कोरोना कहरभित्र छिनिएको मातृत्वको डोरी

krishnaprasad कृष्णप्रसाद बास्तोला (राजु)
कार्तिक १७, २०७७

वर्तमान समयमा विश्व नै कोभिड–१९ को महामारीले तहसनहस भइरहेको अवस्थामा हामी पनि त्यस प्रकोपबाट अछुत रहन पाएनौं । यसका कारणले आर्थिक, शैक्षिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विभिन्न समस्या देखा परेकै समयमा हामीले पनि पारिवारिक रुपमा ठूलो बज्रपात सहनु पर्‍यो ।

म कोरोनाकै संक्रमणका कारण घरमै आइसोलेसनमा बसिरहेको समयमा ममतामयी मातालाई गुमाएँ । शवयात्रा, दाहसंस्कारलगायतका क्रियाकलापमा प्रत्यक्ष सहमागी हुने अवसर नपाएर उक्त दृष्यलाई टुलुटुलु हेरेर बस्न बाध्य हुनुपर्‍यो ।

मेरी आमाको जन्म वि.सं. २००१ जेष्ठ ३१ गते पोखरा–२ विन्दुवासिनीमा पिता पं सोमनाथ रेग्मी तथा माता लोमसकुमारी रेग्मीका जेठो सन्तानको रुपमा भएको थियो । बुबा पण्डित भएकोले घरमै उहाँबाट अनौपचारिक शिक्षा प्राप्त गर्नुभएकी उहाँले महाभारत, रामायण, भागवत गीता जस्ता धार्मिक पौराणिक विषयवस्तुको राम्रो ज्ञान आर्जन गर्नुभएको थियो । यही ज्ञान पछि बिहे गरेर घरमा भित्रिएपछि गृहस्थी सम्हाल्न, छोराछोरी हुर्काउन र पढाउन सहयोगी बन्यो । उहाँले पण्डित खलकका हजुरबा त्रिलोचन बास्तोलाकी कान्छी बुहारीका रुपमा घरमा भित्रिए पनि बिस्तारै यस बुढाघरको परम्परा धर्म संस्कार र संस्कृतिलाई संरक्षण गर्ने संरक्षकका रुपमा आफ्नो भूमिका निर्वाह गर्नुभयो । हाम्रो परिवारको जिम्मेवार अभिभावकका रुपमा रहेर उहाँले तीन दिदी, एक बहिनी, मेरा दाजु र मेरासमेत छोराछोरी हुर्काउन मद्दत गर्नुभयो । पछि हामी दाजुभाइ छुटिएर भान्सा अलगै भए पनि आमाले पारिवारिक एकतालाई अलग हुन दिनु भएको थिएन ।

धेरै समय आमासँगै बस्ने अवसर पनि पाएका हुनाले आमाका धेरै आनीबानीलाई मैले राम्ररी बुझ्ने मौका पनि पाएँ । उहाँ सरसफाइमा असाध्यै ध्यान दिने आफू पनि सफा भएर बस्ने र अरुलाई पनि सफा भएर बस्न लगाउनुहुन्थ्यो । आमाको मप्रति अति विश्वास थियो । मलाई राति अन्यन्त्र बास नबस यदि म बिरामी भएँ अस्पताल कसले लैजान्छ नि भन्नुहुन्थ्यो । आमाको यही भनाइका कारण म अन्यत्र रात बस्न सितिमिति जाँदैनथे ।

त्यतिमात्र होइन अस्पतालमा जँचाउन मसँगै जान खोज्नुहुन्थ्यो । डाक्टरले लेखाएका औषधि पनि मसँग सोधेर मात्र किन्न लगाउनुहुन्थ्यो । आमाको यो गुणका कारण स्कुल तथा कलेज पढ्दा मात्र होइन पछि कलेज पढाउन थालेपछि पनि घरमा फर्केर आमासँग एकैछिन गफ गर्न पाएपछि दिनभरका तनाबबाट मुक्त हुन्थें । पछिल्ला केही वर्ष आमा बिरामी पर्नुभयो । त्यस वेलामा पनि स्थानीय पत्रिका बढ्ने र समसामयिक विषयका बारेमा जानकारी राख्नुहुन्थ्यो । आफ्ना मामा तथा भुर्जुङखोलाका तत्कालीन चर्चित समाजसेवी व्यक्ति ढाकामोहन आचार्यका कृतिका रोचक प्रसङ्ग हामीलाई सुनाउनुहुन्थ्यो । वि.सं. २०७५ कार्तिक महिनादेखि भने उहाँ गम्भीर बिरामी हुनुभयो । निमोनियालगायतका विभिन्न रोगका कारण ज्यादै जटिल अवस्थामा पुग्नुभएको भए पनि मणिपाल शिक्षण अस्पतालका डा. सि.पी. आचार्य तथा त्यहाँका अन्य स्वास्थ्यकर्मीको अथक मिहिनेतका कारण हामीले आमाको पुनः जीवन प्राप्त गरेका थियौं । त्यसपछि भने आमाले पहिले जस्तो सक्रिय जीवन नबाँचे पनि ठूलो परिवारको संरक्षकका रुपमा रहँदै आउनुभएको थियो ।

