क्रूर बन्दै शिक्षक, पिटिँदै विद्यार्थी

 नगेन्द्रराज पौडेल
जेठ २७, २०७६

बालबालिकासम्बन्धी ऐन, २०७५ ले ‘घर तथा विद्यालय जुनसुकै स्थानमा दिइने शारीरिक वा मानसिक दण्ड या अमर्यादित व्यवहारलाई बालबालिका विरुद्धको हिंसा मानेको छ। यस्तो कसुर गनेर्लाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ।

सेती परियोजना (२०३८ ) देखि शिक्षा क्षेत्रमा तालिमको लहर बढेको हो। २०५० को शिक्षा आयोगको प्रतिवेदनले पनि तालिमप्राप्त शिक्षक उत्पादनका लागि विभिन्न कार्यक्रम संचालन गर्न सुझाएबमोजिम दातृराष्ट्रबाट सहयोग लिएर समेत कैयौं तालिमहरु विद्यालय शिक्षकका लागि प्रदान गर्दै आइएको हो। शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापनापछि त २९ ओटा शैक्षिक तालिम केन्द्रमार्फत् शिक्षकलाई तालिम दिने लहर नै चल्यो। तत्कालीन जिल्ला शिक्षा कार्यालयहरुले पनि शिक्षकलाई कुनै न कुनै प्रकारको तालिम दिदै आएका हुन्। यी तालिमहरुमध्ये बालमैत्री शिक्षण सिकाइ विधि र बालमैत्री विद्यालयसम्बन्धी तालिममा अधिकांश समय खर्चिएको छ।

पानीले रोपो खायो, तालिमले पढाइ

विगतदेखि हालसम्म जतिसुकै तालिम दिएपनि हाम्रा शिक्षकको आदतमा सुधार हुन सकेको देखिदैन। धान रोपेको खेतमा पानी लाउनुपर्छ। तर बढी पानी लगाउँदा पानीले रोपो खान्छ भन्ने चलन छ। तालिमका हकमा अहिले त्यस्तै स्थिति छ। तालिम बढी भएरै होला दण्डरहीत शिक्षणको कुरा गरिरहँदा आजभन्दा लगभग ५ महिना पहिला बाराको नमूना आधारभूत विद्यालयका कक्षा ७ का १३ वर्षीय अजयकुमार महतोको शिक्षकको कुटाइपछि मृत्यु भएको समाचार आएको थियो।

यद्यपि त्यो पुष्टि हुन भने सकेन। अदालतले शिक्षकलाई सफाइ दिएको अवस्था छ। तर हावा नचली पात हल्लिदैन भनेझैं कतिपय विद्यालयमा बालमैत्री व्यवहार भने देखिँदैन, यो साँचो हो । बालमैत्री विद्यालयको अवधारणालाई असफल पार्ने गरी अर्को दृष्टान्त हाल रोल्पाको रुन्टीगढ, ८ मगरगोरीस्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाले लट्ठीले हिर्काएर १४ विद्यार्थीको हात भाँचिदिएको घटनाले देखाएको छ।

गत साता विद्यालय ढिलो आएका कक्षा एकदेखि पाँचसम्मका विद्यार्थीलाई शिक्षिका लक्ष्मी पुनले एकोहोरो सुम्ल्याएकी थिइन्। उनको पिटाइबाटपाँच विद्यार्थीको नाडीको जोर्नी सुन्निएको, लिगामेन्ट च्यातिएको र हड्डी चर्किएको छ। शिक्षिका पुनलाई होलेरीस्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ। यसअघि पनि उनले एक विद्यार्थीको कानको जाली फुटने गरी हानेकी थिइन्।

