काठमाडौँमा महाभूकम्पको कम्पन

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७२

२०७२ बैशाख १२ गते, शनिवार :

यो साता दुर्इ दिन विदा थियो। महाभूकम्प गएको दिन शनिवार धैरै समय भएको थियो मन्दिर नगएको, बगलामुखी जाने इच्छाले करिव दिनको १०:३० बजे घरबाट हिँडे। धुप बत्ती पनि लगेको थिएँ। टेकु पुगेपछि साथीलाई पनि लिएर जाउँ जस्तो लागेपछि उहाँको डेरा बानेश्वरतर्फ लागेँ। त्यहाँ खानपिनको सुरसार चल्दै रहेछ। मन्दिर जाउँ केही भनिनँ। बिहानको खाना खाँदै थियौं अचानक चर्को आवाज सहितको ठूलो कम्पन आयो। भूकम्प आएकोमा शंकै भएन। यति ठूलो भूकम्प आयो कि ढोका खोलेर बाहिर जाने मौकै भएन। बाहिर गइहाल्यो भने पनि घरै घर भत्केर च्यापिएला भन्ने डर थियो। सबैजना कोठाको कुनामा चेपिएर बस्यौं। यति ठूलो र यति लामो समयको भूकम्प कहिल्यै महसुस गरिएको थिएन। लगातारको चर्को आवाज सहितको ठूलो कम्पन लामो समय चल्यो। मत्थर भएपछि होहल्ला शुरु भयो। म रहेको ठाउँ वरपरका घरहरू सामान्य चर्के पनि मानवीय क्षति भएको थिएन। पटक पटक भूकम्पका झट्काहरू गइरहेकोले सुरक्षित स्थानको अभाव देखियो। घना आवादी जताततै घरै घर, नजिक वरपर कतै पनि सुरक्षित खुला ठाउँ नै नभएको। बाग्मती कोरीडोर वरपरको सुरक्षित स्थानमा पुगियो। भूकम्प लगत्तै सञ्चार सुविधामा अवरोध आएकोले सही समाचार पाउनै मुस्किल भयो। चारैतिर कोलाहल मात्र थियो।

२०७२ बैशाख १३ गते, आइतवार :

दिनभर जसो भूकम्पका झट्काहरू गइरह्यो। के कति क्षति भएको रहेछ हेरुँ भनेर शुरुमा धरहरा हेर्न गएँ। राजधानीको केन्द्रविन्दुमा रहेको धरहरा ढलेर ध्वस्त भएको रहेछ। त्यहाँ कुनै डोरीले छेकवार लगाइएको थिएन। जताततै धरहराको अवशेषहरू छरिएका थिए। उद्धारको केही काम शुरु भएको थिएन, जब कि त्यो समय भनेको भूकम्प गएको दिनको भोलिपल्टको मध्यान्न थियो। यत्तिका समयसम्म यति नजिकको स्थानमा उद्धारको काम नगरिनु अचम्म लाग्दो थियो। दुर्इ चार जना प्रहरी बाहेक अरू कोही थिएनन्। भित्रै गएर हेर्दा ठाउँ ठाउँमा झिंगाहरू भन्किरहेका थिए, चर्को गन्ध आइरहेको थियो।

मैले अनुमान लगाएँ देशको राजधानीको मुख्य केन्द्रमा त केही उद्धारको काम भएको छैन भने अरू क्षेत्रको हालत के होला – दरवार हाइस्कुल, ललितकला क्याम्पसमा धेरै क्षति भएको रहेछ। बसन्तपुर दरवार स्क्वायरमा जाने स्थिति रहेन।

राहत र आहतको विषय :

महाभूकम्पले बढी प्रभावित गरेको क्षेत्र मध्येको काठमाडौ उपत्यकाका जनतालाई खासै केही राहत छैन। कतिपय मानिसहरू खुला आकाशमै रात बिताउन बाध्य छन्। त्यसमाथि समय समयमा पर्ने गरेको वर्षाको कारणले कष्ट भएको छ। दिनरात आकाशमा राहत सामग्री ल्याएको भारतीय सेनाको जहाज देखिन्छ। सयौंको संख्यामा राहत सामग्री ल्याएका भारतीय ट्रक सडकमा देखिन्छन्।

