ओझेलको सेती गल्छी : एक चर्चा

प्रा.डा. कृष्ण के.सी.
माघ २२, २०७५

पर्यटन व्यवसाय पोखराको निमत्ति नौलो होइन । बितेको पाँच दशकयता पोखरामा पर्यटन गतिविधि व्यवसायिक रुपमै जेजसरी भए पनि चलिआएकै छ । सन् साठीको दशकको अन्त्यतिर प्रायः हिप्पीहरूको आगमनबाट शुरु भएको पोखराको पर्यटन पर्यटन विकासको विविध मोड पार गर्दै हालको अवस्थामा आएको हो । मुलुकमा पोखरा पर्यटकहरूका निमित्त काठमाडौँपछिको दोस्रो महत्वपूर्ण केन्द्र हो भने पदयात्रा पर्यटनका निमित्त यो राजधानी नै हो । खासगरी आधुनिक यातायात विकासको थालनी पश्चात् पोखरामा पर्यटन व्यवसाय मौलाउँदै गएको हो । प्राकृतिक सौन्दर्यको विश्वविख्यात खानी पोखरा पर्यटन विकासका लागि साँच्चै नै उदीयमान छ ।

नेपाल भ्रमण वर्ष १९९८ मा विश्वकै प्रायः देशहरूबाट (भारतीय पर्यटक बाहेक) लगभग ९७ हजार  पर्यटकहरू पोखरा र पोखरा क्षेत्रको भ्रमणका निमित्त पोखरा भित्रिए । पोखरा भित्रिने प्रायः पर्यटकहरूको उद्देश्य अद्यावधि अन्नपूर्ण क्षेत्रको पैदल यात्रा गर्ने र प्राकृतिक दृश्यावलोकन नै रहेको छ । विगत दुई दशकयता नदी ¥याफ्टिङ पनि चल्तीमा आएको गतिविधि हो । प्याराग्लाइडिङ विगत एक डेढ दशकयता निकै चल्तीमा आएको पर्यटन गतिविधि हो । साथै बैठक/सभा पर्यटनले पनि एकाध दशकयता गति लिँदै गएको देखिन्छ । पर्यटकहरूलाई भुलाउने यिनै खास गतिविधिहरू बाहेक अन्य सम्भावित गतिविधिहरूको विधिवत खोज पनि खासै भएको छैन ।

तैपनि पर्यटन सूचना केन्द्र पोखराका अनुसार सन् १९७६ मा पोखरा आउने पर्यटकको सङ्ख्या ३१ हजार २६ बाट बढेर सन् २००० मा २,३०,७९९ पुग्न गयो । सो सङ्ख्या सन् २०१७ मा करिब ४,३०,००० पुगेको छ । प्राकृतिक, सांस्कृतिक, ऐतिहासक तथा पुरातात्विक महत्त्वका स्थलहरूको भ्रमण, पर्यटकहरूलाई आकर्षित गर्ने गराउने मनोरञ्जनस्थल तथा खेलकुदहरूको प्रवद्र्धन जस्ता पर्यटक भुलाउने गतिविधिहरूको खोज तथा व्यवस्थापन पक्ष अझै पनि उपेक्षित नै छ ।

पोखरामा पर्यटक आकर्षित गर्ने र भुलाउने यी विविध सम्भावनाहरूका अतिरिक्त सेती नदीको गल्छीको उपयोग पनि अर्को नौलो र अनौठो सम्भावित गतिविधिको रूपमा लिन सकिन्छ । पोखराको पर्यटन उत्पादन (प्रोडक्ट) को यो गन्तव्य पर्यटन प्रवद्र्धनको शुरुवातबाट नै उपयोगमा आउनु आवश्यक थियो तर बग्रेल्ती सुझावका बाबजुद पनि पोखराको पर्यटन विकासको जिम्मेवार निकायले समयमा उचित ध्यान दिन सकेन । पर्यटन, शिक्षा, स्वास्थ्य र हरियाली पोखराको विकासको केन्द्र मन्ने सोच भइरहेको वर्तमान अवस्थामा पर्यटन प्रवद्र्धनका निमित्त थप सम्भावनाहरूको खोजी हुनु नितान्त सान्दर्भिक हुन आउँछ । तसर्थ पोखराको पर्यटन प्रवद्र्धनको सिलसिलामा सेती नदीको गल्छीको उपयोगतर्फ पनि व्यावहारिक सोच राख्नु समसामयिक देखिन्छ ।

