कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

कोरोना भाईरस बारे

डा. पुरूषाेत्तम बस्नेत डा. पुरूषाेत्तम बस्नेत
चैत्र २३, २०७६

हिजो आज “कोरोना भाईरस” भन्ने शब्दले संसार भरी ठुलो आतंक मच्चाई रहेको छ। “कोरोना भाईरस” ले दिनहु मानिसहरू मरीरहेको समाचारहरू आईरहेका छन। चीनको वुहान भन्ने ठाउमा पहिलो पटक देखिएको “कोरोना भाईरस”  छोटो अबधीमै संसारको सबै जस्तो देशहरूमा पुगिसक्यो। हुनत विश्व भरी दिनहु १५०,००० भन्दा बढी मानिहरू मरी रहेका हुन्छन र विश्वको दैनिक मृत्यू दर संग तुलना गर्दा कोरोना भईरसको कारणले मर्नेको संख्या निकै सानो हो तर यही रफ्तारमा मृत्यू दर बृद्धी हुँदै जाने हो भने सारा पृथ्वीको झण्डै १० प्रतिशत मानिसहरूले ज्यान गुमाउनु पर्ने हुन सक्छ। यही डरको कारणले बिध्यालयहरूमा पठन पठान बन्द भै सक्यो, यातायात चल्न बन्द गराइयो, मान्छेको जमघट हुन र हिडडुल गर्न रोक लगाईएको छ। सबैलाई घर भित्र नै बस्न भनिएको छ। मानिसहरू ले आत्तीएर दैनिक आवश्यक बस्तुहरूको बढी संग्रह गरीदिदा बजारमा पसलहरू रित्तीएको समाचारहरू आईरहेछन। यति ठुलो महामारी र आतंक सायद हाम्रो जीवनकालमा पहिलो पटक भोगीरहेका छौ। यो विपत्ती बाट बच्न सबैको सहयोग अपरिहार्य छ।

“कोरोना भाईरस” के हो?

भाईरस भनेको एक प्रकारको अपूर्ण र शुक्ष्म जिबाणु हो। कुनै पनि भाईरस जन्तु वा बनस्पति को कोष बाहिर लामो समय सम्म जिवित रहन सक्दैन। प्राय जन्तुहरूमा हुने वा बाच्ने भाईरस मानिसमा पनि सर्दैन। तर केही भाईरसहरू भने अपवादको रूपमा जन्तु बाट मानिसमा र मानिसबाट जन्तुमा सर्न सक्छन। यो कोरोना भईरस पनि त्यस्तै अपबाद मध्यको एउटा हो। सबैजसो भाईरसहरू प्रोटीन र बोसो जस्तो पदार्थहरू मिलेर बनेको सानो डल्लो हो जुन हाम्रो  शरीरका कोषहरू भन्दा सयकडौ गुना सानो हुन्छ। यो सानो डल्लो वा कण भित्र RNA वा DNA जस्ता वंशाणु पनि रहन्छ।  “कोरोना भाईरस” को कण भित्र भने RNA वंशाणुभएको ले यसलाई RNA भाईरस पनि भनिन्छ।  यो सानो भयकोले हाम्रो शरीरको कोषभीत्र बिना रोकटोक सजिलै छिर्न सक्दछ र हाम्रो कोषलाई नियन्त्रणमा लिन्छ अनि हाम्रै कोषको मद्दतलिएर आफ्नो संख्या बृद्धी गर्दै जान्छ। त्यसपछि वरपरका कोषहरूमा घुस्दै जान्छ र शरीरमा फैलन्छ। भाईरसलाई मार्ने औषधि बनाउनु सजिलो हुदैन। खोपको विकाश गर्नुनै मुख्य रोकथामको उपाय हो। कोरोनाभाईरसको हाल सम्म कुनै खोप पनि बनि सकेको छैन। अर्को तर्फ सबै जसो भाईरसहरुले लगातार आफुलाई परिवर्तन गर्नेहुनाले खोप पनि केही भाईरसको लागि खासै उपयोगी हुन नसकेको अवस्था छ। यति हुदा हुदै पनि प्रकृतिले हाम्रो शरीरमा अपूर्व रोग प्रतिरोध क्षमता वा ईम्यूनिटी प्रदान गरेको छ र यही हाम्रो प्राकृतिक ईम्यूनिटीका कारण हामीहरू भाईरस वा अन्य जिबाणुको संक्रमण बाट बच्दै आएका छौ।

