करिया, ‘सेतो फरिया’ र भरिया

मदन भण्डारी मदन भण्डारी
फागुन १०, २०७६

क्रान्तिकारी नेपालीले गणतन्त्र ल्याए । महान जनयुद्ध गर्ने माओवादी र संसदीय मोर्चाको ठूलो कम्युनिष्ट पार्र्टी एमाले एकीकृत भए । दुई तिहाइ बहुमतको सरकार बन्यो । जेठोबाठो नेपाली काङ्ग्रेसले ‘रचनात्मक प्रतिपक्षी बन्छौं’ भन्यो । मुलुक भ्रष्टचारले झनै आक्रान्त हुन थाल्यो । सपना तुहिन थाल्दा बाबा बस्नेतको मुटुमा सुइरो रोपियो, टाउकोमा चट्याङ् प¥यो । यसैले ०७५ पुसमा सेतो फरिया बजारमा आयो ।

आजको संसारमा, खास गरी यतिखेरको नेपाली धर्तीमा निरङ्कुशता झ्याँगिदैछ । यसका अनेक कारण होलान्; मुख्य कारण मातृसत्ताको धुलिसात हो । यो सत्यलाई बाबा बस्नेतले आफ्ना डेड दर्जन साहित्यिक कृतिमा कतै न कतै व्यक्त गर्दै आएकी थिइन् । पछिल्लो खण्डकाव्य सेतो फरिया चाहिँ यसको ठोस र मूर्तिकृत सबुत बनेको छ ।
‘मातृसत्ताको आँगन
चिराचिरा प¥यो जब
निरङ्कुशताको शिर
ठाडो हुँदै गयो तब’ (पृ.२)
घोत्ल्याउँछ । कृति अध्ययनको एक पाना फर्काउने वित्तिकै पाठकलाई घोत्लिन कर लाग्छ । सङ्गति खोज्ने अनेक मानिसहरू नेपालमा जन्मिए । योगमाया विशिष्ट चेतनाकी बिम्ब बनिन् । यस्ता केही उदाहरण छन् । यसो हँुदाहुँदै पनि हाम्रो समाज घोर विसङ्गत बन्यो । सङ्गति कतै भेटिँदैन । कवि किसान भन्थे–
‘जिन्दावादै कति भनिरहूँ ÷ दिक्क लाग्दो छ चाला
मूर्दाबादै पनि कति भनूँ ÷ सुक्छ जिब्रो र गाला !’
क्रान्तिकारी नेपालीले गणतन्त्र ल्याए । महान जनयुद्ध गर्ने माओवादी र संसदीय मोर्चाको ठूलो कम्युनिष्ट पार्र्टी एमाले एकीकृत भए । दुई तिहाइ बहुमतको सरकार बन्यो । जेठोबाठो नेपाली काङ्ग्रेसले ‘रचनात्मक प्रतिपक्षी बन्छौं’ भन्यो । मुलुक भ्रष्टचारले झनै आक्रान्त हुन थाल्यो । सपना तुहिन थाल्दा बाबा बस्नेतको मुटुमा सुइरो रोपियो, टाउकोमा चट्याङ् प¥यो । यसैले ०७५ पुसमा सेतो फरिया बजारमा आयो ।
विमल गौतम र विमला गौतम कताकति सुनिएकै नाम । नामभन्दा बढी स्वर सुनिएका मान्छे । क बाट कमल, ख खरायो सिकाउने । बालगीतका प्रिय गायक । प्रकाशकीय लेखेका छन् । ‘सेतो फरिया’का विशेषताबारे सङ्केत गरेका छन् ।
आमा सर्वाधिक लेखिने साहित्यको स्रोत हो । हिमनदीहरू सुक्लान्, आमाबाट सञ्चार हुने स्नेह सुक्दैन । कृति आमाप्रति समर्पित छ । समर्पणका थोरै शब्दमा एउटा ठूलो दर्शन प्रक्षेपण गरिएको छ । समर्पण पढेपछि कृति छिचोलेर पढ्ने जाँगर चल्छ ।
‘गुमाएर तिम्रो काख
हराएपछि सपनाहरू
रोपी तिम्रै प्रसववीज
विपनीबारीमा
म उमार्दैछु आमा !
तिमीलाई नै ।’
साहित्यको मनोरम जङ्गलमा अग्रजको औंलो नसमाती हिँड्न सकिन्नँ । कपाल फुल्न थालेकी बाबा काँस जस्तै फुलेकी कुन्ता शर्मालाई शायद सम्झिन्छिन् ।
‘भाले बास्नु पोथी बास्नु
कुरा यहीँ उठ्न थाले
पोथी बास्ने सामथ्र्यलाई
निमोठेर भुट्न थाले ! (ऐ.)
