यति बेला आम नागरिकको ध्यान विनाशकारी भूकम्पले बढी प्रभाव पारेको क्षेत्र गोर्खा, धादिङ, नुवाकोट र सिन्धुुपाल्चोकमा केन्द्रित भएको छ। उक्त भूकम्पमा ज्यान गुमाउनेको संख्या करिव ६ हजार ३ सय पुगेको छ भने घाइते हुनेको संख्या १४ हजार नाघेको छ। यो संख्या बढ्ने क्रममा छ। सबैको ध्यान केन्द्रित भैरहेको बेला छिमेकी जिल्ला गोर्खातिर जानलाई गत बिहीबार दिउँसो पोखरा माउण्टेन वाइक प्रालिका प्रबन्ध निर्देशक जगन विश्वकर्मा, अमेरिकी नागरिक नार्थन डेमेस्, चिरञ्जीवी लामिछाने, रवि विश्वकर्मा, धनबहादुर थापा, मिनबहादुर थापा, यस पङ्क्तिका लेखक सहित ८ जनाको टोली हिँडेको थियो। पृथ्वी राजमार्गको सडक आसपासमा त्यति क्षति देखिएन। गोर्खाको लक्ष्मी बजार पुग्नेबित्तिकै चोकैको घर पूर्ण रुपमा क्षति भएको देखियो भने सम्पूर्ण नागरिकहरु त्रिपालमा थिए। हामीसँग केही राहत सामग्री थियो र नार्थन डेमेस्ले प्रत्यक्ष प्रभावित व्यक्तिलाई नै हस्तान्तरण गर्ने भनेका थिए। हामीसँगै मध्येका एक मीन बहादुर थापाले ताङ्लीचोक गाविसको वडा नम्वर ९ मा धेरै क्षति भएको जानकारी गराएपछि हामी त्यसतर्फ लाग्याँै। निकै रात परेपछि हामी त्यस रात ताङ्लीचोक गाविसको वडा नम्वर ४ पातीस्वाँरामा बस्यौँ। भोलिपल्ट बिहान पानी परेको कारण हामी हाम्रो गन्तव्य ताङ्लीचोक गाविसको वडा नम्वर ९ मा पुग्न सकिएन। त्यहाँबाट फर्केर हामी गोर्खा बजार फर्क्यौ’। कतिपय राहत सामग्री वास्तविक पीडितकोमा पुग्न नसकेको गुनासो केही व्यक्तिबाट सुन्नमा आएको थियो। स्तम्भकार स्वयंले ताङ्लीचोकका अधिकांश भागमा राहत नपुगेको देखियो। सोही गाविस वडा नम्वर ४ पातीस्वाँराकी ४५ वर्षीय यमकुमारी गुरुङसँग कुराकानी गर्दा उनले सरकारले ज्यान गुमाएको घरलाई मात्र क्षति भनेको छ, हामी ४ रातदेखि बाहिर भुइमा सुतेका छौँ। घर सबै ध्वस्त छ, खोइ कहाँ छ सरकार, अनि गैरसरकारी संस्था भनी प्रश्न गरिन्। त्यस्तै गोर्खाका केही प्रभावित गाविसलाई अवलोकन गर्दा उनको भनाइले मेल खाएको महसुस गरियो। जिल्लामा राहत आएकै छ। समन्वय गर्ने व्यक्तिहरुमा समेत नातावाद र कृपावाद हावी भएको कारण कतिपय पीडितले राहत नपाएको ताङ्लीचोक गाविस वडा नम्वर ४ का फत्तबहादुर गुरुङले बताउनुभयो।
तर सोही गाविसका सचिव नारायण बरालले भने स्थानीय नागरिकसँग समन्वय गरेर क्षतिको तथ्याड्ढ निकाल्ने कार्यमा आफुहरु खटिएको बताउनुभयो। त्यसपछि क्षतिको अवस्था हेरेर जिल्ला विकास समितिको निर्देशनमा राहत हस्तान्तरण गर्ने उहाँको भनाइ छ।
गोर्खाबाट स्थानीय पत्रकारको समन्वयमा गाँखु गाविसको वडा नम्वर ४ को दलितबस्तीमा अवलोकन गर्ने निर्णय गर्यौँ। गाँखु जाने क्रममा राहत र सहयोगको ओइरो लागेको सुनेका थियाँै। यतिबेला देख्यौँ पनि। शुक्रबार गोर्खाको बारपाक जाने चोक १२ किलोमा राहतका सामान सहितको विभिन्न संघसस्थाका सवारीसाधन र नागरिकको भिडले जात्रा जस्तै देखियो। तर वास्तविक पीडितले राहत नपाएको गुनासो भने हामीले ताङ्लीचोकदेखि सुन्दै आएका थियाँै।
१२ किलोबाट गाँखुतर्फ लाग्ने क्रममा बाटो भरि चर्किएका घर सहित कतिपय स्थानमा आधा भत्किएका घर पनि देख्यौँ। अवलोकन सहित हामी गाँखु गाविसको दलित बस्तीमा पुग्यौँ। गाँस, बाँस गुमाएपनि सास र आशमा रहेका ८१ वर्षीय मन्जिते कामी, ८० वर्षीय विष्णु माया कामी सहितको परिवारको अनुहारमा मन्द हाँसो देखियो। सदरमुकामबाट नजिकैको गाविस कसैको आँखा नपरेको ठाउँमा हामीलाई देखेपछि यस बस्तीका बुढाबुढीमा आशा पलायोे। त्यसैले होला हामीलाई देख्ने बित्तिकै ८० वर्षीय विष्णुमाया कामी बोल्न थालिन् (“पालीमा बसेको बेलामा गुनुनुुनु गरेर आएको भुइचाँलोले घर लग्यो, धन्न हामी बाँच्यौ। गाउँ नै सखाप पारेको छ भन्छन् मास्थेर, ज्यानै हल्लिरहेकेा छ, सातो गएर हो कि क्या हो अझै पनि क्याहो क्याहो। अझै बाँच्ने मर्ने थाहा छैन, बेलाबेलामा हल्लिरहन्छ।”
भत्किएका घर, भोको पेट, रोइरहेका बच्चावच्ची, ८०/ ८१ वर्षका बुढाबुढी त्रिपाल पनि नपाएर गोठको बास गरेको दलित बस्ती भेटेपछि हामीले हामीसँग भएको १८ थान त्रिपाल, लत्ता कपडा, खाद्यान्न सामग्री दाल, चामल, चाउचाउ, विस्कुट हस्तान्तरण गर्यौँ। अनि त्यसपछि बाटोमा देखिने चर्केका घर, पूर्ण क्षति भएका घर र त्रसित मनहरुसँग कुरा गदै फर्कियौँ। सामान्य रुपमा हेर्दा आजभन्दा भोलि नागरिकको जनजीवन सामान्य बन्दै गएको भए पनि पीडितहरु जसले आफ्ना आफन्त गुमाएका छन्, श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान् गुमाएका छन्, काम गर्ने बेलाको छोराछोरी गुमाएका छन् अथवा गुजारा गर्ने पाखुरा गुमाएका छन्, अङभङ भएकाहरुको भोलिको जीवन झनै दर्दनाक छ। सरकारले यसतर्फ पनि सोचेर आवश्यक सहयोग, राहत र पुनस्थापित गर्नुपर्ने देखिन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०