कोरोनाको चेतावनीः ब्याक टु नेचर

yuwarajpoudel युवराज पौडेल
वैशाख ३, २०७७

मान्छेले विज्ञानको नाममा प्रकृतिमाथि निरन्तर हस्तक्षेप गरिरह्यो । अन्य जीवजन्तु, वनस्पति जस्तै मान्छे पनि प्रकृतिको एउटा अङ्ग हो भन्ने कुरालाई कथित सभ्य मान्छेले बिर्सिदै गयो ।

संसार यतिबेला कोरोनाको महामारी र त्रासको अनिश्चयबाट गुज्रिराखेको छ । आँखाले देख्न नसक्ने भाइरसले सिङ्गो मानव संसारलाई तहसनहस बनाइरहेको छ । कोभिड–१९ का प्राणघातक कीटाणुबाट लाखौ मानिसहरूको आप्mनो सुन्दर जीवन गुमाइसकेका छन् भने सङ्क्रमणको विश्वव्यापी गति ‘बुलेट ट्रेन’ कै गतिमा छ । जताततै यही त्रासदीका समाचार छन्, मिडियामा अर्काे समाचार नै छैन भन्दा फरक नपर्ला । चीन, इटली, अमेरिका, स्पेन जस्ता मुलुकमा ठूलो मानवीय क्षति भइसकेको छ भने संसारका दुई सयभन्दा बढी देशमा यसले थोरैधेरै संख्यामा मानिसहरूको प्राण लिइरहेको छ । विगतका महामारीहरूलाई पनि विश्वले सामना गरेकै हो, तर कोरोना महामारी विगतका भन्दा फरक स्वरूपमा र तीव्र गतिमा विश्वभरि फैलिएको हुनाले यो बढी चुनौतीपूर्ण बनिरहेको छ । आज पृथ्वीमा सायद त्यस्तो भूगोल छैन, जहाँ कोरोनाका घातक भाइरसहरू प्रवेश नगरेका हुन् । दम, सुगर, प्रेसर, कोल्स्टोर लगायतका दीर्घ रोगीहरू र अझ वृद्धवृद्धाहरूका लागि यो अझ भयानक त्रासदी बनेर उपस्थित भएको छ । यतिबेला सर्वत्र पीडा छ, मृत्युको सनसनी छ, विश्वका हजारौ मानिसहरू दैनिक रूपमा कोरोनाका कीटाणुसँग जीवन मरणको लडाइँ लडिरहेका छन् । त्यस्तो रोग जसको हालसम्म विश्वासिलो कुनै उपचार छैन, कुनै औषधि छैन ।
मानव सभ्यताले इतिहासमै नभोगेको कहर भोगिरहेको छ । विश्व पूँजीवादको केन्द्र अमेरिकादेखि उदार प्रजातन्त्रको केन्द्र बेलायतसम्म, युरोपदेखि एसियासम्म कोरोनाको विश्व भ्रमणको यात्रा कतै रोकिएको छैन । चीनजस्तो विज्ञान प्रविधिमा अभूतपूर्व विकास गरिरहेको देशलाई पनि यसले थला पार्‍यो । काला–गोरा, चिसा–ताता, विकसित–अविकसित कोरोनाले कसैलाई भेद गरेको छैन । दोस्रो विश्वयुद्धपछि विश्व राजनीति र अर्थतन्त्रको मसिहा अमेरिकाका शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्प समेत हायलकायल भएको, इटली र स्पेन जस्ता उत्कृष्ट उपचार प्रणालीको विकास गरिरहेका देशहरूका सरकार प्रमुख समेत सार्वजनिक मिडियामा निरीह भएर करुण क्रन्दन गरिरहेको दृश्य देख्नुपर्ला भनेर आजको मान्छेले सायदै कल्पना गरेको थियो होला ।