पछिल्लो समय विदेश भ्रमणको औसर जुटे पनि बाबा नेपालका गाउँपाखा चहारेर हुर्केकी हुन् । नापीका हाकिम आफ्ना बाबासँग बाबाले देश दर्शनको राम्रो मौका पाइन् । सपाट मैदान, रङ्गीन डाँडापाखा, भञ्ज्याङ र देउरालीका जनजीवन बाबाले सानैदेखि देखिन् । भ्रमण र अध्ययन बढ्दै गयो । ठाउँ–ठाउँका वरपीपल, चौतारी र तरुण तपसीका औतारीले मथिङ्गलमा प्रभाव जमायो ।
‘जति आओस् नियतिवश शीताऽऽतप हुरी
भयेँ त्यो हेलैले सब सहन सक्ने ननिहुरी !’
बाबा लेख्छिन् –
‘बर पीपल चौतारीका
सहन्छन् झरी हुरी
बटुवालाई बास दिई
देउराली कुरी कुरी’ (३)
समयले बाबालाई निर्जन देउराली कुरेर एक्लै बस्न बाध्य पा¥यो । तिनी दुई सन्तानलाई छहारी प्रदान गर्ने वर–पीपल भइन् । ठूलो कुरो बाबा झरीहुरी खपेर ननिहुरी सब सहन सक्ने भइन् । जीवन व्यवहारमा र कृतिमा स्वाभिमानको त्यो झलक पाइन्छ ।
छोटो कथामा अनेक उपकथा थप्दै काव्यात्मक अभिव्यक्ति तन्काउँदा महाकाव्य बन्छ । लामै कथाले पनि सङ्क्षेपको कवितात्मक कथा पाउँदा खण्डकाव्य हुन्छ । अन्य सहायक तत्व र भेदका विविध आधार भएपनि महाकाव्य र खण्डकाव्य बीचको मूल अन्तर ‘भोल्यूम’ नै हो । यही हिसाबले ‘सेतो फरिया’ खण्डकाव्य हो । हामीकहाँ ‘तरुण तपसी’ जस्ता उच्च स्तरका खण्डकाव्य दुर्लभ छन् । ‘सेतो फरिया’ झैं पठनीय खण्डकाव्य पनि विरलै पाइएला । कमरेड प्रचण्ड भन्छन्– ‘साँढे तीन दशक लामो लेखन समयावधिले बाबा बस्नेतलाई विचारको उचाइमै ल्याइ पु¥याएको पुष्टि ‘सेतो फरिया’ले गर्दछ ।’
श्रमशील बासिन्दाको रमणीय गाउँ हुन्छ । एक मानाको राम्रै बन्दोबस्त भएको क्षेत्री परिवारमा ठूली जमिन्छे । सबैतिर खुशियाली छाउँछ । दोस्रो सन्तान छोरो भएपछि ठूलीको अवहेलना सुरु हुन्छ । साथीसङ्गीसित खेल्दाखेल्दै ठूली सानु दर्जीको घरमा खाजा खान पुग्छे । उसलाई सुनपानी छर्केर मात्रै घरभित्र पस्न दिइन्छ । ठूलीले सुनेकी थिई, उही सानुको फुपुसित जिम्मालबा सल्केर सन्तान जन्माएका रे ! तर जिम्माल बा सम्मानितै थिए । यसबारे सानै उमेरकी ठूलीले प्रश्न उठाउँछे । चौधकै उमेरमा ठूलीलाई विहे गरी पठाउने कुरो चल्छ । पढ्ने रहरकी ठूली मर्माहत हुन्छे ।
यहाँ केही चर्चित कथा स्मरणीय हुन आउँछ । चिसो मौसम हिउँ फुसफुस् झरिरहन्छ । बग्गीवाला प्यासेन्जर कुरेर बसिरहन्छ । ऊ भर्खरै किशोर वयको छोरो मरेकोले शोक सन्तप्त हुन्छ । अबेला पाइएको प्यासेन्जर उरन्ठेउला ठिटाहरू हँस्सी मजाकमा हुन्छन् । ऊ आफ्नो छोरो सम्झिन्छ । ऊ दुःख पोख्छ । ठिटाहरू झन्झट मान्छन् । पछि, बूढाबूढी बग्गी चढ्न आउँछन् । ऊ आफ्नै विलौना पोख्छ । ती पनि उनको कुरा सुन्न चाहँदैनन् । ऊ अस्तबलमा घोडालाई अँगालो मार्दै दुःख पोख्छ । घोडाले ध्यानपूर्वक उसको कुरा सुन्छ । वण्र्य कृतिकी ठूलीकै अवस्थामा ‘सुवा’ कथाकी सुवाले गाईसँग पीडा साट्छे । नासो कथाकी सुभद्रा पनि त्यसै गर्छिन् । बाबा लेख्छिन् –