सेती नदी अन्नपूर्ण हिमालय श्रृङ्खलामा अवस्थित माछापुच्छे हिमाल, अन्नपूर्ण तेस्रो र चौथोको दक्षिण काखबाट उत्पत्ति भएर पोखरा उपत्यका हुँदै गण्डकी प्रवाह प्रणालीमा मिसिन्छ । पोखरा महानगरपालिकाको बिचौ बीच भागमा साँघुरो र गहिरो गल्छी बनाएर बग्ने यो नदीको प्राकृतिक महत्वको अलावा आर्थिक, धार्मिक र सांस्कृतिक महत्व छ ।  मानव बसोबासको शुरुवातबाटै यसको धार्मिक र सांस्कृतिक महत्वको समयसापेक्षिक उपयोग हुँदै आएको भए तापनि प्राकृतिक र आर्थिक महत्वको उपयोग भने अझै पनि न्यून देखिन्छ । पाँच दशकयता पोखरामा भएको पर्यटन प्रवद्र्धनले पनि यसको उपयोग गर्न सकेको छैन । पोखरा महानगरपालिका र मुख्य बजार क्षेत्रले यसको धार्मिक तथा सांस्कृतिक मूल्यको समेत बेवास्ता गरी ढल सोझ्याउने र फोहोरमैला फाल्ने सहज स्थलको रूपमा उपयोग गरेको छ ।

आर्थिक उपयोगमा सेती नहरबाट १०३० हेक्टर जमिनको सिँचाइ र १००० कि.वा. बिजुली उत्पादन भएको छ । सेती नदी घाट क्षेत्रहरूबाट ढुङ्गा, बालुवा, गिट्टी झिक्दा वातावरणीय प्रभाव जे जस्तो भए तापनि पोखराका र पोखरा ओर्लने निर्धन समूहहरूका निमित्त भने यो गतिविधि जीविकाको आधार बनेको छ । तर सिँचाइको हकमा जलको उपयोग कम, प्लाष्टिक लगायतको प्रदूषण भयावह रहेको छ भने वातावरणीय हिसाबमा ढुङ्गा, बालुवा, गिट्टीको अनियन्त्रित दोहनका कारण भूमिको ह्रास (ल्याण्ड डिग्राडेशन) तीव्र गतिमा भइरहेको छ । यसको परिणाम निकट भविष्यमै दर्दनाक र दुःखद हुने निश्चितप्राय छ । तैपनि सम्बन्धित सरोकार समूहरूको होशले काम गरेको अवस्था छैन । बरु नकारात्मक नीति र निर्णयतर्फ नै सरोकार समूह डोरिँदै गएको अवस्था छ ।

सेती नदीको गल्छीभित्र लुकेको भूदृश्य, भूआकृति, वनस्पति, जीवजन्तु र तिनको प्राकृतिक बासस्थान, जलप्रवाह आदिको सिलसिलेबार अध्ययन, अन्वेषण, सम्बर्धन र उपयोगको वास्ता भने अझैँ पनि हुन सकेको छैन । प्राकृतिक उपहारको रूपमा प्राप्त यो सम्पदाको उपयोगतर्फ सोच राखी विस्तृत अध्ययन अनुसन्धानको माध्यमबाट कार्य योजना बनाई लागु गर्दा पोखराको पर्यटन प्रवद्र्धनमा एउटा भरपर्दो र अद्वितीय (युनिक) थप आकर्षण प्राप्त हुन सक्ने सम्भावना छ । यसै सम्भावनालाई उजागर गर्न यो सानो लेखमार्फत प्रयास गरिएको छ ।

अन्नपूर्ण हिमालको काखमा उत्पत्ति भएर दक्षिण र दक्षिण पूर्व दिशातिर बग्ने यो नदी पोखराको बजार क्षेत्रमा प्रवेश गर्दा साँघुरो र गहिरो गल्छी बनाई प्रवेश गर्दछ । सेती नदीको मुख्य गल्छी भाग पोखरा महानगरपालिकाको वडा नं. १ मा अवस्थित के.आई. सिंह पुलदेखि वडा नं. १५ र १७ को दोसाँधमा रहेको ढुङ्गेसाँघुसम्म करिब ६ कि.मि.  दुरीमा फैलिएको छ । नदीको गल्छी भाग अन्तर्गत पर्ने खुला ठाउँहरूमा तुलसीघाट, नारायणस्थान र रामघाट जस्ता पवित्र घाटहरू अवस्थित छन् ।