वास्तवमा भाईरसहरू पनि बिभीन्न प्रकारका हुन्छन। अत्यन्तै शक्तिसाली माईक्रोस्कोपबाट हेर्दा   “कोरोना भाईरस” को बाहिरी सतहमा एक प्रकारको प्रोटीन Crown (ल्याटीन भाषामा Corona भनिन्छ) देखिने भएकोले भएकोले वैज्ञानिकहरूले यस प्रकारका सबै भईरसलाई “कोरोना भाईरस” भनेर नाम दिएका हुन। केही समय पहिले सन २००३ मा Severe Acute Respiratory Syndrome (SARS) र सन २०१२ मा Middle East Respiratory Syndrome (MERS) जस्ता प्रकोप बारेमा पनि सुनिएको थियो। ती प्रकोपका कारण पनि “कोरोना भाईरस” नै हुन। बेलाबेलामा मौसम परिवर्तन हुदा देखा पर्ने इनफ्लुईन्जा प्रकोप गराउने पनि  “कोरोनो भाईरस” संग मिल्दो जुल्दो RNA भाईरस हो। हाल आतंक मच्चाईरहेको कोरोना भाईरस नया हो तर SARS भाईरस (SARS-CoV) संग मिल्दो जुल्दो प्रकृतिको भएकोले यसको नामाकरण पनि SARS-CoV-2 गरीएको हो र यसको कारणले उत्पन्नहुने रोगलाई COVID-19 (CO=Corona, VI=Virus, D=Disease 19=Discovered in 2019) भनिएको हो।

COVID-19 का लक्षणहरू

अन्य ईन्फ्लुयन्जा फ्लु (चिसोमा लाग्ने रूघाखोकी) जस्तै कोरोना भाईरस ले संक्रमण गरे पछि मा पनि सुरूमा टाउको दुख्ने, घाटी असजिलो हुने, सुक्खा खोकि लाग्ने हुन्छ। श्वास प्रश्वासको संक्रमण हुदा प्राय “हाच्छीऊ” आउने गर्छ। तर कोरोना भाईरसको संक्रमण हुदा  “हाच्छीऊ” नआउने वा कम आउने देखीएको छ। दोस्रो दिन देखी ज्वरो बडेर आउने, आखाॅको गेडा दुख्ने, नाक बाट लगातार सिगान बग्ने हुन्छ। केहीलाई पखाला लाग्ने पनि हुन्छ। शरीरको जोर्नी तथा मासंपेशीहरू दुख्न थाल्ने पनि हुन्छन। धेरै जसोलाई चौथो तथा पाचौ दिन देखी फोक्सो मा एक प्रकारको तरल पदार्थ जम्मा हुन थाल्दछ र सास फेर्न कठीन हुदै जान्छ। केही बीरामी हरूमा फोक्सोमा मसिना घाऊहरु देखा परेर भाईरस बाट हुने निमोनिया हुन जान्छ र सो स्थानमा ब्याकटेरीया बाट हुने निमोनिया को पनि संक्रमण बढे पछि मानिसको जिवन बचाऊन कठीन हुन जान्छ।

तर कोरोना भाईरसको संक्रमण हुदैमा सबैको ज्यानै जाने भन्ने होईन। अहिले सम्म को तथ्याकं अनुसार झण्डै ८० प्रतिशत कोरोना भाईरसको संक्रमीतहरू आफ्नै रोग बिरूद्ध लडने क्षमता अथवा ईम्यूनिटीको कारणले कोरोना भाईरसलाई परास्त गराउन सक्षम भएको थाह लागेको छ। कोही कोहीलाई त कोरोना भाईरस ले संक्रमण गरे पनि खासै कुनै लक्षण पनि देखिदैन। बाकि २० प्रतिशत जस्को पाको ऊमेरको कारण वा अन्य बिभिन्न रोगहरू वा औषधि सेवनको कारणले ईम्यूनिटी कमजोर हुन जाने हुदा यस्ता बिरामीहरूलाई बिषेश हेर बिचार पुर्याउनु पर्ने हुन्छ।  हालको कोरोना भाईरस नौलो भयकोले  प्राप्त सूचनाहरूमा केही अन्यौल भए पनि प्राय मृत्यू हुनेहरू धेरै पाको उमेर भएका हरू वा बिभिन्न अन्य रोग लागेका जस्तै, चिनी रोग लागेका, उच्च रक्तचाप भएका, क्यान्सर जस्ता धातक रोग लागेका, किडनी वा आन्य अंगहरु फेरेकाहरू नै छन। तर यी मध्य पनि धेरैलाई चिकित्सकहरूले बचाई रहेको प्रसस्तै उदाहरण हरू छन।  ५० बर्ष भन्दा कम उमेरका  श्वस्थ्य मानिसहरूले यो रोग बाट डराउनु पर्ने खासै कारण छैन तर पनि यस्ता मानिसहरूले रोग प्रतिरोध क्षमता कम भएका र पाको उमेरका मानिसमा सार्ने हुनाले वा संपूर्ण कारणहरू थाह नहुने हुदा सबैले अत्यन्त सतर्क हुनु आवश्यक छ।