‘उस्तै नै हौँ तिमी र म
भन्छिन् उनी खसीलाई
क्यै दिनको पाहुँना म
तिमी त हौ दशैंलाई’ (१९)
‘पत्नी वियोगमा पुरुषहरूले ‘गौरी’ जस्ता शोक काव्य लेखेका छन् । के महिलाहरूले पनि पति वियोगमा यस्ता काव्य लेखेका छन् ?’ एकताका डा.रविलाल अधिकारीसँग मैले कुरो कोट्याएको थिएँ । यही सन्दर्भमा उनले नेपालीमा त्यस्तो नपाइएको निबन्ध लेखेका छन् ।

‘पहिलेको नेपालले करियामोचन ग¥यो
अहिलेको नेपालले फरियामोचन ग¥यो
पछिको नेपालले भरियामोचन ग¥योभने
भन्नुपर्ला यसले चाहिँ केही ग¥यो
होइनभने समानता भन्ने शब्द
अर्थैबिना म¥यो–म¥यो !’

मेरो प्रश्नको सटिक जवाफ बाबा बस्नेतबाट पाएँ । अहिलेको मितिसम्म सेतो फरिया भन्दा अर्को पति–वियोगमा लेखिएको यति स्तरीय शोक काव्य मैले पढ्न पाएको छैन । शायद नेपाली साहित्यकै यो पहिलो शोक काव्य हो, जुन पति वियोगमा लेखिएको छ । यहाँ पति वियोगको शोक काव्य भनिएको छैन । बाबाले बजारमा आफ्नो आँसुको मूल्य खोजेकी छैनन् । नभनिएका कति कुरा निकै मिठा हुन्छन् । शोकको उद्घोष नगरेरै अभिव्यक्त शोकले झनै मर्म भेदन गर्दो रहेछ । बुझ्न सकिन्छ, बाबाले आफूलाई आमामा र कल्पनाकी ठूलीमा पोखेकी छन् ।
काव्यमा अनुकरणात्मक शब्दहरू सुन्दर ढङ्गले प्रयोग भएका छन् । नेपालीपन र ग्रामीण परिवेशको जनजीवन घतलाग्दो गरी झल्केका छन् ः
‘जङ्घारहरू छिचोल्दै
धङकुर ध्वाँ… गर्दै
पञ्चेबाजा पिपिँर प्याँ
च्यानकुटी दङ्ग पर्दै’ (३३)
अहिलेको हाम्रो समस्या सामन्तवाद होइन, पाखण्ड हो । अहिले पनि प्रगतिवादको स्वाङ् रच्ने साइँदुवाहरू लुकाएर दाइजो लिन्छन् ।
‘छैन चाँदीका करुवा
आपसमा कुरा चल्ने
होला दिन बिर्सिएको
भन्दै फेरि शब्द छले’ (३५) ।
महान् क्रान्तिपछि सङ्गतिको खोजी गर्दागर्दै यति विसङ्गति बढाइयो कि मित्रसित बोल्नै अप्ठ्यारो छ । हिताहित छुट्याउनै गाह्रो छ–
‘कोसित के भन्नु खोई
के अहित के हो हित’ (ऐ)
सामान्तवादको अवशेष देखाउँदा कविले हाल सत्तामा रहेका नव धनाढ्य चरित्रलाई छर्लङ्ग पारेकी छन् । नेतालाई एक छाक भोज ख्वाएर बढ्प्पन देखाउने मान्छेले मिडियामा मार्सी चामललाई नै बद्नाम गराएका थिए–
‘तिन्ले खाने भाँडो बेग्लै
चामल नै भिन्न छन्
दुःखीका अवस्थाले
ठूलीलाई पिर्दछन्’ (३६) ।
ठूली माइतीको आड लिएर काठमाण्डू आउँछिन् । पढ्छिन् र ट्युशन पढाउँछिन् । ठूलीले जतिसुकै दुःख गरे पनि उनका श्रीमान् हिम्मत भाँडिन छाड्दैन । बाघ बनेका मूसाहरु जुवा र जाँडमा पल्केर फेरि मूसा बनेका हामीले देखेकाछौँ–
‘फेरि भाँडिए हिम्मत
राती ढिलो आउन थाले
ठूलो स्वरले गाउँमा झैँ
हल्ला मच्चाउन थाले’ (पृ५३) ।
पीडाको चित्रण गर्दा बाबा बस्नेत प्रकृतिको सजीव मानवीकीकरण गर्छिन् –
‘एकोहोरो दुःख पोख्दै
रुन्छे किन त्यो न्याउली ?
