गन्धर्वले गाउने मौखिक इतिहास

dr. kusumakar neupani प्रा.डा.कुसुमाकर न्यौपाने
फागुन २, २०७५

१ पृष्ठभूमि

नेपालमा बसोवास गर्ने विभिन्न जातिमध्येको एउटा जाति गन्धर्व हो । यो जाति नेपाली लोकसङ्गीतको सम्वाहकका रूपमा चिनिएको छ । गन्धर्वले गाउँगाउँ तथा वस्तीवस्तीमा पुगेर आफ्नो पहिचानयुक्त बाजा बजाउँदै नेपाली लोकगीत र लोकगाथालाई निकै उचाइमा पुर्याएका छन् । लोकगाथा गाउने क्रममा ऐतिहासिक तथ्यलाई समेलेर मौखिक इतिहासलाई गाउँदै त्यो इतिहास पनि बचाएर भावी पुस्तालाई हस्तान्तरण गरेका छन् । यस जातिले मौखिक रूपमा गाउँदै जोगाएका मौखिक इतिहास आज पनि अध्ययनका महत्वपूर्ण सामग्री बनेका छन् । राष्ट्रका निम्ति यस्तो योगदान पुर्याएको यस जातिलाई चिन्नुचिनाउनु सबैको दायित्व हो । यही दायित्व बोध गरेर यहाँ नेपालका गन्धर्व जातिलाई चिनाउँदै यस जातिले गाउने गरेको मौखिक इतिहासका बारेमा चर्चा गरिएको छ ।

२. गन्धर्व जाति

गायनलाई मुख्य पेसा बनाएर चिनिएको नेपालको एउटा जाति गन्धर्व हो । इतिहास खोज्दै जाँदा यस जातिले अपनाउने गरेको धर्म हिन्दु धर्म हो । यस जातिका विभिन्न थरहरू छन् । जस्तै : अधिकारी, बूढाथोकी, कायस्थ वा काइते, कालोगोपालनायक, कालाकौशिक, कालापौडेल, ठकुरी (चन्द ठकुरी वा मल्ल ठकुरी), समुद्री, सुरसामल, बैस्ठ (वशिष्ठ), विश्वकर्मा, ब्रह्मबैकार, जोगीबैकार, कर्मबैकार लमलीबैकार, समुद्रबैकार, तुर्कीबैकार, भाट, भुसालपर्वते, बोगते, हुकचिङ राना, कालियन, महेश्वर, मेघनाथ, नियाबैकार, साई, सेतापर्वते, सेतीचन, विष्णुपाद, गुरुङ, क्षेत्री, बस्नेत, राई, चुरेटो, भँडारी, खड्का, गोपाल नायक, कालसमुन्द्रे, काला भाट, कानचिरा जोगी, मेघनाथ, गोसाइनाथ आदि ।  गन्धर्वले आफूहरूका बीचमा अरूले नबुभ्mने गरी बोल्न परेमा गन्धर्व भाषा नै प्रयोग गर्दछन् । गन्धर्व भाषालाई कतिपय व्यक्तिले पाल्से कुरा पनि भनेका छन् । यस जातिको पहिचान दिने मुख्य बाजा सारङ्गी र अर्बाजो हुन् ।

पहिलेपहिले यी दुबै बाजा बजाएर लोकगीत तथा लोकगाथा गाउने यस जातिले अहिले सारङ्गी बाजा मात्र प्रयोगमा ल्याउने गरेका छन् । ंंसमाजमा यो जाति नेपाली लोकसङ्गीतको प्रमुख संवाहका रूपमा चर्चित छ ।

नेपालमा २०६८ को राष्ट्रिय जनगणनाअनुसार गन्धर्व जातिको जनसङ्ख्या विवरण जम्मा ६ हजार,७९१ रहेको छ । अहिलेसम्म प्राप्त तथ्याङक अनुसार नेपालका एकचालीसओटा जिल्लामा गन्धर्वहरुको बसोवास पाइन्छ । गन्धर्ववस्ती भएका ती जिल्लाहरू यस प्रकारका छन् : इलाम, झापा, सुनसरी, भोजपुर, सप्तरी, सिराहा, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, पर्सा, चितवन, नवलपुर, गोरखा, लमजुङ, तनहूँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, सल्यान, दाङ, बाँके, बर्दिया, सुखेर्त, दैलेख, जाजरकोट, बाजुरा, अछाम, डोटी, कैलाली, कञ्चनपुर । नेपालका यिनै विभिन्न ठाउँमा बसोवास गरेका गन्धर्वले नेपाली लोकगीत र लोकगाथा गाएर आफ्नो जीवनयापन गरे अनि नेपाली लोकसङ्गीतलाई बचाए साथै लोकप्रिय पनि बनाए । यसै क्रममा गायनकलाका माध्यमबाट नेपालको मौखिक इतिहासलाई पनि जोगाए ।

