कास्कीको लाहाचोकमा भूकम्पको पीडा

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७२

२०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पमा परी देशभर ठूलो जनधनको क्षति भयो। गोरखाको वारपाक केन्द्रविन्दु भएर आएको उक्त भूकम्पले गोरखा, सिन्धुपाल्चोक, रसुवा, काभ्रे, काठमाडौलगायतका १४ जिल्लामा ठूलो क्षति पुर्‍यायो भने बाँकी जिल्लाहरुमा जनधनको क्षति कम भए पनि घरहरुमा ठूलो क्षति पुर्‍यायो।

विभिन्न जिल्लामा हालसम्म ८६५० जनाको मृत्यु भएको मध्ये कास्की जिल्लामा १२ गतेको भूकम्पमा परी २ जनाको ज्यान गयो भने केही मानिसहरु घाइते भएको अवस्थामा रहेको थियो भने यहाँका विभिन्न गाविसहरुमा अधिकांश घरहरुमा ठूलो क्षति पुगेको थियो। २ नगरपालिकासहित ३३ गाविसमध्ये ल्वाङघलेल, रिभान, लाहाचोक, ढिकुरपोखरी, धम्पुस, कास्कीकोट, सल्यान, लुम्ले, चापाकोट, भदौरेतामागी, सार्दीखोला, पुरञ्चौर, थुम्की, रुपाकोट, सैमराङ, हंशपुरलगायतका गाविसहरुमा नयाँ तथा पुराना घर, गोठ तथा धनसारहरु भत्किएको, चर्किएको, कतिपय घरहरु सामान्य मर्मतपछि बस्न हुने पनि छन् भने कतिपय घर मर्मत गरेर पनि बस्न नसकिने र मर्मत गर्नु र नयाँ निर्माण गर्नुको खर्च उत्तिकै लाग्ने अवस्थामा छन्।

सुशासनका लागि नागरिकसमाज कास्कीको तर्फबाट हामी लाहाचोक गाविसअन्तर्गतका विभिन्न वडाहरुको अनुगमनमा पुगेका थियौ। त्यसक्रममा बैशाख १२ र २९ गतेको भूकम्पबाट प्रभावित घर परिवारको अवस्था बारेको एक अध्ययन रिपोर्ट यहाँ प्रस्तुत गरिएको छ :

लाहाचोक कृषि उत्पादन एवं व्यवसायका लागि जिल्लाकै नमुना गाउँ पनि हो। जहाँ व्यवसायिक भैसीपालन, गाई तथा बाख्रा, कुखुरा, तरकारी उत्पादनका लागि चर्चामा छ। यस गाउँको कुल जनसंख्या ४३०५ छ भने जम्मा घरधुरी संख्या ७९० रहेको लाहाचोक गाविसमा गत बैशाख १२ गतेको भूकम्पबाट १२५ घरहरु प्रभावित भएको गाविस सचिव बोधराज सापकोटाले बताए। यसमध्ये केही रेर्कर्ड गरिएका २७ घरहरुमा ठूलो क्षति पुगेको कारण सामान्य मर्मत गरेर पनि बस्न नमिल्ने अवस्था रहेको छ।  गाविससचिव सापकोटाका अनुसार अधिकांश घरहरु १२ गतेको भूकम्पबाट हल्लिएका चर्किएकामा पुनः बैशाख २९ गतेको भूकम्पबाट थप क्षत्रि्रस्त भएका रहेछन् तर गाविसले २९ गतेको रेर्र्डक तयार गरिसकेको छैन। तयारी बैशाख १२ गतेको भूकम्पले हल्लाएका घरहरु २९ गते पछि क्षत्रि्रस्त भएकोले २७ वटा घर पूर्णरुपमा क्षति पुगेको जोखिमयुक्त ३७ घर तथा ९८ वटा घरहरु भित्र बाहिर चर्किएको भन्ने रेर्कर्ड गरिएको छ। तर २९ गते पश्चात क्षति भएका घरको अझै तथ्यांक आइ नसकेको सचिव सापकोटाले बताए। क्षत्रि्रस्त घरहरुमा मानिसहरु बडो दुःखका साथ घरभित्रै बसीरहेका छन्। राहतका लागि दिइएका त्रिपालले भत्केका घरलाई छोपेका छन्, कतिपय घरहरु आफ्नै तवरबाट मर्मत तथा पुनःनिर्माण गर्न लागेका छन्। गाउँलेहरुलाई यतिबेला खेतीपातीको कामले चापेको छ। काम गर्ने मान्छे पाइँदैनन्। दिनदिनै पानी परिरहेको छ। हावाहुरी त्यस्तै छ। तै पनि ती भत्केका चर्केका घरमा बसिरहनुको विकल्प छैन। राहत स्वरुप दिइएका त्रिपालहरु छोटा, साना छन्। जसले गर्दा छुट्टै ठाउँमा पाल लगाएर बस्ने अवस्था पनि छैन। भैसी, गाईबस्तुलाई खुला ठाउँमा सारेर, भैसी गाई बाँध्ने गोठहरुमा कतिपय परिवार रातको समयमा सुत्ने गरेका छन्  भने भित्रको अन्नपात लिन जान समेत खतरायुक्त देखिन्छ।