भोका होलान् बचेरा
के ल्याउली के ख्वाउली’ (५९) ।
ठूलीलाई पोइको काम त थिएन, नाम थियो । त्यो नाम पनि मेट्टिन्छ । हिम्मत मर्छ । ठूली अचेतको अवस्थामा पुग्छिन् । साथीहरु सम्झाउँछन्–
‘नछोड यी हात खुट्टा
होसमा आऊ न तिमी
छोराहरूलाई हेर
होस् नगुमाऊ !’ भनी’ (६२) ।
मान्छे मर्दा मान्छे रुन्छ, गिद्ध रमाउँछ । बाछाहरु पनि ओरालो लागेको मृगलाई लखेट्छन् । ठूलीका आफन्तहरूले ठूलीमाथि झनै पीडा थपे–
‘घरका कोही झम्टिए
ठूलीमाथि आइलागे
रिसाइ ठूलीका भाइ
तिनीमाथि जाइलागे’ (६३) ।
यसरी खण्ड १ (एक) सम्म कताकति रसाउने पाठकका आँखाहरू बाट २ (दुई) मा वलिन्द्र आँसु झर्न थाल्छन् । शोकलाई शोककै चास्नीमा चोबलेर शब्दहरू निकालिएका छन् । कानमा गायकका सुमधुर स्वरलहरी गुञ्जिन्छ–
‘लौ सुन म भन्छु
मेरो राम कहानी
विधवाको सिउँदो
मेरो यो जवानी ….!’
……………………..
‘विधवाले चुरा फुटाउँछिन्
ढुङ्गामा राखेर ….!
बाबा लेख्छिन् –
फुकाली नाकको फुली
समातिकनै उठाए
ढुङ्गामाथि राखी हात
झ¥याम्म चुरा फुटाए …!’ (६६)
‘सेतो फरिया कुन छन्दको हो बा ?’ एउटी विद्यार्थीले सोधिन् ।
‘यो बाबा छन्द होे ।’ मैले भनँे । मलाई यस्तै लाग्छ । छन्द हजारौं छन् रे । सबै जानेर सायद साध्य छैन । भानुभक्तलाई हामी जनभाषामा लेखे भनेर सम्मान गर्छौँ । आफूले चाहिँ शास्त्रीय छन्द नै खोज्नु पनि उचित होइन । छन्द समाउने यत्नमा धेरैले कबिता फुत्काएर चर्को स्वर गरेको प्रायः सुनिन्छ । लोकछन्दलाई आफैभित्र पचाएर बाबाले ‘बाबा छन्द’ निर्माण गरेकी छन् भन्नु अत्युक्ति नहोला । हामी ‘अली मियाँ भाका’ भन्ने गर्छौँ । देवकोटा आफै शब्द निर्माण गर्थे । यहाँ विचारलाई कलापूर्ण ढङ्गले प्रस्तुत गरिएको छ । कतिपय कविता विद्यार्थीको कोर्षमा राखिनुपर्छ । त्यसमा सम्वद्धहरूको ध्यान जाओस् ।
बाबाले जीवनका अनेक रुपरङ् देखेकी÷भोगेकी छन् । शान्ता चौधरीले श्रीमान्लाई माथ्लोस्तरमा उकालिन् । उनैले सौता हालिदिए । स्यालहरु मायाको नाटक रचेरै बघिनीलाई स्याल्नी बनाउँछन् । यस्तै परिदृश्य देखेर होला, बाबा लेख्छिन्–
‘मान्छे नै उठाउँछन्
मान्छेका उचाईलाई
मान्छेले घटाउँछन्
मान्छेका सच्चाइलाई’ (७२) ।
बाबाको विद्रोह कतै–कतै निकै फितलो छ ।
‘जिम्वाल्नी बित्नासाथ नै
पञ्चैबाजा घन्काएर
ल्याए जिम्वालले दुलही
चाउरे छाती तन्काएर’ (७५) ।
हजारीप्रसाद भन्छन्, ‘विद्रोह सामाजिक मङ्गल के लिए ही होना चाहिए !’ पारिजात भन्छिन्, महिलाहरूले पुरुषसँग मिलेरै संघर्ष गर्नुपर्छ । बूढो पोइको साथ लिएर कुनै आधुनिक युवती आफ्नै ढङ्गले बाँच्न चाहन्छे भने सल्लाहको त्यस्तो बिहेलाई अनमेल भन्नु मिल्दैन । हाम्रा विश्व दाइले, हरिवँशले यस्ता उदाहरण प्रस्तुत गरेकै छन् । उमेर घर्केकी महिलाले युवकसँग सल्लाहले शानदार बिहे गर्न सक्छिन् ।