कोरोना वा कोभिड–१९ ले विकास र प्रगतिमा लम्किरहेको वैश्विक यात्रामा जति पीडा दिइरहेको छ, त्यति नै यसले मानव प्रगतिका नयाँ क्षीतिजहरू उघारिरहेको पनि छ । आजसम्म हजारौं वर्षको मानव विकास, विज्ञान र प्रविधिका उपलब्धिहरूका सम्बन्धमा गम्भीर प्रश्नचिह्न उठाउँदै यसले रुसोको ‘ब्याक टु नेचर’ लाई सम्झाइदिएको छ । मानव विकास र प्रगतिको यात्रा ठीक ठाउँबाट भइरहेको छ ? विज्ञान र प्रविधिको नाममा मान्छेले हासिल गरेको भनिएको उपलब्धि ठीक हो ? मान्छेले जेलाई विकास भनिरहेको छ, त्यो विकास हो कि विनाश हो ? आज मान्छेले अबलम्बन गरिरहेको जीवनशैली प्रकृतिमैत्री छ ? यावत् प्रश्नहरूको उठाउँदै कोरोनाको विश्व भ्रमण रकेट गतिमा चलिरहेको छ ।
मान्छेले विज्ञानको नाममा प्रकृतिमाथि निरन्तर हस्तक्षेप गरिरह्यो । अन्य जीवजन्तु, वनस्पति जस्तै मान्छे पनि प्रकृतिको एउटा अङ्ग हो भन्ने कुरालाई कथित सभ्य मान्छेले बिर्सिदै गयो । वनजङ्गल विनास गरेर प्रकृति खल्बलायो । जमिनलाई ‘तेरो र मेरो’ भनेर भागबण्डा लगायो । जमिनमुनिका खानीहरू उत्खनन् गर्‍यो । उद्योग कलकारखानाहरूको धुँवाका कारण ओजन तह विनास ग¥यो । यातायातका साधनहरूको विकास गर्दै गर्दा त्यसबाट उत्पन्न हुने पर्यावरणीय दुष्परिणामका बारेमा मान्छेले सोचेन । वन्यजन्तुहरूको चोरी शिकारी गरेर धन आर्जन गर्‍यो । चीलहरू घटे, बाघहरू सिध्यिए, उल्लुहरु समाप्त भए । समग्र ‘इको सिस्टम’ को च्यानल असन्तुलित बन्दै गएको पत्तै पाएन । ऋतुहरू असन्तुलित हुँदा जाडोमा जाडो नहुने, गर्मीमा गर्मी नहुने अवस्था देखाप¥यो । विश्वव्यापी उष्णता बढ्दै गयो । सेता हिमालहरूमा हिउँ सिध्इिएर ती काला पहाडमा परिणत भए । जल प्रदुषण, वायु प्रदुषण, जमिन प्रदुषण निकै बढेको तथ्यलाई विकसित मान्छेले वास्ता गरेन । तीव्र जनसंख्या वृद्धि, बढ्दो सहरीकरण, ऊर्जाको निरन्तर दोहनका कारण प्रकृति निरन्तर असन्तुलित भइरह्यो । संसारमा शुद्ध र पवित्र मानिएका ठूला ठूला नदीहरू केही दशकमै फोहोर बगाउने नदीमा परिणत भए । अप्राकृतिक तरिकाले खेती गर्ने प्रवृत्ति बढेका कारण जमिनको उत्पादकत्व घटेर गयो । अन्न, फलफुल उत्पादन गर्ने क्रममा विषादीको अत्यधिक उपयोग गर्ने प्रणाली विकसित बन्दै गयो । जैविक विविधतालाई समाप्त पार्ने काममा मान्छे कस्सिएरै लाग्यो । आजका मान्छेको खानपानमा अर्गानिक वस्तुहरुको प्रयोग कमै मात्र हुन्छ । खानपान र जीवनशैलीमा कथित सभ्य र आधुनिक मानव निरन्तर चुकिरह्यो । ‘जङ्क फुड’ को निरन्तर बढ्दो प्रयोगले मानिसको रोग प्रतिरोधी क्षमता कमजोर बन्दै गयो, फलस्वरूप विभिन्न समयमा देखिने भाइरसले आधुनिक मान्छेलाई सजिलै आफ्नो फन्दामा पार्न सफल भइरह्यो ।