राहत स्वरुप वितरण गरिएका त्रिपाल तथा खाद्यान्न लाहाचोकमा विभिन्न संघसंस्था, रेडक्रस तथा जिल्ला दैवी प्रकोप उद्दार समितिबाट वितरण भएको रहेछ। जसमा त्रिपालहरु अस्थायी घर बनाएर सुरक्षित बसोबास गर्नका लागि दिइएका थिए तर त्रिपालहरुको साइज सानो भएकोले पीडितले चित्रा, भकारी र प्लाष्टिकका अस्थायी घर बनाएर बसेका छन् भने राहतस्वरुप पाएका त्रिपालले भत्केका घरको गारो छोप्ने गरिएको र घरको मर्मत गर्नका लागि जिल्ला दैवी प्रकोप उद्दार समिति कास्कीद्धारा प्रदान गरिएको राहत रकमबाट सामान्य मर्मत गर्ने काम सुरु गरिएको छ। अधिकांश घरहरु भत्केका छन्। भित्र र बाहिर चर्केका घरहरु त्यत्तिकै छन्। घर कोल्टिएका गारोहरु भित्र पसेका, बाहिर निस्केका, अत्यन्तै खतरायुक्त अवस्थामा देखिन्छन्। तापनि घरभित्रै बस्ने गरिएको अवस्था लाहाचोकमा देखियो। कम्पयुनिटी सपोर्ट ग्रुप पोखरा, भिजन पोखरा, स्वाभलम्बन विकास पद्दति नेपाल, लायन्स क्लब अफ अन्नपूर्णले राहतका खाद्य सामग्रीहरु वितरण गरेको पाइयो। जब कि त्यहाँका भत्केका र चर्केका घरहरु धेरै भए पनि घरभित्रको अन्नपात सबै सुरक्षित नै छ। लाहाचोकमा राहतको आवश्यकता थिएन तर गाविसको समन्वय समेत नगरी आफूखुसी खाद्यान्न, लत्ताकपडा र नगद वितरण गर्ने काम भएको रहेछ। गाउँलेहरुले हामीलाई यो खाद्यान्नभन्दा बरु त्रिपाल दिए हुन्छ भन्दा राहत लिएर जानेहरुसँग त्रिपाल नभएकोले रेडक्रसमा सर्म्पर्क गरी गाविस मार्फत केही त्रिपाल वितरण गरिएको र ती त्रिपालहरु भत्केका घर छोप्ने काम भएको देखियो। जसले गर्दा पीडितहरुको भनाइमा राहत सामग्री हामीलाई चाहिदैन, हाम्रो घरमा बस्न मिल्छ कि मिल्दैन जाँच गरिदिए हुन्छ भन्ने गाउँलेहरुको गुनासोप्रति सम्बन्धित निकायको ध्यान पुगेको देखिएन। जोखिमयुक्त घरहरुमा बस्नुको विकल्पतर्फ पनि खासै चासो देखिदैन। समयमा नै नसोच्ने हो भने तल उल्लेखित व्यक्तिका घरहरुबाट थप क्षति हुन सक्ने खतरालाई कसैले रोकेर रोक्न सक्ने अवस्था छैन। नन्दलाल अधिकारी जसको घर पूरै भत्किएकोले चित्रा र भकारीले बनाएको गोठमा बस्ने गरेको अवस्था छ। राहतका लागि दिइएको त्रिपाल छोटो र सानो भएकोले कुनै उपयोगमा आएन, उनको गुनासो छ। अहिले उनी घर भत्काएर बनाउँदै लागेका छन्। यतिबेला उनका लागि त्रिपाल होइन थोरै भए पनि जस्ता पाता दिन सक्ने हो भने पीडित अधिकारीका लागि ठूलो सहयोग पुग्ने थियो। यस्तै कृष्णप्रसाद सेर्ढाई, लोकनाथ पौडेल, केदार पौडेलको अवस्था पनि त्यस्तै छ भने गणेश पौडेल र एकनाथ पौडेलको संयुक्त घर भित्र बाहिर चर्केको र ढल्केको छ हेर्दा निक्कै डर लाग्छ। तैपनि घरभित्रै बसिरहेको अवस्था छ। वडा नं. ९ का डम्बरराज पौडेलको घर बाहिर हेर्दा खासै क्षति भएको देखिदैन। तर घरभित्रको गारोहरु चर्केको अवस्थालाई हेर्दा खतरामुक्त भन्न सकिदैन। पुतली गारो र धनसार भान्सा कोठा भत्केका घरहरु धेरै देखिन्छ्न। चर्केका र ढल्केका पनि त्यत्तिकै छन्। तर पनि घरमा बस्नुको विकल्प नहुँदा जोखिम मोलेरै भए पनि दैनिकी चलाउन गाउँलेहरु बाध्य भएको अवस्था छ भने कतिपय घरहरु खाली छाडिएका कारण भत्केका छन्। जुन घरका मानिसहरु पोखरा, काठमाडौ र चितवनमा बसाइ सरेका र ती घरलाई पूर्ण क्षति बनाएर राहत दिने अवस्था पनि रहेछ। अब गाउँमा बसिरहेका र नबसेका घरहरुलाई दिइने राहत तथा आर्थिक अनुदानमा यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने देखिन्छ।

