किन छोरा चाहन्छन् आमाहरू ?

आदर्श समाज सम्वाददाता
चैत्र ३, २०७१

पछिल्लो क्रममा छोरीमाथि बढेको हत्या, हिंसा र बलात्कारसम्बन्धी समाचार पढिरहँदा र सुनिरहँदा भर्खर विवाहित एक महिलाले भनेको कुरा स्मरण भयो। ‘छोरी जन्माएपछि सधैभरिको पीर-चिन्ता। कहिले दाइजोको निहुँमा मारिन्छे छोरी, कहिले बलात्कारको शिकार बन्छे छोरी, कहिले बोक्सी आरोपमा कुटिन्छे त, कहिले छोरा नपाएको झोकमा बलीको बोको हुन पुग्छे छोरी। अनि किन जन्माउनु पर्‍यो छोरी ? छोरी नै नपाए बेश। त्यही भएर हो आजकल छोरी जन्माउन नचाहने।’

उनको आँखाले जे देख्यो, दिमागले जे सोच्न सक्यो उनले त्यही भनिन्। उनले गलत भनिन् या सही भनिन् त्यो बहसको विषय बन्ला। तर, पछिल्लो क्रममा बढ्दै गएका  महिला हिंसाका घटनाले आमाहरूलाई मानसिक रुपमै असर पारेको छ। जसले गर्दा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा छोराको चाहना गर्नेहरू बढ्न थालेका छन्। दिन-प्रतिदिन असुरक्षित बन्दै गएका छोरीहरूको वेदनाले आमाको मनमा पक्कै पनि छटपटी चलेको हुनुपर्छ, अनि मनमा यस्ता अनेक तर्कना आएको हुनु पर्छ। आमाको मनमा यस्तै कुरामात्रै आइरहन थाल्यो र छोरीका लागि समाज सुरक्षित भएन भने भोलिका दिनमा सुन्दर समाजको परिकल्पना गर्न मुश्किल पर्छ। सृष्टिको यो चक्रलाई निरन्तरता दिन आमाको महत्वपूर्ण भूमिका रहेको कहिँ, कतैबाट छिप्न सक्दैन तर आमालाई नै छोरी नजन्माउन विवश पार्ने यो समाज सधै महिलालाई नै कलंकित पार्ने धुनमा छ। महिलाले लगाएको पोशाकलाई कारक तत्व देखाएर उम्किने खोज्ने यो ‘पुरुषवादी सोच’को झुण्डबाट कस्तो न्यायको अपेक्षा गर्नु –

अहिले समाजमा सामाजिक संरचनाका कुरा गरिरहँदा कुल धान्ने, वंश धान्ने, काजकिरिया गर्नका लागि छोरा चाहनेहरू भन्दा पनि दिन-प्रतिदिन छोरी-बुहारीमाथि बढेको हत्या, हिंसाको वर्वरताले विक्षिप्त बनेकाहरू छोरी नजन्माउन चाहन्छन्। अधिकांश महिलासँग आत्मिक रुपमा नजिक भएर सोध्ने हो भने महिलामाथि हुने हिंसाका कारण छोरीको भविष्य ग्यारेन्टी हुन नसकेको देख्दा छोराको चाहना गर्नेहरू भेटिन थालेका छन्।

यहाँनिेर प्रश्न उठ्न सक्छ, त्यही  छोरीलाई बर्बाद गर्न खोज्ने, यातना दिने छोराहरू जन्माउने चाहना फेरि आमाहमा किन बढेकेा होला ?  यस्को उत्तर पनि सजिलो नै छ किनकी चोर, डाँका, फटाहा, बलात्कारी, भ्रष्टचारी, व्यभिचारी, दुर्व्यसनी जेसुकै होस् छोरा मर्द हो। हाम्रो समाजमा त्यसैले उसलाई छुट छ। कानुन  पीडकमुखी छ सबै कुराबाट मुक्ति मिल्छ। समाजमा उसको इज्जत घट्दैन। तर छोरी आफ्नै घर, परिवार र समाज आफन्तै भन्नेहरूबाट लुटिन्छे, कुटिन्छे, बेचिन्छे अनि सामाजिक बहिष्कारको अदृश्ष्य पाटोबाट कलंकित बनेर मृत्युवरण गर्न पुग्छे। तर उमाथि न्यायिक दृष्टिले हेर्न सक्दैन हाम्रो समाजले।