आफूलाई सुकिलो मुकिलो र ‘सुटेड बुटेड’ ठान्ने कथित अत्याधुनिक मान्छेका लागि कोरोना महामारी प्रकृतिको केवल एउटा चेतावनी मात्र हो । कोरोना कहरपछि बाँचेकाहरूले आजसम्मको ज्ञान विज्ञानको मुल यात्रामाथि प्रश्न उठाउँदै मानवतालाई केन्द्रमा राख्ने खालका ज्ञानका नयाँनयाँ क्षीतिजहरू उघार्नुपर्नेछ ।

मानिसले पैसा र धनदौलतलाई सबैथोक मान्ने उपभोगतावादी संस्कृति निर्माण गर्‍यो । पैसा र भौतिक विकासलाई सबथोक मान्दै जाँदा मान्छेभित्र प्राकृतिक मानवमा हुनुपर्ने गुणहरू हराउँदै गए । मान्छे स्वार्थी बन्दै गयो । मानवता विलुप्त बन्दै गयो । मान्छेले आफ्नो मूल स्वरूप प्रकृति हो भन्ने कुरा बिर्सियो । मान्छेले पद, प्रतिष्ठा, इज्जतका नक्कली सम्बन्धहरू स्थापित गर्दै टाइसुटको यन्त्रमानवमा आफूलाई रुपान्तरण ग¥यो ।
कोरोना भाइरसपछिको संसार कस्तो होला भन्ने सम्बन्धमा विभिन्न कोणबाट छलफल विमर्शहरू हुँदै जालान् । ज्ञान विज्ञान, दर्शन र चिन्तनका क्षेत्रमा अनुमान र आँकलनका प्रयासहरु भइ नै रहेका छन् र आगामी दिनमा यस्ता बहसहरु अझै घनीभूत रूपमा हुँदै जालान् । कोरोना रोकथामका लागि भइरहेका ‘लक डाउन’ ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’का अभ्यासहरूबाट मान्छेको जीवन पद्धतिमा केही परिवर्तन पनि आउने नै छ । संसारको पूँजीको ठूलो हिस्सा हतियारमा खर्च गर्ने, बम बारुद र मिसाइलमा विश्वास गर्ने, राष्ट्रियता र सीमाका कृत्रिम घेराहरू खडा गरेर आफूलाई सुरक्षित ठान्ने, मानवतामा भन्दा भौतिकतामा गर्व गर्ने, भोग्य संस्कृतिमा रमाउने, मानिसलाई पनि वस्तुकरण (कमोडिफिकेसन) गर्ने जुन शैली मानिसले विकास गरिरहेको छ, त्यहीभित्र समस्याको चुरो छ भनेर सोच्ने बेला आइसकेको छ । मानव उपचारका क्षेत्रमा भन्दा हतियार र बममा बढी लगानी गर्ने परिणामका जगमा कोरोनाको सफलता छिपेको छ । भुकम्पका बेलामा डराएको मान्छे भुकम्पको केही समयपछि अग्ला गगनचुम्बी काल पर्खाल खडा गरेर धनी र सवृद्ध भएको गर्व गरिरहेको दृश्य देखिरहँदा कोरोनाको चेतावनीलाई मानिसले गहिरोसँग मनन गर्ला कि नगर्ला भन्ने प्रश्न उब्जिने नै भयो । आफैले बनाएका संरचनाले आफैलाई मार्दा पनि नचेत्नेहरूले कोरोना कहरको सन्देश बुझ्लान् भनेर विश्वास गर्न सकिँदैन । आफूलाई सुकिलो मुकिलो र ‘सुटेड बुटेड’ ठान्ने कथित अत्याधुनिक मान्छेका लागि कोरोना महामारी प्रकृतिको केवल एउटा चेतावनी मात्र हो । कोरोना कहरपछि बाँचेकाहरूले आजसम्मको ज्ञान विज्ञानको मुल यात्रामाथि प्रश्न उठाउँदै मानवतालाई केन्द्रमा राख्ने खालका ज्ञानका नयाँनयाँ क्षीतिजहरू उघार्नुपर्नेछ । वैश्विक मान्छेले आफूले हिँडिरहेको बाटो ठीक नभएको चेत पाउँदामात्र कोरोनाहरूमाथि मानव विजयको यात्रा सुनिश्चित हुनेछ अन्यथा फेरि पनि यस्ता महामारीको सामना गर्नका लागि तयार भएर बस्नुको विकल्प हुने छैन । भौतिक विकास र पूँजीवादी संस्कृतिलाई अत्यधिक जोड दिने समग्र प्रणालीको निर्मम समीक्षा गर्दै विकासको केन्द्रमा ‘प्राकृतिक मान्छे’ लाई राख्ने प्रणालीको खोज अबको सबैभन्दा उत्तम बाटो हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • अर्घौं–कालिका मन्दिर दिगो संरक्षण र व्यवस्थापन

      Avatar सूर्यप्रसाद भण्डारी चैत्र २३, २०७७
      गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालीका वडा नं. २८ मा अवस्थित कालिका मन्दिर क्षेत्रले समेटेको ऐतिहासिक महत्वको पोखरीसमेतको संरक्षण गरी…
    • सहकारीलाई र छायाँ बैकिंङ

      कृष्णमणि भुर्त्याल कृष्णमणि भुर्त्याल चैत्र २१, २०७७
      ‘बैंक’ भन्नाले रुपैयाँ पैसा जम्मा गर्ने, मागेको बेला भुक्तानी र सापटी दिने सरकारी वा गैह्र सरकारी संस्था बुझिन्छ । यही…
    • मैले देखेको फल्याङकोट

      क्या. हर्कबहादुर गोदार क्या. हर्कबहादुर गोदार चैत्र १४, २०७७
      फल्याङकोट कास्कीकोट राज्य अथवा २४ राज्यको १ किल्ला (फौजी पोस्ट) भएको इतिहास बताउँछ । यो सन् १७०० वा विसं १७५६…
    • पोखरामा नगर प्रहरीको नालीबेली

      वसन्तप्रसाद चालिसे वसन्तप्रसाद चालिसे चैत्र १३, २०७७
      वर्तमान अवस्थाका स्थानीय तह पूर्वीय दर्शनको युनानी राज्यको परिकल्पनाबाट विस्तार हुँदै आएको हो । नेपालको सन्दर्भमा स्थानीय तह जनताको सबैभन्दा…
    • न्याय मरेको समाज

      इन्दु सुवेदी पौडेल इन्दु सुवेदी पौडेल चैत्र १०, २०७७
      गाउँको बीचमा एउटा घर । घरबाट तल हेर्दा फेवाताल सुतिरहेको दृष्य । माथि फर्केर हेर्दा माछापुच्छ्रेले आशीर्वाद दिइरहे जस्तो लाग्ने…

    hero news full width