अन्त्यमा, ७९० घरधुरी रहेको लाहाचोकमा बैशाख १२ गतेको भूकम्पबाट १२५ र बैशाख २९ को भूकम्पबाट ५४ गरी जम्मा १७९ घरहरुमा पूर्ण तथा आंशिक क्षति पुगेको अवस्था रहेको छ। पूर्ण क्षत्रि्रस्त भनिएका २७ घरहरु पुनःमूल्यांकन गरिनुपर्ने देखिन्छ किनकि गाविस सचिव बोधराज सापकोटाले भने भूमिगत जंगल पार्टीनामक संस्थाबाट गाविस कार्यालय नै बन्द गर्नुपर्ने र राहतका लागि रेर्कर्ड गरिएका घरहरुबाहेक सामान्य क्षति भएका समेतलाई पूर्णक्षति भएको लिष्टमा राखिनुपने र यसो नगरेमा गाविस कार्यालय बन्द गर्नूपर्ने गाविस कार्यालय बन्द नगरेमा रातको समयमा हत्या गरिदिने भन्ने लिखत पत्र दिएर धम्क्याउने कार्य समेत भएको रहेछ। यसले गर्दा वास्तविक तथा पूर्ण क्षति भएका र आंशिक क्षति भएका पिडितहरुलाई तथा राहत वितरणमा दवाव सिर्जना गर्ने दल निकट व्यक्ति भुमिगत भनिने पार्टीा केही व्यक्तिहरुले राज्यले दिएको राहत हो सबैलाई बाँडिनुपर्छ भन्ने जस्तो दबाब सिर्जना गर्ने गरेको समेत पाइयो।२३ वर्ष निजामति सेवामा काम गरी अनुभव सँगोलका सापकोटा यस्ता धम्कीका भाषाप्रति सचेत भएर सत्य र तथ्ययुक्त विवरण तयार गर्न आफै पनि स्थलगत अनुगमनमा लागेर तयार गरेको रेर्कर्ड हो। यो जुन रेर्कर्डमा बैशाख २९ गतेको भूकम्पको क्षति विवरण थप हुन सक्ने उनी बताउँछन्। ७ वटा राजनीतिक दल रहेको लाहाचोक गाविसमा दलहरुको कुनै सहयोग नपाएको बरु उल्टै भूमिगत जंगल पाटीका धम्की पूर्ण पत्रले मलाई यथार्थता पुग्न हौसला मिलेको उनको भनाइ रहेको पाइयो।

सुसासनका लागि नागरिक समाज कास्कीका तर्फबाट विष्णु अधिकारी,विष्णु पौडेल सहभागि रहेको अनुगमन टोलीमा लाहाचोक गाविस सचिब बोधराज सापकोटा र लाहाचोकका समाजसेवी गीरीराज पौडेलले अनुगमनलाई सहयोग गर्नुभएको थियो।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width