यसै समयमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिन थालेपछि त्यसको असर परिवारमा पनि पर्न सक्छ भनेर हामी सम्पूर्ण परिवार सचेत थियौं । घरमा ८२ वर्षका वृद्ध बुबा तथा ७७ वर्षकी आमा नियमित औषधि सेवन गर्नुहुन्थ्यो । यस्तो समयमा हामी आवश्यक काम बाहेक बाहिर निस्कँदैनथ्यौ । बुबा आमालाई औषधि लिन तथा दिनको एकपटक पृथ्वीनारायण कलेजमा हाजिर हुन जाने बाहेक अन्य भेटघाट मैले पूर्ण रुपमा बन्द गरेको थिएँ । घरमा पनि बाहिरबाट आफन्तहरु आउने क्रम ज्यादै कम भएको थियो ।

मलाई समय–समयमा चिसोको कारण समस्या हुन्थ्यो । असोज २३/२४ गतेतिर टाउको दुख्ने र अलिअलि रुघाखोकी देखिन थाल्यो । त्यसपछि म आफै तर्किएर सकेसम्म परिवारका सदस्य, विशेष गरी बाबा र आमासँग अलग्गै भएर बस्न थालें । तल्लो तलामा उहाँहरू बस्नुहुन्थ्यो म माथिल्लो तलाबाट तल झर्ने र घुलमिल हुन छाँडे । केही दिनपछि ज्वरो देखिएपछि भाइ डा. विराजसँग स्वास्थ्यसम्बन्धी परामर्श लिँदा उनले पहिला कोरोना परीक्षण गरेर मात्र अन्य उपचार गर्ने सल्लाह दिए । मैले असोज २८ गते गण्डकी अस्पतालमा परीक्षणका लागि स्वाव दिएँ । पहिलेदेखि नै होम आइसोलेसनमा बसिरहेको थिए । केही साथीभाइ र आफन्त आए पनि सकभर भेट्दैनथे । भेट्नै परे पनि अलि टाढैबाट कुराकानी गरेर छुटिन्थ्यौ । कार्तिक १ गते कोरोना परीक्षणको नतिजा पोजेटिभ देखिएको सूचना पाएँ । केही नरमाइलो अनुभव भयो र यसपछि बीचमा भेटिनुभएका आफन्त र साथीभाइलाई सूचना गरें । यतिवेलासम्म मेरो शरीरमा रोगका लक्षणहरु हटिसकेका थिए । ज्वरो रुघाखोकी, निको भए जस्तो लागेको थियो । खाना पनि स्वाद लिएर खान थालेको थिएँ । यसपछि अब मेरो कारणले परिवारमा समस्या हुने हो कि बाबा आमा तथा परिवारका कोही बिरामी भएर अस्पताल लैजानुप¥यो भने कसो गर्ने होला भन्ने चिन्ता बढ्न थाल्यो । साथीभाइ, आफन्तले भेटेर तथा फोनबाट दिनुभएको सान्त्वना, आशीर्वाद र कोरोनाका बिरामी निको भएर घर फर्किएका समाचार आफ्नै स्वास्थ्यमा आएको सुधारले गर्दा म पनि कोरोनाको समस्याबाट मुक्त हुन्छु भन्ने आत्मविश्वास पलाएको थियो । यति भए पनि आफ्ना कारणले बुबा, आमा तथा परिवारमा कुनै समस्या पर्छ कि भन्ने चिन्ता कायमै थियो ।

हाम्रो दुर्भाग्य हामीले जे नहोस् भनेर हरपल प्रार्थना गरिरहका थियौं, सोही हुन पुग्यो । कार्तिक ४ गते बिहानसम्म साविक रुपमा नित्यकर्म गरेर खाना खानुभएकी आमाको स्वास्थ्यमा दिउँसोदेखि समस्या सिर्जना भएको जानकारी पाएँ । भाइ डा. विराज तथा डा. सी.पी आचार्यसँगको परामर्शपछि छोरी सरिनाले घरबाटै आमाको रगत र पिसाब लगेर ल्यावमा परीक्षण गर्दा आमाको रगतमा यूरिया र पोटासियमको मात्रा अत्याधिक बढेकोले तुरुन्त अस्पताल लैजानुपर्ने भयो ।

