कोरोना भाइरस सन्त्रास र वातावरण विनाशकारक

तिलक पराजुली
माघ २४, २०७६

वर्तमानको विश्व, आधुनिक संचार संयन्त्रहरुको प्रविधिले मात्रै जोडिएको छैन प्रकृतिका अवयवहरुले पनि जोडिएको छ । एक ठाउँमा भएको प्रकृतिको विनास सर्वव्यापी हुन्छ ।

नोवल कोरोना नाम दिइएको संक्रामक भाइरसले छिमेकी देश चीन निकै कठिन अवस्थामा परेको छ । हुनत, यस महामारी रोगको सन्त्रासले सबै देश काँपेका छन्, त्यसमा पनि छिमेकी हुनाका नाताले हामी नेपालीलाई ठूलै डर छ । चीनमा झैं फैलियो हाम्रोमा पनि भने–गुहार माग्नु बाहेक अर्को उपाय छैन । चिनियाँले झैं दुई दिनमै ठूलो अस्पताल भवन खडा गराउने हाम्रो क्षमता छैन ।
यो हप्ता (१९ गते, २ फेब्रुअरी) विश्व सिमसार दिवस भएका कारण पनि हुन सक्छ केही विज्ञहरुले कोरोना भाइरसको उत्पत्ति कारणमा मुख्यतः प्रकृतिको अत्यधिक दोहनसँग जोडेर हेरेका छन् । भनिरहनु पर्दैन प्रकृतिको अधिक उपयोग चीनमा जति अन्यत्र सायदै होला । चिनियाँहरु नदीलाई उल्टो बगाई दिन्छन् ।
चीनमा जत्रो ठूला बाँधहरु अन्यत्र पाउन मुस्किल छ । यी बाँधका कारण सिमसार क्षेत्र डुबानमा परे । चिसो ढाँव जुन नदी, खोलाका तटीय क्षेत्र हुन्, तालतलैयाका किनारा हुन्, यिनको विनाशबाट प्रकृतिमा पर्ने दुष्प्रभावका सम्बन्धमा धेरै कुरा लेखिएका छन्, भनिएका छन् । तर, तत्कालका जरुरी मानवीय आवश्यकता पूरा गर्न ती सबै बिर्सिएका छन् । यो विश्वव्यापी समस्या हो । सिमसारलाई पृथ्वीमा त्यत्तिकै महत्व दिनुपर्छ, जति मानव शरीरमा मृर्गौला किड्नी पोरसनलाई दिइन्छ । मृर्गौलाले नै हो–रक्त शुद्धीकरण गर्ने र मुटुमा स्वच्छ रक्त संचार गराउने ।
पृथ्वीलाई जोगाउन, पर्यावरणीय सन्तुलन कायम गर्न र वातावरण स्वच्छ राख्न जैविक विविधता चाहिन्छ । यो जैविक विविधता जोगाइराख्न पनि वेट ल्याण्ड (चिसो भूमि) अर्थात् सिमसारकै अपरिहार्य छ । पानीको स्रोत बचाइराख्ने र शुद्धता कायम राख्ने अर्थात् जलको निर्मलीकरण गर्ने पनि सिमसारले नै हो । यस्तो महत्वपूर्ण प्रकृतिको अवदान भने मासिँदै गएको छ । यो एक चिन्ताको विषय हो ।
सिमसार जोगाउने उद्देश्यका साथ इरानको रामसारमा भएको अन्तर्राष्ट्रिय अभिसन्धिमा नेपाल पनि संलग्न छ । अन्तर्राष्ट्रिय सन्धिमा प्रतिबद्धता जनाउने र राष्ट्रमा कागजी नीति बनाउने कुरामा त हामी कहीं पछि पर्दैनौं तर कार्यान्वयन गर्ने चासो र जाँगर भने देखाउँदैनौं । यो नै ठूलो समस्याको कुरा हो । र, यो एउटा राष्ट्रिय चरित्र नै बनेको छ ।
कोशी टप्पुदेखि घोडाघोडी ताल लगायतका सिमसार क्षेत्रले राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय चरा चुरुङ्गीहरुलाई बास र खाना उपलब्ध गराएका छन् । साईबेरिया लगायतका ठाउँहरुबाट पाहुना चरा नेपाल आउँछन् । चल्ला यही हुर्काउँछन् र उड्न सक्ने बनाएर आफ्नो साविक घरमा फर्किन्छन् ।
नेपालका ताल किनारका सिमसार अनमोल छन् । तर, यिनै अनमोल ठाउँहरु मानवीय अतिक्रमण र बेवकुफीले गर्दा हाम्रै अगाडि नाश भएका छन् । खास गरेर पोखरा उपत्यकाका तालहरुका सिमसार क्षेत्रहरु ताल वरिपरिका डाँडामा बाटो खन्ने डोजर र एस्काभेटर चलाएर सबै माटोले पुरिँदै गएका छन् । चरा विज्ञहरुको खोज तथ्यांकले के देखाएको छ भने विश्वमै लोप भएका अठार प्रजातिका चराहरु फेवातालको सिमसार क्षेत्र वरिपरि पाइन्छन् । तर, फेवातालमाथिको अतिक्रमण र दोहन हामीे देखिरहेका छौं । संरक्षण गर्ने हल्ला गरिन्छ । बजेट सिद्धाइन्छ । तर, स्थिति भने बेहाल छ ।
