एकादशी महात्म्य र हरिबोधिनी

Avatar विष्णुप्रसाद तिमिल्सिना
कार्तिक २२, २०७६

एकादशीमा नुहाई, जप ध्यान गरी नित्यकर्म सहित शुद्धमनले सूर्य दर्शन गरी एकादशी महात्म्य पढ्ने र सुनाउने सुन्ने गर्नाले मानिसले आफ्नो जन्म सार्थक बनाउनुका साथै उत्तम फल प्राप्त गर्दछ।

एकादशी सामान्यतःशुक्लपक्ष र कृष्णपक्षको ११ औं दिनलाई भनिन्छ। नन्दादि तिथिमा पर्ने एकादशी तिथिलाई भगवान् विष्णुको प्रिय तिथिका रुपमा पनि लिइन्छ। त्यसैले वैष्णवहरु एकादशी तिथिलाई श्रद्धा भक्तिपूर्वक पूजा आराधना जप ध्यान भजन कीर्तन र व्रत उपवास गरी मनाउने गर्दछन्।

एकादशी र यसको महात्म्यका सम्बन्धमा अघि कुनै एक समयमा नैमिषारण्य क्षेत्रमा शौनकादि ८८ हजार ऋषिमुनिहरु भेलाभई विश्वकल्याणका खातिर एक हजार वर्षमा साङ्गे हुने विश्व शान्ति यज्ञ चलिरहेको थियो। त्यसै समयमा व्यासका शिष्य परम वैष्णव सुतजी तीर्थाटन गर्दै यज्ञस्थलमा आइपुग्नु भयो। यज्ञमा सुतजीलाई देख्दा ढु·ा खोज्दा द्यौता भेटेजस्तो भएका ऋषिमुनिहरुले उहाँलाई स्वागत सम्मान गर्दै व्यासासनमा राखेर एकादशी महात्म्यको कथा सुनाउन अनुरोध गरे। त्यसै समयमा सुतजीले शौनकादि ऋषिहरुलाई अगाडि राखी सबै राजा महाराजाहरुलाई सुनाइएको र युधिष्ठिर अर्जुन लगायत पाण्डवहरुलाई श्रीकृष्ण भगवानले सुनाउनु भएको एकादशी महिमाको कथाहरु सुनाउनु भयो। धर्मको जय अधर्मको नाश, विश्वशान्ति र समस्त प्राणीहरुमा एकताको साथै अहिंसा र मित्रताको भाव स्फूरण गर्ने एकादशी महात्म्य र यसको महत्व स्पष्ट पार्दै उहाँले मानिसले जान अन्जानमा गरेका पापकर्मबाट छुटकारा पाउनुका साथै यस लोकमा सुख, सम्पत्ति, आरोग्य र आनन्दका साथै परलोकमा विष्णुलोकमा मोक्ष गति पाउन एकादशी व्रतबस्ने र एकादशी महात्म्य सुन्ने सुनाउने गर्नु उत्तम हुने विचार राख्नु भयो।

एकादशीमा नुहाई, जप ध्यान गरी नित्यकर्म सहित शुद्धमनले सूर्यदर्शन गरी एकादशी महात्म्य पढ्ने र सुनाउने सुन्ने गर्नाले मानिसले आफ्नो जन्म सार्थक बनाउनुका साथै उत्तम फल प्राप्त गर्दछ। एकादशीमा व्रत बसी विष्णु भगवानको पूजा आराधना गर्नाले मानिसको भूत, वर्तमान र भविष्य सफल हुनुका साथै आफूसहित आफ्ना पूर्वजले सद्गति प्राप्त गर्नुका साथै भावी सन्ततिको समुज्वल भविष्य हुने कुरा पुराणमा उल्लेख भएको छ। यसरी हेर्दा एक वर्षमा बाह्र महिना २४ पक्षमा २४ एकादशी हुन्छन् भने मलमास परेको वर्षमा थप २ गरी २६ एकादशीको उल्लेख गरिएको छ।

क्र.सं.एकादशीको नाममहिनापक्ष 
१.उत्पन्नामार्गशीर्ष कृष्णपक्षएकादशीको उत्पत्ति भएको
२.मोक्षदामार्गशीर्ष शुक्लपक्षपापहरको मोक्ष वचन
३.सफलापौष कृष्णपक्षआफ्नो उद्देश्यमा सफल हुने
४.पुत्रदापौष शुक्लपक्षसन्तति प्राप्तिमा सफलता
५.षट्तिलामाघ कृष्णपक्षदुःखकष्ट र दरिद्रता हुने
६.जयामाघ शुक्लपक्षपापहरण गरी मुक्ति दिने
७.विजयाफागुन कृष्णपक्षसबै क्षेत्रमा विजयी हुने
८.आमलकीफागुन शुक्लपक्षमोक्षगति र वैकुण्ठ वास
९.पापमोचनीचैत्र कृष्णपक्षपापनष्ट हुने
१०.कामदाचैत्र शुक्लपक्षमानिसको कामनापूर्ण हुने
११.वरुथिनीवैशाख कृष्णपक्षआनन्द र सौभाग्य प्राप्ति
१२.मोहिनीवैशाख शुक्लपक्षपापकर्म र मोह हट्ने
१३.अपराजेष्ठ कृष्णपक्षलोकमा प्रसिद्ध हुने
१४.निर्जलाजेष्ठ शुक्लपक्षपाप नाश भई मोक्षगति
१५.योगिनीआषाढ कृष्णपक्षश्रापबाट मुक्ति पाउने
१६.हरिशयनिआषाढ शुक्लपक्षसद्गति र सद्वृद्धि पाउने
१७.पवित्राश्रावण कृष्णपक्षपापबाट पवित्र भई विष्णुलोक
१८.पुत्रदाश्रावण शुक्लपक्षपुत्रसुख प्राप्त हुने
१९.अजाभाद्र कृष्णपक्षसुख सम्पत्ति प्राप्त हुने
२०.हरिपरिवर्धिनीभाद्र शुक्लपक्षदुष्कर्मबाट मुक्ति
२१.इन्दिराआश्विन कृष्णपक्षपितृमुक्ति र सद्गति
२२.पापाड्ढकुशाआश्विनशुक्लपक्षपापकर्मबाटमुक्ति
२३.रमाकार्तिक कृष्णपक्षसत्मार्गमा उन्मुखहुने
२४.हरिबोधिनीकार्तिक शुक्लपक्षमुक्ति विष्णुलोक प्राप्ति
२५.पाश्मिनीमलमास कृष्णपक्षभुक्ति मुक्ति प्रदान गर्ने
२६.रमामलमास शुक्लपक्षसुख सम्पत्ति प्राप्त हुने