परिवारमा सल्लाह गरेर छोरी सरिना, छोरा सुलभ, भिनाजु केदार पराजुली तथा बहिनी ज्वाइँ लोकचन्द्र खनालको सहयोगमा एम्बुलेन्स बोलाएर पहिला मणिपाल शिक्षण अस्पताल लगियो । त्यहाँ आमाको नाजुक अवस्था देखेर अनेक प्रयास गर्दा पनि आइसियूमा बेड खाली नभएकोले भर्ना गर्न नमिल्ने उत्तर मिल्यो । त्यसपछि फिस्टेल अस्पताल गैह्रापाटनमा पनि सोही अवस्था दोहोरियो । त्यसपछि भाई विराजकै सल्लाहमा आमालाई रातको ३ बजे मात्र गण्डकी मेडिकल कलेज पृथ्वीचोकमा भर्ना गरियो । एकातिर आमाको नाजुक स्वास्थ्य अवस्था, अर्काेतिर आफू घरको माथिल्लो तलाबाट अन्यन्त्र जान नमिल्ने अवस्था, त्यस माथि अस्पतालमा सजिलै भर्ना गर्ने स्थिति नहुँदा मनमा अनेक थरी भय उत्पन्न हुन थाले । छिनछिनमा अस्पतालमा भएका छोराछोरीसँग सम्पर्क गर्दा आमाको स्वास्थ्यमा कुनै सुधार नभएको सूचना मिल्दा त मनमा नराम्रा विचारमात्र मडारिन पुग्थे । यदि कुनै अप्रिय घटना घट्यो भने ? त्यसबाट उत्पन्न हुने सामाजिक, पारिवारिक, मानसिक समस्या कस्तो होला भन्ने मात्र सोच्न थाले । भोलिपल्ट बिहान आफ्नो पुनः स्वास्थ्य परीक्षण गरेर कोरोना निको भएको समाचार सुन्न पाएँ । म मेरी आमाको उपचारमा कुनै कमी हुन दिने थिइन भन्ने सोच्न थाले तर बिहान ८ः१५ बजेतिरबजेको मोबाइलको घण्टीले मेरो सोचाइका सबै श्रृङ्खला टुट्न पुगे । मेरो जीवनमा जे नहोस् भनेर गरेका हरेक प्रयास र प्रार्थना असफल भए । छोरी सरिनाले ज्यादै दुःखपूर्वक आमाले अब सधैका लागि हामीलाई छोडेर परलोकको यात्रा तय गर्नुभएको व्यहोरा सुनाइ । मैले आमालाई सधैंका लागि गुमाए । तर छोरी सरिना र छोरा सुलभ अब अबोध बालक होइनन्, हामीभन्दा धेरै परिपक्व बनिसकेका रहेछन् । समयले लिएको व्यवहारिक जीवनको परीक्षामा उनीहरुको निःशर्त विशिष्ट श्रेणीमा उत्तीर्ण भएको अनुभव गर्न पुगें ।

आफ्नो यस्तो असहज परिस्थितिमा अस्पतालमा आमाको दुःखद् निधनले भएको खबरले स्तब्ध बनेको अवस्थामा अस्पतालसम्म पुगेर आमाको अनुहारको अन्तिम दर्शन गर्न पाउनु त परैको कुरा मैले मेरो पीडा साट्ने कुनै ठाउँ पनि भेटिन । अस्पतालले आमाको निधन निमोनियाको कारण भएको हुनाले शव परिवारले नै जिम्मा लिएर अन्तिम संस्कार गर्ने सूचना दिएपछि १०ः०० बजेतिर आमाको निष्प्राण शरीर आँगनको तुलसीको मोठमा ल्याएर राखियो । सबै आफन्त तथा शुभेच्छुकहरु जम्मा भएर आपसमा दुःख तथा सहानुभूतिहरु प्रकट गरिरहनुभएको थियो । मसँग पनि मनभरी जम्मा भएका दुःख तथा वेदना साट्ने चाहना थिए । आमाको निष्प्राण देहलाई अँगालो हालेर घण्टौ रोएर उहाँसँगका स्मृतिलाई उज्यालो बनाउने रहर थियो । अझ एउटा अबोध बालक झैँ उहाँसँग लुटपुटिने इच्छा थिए तर ती सबै मेरा लागि केवल कोरा कल्पना र रहर मात्र बन्न पुगे । आमाको शवलाई आँखै अगाडिबाट उठाएर अन्तिम संस्कारका लागि लैजादा कुनै घोर अपराधीले जस्तै सहभागी हुन नपाएर टुलटुलु हेर्न विवश भएँ । सबै दिदीबहिनी, आफन्त अँगालो मारेर दुःख मनाउ गर्दा म भने कसैसँग नछोएर, नभेटिएर एक्लै आफ्ना वेदना मुटुमा गाँठो पारेर बस्नु पर्‍यो । मैले शवयात्रामा सहभागी भएर अग्निले कणकण जलाउँदै भष्म बनाएको मेरी ममतामयी जननीको भौतिक शरीरको अन्तिम दर्शन गर्ने अवसर पनि पाइन । यतिवेला दैव पनि निष्ठुरी रहेछन् । अथवा मेरो धैर्यको परीक्षा लिइरहेका छन् भन्ने सोच्न पुगे । आखिर जे जस्तो भए पनि सहनुको अर्काे विकल्प मेरा सामु अरु केही थिएन । त्यसैले सहेर बसें ।