३. मौखिक इतिहास

मौखिक इतिहास एउटा व्यक्तिले मौखिक रूपमा व्यक्त गर्दछ अनि अर्को व्यक्तिले त्यसलाई सुनेर अकोर्लाई सुनाउँछ । यसरी मौखिक रूपमा बाँचेको इतिहास नै मौखिक इतिहास हो । मौखिक इतिहासले लिखित इतिहास तयार पार्न बल प्रदान गर्दछ । यस्ता मौखिक इतिहासलाई भन्ने र गाउने गरी दुई भागमा छुट्ट्याउन सकिन्छ । मौखक भन्ने इतिहास भनेको त्यस्तो इतिहास हो जुन इतिहास कुनै वक्ताले लोककथाको शैलीमा क्रमबद्ध तरिकाले भन्छ अनि अकोर्ले सुन्छ । मौखिक गाउने इतिहास भनेको त्यस्तो इतिहास हो जुन इतिहास गायकले मौखिक रूपमा गीति लयमा क्रमबद्ध तरिकाले गाउँछ अनि अकोर्ले सुन्छ । नेपालमा यस्तो मौखिक इतिहास गाएर बचाउने जातिका रूपमा प्रसिद्धि कमाएको जाति गन्धर्व हो । गन्धर्वले गाउँवस्तीमा गाएर बचाएको  मौखिक इतिहास धेरै छन् । ती मौखिक इतिहासका विभिन्न विधालाई विभिन्न भागमा छुट्ट्याउन सकिन्छ । जस्तै (२) कर्खा (२)घटना ।

३.१ कर्खा

गन्धर्वले गाउने ऐतिहासिक लोकगाथा अन्तर्गतको एउटा विधा कर्खा हो । कर्खामा वीरहरूको वीरताको वर्णन गरिएको हुन्छ । ती वीरहरूले गरेको पुरुषार्थको बखान गरिएको हुन्छ । त्यस क्रममा पुरुषार्थ गरेको तिथिमितिसमेत समावेश गरिएको हुन्छ । यस्तो कर्खा गायनको इतिहास खोज्दै जाँदा १६ औँ शताब्दीसम्म पुगिन्छ । भारतमा १६ औँ शताब्दीमा नै कर्खा गायनको परम्परा थियो । नेपालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गन्धर्वहरूले कर्खा गाएर योद्धाहरूलाई जोस्याउँथे रे भनी उल्लेख गरेका तथ्यहरू फेला परेकाले यहाँ कर्खा गायनकार्य नेपाल एकीकरण पूर्वदेखि नै भएको हो भनेर सहजै अनुमान गर्न सकिन्छ ।

नेपालमा कर्खा गायनको यो लामो श्रृङ्खला भए पनि यहाँ केकति कर्खा छन् भनेर सविस्तार अध्ययन गरेको पाइँदैन । । फ्रेन्च सङ्गीत शास्त्री मेरिल हेल्फरले ५३ वटा नेपाली कर्खा सङ्कलन गरेका छन् भने पनि धेरैले उल्लेख गरेका कर्खाहरू यस प्रकारका छन् : चन्द्र समसेरको कर्खा, अमरसिंहको कर्खा, बुद्धिबल रानाको कर्खा, बलभद्रकुँवरको कर्खा, मदनकीर्ति शाहको कर्खा, अङ्ग्रेजको कर्खा, नवलसिङ बानियाको कर्खा, जङ्गबहादुरको कर्खा, बहुत्तर शाहको कर्खा, पद्मा गुरुङ्सेनीको कर्खा, बल थापाको कर्खा, होमबहादुर काजीको कर्खा, कुमाल जलाहारीको कर्खा, मुसीकोटे राजाको कर्खा, द्रव्य शाहको कर्खा, पृथ्वीनारायण शाहको कर्खा, त्रिभुवनको कर्खा, महेन्द्रको कर्खा, वीरेन्द्रको कर्खा, भक्तिथापाको कर्खा, जुद्ध समसेरको कर्खा, जनकलालको कर्खा आदि ।

मौखिक इतिहास भनेर चिनिएको यो कर्खा निश्चित किसिमको श्रृङ्खलामा गाइन्छ । जस्तै :  (१) अनुरोध (२) विवरण (३) आसिक । गन्धर्वले कर्खा गाउँदा आरम्भमा आफूले गाउने लागेको कर्खा सुनिदिन अनुरोध गर्दछन् । त्यसपछि तिथिमितिसहितको इतिहासप्रधान लामो विवरण गाउँछन् । त्यो विवरण सकिए पछि यस्ता उपकारी व्यक्तिलाई स्वर्ग प्राप्त हवोस् भनेर आसिक दिन्छन् । यसरी गन्धर्वले गाउने गरेको मौखिक ऐतिहासिक विधा कर्खा अहिले लोप हुने अवस्थामा पुगेको छ ।