यसरी सामान्यत एक वर्षमा २४ ओटा एकादशी पर्दछन् भने मलमासको बेला २ ओटा एकादशी थप हुन्छन्। एकादशीको महत्व र गरिमा धेरै छ। यो व्रत सबै व्रतहरुमा उत्तम व्रत भएको र सदाचारमा केन्द्रित रहने भएकोले आध्यात्मिक एवम् धार्मिक पक्ष एकातिर छ भने अर्कोतिर स्वास्थ्य र सन्तुलनका दृष्टिकोणले पनि एकादशी व्रत उत्तम मानिन्छ। एकादशी व्रत विष्णु भगवानसँग सम्बन्धित हुने भएकाले विष्णुको रुप तुलसीसँग पनिविशेष सम्बन्ध राख्दछ। जेष्ठशुक्लपक्षमा पर्ने निर्जला एकादशीमा तुलसीदल रोप्ने, आषाढ शुक्लपक्षमा पर्ने हरि सीको बिरुवा रोप्ने र कार्तिक शुक्लपक्षमा पर्ने हरिबोधिनी वा देवोस्थानी एकादशीमा तुलसीको विवाहोत्सव गर्ने परम्परा रहेको छ।

कार्तिक शुक्लपक्षको हरिबोधिनी एकादशीलाई नेपाली लोक परम्परामा ठूली एकादशी पनि भनिन्छ। यद्यपि धर्मशास्त्र र श्रीकृष्ण भगवान् स्वयंले एकादशी सबै समान हुन् विभेद गर्नु हुँदैन भन्नु भएको छ। आषाढ शुक्लपक्षको हरिशयनी एकादशीमा चर्तुमास व्रतआरम्भ गरी भगवान् विष्णुसमेत देव देवीहरुको नियमित पूजा आराधना गरेर एक छाक शुद्ध सात्विक खोनकुरा खाई चार महिनासम्म भगवानको नाममा व्रत गर्ने प्रचलन छ। व्रत समापनको क्रममा हरिबोधिनी एकादशीमा नजिकको नदी वा तीर्थमा गई भजन कीर्तन बाजा गाजा सहित नाचगान गर्दै फूल प्रसाद विसर्जन गर्ने र तोरण वा फूल तार्ने परम्परा विद्यमान रहेको छ। यसरी व्रतगर्दा मानिसले मोक्ष गति प्राप्त गर्नुका साथै आफ्ना कुल र सन्ततिहरुलाई उत्तम फल प्राप्त हुने जनविश्वास रहेको छ। हरिबोधिनी एकादशीमा सुनसरीको बराहक्षेत्रमा धार्मिक मेला लाग्दछ भने खोटाङको बराहक्षेत्रमा पनि मेला लाग्ने गर्दछ। यस दिन चितवन देवघाट, पोखरा रामघाट, गुल्मीको सरुक्षेत्र लगायतका ठाउँमा श्रद्धालु भक्तजनहरु उपस्थित हुने, फूल प्रसाद चढाउने परम्परा रहिआएको छ।

एकादशी महात्म्यमा उल्लेख भए अनुसार एकादशीको व्रतलिनाले मानिसहरुले जान अन्जानमा गरेका पाप कर्महरुबाट मुक्ति पाउँदै छन्। साथै यस लोकमा सुख, सम्पत्ति, मान मर्यादा, सन्तान सहितका फल प्राप्त गर्नुका साथै परलोकमा मोक्षगति प्राप्त गर्नका लागि एकादशी व्रत उत्तम मानिन्छ। हरिशयनी एकादशीमा चर्तुमास व्रतआरम्भ गरी हरिबोधिनी एकादशीसम्म निष्ठा र भक्तिपूर्वक व्रत गर्ने मानिसले जन्म मृत्युको संस्कारबाट मुक्तभई विष्णुलोक प्राप्त गर्ने पुराणमा उल्लेख गरिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

नेपालको राजनीति र जनताको अवस्था

सार्कलाई पुनर्जीवन दिने चिन्ता

पर्यटकीय सम्पदा व्यवस्थापन एवं प्रवद्र्धन

हाम्रो परिचय क्षेत्र हिमवत्खण्ड नेपाल

जनता र नेता बीच अन्तर

प्रमुख समाचार

पीपीएलमा पोखराको सुखद सुरुवात

थप प्रमुख समाचार