गल्छीको गहिराई र चौडाई ठाउँअनुसार फरकफरक छ । के.आई.सिंह पुलदेखि तुलसीघाटसम्मको (पृथ्वीनारायण क्याम्पस पछाडि) गल्छी भागको चौडाई करिब १५–२० मिटर र गहिराई करिब ६०–६५ मिटर छ । नारायणस्थानबाट रामघाटसम्मको गल्छी भागको चौडाई करिब ३०–३५ मिटर र गहिराई करिब ६५–७० मिटर छ । रामघाटदेखि रातोपैरोसम्मको गल्छी भागको चौडाई करिब ५–१५ मिटरसम्म र गहिराई करिब ८०–१०० मिटर छ ।

रातो पैह्रोदेखि ढुङ्गेसाँघुसम्मको गल्छी भाग विगत केही दशक यता खुल्ला भएको छ भने खुला हुने क्रम प्रत्येक वर्षको वर्षात् र बाढीसँगै बढ्दो छ । समयमै संरक्षणको उचित उपाय नगरे यो गल्छी खुला हुने क्रम बढ्दै जाने छ । एसओएस बालग्राम र पोखरा स्टेडियम वारिपारिको भाग छिट्टै प्रभावित हुने छ । गल्छीको भित्री भागमा नदीको प्रवाहले विगतको १२–१५ हजार वर्षयता कटान गरेका पचासौँ तहदार ओडारहरू र सम्भवत गुफाहरू पनि फैलिएका छन् । तिनै ओडारहरूमा र गल्छी भीरहरूमा रहेको जैविक विविधता आफ्नै प्रकारले अस्तित्वमा रहेको छ । मानवीय व्रिmयाकलापबाट प्रायः नबिथोलिएका ती जैविक विविधताको अन्वेषणतर्फ कुनै ध्यान गएको छैन । अनेक प्रकारका वनस्पति र जीवजन्तुका प्रजातिहरू र तिनको प्राकृतिक वासस्थान भने त्यहाँ देखा पर्दछन् । गल्छी भित्रको एकान्तता र मात्र नदी प्रवाहको सुसेलीले अवश्य नै बाहिरी भू–सतहमा अवस्थित शहरको कोलाहलपूर्ण वातावरणलाई बिर्साउन सजिलो पर्न सक्छ भन्ने अनुमान पनि सहजै गर्न सकिन्छ ।

रहस्यमय भूदृश्यको रूपमा रहेको सेती नदीको गल्छीले साहसिक पर्यटन (एडभेञ्चर टूरिज्म) को क्षेत्रमा विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न सक्छ । आन्तरिक पर्यटकहरूका निमित्त पनि आकर्षणको केन्द्र बन्न सक्छ । यो सबै प्रकारका पर्यटकहरुका निमित्त अत्यन्त लोभलाग्दो र आकर्षक पर्यटन गन्तव्य बन्न सक्दछ । तुलसीघाट, नारायणस्थान र विशेषगरी रामघाटको समुचित योजनाबद्ध विकासले विदेशी तथा स्वदेशी पर्यटक लगायत तीर्थयात्री तथा धर्मावलम्बीहरूलाई समेत थप आकर्षित गर्न सक्नेछ ।

रामघाटदेखि राजमार्ग पुलसम्मको गल्छी भाग वरपर रहेको शान्ति वनवाटिका पोखरा महानगरपालिकाको आकर्षक स्थल भएर पनि अत्यन्त अवहेलित र उपेक्षित छ । साथै यसको दुरूपयोगका थुप्रै सिकायतहरू छन् । यस भागको गल्छी लगायत शान्ति वनवाटिकाको उचित सम्वद्र्धन गर्दा आकर्षणको भरपर्दो थलो बन्न सक्छ ।

पोखरा उपत्यकाको पिँधमा १२–१५ हजार वर्षदेखि ७००–११०० वर्ष अघिसम्मका शक्तिशाली तथा महाभूकम्पहरुसँग जोडिएर उत्पन्न अचानक अचानकका विनाशकारी बाढीहरूद्वारा निक्षेप भएको चुनयुक्त ग्राभेल पदार्थको भौगर्भिक संरचना, गल्छीभित्रको भौतिक स्वरूप, चुनयुक्त क्षेत्रको भू–आकृति, जैविक विविधता, नदीको बहाव क्षमता र स्थायित्व, दृश्यावलोकन गर्ने स्थलहरू, नौका बिहारका ठाउँहरू, गल्छीको आर्थिक महत्व आदिको अध्ययन अनुसन्धानका निमित्त पनि यौटा चुनौतीपूर्ण आकर्षणको थलो हुन सक्छ । फलतः देश परदेशका अध्ययन अनुसन्धानका अनुरागीहरूको निमित्त पनि यो आकर्षक गन्तव्य  बन्न सक्छ ।