यो देशमा जसलाई पर्‍यो पर्‍यो कसैले हेर्ने वाला छैन भन्ने भनाइ यो भूकम्पमा चरितार्थ भयो। राहत सामग्री आएको आएै छ तर पुग्नु पर्ने ठाउँमा पुगेकै छैन। टोल टोलमा क्लवका नाममा, विभिन्न समूहका नाममा पार्किङ शुल्क उठाउन पछि नपर्नेहरूले एउटा पाल टाँग्न पनि तत्परता नदेखाएको पनि देखियो।

चन्दाको चर्को खेल :

किन उठाउने चन्दा ? टेलिभिजन च्यानल, पत्रिका, रेडियो, क्लव, संस्था जसले पनि यो भूकम्पका नाममा चन्दा उठाउने ? यही हो मौका भन्ने ? अरबौंका विदेशी सहयोग आइसक्दा पनि जनताले राहत पाएका छैनन्। भारतीय सैनिक, चिनियाँहरूबाट व्यापक उद्धारको काम भएको छ। नेपालको सरकारबाट हुनुपर्ने काम भारतीय सरकारबाट भएकोमा तारिफ भएको छ। हिसाव न कितावको चन्दा उठाउने ? प्रभावित क्षेत्रमा सरकार पुग्न सकेको छैन। प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न सकिंदैन भने किन मनपरी चन्दा उठाउने ?

कसै कसैलाई यो महाभूकम्प महा मौका भएको छ। आफैले नसके अरुलाई गुहार्ने हो। आफै केही नगर्ने शुरुमै अरुलाई गुहार्ने ? सरकारबाट गर्न सकिने जति राहतको काम पनि भएको छैन। भूकम्पको नाममा जसलाई पायो त्यसलाई चन्दा उठाउन दिन हुन्छ ? विदेशबाट पठाइदिएको ब्राण्डेड ब्राण्डेड राहत सामग्री पीडितले पाएका छैनन्। गाउँ गाउँमा सरकारी टोली पुग्न सकेको छैन, मात्र चन्दा उठाउन बल गरेेर हुन्छ –

पुवानुमान र परिणाम :

भूकम्पीय अति जोखिममा रहेको हाम्रो देशमा ठूलो भूकम्प आउने निश्चित थियो। मात्र फासला समयको थियो। यसलाई महा भूकम्प भनिए पनि क्षतिको मात्रा अन्य देशमा भएको क्षतिको तुलनामा कमै भएको हो कि जस्तो लाग्छ। किनभने सडक, राजमार्ग त्यति सारो बिग्रिएको छैन। यातायात सुचारु छ, एअरपोर्टको धावनमार्ग पनि केही भएको छैन। विद्युतमा पनि धेरै क्षति भएको छैन। यदि यी सबैमा क्षति भएको भए के हुन्थ्थो होला –

भूकम्पीय उद्धारमा उद्धारकको संख्या जत्ति नै प्रविधिको पनि खाँचो हुने रहेछ। भग्नावशेषमा फँसेकाहरूको यकिन प्रविधिबाट हुने हो। त्यो प्रविधि भारतीय र चिनियाँ उद्धारक टोलीसित मात्र छ। डोजर, एक्साभेटरको संख्या पनि आवश्यकता भन्दा धेरै न्यून देखिन्छ।

अव के गर्ने ?

यो महाभूकम्पबाट प्रत्ययक नेपालीले केही सिक्नै पर्छ। जसका लागि :

१. विद्यालय तहबाटै भूकम्पबाट कसरी जोगिने भन्ने विषयमा अभ्यास सहितको पाठ्यक्रम अनिवार्य रुपमा राखिनु पर्दछ।

२. सैनिक शिक्षा : यो सैनिक शिक्षा भनेको लडाइ भिडन्त गर्ने खालको होइन। प्रत्येक नागरिकलाई नागरिकता दिनु अगावै अनिवार्य सैनिक शिक्षा दिइनु पर्दछ, जसमा प्राकृतिक प्रकोपबाट बच्ने उपाय, प्राथमिक उपचार, राहत उद्धार कसरी गर्ने – जस्ता विषय समावेश गरिनु पर्दछ।

अन्त्यमा, यो महाभूकम्पमा दिवंगत हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरूको श्रि्र सुस्वास्थ्यको कामना।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width