सबैको आँखा परेको र सर्वोच्च अदालतले समेत फेवाताल संरक्षणको लागि विभिन्न कार्यसम्पादन गर्न तिनै तहका सरकारका नाउँमा आदेश जारी गरेको त बर्बादीको डिलमा उभिएको छ भने रुपाताल, बेगनास ताल लगायत अरु स–साना तालका सिमसार क्षेत्र त्यसै उपेक्षित छन् ।
वर्तमानको विश्व, आधुनिक संचार संयन्त्रहरुको प्रविधिले मात्रै जोडिएको छैन प्रकृतिका अवयवहरुले पनि जोडिएको छ । एक ठाउँमा भएको प्रकृतिको विनास सर्वव्यापी हुन्छ । लैटिन अमेरिका देश ब्राजिलको ओमेजन जंगलमा लागेको डढेलोको दुष्प्रभाव विश्वमै प¥यो । वनको मुख्य क्षेत्र ब्राजिलमा पर्ने भए पनि यो जंगल यति विशाल छ कि यूरोपको फ्रान्स लगायत सात देशमा फैलिएको छ । विश्वको लागि २० प्रतिशत अक्सिजन यही वनले उपलब्ध गराएको कुरा पनि विज्ञहरुले बताए । हामीलाई उपलब्ध हुने अक्सिजनमा ओमेजन जंगलको योगदान छ । यसरी बुझ्न सक्छौं कि प्रकृतिको विनाश तत्देशको मात्रै सरोकारको विषय होइन भन्ने कुरा ।
फ्रान्सका राष्ट्रपति म्याक्रोनले त ब्राजिलका राष्ट्रपति बोल्सेनारोलाई वनमा डढेलो जानी बुझी लगाएको आरोप समेत लगाए । यो वनमा बस्ने ठूलो संख्याका आदिवासीलाई उठिबास लगाउन र विनाश गर्न नियोजित रुपमा गरिएको षड्यन्त्र भन्ने कुरा धेरै कोणबाट आवाज उठेको हो । यसमा विश्व जनमानस नै तरंगित र संवेदनशील हुनु स्वभाविक छ । किनभने माथि नै भनियो कि ओमेजन वनका वृक्षहरुले प्रदान गर्ने अक्सिजन पृथ्वीमा २० प्रतिशत छ । यो विश्व प्राणीजगतको जीवन आधारमध्ये एक हो ।
अष्ट्रेलियाको जंगलको डढेलोले कति पशुपक्षी मरे भन्ने कुराको यस क्षेत्रमा अध्ययनरत विज्ञहरुका तथ्यांक डरलाग्दा छन् । विश्वकै वातावरण विषाक्त बनेको छ । लैटिन अमेरिकी क्षेत्रको ओमेजन वन र अष्ट्रेलियाको वनको डढेलो टीभीका स्क्रिनमा देख्दा पोल्ने हाम्रो मन हाम्रै देशको शिवहिल विनाशमा किन मुकदर्शक भएको हो ?
हाम्रो चुरे पहाड श्रृंखलाको ठाउँ शिवलेक हो । यसलाई अंग्रेजीमा शिवहिल हुन्छ । नेपालमा अंग्रेजका राजदूत रहेका हड्सनले शिवालिक लेखेछन । अनि यही अपभ्रंश बोक्दै हामी हिँडेका छौं भन्ने (सायद सौरभले लेखेका हुनुपर्छ) पढेको पंक्तिकारलाई सम्झना भयो । शिवजीको नाम रहेको यो पहाडको ढुंगा बालुवा झिकेर विभत्स पारेपछि नेपालको तराई त मरुभूमिकरण हुन्छ नै यसको दुष्प्रभाव भारतको उत्तर प्रदेश बिहारमा पनि नपर्ने कुरै छैन ।
प्रकृतिका स्रोत र साधन चाहिनेभन्दा बढी उपयोग नगरौं भन्ने आग्रह त छँदैछ तर चीनको हुवेई प्रान्तको उहान शहरबाट आगोको झिल्को झैं देखिएको प्राणघातक तथा अनियन्त्रित भाइरससँग चिनियाँ सरकार, त्यहाँका चिकित्सक र समग्रमा चिनियाँ जनता जसरी जुधिरहेका छन्, नियन्त्रणको प्रयत्नमा छन्, त्यसमा सबै सभ्य एवं मानवीय हृदय नतमस्तक हुनैपर्छ । चीनको यो विपत्लाई आफ्नो भाग्य चम्किएको ठान्ने केही पश्चिमा शक्ति खास गरेर अमेरिकी सोच अमानवीय हो । तर, यो संख्या कम छ । मानवीयता र अरुको विपदमा सहयोग गर्ने हृदय तथा हातको बहुमत छ ।
कोरोना भाइरसको प्रभाव चातुर्दिक छ, सबै क्षेत्रमा नकारात्मक छ । विश्व अर्थ बजार हल्लिन थालेको छ । शेयर बजार गिरेको छ । संसारभरीका मानिसमा सन्त्रास छ । नेपालको त कुरै भएन । सन् २०२० को ‘भ्रमण वर्ष’ सुनसान छ । उत्तरी नाका बन्द छन् । खाद्यान्न अभाव भन्नै परेन । सामान्य किसिमका मास्क पनि बजारमा अभाव भइसकेको छ । चीनमा रहेका नेपाली फर्काउन त पर्छ नै । उनीहरुसँगै कोरोना भाइरस भने नेपालमा नआवस् ! सबैको अन्तरमनको कामना यही छ । र, यो पनि कामना छ कि यो महाशत्रुमाथि चिनियाँ जनताले चाँडै विजय गर्न सफल रहुन् !

Related News

सम्बन्धित समाचार

hero news full width