३.२ घटना

घटना शब्दले मारपिट, हत्या, दुर्घटनालाई बुझाउँछ । यस्ता मारपिट, हत्या, दुर्घटनालाई विषय बनाएर गन्धर्व जातिद्वारा गाइने एक प्रकारको मौखिक इतिहासलाई पनि घटना भनिन्छ । हरेक घटना कौतूहलपूर्ण हुन्छन् । तिनमा पनि कतिपय घटना अत्यन्तै मार्मिक हुन्छन् । त्यस्ता मार्मिक घटना घटेको थाहा पाए त्यस्ता ठाउँमा गई गन्धर्वले त्यो घटनाको सम्पूर्ण विवरण सुनेर त्यसलाई गाथाका रुपमा परिणत गर्दछन् । त्यसलाई लोकसाङ्गीतिक जलप दिएर सुमधुर तथा कौतुहलपूर्ण तुल्याउँछन् । त्यसपछि त्यसलाई घटना नाम दिएर गाउँवस्तीमा गाउँदै हिँड्छन् । यस्तो घटना लोकगाथा कौतूहलपूर्ण हुनेभएकाले समाजले यस्ता घटना लोकगाथा सुन्न मन पराउँछन् । त्यसैले गन्धर्वले गाउँवस्तीका घरघरमा यस्ता घटना नामको मौखिक इतिहास सारङ्गी तथा अर्बाजो बजाउँदै गाउँछन् । यो मौखिक इतिहासप्रधान लोकगाथा निकै कारुणिक हुन्छ । सारङ्गीको मिठो स्वरमा घटना गाउँदा कतिपय गन्धर्व आफू पनि रुन्छन् अनि सुन्ने व्यक्तिले पनि भावविह्वल भएर आँसु झार्छन् ।

नेपालमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा गन्धर्वलाई साथमा लिएका थिए । गन्धर्वले कर्खा गाएर पृथ्वीनारायण शाहका सेनालाई जोस्याउँथे । घटना गाएर त्यही घटनालाई उदाहरणका रुपमा प्रस्तुत गर्दै नराम्रा काम नगर्न अनुरोध गर्थे । यस्ता तथ्य फेला परेकाले घटना गायनको इतिहास पनि पृथ्वीनारायण शाहपूर्वदेखि नै भएको हो भनेर सहजै अनुमान गर्न सकिन्छ । यो लामो श्रृङ्लामा केकति घटना गाइए भनेर तथ्य सङ्कलन गरी सविस्तार अध्ययन गरेको भेटिएको छैन । त्यसैले पनि गन्धर्वले गाउने गरेको घटनाको सविस्तार अध्ययन हुनु आवश्यक देखिएको छ । एकसरो अध्ययन गर्दा पाइएका घटना नामका मौखिक इतिहास यस प्रकारका छन् : छोरीले आमा मारेको घटना, बाउले छोरी मारेको घटना, मामाले भान्जी मारेको घटना, विष्णुमाया ठकुर्नीले छोराछोरी मारेको घटना, लाहुरे मारेको घटना, श्रीनन्दको घटना, भुर्इँचालोका घटनाआदि ।

गन्धर्वले गाउने यस्ता घटनाहरू एउटा निश्चित श्रृङ्खलामा आदिअन्त्य भएका हुन्छन् । त्यो श्रृङ्खला यस प्रकारको हुन्छ : (१) अनुरोध (२) विवरण (३) सुझाउ । घटना गाउँदा आरम्भमा सम्बन्धित घटना सुनिदिन अनुरोध गर्दै केही चरनहरू गाउँछन् । त्यसपछि भएका घटनाका विवरणहरू क्रमशः गाउँदै अगाडि बढ्छन् । विवरण सकिए पछि यस्ता कार्य नगर्न सुझाउ दिन्छन् । यसरी गन्धर्वले गाउने मौखिक इतिहासमध्येको एउटा विधा घटना अहिले लोप हुने अवस्थामा पुगेको छ ।

४ निष्कर्ष

नेपालमा बसोवास गर्ने गन्धर्व जातिको मुख्य पेसा गायन हो । यस जातिले नेपाली लोकगीत र लोकगाथा गाएर यी विधाको विकासमा विशेष योगदान पुर्याएको छ । यति मात्र नभई यस जातिले नेपालमा घटेका ऐतिहासिक घटनलाई कतै कर्खा अनि कतै घटना बनाई गाएर नेपालमा प्रचलित त्यो मौखिक इतिहासलाई जीवित राखेको छ । पहिले पहिलेको समाजले श्रद्धापूर्वक सुन्ने गरेका कारण निरन्तर जीवित रहेको गन्धर्वले जोगाएको गेय मौखिक इतिहास अहिलेको समाजले श्रद्धापूर्वक नसुन्ने भएको हुँदा लोपोन्मुख अवस्थामा छटपटाइरहेको छ । कर्खा तथा घटना गाउने गन्धर्व भेटिन गाह्रो भइसकेको छ । यस्तो महत्वपूर्ण मौखिक इतिहास बचाउनका निम्ति सम्बन्धित निकायले विशेष ध्यान पुर्याउनुपर्ने स्थिति देखापरेको छ ।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width