सरकारले महिला बढी कोमल र दयालु स्वभावका हुन्छन् भनी प्रत्येक विद्यालयमा एकजना महिला शिक्षक अनिवार्य गरेको छ। बाल विकासका लागि त सहयोगी कार्यकर्ताका रुपमा अनिवार्य रुपमा महिला नै राख्नुपर्ने नियम बनाएको छ। तर के लक्ष्मीजस्ता महिला शिक्षकले सरकारले महिला शिक्षक राख्नुको औचित्य पुष्टि गर्न सक्छन्? कतै सरकारी नीतिमा नै पुनरावलोकन गर्नुपर्ने त होइन? , उक्त घटनाले गम्भीर पाठ सिकाएको छ।

थप विमर्शको जरुरी

हाम्रा विद्यालयहरु बालमैत्री रहेनछन् भन्ने कुरा यी घटनाले प्रमाणित गर्छन्। अब विद्यालयलाई बालमैत्री बनाउन थप विमर्श आवश्यक छ। सरकारीर गैरसरकारी प्रयास र पैरवीले मात्र पुग्दो रहेनछ भन्ने कुरा छर्लङ्गै भयो। विद्यार्थीसँग कडा मिजासका साथ प्रस्तुत हुनुलाई गर्वको विषय ठान्ने शिक्षकहरुको मानसिकतामा परिवर्तन नभएसम्म अवस्थामा सुधार आउने संभावना देखिदैन।

बालबालिकालाई अंगभंग हुने गरी शारीरिक दण्ड दिनु आजको शिक्षाप्रणाललिे चाहेको कुरा हुँदै होइन। एकातिर सरकारी निकाय बालमैत्री विद्यालय, बालमैत्री वडा र बालमैत्री गाउँ घोषणा गर्दै हिडेका छन, अकोर्तिर हामा शिक्षकको मानसिकता दण्ड देखाएरै विद्यार्थी तह लगाउने भन्ने छ । यी दुई परष्पर विरोधी नीतिमा सुधार नगरेसम्म बालमैत्री तालिम बालुवामा पानी हुनेछ। रोल्पाकी लक्ष्मी त प्रतिनिधि पात्र मात्र हुन्। खोज्दै जाँदा धेरै लक्ष्मीहरुको दिनचर्या यसरी नै बितेको पाइनेछ।

कानूनी व्यवस्था

नेपालको संविधानको धारा ३९ ले ‘बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भनेको छ। बालबालिकासम्बन्धी ऐन, २०७५ ले ‘घर तथा विद्यालय जुनसुकै स्थानमा दिइने शारीरिक वा मानसिक दण्ड या अमर्यादित व्यवहारलाई बालबालिका विरुद्धको हिंसा मानेको छ। यस्तो कसुर गनेर्लाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद हुन सक्ने व्यवस्था गरेको छ।

शिक्षा नियमावलीले पनि विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नपाइने भनेको छ। बालमैत्री विद्यालय प्रारुपमा पनि बालमैत्री विद्यालयका बारेमा थप चर्चा गरिएको छ। र यी सबै कुरा नेपालका सबै शिक्षकहरुलाई टिपिडीलगायत् थुप्रै तालिमबाट दिइएको छ। तैपनि अवस्थामा सुधार किन आउन सक्दैन? चिन्ताको विषय बनेको छ।

यस्तो पो बालमैत्री विद्यालय

बालमैत्री विद्यालय भन्नाले बालबालिकाले आफ्नो क्षमता अनुसारको गतिमा रमाइलोसँग सिक्न पाउने वातावरण भएको विद्यालयलाई बुझाउँछ। बालमैत्री विद्यालयको अवधारणाले बालकेन्द्रित शिक्षण सिकाइलाई बालअधिकारका रूपमा स्थापित गर्ने तथा गुणस्तरीय शिक्षाका अन्य पक्षहरूसँग प्रत्यक्ष सरोकार राख्दछ। बालबालिकाका रुचि, स्तर तथा क्षमतामा आधारित भई निर्धारित समय, सीमा तथा उपलब्ध स्रोत–साधन र क्षमताको प्रयोगबाट सिकाइलाई सहज गराउँछ। बालकको शारीरिक, मानसिक एवं संवेगात्मक पक्षसँग चासो राखी मनोवैज्ञानिक सिकाइमा जोड दिन्छ। यी विविध पक्षसँगै गुणस्तरीयताको कुरा शिक्षाको हरेक आयाममा सँगसँगै आउने गर्दछन्।