नेपालकै दोस्रो पर्यटक केन्द्र पोखरामा अवस्थित भएकोले पनि यो प्राकृतिक स्रोतको महत्व अझ बढेको छ । दृश्यमूल्य (एस्थेटिक भ्यालु) को रूपमा यसको उपयोग गर्दा, नदीको प्रवाहमा र गल्छी भित्रका विविध अनुकूल स्थानहरूमा सञ्चालन गर्न सकिने खेलहरू खेलाउने व्यवस्था गर्दा, सतहबाट गल्छीभित्र जाने विविध प्रकारको स्वचालित घिर्लिङ्गहरू प्रयोगमा ल्याउँदा, भित्री तहदार ओडारहरूमा दिनको खाना, खाजा समेतका दृश्यावलोकन पार्क बनाउँदा, गल्छीभित्रको सम्भावित क्षेत्रहरूमा विद्युतीकरण गर्दा, पोखराको पर्यटन प्रवद्र्धनमा नौलो र अनौठो आकर्षण प्राप्त हुन सक्छ । यसबाट पोखरामा पर्यटकहरूको बसाई लम्ब्याउन सकिने सम्भावना रहन्छ । छोटो समयावधिका निमित्त आउने साहसिक पर्यटकहरूले पनि समयको उचित उपयोग गर्न सक्ने अवस्था प्राप्त हुन्छ ।

माथि उल्लिखित सबै दृष्टिकोणहरूको आधारमा सोच बनाउँदा सेती नदीको गल्छीको उपयोग पोखराको पर्यटन प्रवद्र्धनका निमित्त थप भरपर्दो सम्भावना हो । यसको विधिवत वैज्ञानिक अध्ययन अनुसन्धानद्वारा सम्भावना अध्ययन गर्न र सम्भव देखिएका विधाको विस्तृत आयोजना प्रतिवेदन तयार गर्न सोच बनाउनु औचित्यपूर्ण ठहर्न सक्छ । सम्भावना अध्ययनबाट सोच औचित्यपूर्ण रहेमा उपयुक्त योजना तर्जुमा गरेर कार्यान्वयनको निमित्त अगाडि बढाउँदा पोखरा उपत्यकाको पर्यटन विकासमा अत्यन्त आकर्षक उत्पादन (प्रोडक्ट) प्राप्त हुन सक्छ । तसर्थ, यस दिशातर्फ सोच्न र व्यावहारिक निष्कर्ष निकाल्न पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समिति, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन कार्यालय पोखरा, पोखरेली बुद्धिजीवी लगायत पोखराको विकासप्रति चासो खाँचो राख्ने सम्पूर्ण नगरवासीको ध्यान आकर्षित होस् भन्ने ध्येय यो सानो लेखको रहेको छ ।

Related News

सम्बन्धित समाचार

    • सम्झनामा आत्मीय मित्रहरु

      भूपनिधि पन्त असार ७, २०७८
      सामान्यतः मित्र भन्ने शब्द गोल बोलीमा प्रकट गरिन्छ । तर काल विभाजन अनुसार तुलना गर्दा बाल्यकालका मित्रहरु क्रमशः बिर्सदै गरिन्छ…
    • कोभिड–१९ महामारीविरुद्ध रोटरी अभियान

      रविप्रसाद बराल असार ६, २०७८
      विश्वमा कोभिड–१९ नपुगेको अब कुनै देश रहेन । हाम्रो मुलुक पनि यतिबेला कोभिड–१९ बाट आक्रान्त बनेको छ । नेपालमा कोरोनाको…
    • कुँवर, राणा र राष्ट्रिय राजनीति

      प्रा.डा. यमबहादुर पौडेल जेठ २९, २०७८
      हालको पोखरा १४, मझेरीपाटनमा सूर्यवंशी वत्स गोत्रीय कुँवर खलकमा जन्मिएका व्यक्ति हुन्–क्षेत्रबहादुर कुँवर । यिनको वंशज–वृक्ष हेर्न खोज्ने हो भने…
    • राष्ट्रसेवकहरुको अतृप्त अभिप्रेरणा

      भोला शर्मा जेठ २५, २०७८
      विश्वको जुनसुकै देशको सार्वजनिक सेवा प्रवाहमा त्यस देशका राष्ट्रसेवक कर्मचारीहरुको बृहत्तर भूमिका रहेको हुन्छ । फरक फरक सोच, क्षमता, कार्यशैली,…
    • महामारीमा कुर्ची बचाउने राजनीतिक खेल

      जमुना ढकाल जेठ २४, २०७८
      २०७६ को अन्त्यतिर सुरु भएको कोभिड १९ अहिलेसम्म उग्र रुपमा फैलिरहेको छ । यसलाई भयानक महामारीको संज्ञा दिइएको छ ।…

    hero news full width