यौन सम्बन्ध र प्रेमलाई बाबाले निकै राम्ररी ठम्याएकी छन् । यही अन्तर नबुभ्mने नारीहरु वेश्यापुरुषको खेलौना बन्छन् । आफ्नै लिगेसी बिर्सन्छन् र अरुको उछित्तो काड्छन् । यौन सम्बन्ध पाप पटक्कै होइन तर व्यभिचार घृणित पाप हो । जात र धर्मलाई बाबाले सुन्दरतम् परिभाषा दिएकी छन्–
‘जात मान्छे हुन्् सब
धर्म आफैमा छ उँचो
जहाँ हुन्छ व्यभिचार
लगाउनुपर्छ कुचो ।’(८८)
सीमाहरू छन् । ०७५ पुसमा प्रकाशित कृतिमा ७५÷८० वर्ष अघिका बासी कथालाई आधार बनाइएको छ –
‘कुर्दाकुर्दा पतिलाई
बस्नु कति भोकभोकै
बटारिई खाली पेट
लाग्न थाल्छ वाकवाकै’ (३९)
यसरी सताउने श्रीमान्लाई आँटिली छँदाकी उर्मीलाले साहसका साथ दुत्कार गरिन् । एक मोहर नलिई डिभोर्स दिइन् । हुँकारका साथ श्रीमान् भनाउँदोको नामथर नागरिकताबाट खुइल्याइन् । ढुक्कले छोरीलाई साथी बनाएर जीवन यात्रामा अघि बढ्न खोजेकी थिइन् । यस्ता अनेक बिम्ब भेट्न सकिन्छ । मन्त्रीलाई, ठूला कलाकारलाई हाँक दिएर स्वतन्त्रता रोज्नेहरू छन् ।
जीवन भोग नै जीवन वोधको आधार हो । अध्ययन र भ्रमणले बाबाको आत्म चिन्तन निकै गहिरो बनेको पाइन्छ–
‘जानी बुझी गर्नु बरु
वैदिक युग ग्रहण
ब्रह्मज्ञान भएको नै
मानिन्थे रे ब्रह्मण’(ऐ)
विश्वभारा, अपाला, मैत्रेयी, गार्गी आदि पौराणिक कालका विदुषीहरु ; राज्यवती, वसन्तवती हाम्रो इतिहासका विराङ्गनाहरु ; मैना, पार्वती, मलाला, वर्तमानका सम्मानित महिलाहरु प्रति बाबाले कृतज्ञताभाव प्रकट गरेकी छन् । ठूलीले महिलाहरु एकताबद्ध गरेर मातृसत्ताको अभियान थालेपछि काव्य टुङ्गिन्छ –
‘नौलो हावा चल्न थाल्यो
फूलसरी भयो वर्षा
घामको किरण नौलो
उमङ्गका खुसी हर्ष’(११६)
अन्त्यमाः बाबालाई भेट्न पाए चियामा खुसुक्क भन्ने थिएँ, ‘बाबा, राणाकालमै करिया मोचन भएको हो । गणतन्त्र कालमा फरिया मोचन भैसकेको छ । नयाँ विचारलाई बासी कथाको आधार उस्तो उपयुक्त देखिएन । समस्या, भरिया मोचनको हो । कसले पा¥यो माकुरे जालैमा ? प्रश्न त्यो हो । .. के गरे नेता मिली भएन हामीलाई बस्न । समस्या यो हो । ३८ क्वीन्टल सुन गायब गर्ने हाम्रा नेतागण भरिया हुन् । लिपु लेकमा विदेशी पैतालाको भार टाउकोमा थामिराख्ने हाम्रा नेतागण विदेशीका भरिया हुन् । भरिया मोचन अहिलेको समस्या हो । भूतको भिनाजू भन्थे–
‘पहिलेको नेपालले करियामोचन ग¥यो
अहिलेको नेपालले फरियामोचन ग¥यो
पछिको नेपालले भरियामोचन ग¥योभने
भन्नुपर्ला यसले चाहिँ केही ग¥यो
होइनभने समानता भन्ने शब्द
अर्थैबिना म¥यो–म¥यो !’

हाम्रो सुझाव