आँखा वरिपरि देखिने छोरीमाथिको यो पीडादायी दृश्यले छोरी जन्माउन चाहने आमालाई त्रसित पारेको छ। जन्म दिनेआमालाई थाहा हुन्छ, छोरीको पीडा उसले महसुस गर्न सक्छे त्यसैले आमाले छोरीलाई पीडा मुक्त गराउन चाहन्छे। शब्दमा व्यक्त गर्न नसकिने हृदय विदारक दृश्यले आहत बनेका आमाहरू छोरीको रक्षाका लागि चिच्चाउँदा-चिच्चाउँदै घाँटी सुकाइसकेका छन् तर उनीहरूको चिच्याहट कसैले सुन्नेवाला छैन। समाजका गन्य-मान्य र प्रतिष्ठित व्यक्तिबाटै सुरक्षित हुन सकेका छैनन् आजकल छोरीहरू। कुनै न कुनै तवरबाट शिक्षित-अशिक्षित, बौद्धिक सबै महिला हिंसाको चपेटामा परेका छन्। केही देखिएका छन्, तर देखिएका भन्दा दोब्बर दविएका छन्।

अहिले समाजमा केही परिवर्तन त भएका छन् तर यी परिवर्तनले महिलालार्ई छुन सकेको पाइदैन। महिला अधिकारको लडाइमा केही अग्रपंक्तिमा देखिए पनि प्राप्तिमा कमजोर बन्दै गइरहेको कुरा दिनहुँ हुने हत्या हिंसाले देखाइरहेको छ। एकैचोटि टप लेभलको कुरा गर्ने तर तल्लो तहमा भएका समस्यातिर नफिर्कने परिपाटीले पनि समस्या समाधान हुन सकेको छैन।

आजकल समाजमा नैतिक मूल्य र मान्यता हराउँदै गएको छ। नैतिकताविहिन समाजमा नैतिकताको विजारोपण गरेर सुसभ्य समाजको परिकल्पना गर्नतर्फ कसैको ध्यान जानसकेको छैन। बढ्दो अपराधको न्यूनिकरणको मूलसम्म कोही पुग्न चाहँदैनन्। फगत छोरी, बुहारीको पहिरनको वरिपरि घुमेर थुप्रै लाञ्छना लगाउन निकै माहिर छ यो समाज। यतिका विरोध भइरहँदा, यतिका आवाज उठिरहँदा पनि छोरीको अस्तित्व रक्षाका लागि बोल्न सक्दैन यो समाज। यी सारा दृश्य देखिरहेकी र भोगिरहेका आमाहरूले किन छोरी जन्माउने चाहना राखुन् ? हाम्रो संस्कृति, सामाजिक परिवेश, फितलो कानुन, परनिर्भता जस्ता कुराले कहिले छोड्छ महिलालाई लखेट्न? पितृसत्ता, पुरातन सोच, सामाजिक संरचनाको वरीपरिमात्रै घुमिरहेको महिला आन्दोलनले कहिले गति लेला ? अधिकार सम्पन्न स्वतन्त्र अस्तित्व भएका नागरिकको दर्जा पाउन महिलाले कस्तो आन्दोलन गर्नु पर्ने हो अझै ? कति दिन नेपाल बन्द गर्नु पर्छ ? कति टायर बालेर तोडफोडमा उत्रनु पर्ने हो ? जति नै विरोध गरे पनि न त महिलामाथिको हिंसा रोकिएको छ न घटेको नै छ। नजन्मिदै सुरु हुने विभेदको अन्त्य अब कहिले र कोबाट हुन्छ ?

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width