यस अघि कहिल्यै थाह नभएको ले यसको स्वभाव र प्रभाव बारे सबै पत्तो लागिसकेको पनि छैन। चिकित्सकहरू र वैज्ञानिक हरू आआफ्नो ज्यानै जोखीममा पारेर अथक प्रयास गरीरहेका छन यसको निर्मुल पार्नको लागी। हामीहरू सबैसंग बिषेशज्ञहरूको जस्तो ज्ञान त नहोला तर सबैले मिलेर एक अर्कामा कोरोन भाईरस नसारी दिने हो भने पनि यो कठीन घडीमा आफ्नै लागी मात्र नभएर देश र विश्वको लागी पनि ठुलै योगदान हुन जान्छ।

कोरोना भाईरस कसरी सर्छ?

कोरोना भाईरसले श्वास प्रश्वास प्रणालीमा संक्रमण गर्ने हुनाले संक्रमीत व्यक्तीको सिगांन, र्याल, खकार, थुक र आंसुमा प्रसस्तमात्रामा भाईरस बसेका हुन्छन। यस्ता भाईरस जन्य दुषित पदार्थ संसर्ग भएमा श्वस्थ्य व्यक्ती को शरीर भित्र भाईरसले प्रवेश गर्दछ। छालाले भाईरसलाई सजिलै शरीर भित्र प्रवेष दिदैन तर छालामा टास्सीयर बसेको भाईरस लामो समयसम्म जिवित राख्न सक्दछ। कोरोना भाईरस सुक्खा बस्तु जस्तै प्लास्टिक वा धातु जस्ता बस्तुहरुमा पनि २ देखी ३ दिन सम्म बाच्न सक्छ। त्यसैले संक्रमित व्यक्तिले आफ्नो शरीरबाट निस्कने पदार्थको ब्यवस्थापनमा विषेश ध्यान पुर्याउनु पर्छ र हात ले नाक, मुख, आंखा र कान छुन भएन र कुनै कारणले छुन परेमा तुरून्तै साबुन पानीले हात धुनु पर्दछ। श्वस्थ्य व्यक्तिले भाईरस दुषित पदार्थ शरीरको संपर्कमा नआओस भनेर सजग हुन पर्दछ।

केही छलफल गर्नु पर्ने प्रश्न र उत्तरहरू

१) के हात धुदैमा कोरोना भाईरस लाग्दैन?

त्यसो होईन। कोरोना भाईरस सानो बोसोको डल्लो भएकोले जसरी तेल वा बोसो हातमा टासिन्छ त्यसरीनै भाईरस पनि हाम्रो हातमा टासिन्छ। हातमा लागेको चिल्लो हटाउन जसरी साबुन ढलेर २० सेकेण्ड हात मिचिसके पछि सफा पानीले पखाल्नु पर्छ, हातमा टास्सीएको भाईरस पखाल्न पनि तेही बिधी अपनाएको मात्र हो। पटक पटक सावुन पानीले हात धुने बानीले अवश्य पनि कोरोना भाईरस सार्न दिदैन।

२) के सास फेर्दापनि कोरोना भाईरस एक अर्कोमा सर्छ?