आमाको दाहसंस्कार सकेर आफन्तजन घरमा फर्कनुभयो । घरमा मेरा दाजु पनि हुनुभएको हुनाले काजक्रिया सम्बन्धी कुनै पनि कर्म रोक्नु पर्ने अवस्था थिएन । पहिलो दोस्रो हुँदै दिन बित्न थाले । मैले पनि छोरा हुनुको कर्तव्य पूरा गर्न पाउने चाहनाले कर्तिक ६ गते रुपा गाउँपाकिालका प्रमुख प्रिय भाइ नवराज ओझाको सहयोगमा मेरो र मसँग नजिक भएका कारणले दुई जना छोराहरुको स्वाव परीक्षणका लागि पठायौं । भोलिपल्ट मेरो रिपोर्ट पोजेटिभ नै आयो । केही दिनपछि दुवै छोरोहरुको रिपोर्ट नेगेटिभ आएकाले परिवारका अन्य सदस्य तथा आफन्तमा संक्रमण फैलिन पाएको छैन कि भन्ने विषयमा केही ढुक्क बनायो ।

हामी शोकमा परेपछि हामीप्रति सद्भाव राख्नै भेट्न आउनु हुने आफन्त, फोन तथा विभिन्न माध्यमबाट शुभेच्छा राख्नुहुने दाजुभाइ, शुभेच्छुकले अपार स्नेहले आमाबाट छुटिनु पर्दाका पीडा त बिस्तारै कम हुँदै गएका छन् । अघिपछि त्यति ध्यान नदिने मैले यस्तो असहज परिस्थितिलाई सहज रुपमा लिएर आत्मैदेखि अमूल्य सहयोग गर्नुहुने दाजुभाइ, दिदीबहिनी तथा आफन्तको गुण कहिल्यै बिर्सन सक्दिन । बाहिरतिर हाम्रा बारेमा हुने तीता–मीठा टिप्पणीलाई उहाँहरुले हाम्रो कानसम्म आउनै दिनुभएको छैन । यस्तो हार्दिक प्रेमको ऋण मैले कसरी पो तिर्न सँकुला र ?

उहाँहरुकै सद्भाव, सहयोग र प्रेरणाले गर्दा मैले यस्तो विषम परिस्थितिमा पनि हिन्दू संस्कार अनुसार किरिया गर्दा सहभागी हुनुपर्ने महत्वपूर्ण अवसरमा सहभागी भएर सन्तोषजनक रुपमा आमाप्रतिको आफ्ना दायित्व पूरा गरेर मातृ ऋणको केही अंश तिर्ने अवसर पाएँ । आज आमाको भौतिक शरीर हाम्रो माझबाट विदा भएर गएको तेर्‍हौँ  दिनको पुण्यतिथिमा आमाको पवित्र आत्माप्रति श्रद्धाञ्जली प्रकट गर्दै बैकुण्ठबासको कामना गर्दछु । आज म जहाँ छु आमाकै कारणले छु अबका दिनमा पनि उहाँले देखाउनु भएको बाटोलाई अनुशरण गर्ने प्रण गर्दछु । अन्त्यमा आमाको उपचारदेखि आजसम्म पूरा गर्नुपर्ने सम्पूर्ण दायित्वलाई कतै कुनै गुनासो नरहने गरी आत्मीयता पूर्व सम्पन्न गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, कुलकुटुम्ब इष्टमित्र, शुभेच्छुक सबैप्रति हार्दिक कृतज्ञता प्रकट गर्दै यस्तो महामारीको समयमा सबैले आ–आफ्ना ठाउँबाट सावधानी अपनाएर स्वस्थ्य रहौं, यस्तो पीडाको सामना गर्न नपरोस् भनी भगवानसँग प्रार्थना गर्दछु ।

हाम्रो सुझाव