रिया कार्यक्रमसमेत गर्ने गरेका छन। बारपाकीहरु सबैजसोको घरहरुमा भेडाको मासु, सिस्नुको तरकारी, ढिँडो, खान पाइन्छ। बारपाक जाने आन्तरिक तथा बाह््य पर्यटकले मदिराका पारखीहरुलाई चाख्नकै लागि मात्र स्थानीयस्तरमा बनाइएको आधा गिलास रक्सी पनि दिइन्छ। तर अहिले भूकम्प पछि बारपाकमा पुनः निर्माणको काम भइरहेको छ।

गोरखा अपार जल भण्डार भएको जिल्ला हो। लार्के र ग्याला भन्ज्याङगको संगम स्थानबाट बूढीगण्डकी बग्दै आएको छ। यस नदीमा हिमालपारीको सामागाँउदेखि स्यारखोला, चुलिङगखोला, माछाखोला, नाबुङग खोला, थारुखोला, दोभान खोला, रिचिटे खोलाहरु बेनिघाटमा पुगेर त्रिशुली नदीमा मिसिन्छ। गोरखा जिल्लाको मध्य भागमा बग्ने नदीको नाम हो दरौदी। यो नदीको मुहान बौद्ध हिमालको फेदीमा पर्ने रुपीनाला भञ्ज्याङगमा रहेको नारदकुण्ड हो। दरादी खोलामा भुसुण्डिखार, चुँदी, लाङदी, हाँडीखोला, लुँदीखोला, शम्भु, जराङग, राङगरुङ खोलाहरु मिसिँदै आवुँखैरेनीमा पुगेर मस्र्याङ्दी नदीमा मिसिन्छ। चेपे नदी ऐसिहासिक नदी पनि हो। जुन नदीमा द्रब्यशाह र नरहरि शाहको झगडा मिलाउन उनकी आमाले दशधारा दूध वगाएकी थिइन्। गोरखाको पश्चिम सिमाना भएर बग्ने चेपे नदीको शिर दूधपोखरी हो। चेपे नदीमा गोरखा जिल्लाबाट मिदिखोला, शाहीखोला, स्वाँरखोला, कदलीखोला मिसिन्छ भने लमजुङगबाट कुएलेखोला चिल्लीखोला र बोराङखोला मिसिँदै मस्र्याङदी नदीमा मिसिन्छ। सामागाउँमा गुम्बा टोलमा वीरेन्द्र ताल अर्थात स्थानीय भाषामा ग्यागोलाच्छो भनिने ताल छ। छेकम्पारको छोसोङमा हिमनदीबाट बनेको ताल छ। यो ताल मुगुम्बा र देरोन गुम्बाको ठीक माथि रहेको छ। ठूलो दूधपोखरी उत्तरी गोरखाको उहियामा रहेको छ। सानो दूधपोखरी बौद्ध हिमालको फेदीमा रहेको छ

गण्डकी प्रदेशमा पर्ने गोरखा जिल्ला २ नगरपालिका र ९ गाउँपालिकामा विभाजन गरिएको छ। भौगोलिक स्थिति अनुसार यो जिल्ला २७.१५ डिग्री देखि २८.१५ डिग्री अक्षांश र ८४.२७ डिग्री देखि ८४.५८ डिग्री देशान्तरमा अवस्थित छ। साथै यसको कूल क्षेत्रफल ३६१० वर्ग किलोमिटर रहेको छ भने यो जिल्ला समुद्र सतहदेखि करिब २२८ मिटरदेखि ८१६३ मिटर सम्मको उचाईमा रहेर उत्तर दक्षिण फैलिएको भूगोल छ। सुन्तला एवं अन्य फलपूmल उत्पादनमा गोरखा जिल्ला अगाडि रहेको छ। मरस्याङदी नदी किनारका पालुङटार, च्याङलीटार, विरुवाटार र बूढीगण्डकी किनारको दर्वुङटार, क्यामुनटार मात्र नभएर मध्य गोरखा जिल्लाको दराँैदी खोला आसपासका ऊर्वर खेतीयोग्य जमीनले गोरखालाई कृषि क्षेत्रमा उत्साह बढाएको छ।

सडक यातायातले गोरखा जिल्लालाई आजभोलि धेरै सुविधायुक्त बनाएको छ। काठमाण्डौ–गोरखा मात्र नभएर जिल्लाको पूर्वी सीमामा पर्ने आरुघाटमा समेत सडक यातायात चल्न थालेका छन। त्यसै गरी पश्चिम भेगको छेपेटार, पारपाक, आपँपिपल, हरिभन्ज्याङ, लाङदी जस्ता पहाडी ग्रामीण बस्तीमा समेत मोटर पुगेको छ। चार दशक अगाडिसम्म हवाइ मैदान रहेको पालुङटार भने आज भोलि गौ चरणमा परिवर्तन भएको छ। तर सडक यातायातले भने पालुङटार, ठाँटीपोखरी, च्याङलीटार र बिरुवाटार समेतका ग्रामीण बस्तीमा सुविधा भएको छ। गोरखा पुगाँै, ऐतिहासिक धार्मिक र प्राकृतिक मनोरम दृष्यको अवलोकन गरौँ।

Related News

सम्बन्धित समाचार

hero news full width