साधारण सास फेर्दा फोक्सोबाट नाक वा मुख हुदै ससना पानीका बाफका कणहरू पनि निस्कन्छन।  तेस्ता पानीका कण भित्र कोरोना भाईरस पनि हुने शंका गर्न पाइयो। हाल सम्म साधारण सास फेर्दा निस्कने पानीको कण भित्र कोरोना भाईरस हुने कुराको वैज्ञानिक पुष्टी भएको छैन। तर हाच्छीऊ गर्दा वा खोक्दा भने कोरोना भाईरस युक्त खकार वा थुक समेत निस्कन्छ र त्यो नजिकै हुने मानिसले सास तान्दा शरीर भित्र जान सक्छ। तेसैले मास्क लगाउनु वा खोक्दा वा हाच्छीऊ गर्दा भएमा टिस्स्यु पेपर/रूमाल नभएमा कुहिनो ले छोप्नु राम्रो र उपयोगी तरीका हो। यो विपदको समयमा सबै संग अलग्गीएर बस्नु सबै भन्दा उत्तम हुन्छ।

३) के लसुन, कागती वा बेसारको प्रयोग गर्दा कोरोना भाईरस लाग्दैन वा सन्चो हुन्छ?

लसुन, कागती वा बेसारका थुप्रै फाईदहरू छन त्यसैले हामीहरू बिभिन्न परंपराको रूपमा प्रयोग गर्दै आएका छौ। तर लसुन, कागती वा बेसारको प्रयोग गर्दा कोरोना भाईरस रोग सन्चो हुने कुनै बैज्ञानिक प्रमाण हाल सम्म छैन। हो कागतीमा हुने भीटामिन सी, लसुनमा हुने एलीइन र बेसारमा हुने कुरकुमिन जस्ता महत्वपूर्ण रसायनले हाम्रो ईम्यूनिटी मा प्रभाव पार्छ भन्ने बैज्ञानिक प्रमाणहरू चाही प्रसस्तै छन। तर कति खादा कस्तो प्रभाव पर्छ भन्ने जस्ता धेरै प्रश्नहरू अनुत्तरीत भएको हुदा यस्ता कुरा उपयोग गरेको राम्रो हो तर कोरोना भाईरस मुक्त बनाउछ वा सन्चो बनाउछ भन्ने धारणा पुष्टी गर्न अहिलेको लागि कुनै आधार छैन। उदाहरणको लागि, आधा सानो चम्चा बेसार लाई मनतातो दुधमा मिसाएर नियमित रूपमा वेलुका सुत्नु भन्दा पहिले पिएर सु्त्दा हाम्रो रोग प्रतीरोध क्षमता बढछ। तर यो पनि बिचार गर्नु पर्छ कि आवश्यकता भन्दा बढी लसुन, कागती वा बेसार प्रयोग गर्नु शरीरको लागी हानिकारक समेत हुन सक्छ।

४) के योग वा ध्यान कोरोना भाईरसको प्रकोप बाट बच्ने राम्रो उपाए हो?

योग-ध्यान गर्दा हाम्रो शरीरको रोग प्रतिरोध क्षमता बढछ भन्नेकुरा बैज्ञानिक तत्थ्यका आधारमा प्रमाणित भैसकेको छ। तर योग-ध्यान गरेकाहरूमा कोरोना भाईरस लाग्दैन भन्ने कुनै प्रमाण छैन।

रोग प्रतिरोध क्षमता भन्ने कुरा जटील जालो हो यसलाई बलियो बनाउन लामो समयको नियमित वानी वा अभ्यासको आवश्यक हुन्छ। जस्तो कि

  • नियमित रूपमा समयमै सुत्ने,
  • ७ देखी ८ घण्टा गहिरो निद्रा लिने
  • नियमित योग-ध्यान गर्ने,
  • नियमित रूपमा हरीयो सागपात वा फलफुल (५ बटुका प्रती दिन) सेवन गर्ने,
  • जाड रक्सी, धुम्रपान सेवन नगर्ने ईत्यादि असल बानीहरू हुन जस्ले शरीरको रोग प्रतिरोध क्षमता बढाउछ।

यी सबै कुराहरू ले रोग प्रतिरोध क्षमता बढछ भन्नेकुरा सबैलाई थाह भएको कुरा हो। भाईरस वा यस्तै अन्य रोग संग बच्न हाम्रा पुर्खा देखी चलिआएको परम्परा पछ्याउनु राम्रो हो तर बैज्ञानिक आधार र सोचमा पनि उत्तिकै ध्यान दिन जरूरी छ।

(डा. बस्नेत नर्बेकाे UiT The Arctic University of Norway, Faculty of Health Sciences मा प्राध्यापन गर्नुहुन्छ । याे लेख उहाँकाे व्लगपेजबाट लिइएकाे हाे ।)

 

हाम्रो सुझाव