बालअधिकार

सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा नेपाललगायत विश्वका १९२ देशहरूद्वारा अनुमोदन गरिएको संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि पारित गरिएको थियो। बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको थियो। ५४ धारामा व्यवस्थित यस सन्धिले बाल अधिकारका सम्बन्धमा व्यवस्था गरेका अधिकारहरू मुख्य रूपमा चार ओटा छन्। बालकको बाँच्न पाउने अधिकार, विकास गर्ने अधिकार, संरक्षण पाउने अधिकार र सहभागी हुने अधिकार।

आजको बालमैत्री विद्यालय यही बालअधिकारको जगमा विकसित भैरहेको छ। सहज रुपमा शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको प्राप्तिको वातावरण हरप्रकार बालमैत्री नै हुनुपर्ने कुरा विभिन्न दस्तावेजहरुले समेत उल्लेख गरेका छन्। तर यी कुरामा शिक्षकहरुको ध्यान किन जान सकेन? यो आजको गम्भीर विषय हो।

बालकको सवोर्परी

गुणस्तरीयताका विभिन्न मापदण्डहरूमध्ये बालमैत्रीपन पनि एक हो। कुनै पनि बालमैत्री विद्यालय यस्तो हुनुपर्छ, जहाँ बालबालिकालाई आफ्नो गति र क्षमताअनुसार रमाइलोसँग सिक्ने वातावरण भएको होस्। प्रत्येक विद्यार्थीले आफूलाई भौतिकरूपमा सुरक्षित, संवेगात्मकरूपबाट संरक्षित, मनोवैज्ञानिक रूपले सक्षम र बलियो महसुस गराउने वातावरण प्राप्त गरेका होऊन्। हरिभक्त कटुवालको रहर कवितामा भनिएझैँ ‘बा ! पाठशाला जान्न म त्यहाँ पढाइन्छ इतिहास मरेका दिनहरुको’ भन्ने अवस्था आउँदैन। अर्थात् बालकको रुचि र चाहना अनुसारको पठनपाठन यस्ता विद्यालयहरुमा हुने गर्दछ।

बालमैत्री विद्यालयका शिक्षकहरु

बालमैत्री विद्यालयका लागि शिक्षकहरुको पनि विशिष्ट प्रकारको भूमिका हुन्छ। उनीहरु विद्यार्थीप्रति सदैव उत्सुक र प्रतिबद्ध हुन्छन्। विद्यार्थीहरूलाई क्षमता र चाहनाअनुसार सिकाउने गर्छन। विद्यार्थीहरूलाई हरेक क्रियाकलापमा सहभागी हुन हौसला प्रदान गर्ने र उनीहरूको विचारको कदर गर्छन्। पूरा तयारीका साथ कक्षाकोठामा प्रवेश गर्दछन्। विद्यार्थीहरूको आत्मबल बढ्नेखालका शिक्षण विधिहरू प्रयोग गर्दछन्। आफ्नो पेशाप्रति गौरव गर्छन्, आत्म विश्वासी हुन्छन् र कक्षाकोठालाई कर्मथलोका रूपमा लिन्छन्। सबै विद्यार्थीहरूलाई समान व्यवहार गर्दछन्। विद्यार्थीहरूलाई कुनै पनि किसिमको सजाय दिदैनन्। विद्यार्थीको अगाडि नमुना भएर प्रस्तुत हुन्छन् भन्ने मान्यता बालमैत्री विद्यालयले राख्दछ। यी मध्ये कुनै पनि गुण नभएका शिक्षकहरु बालमैत्री विद्यालयका बाधक नै हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width