उद्यम र उद्यमी

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७१

नेपाल किन बनेन भन्ने बारेमा धेरै चर्चा भएको छ। नेपाल नबन्नुमा यो मुलुकमा उद्यम गर्ने उद्यमीको कमी छ भन्ने एउटा भनाइ जबर्जस्त रूपमा प्रस्तुत भएको छ। केही दिन अगाडि भारतको हरियाणामा भएको एउटा सहकारी तालिममा प्रशिक्षक प्रोफेसर डा. डि.एन. राम यादवले नेपालका बारेमा धेरैबेर प्रशंसा गरे र सम्भावना देखाए। त्यतिमात्रै गरेनन् नेपाल पछि पर्नुको कारण पनि भने ‘नेपालमा उद्यमको कमी छ’। यसो भनिरहँदा उनले हामी सहभागी नेपालीसँग माफी मागेका थिए। तर यथार्थ कुरा भनेका थिए।

उद्यमबिना कुनै पनि देश विकशित भएको छैन। नेपाली शब्दसागरका अनुसार उद्यम भनेको उद्योग, इलम, जीवन निर्वाहका लागिको उपार्जनलाई गरिने काम वा श्रम, मेहनत, व्यपार, व्यवसाय, प्रयत्न, प्रयासलाई जनाइएको छ। र, उद्यमी भनेको उद्योगी, प्रयत्नवान्, परिश्रमी, कर्मशील भनिएको छ। यो अर्थको सारलाई यसरी भन्न सकिएला उद्योग भनेको आय आर्जनका लागि गरिने काम, पेशा, व्यावसाय र उद्यमी भनेको त्यो काम गर्ने मानिस।

देशमा उद्यमको विकास हुँदा त्यसले रोजगारीको सृजना गर्छ, बेरोजगारी घटाउँछ, व्यक्तिको आय बढाउँछ, राज्यले उद्यमबाट कर उठाउने हुँदा राज्यको आम्दानी बढ्छ, व्यवस्थापकिय क्षमताको विकास हुन्छ र जोखिम लिने आँट पलाउछ, आयात घट्छ र निर्यात बढाउने सम्भावना बढ्छ, राज्यको व्यपार बढ्छ, व्यक्ति-व्यक्तिमा शिप र दक्षताको विकास हुन्छ। अनुसन्धान र खोजको विकास भएर नयाँनयाँ प्रविधि पहिल्याउन सकिन्छ। यी र यस्ता अनेक फाइदा हुन्छन् यदि देशमा उद्यमको विकास भएमा।

उद्यम विकास भनेको तुरुन्तै फाइदा हुने क्षेत्र होइन। यसमा लगानी लगाएर फाइदा लिन धेरै पर्खनुपर्छ। तर व्यपारमा लगानी गरेको छोटो समयमा नै प्रतिफल पाउन सकिन्छ। व्यपार र उद्यमको फरकलाई छोटकरीमा यसरी भन्न सकिन्छ व्यापार भनेको बस्तु किन्नु र केही नाफा लिएर बेच्नु हो यसलाई अङ्ग्रेजीमा ट्रेडिङ भन्ने गरिन्छ भने उद्यम भनेको कच्चा समान किनेर प्रशोधन गर्ने र नयाँ ‘प्रोडक्ट’ बनाएर बेच्ने अवस्थामा पुर्‍याउनु हो। उद्यमले प्रतिफल दिन लामो प्रक्रिया पूरा गर्नुपर्छ भने समय पनि धेरै लाग्छ।

उदाहरणको रूपमा यसरी भन्न सकिन्छ। यदि तपाई आँप बेचेर नाफा कमाउन चाहनुहुन्छ भने बजारमा होलसेलमा आँप किन्नु होस् र केही नाफा लिएर बेच्नुहोस्। यहाँ पनि नाफा हुन्छ। यो व्यपार हो। तर उद्योग होइन। तपाइँ आँप बेचेर नाफा कमाउन चाहनुहुन्छ तर तपाइँको लक्ष आँप उत्पादन नै गरेर बेच्ने हो भने तपाइँमा उद्यमी हुने गुण छ र यो अभियानमा लागेपछि तपाइँ उद्यमी बन्नु हुनेछ। त्यसका लागि आँपको खेती गर्ने जमिन, सुहाउदो हावा पानी र माटो, उपयुक्त जातको बिरुवाको छनौट, बिरुवाको गोडमेल र बचाउ गर्नुपर्छ। त्यतिले मात्रै पुग्दैन निश्चित समयको पर्खार्इको आवश्यक्ता पनि पर्छ। त्यति भएपछि मात्र त्यो व्यवसायले उत्पादन वा फाइदा दिन शुरु गर्छ। तर यस्तो फाइदा व्यापारमा जस्तो क्षणिक नभइ वर्षौ हुने गर्छ।

व्यापारमा जोखिम कम हुन्छ तर उद्यममा जोखिम बढी हुन्छ। व्यापार अल्पकालिन नाफाको बाटो हो भने उद्यम दीघकालीन बाटो हो। उद्यमी हुन चाहनेले परसम्मको भविश्य देख्नुपर्छ, जोखिम लिन र लगानी गर्ने आँट गर्नु पर्छ। जापानी लेखक कियोसाकी आÇनो ‘रिच ड्याड पुवर ड्याड’ पुस्तकमा उद्यमलाई एउटा विरुवासँग तुलना गर्नु हुन्छ। जुन एकदमै सही छ। उहाँको भनाइ अनुसार एउटा ठूलो रुख बनाउन पहिला धेरै सानो विउको दानालाई भुइँमा रोप्नुपर्छ। त्यसलाई उमार्न, हुर्काउन, हावाहुरी र वस्तुभाउबाट बचाउन, घामपानी, मलखादको मात्रा मिलाएर स्याहार गर्न, दुष्ट किराहरूबाट बचाउन धेरै नै मेहनत गर्नुपर्छ। जबकि यो बेलामा त्यो विरुवाले कुनै प्रकारको आम्दानी वा फाइदा दिँदैन। बरु सानो ठक्करले त्यसको ज्यानै पनि जान सक्छ। तर जब त्यो विरुवा हुर्कर्ंदै जान्छ त्यसले जमिनबाट आफैखाने तत्व लिन सुरु गर्छ। हावाहुरी थेग्न सक्ने हुन्छ। कसैले एउटा हाँगो काटेछ नै भने पनि खासै फरक पर्दैन। जनावर र साधारण दुष्ट किराले नोक्सानी पुर्‍याउन सक्तैनन्। जब यो बिरुवा ठूलो हुन्छ तब यसको हेरचाह धेरै गर्नुपर्दैन तर यही बेला यसले फल दिन शुरु गर्छ। फल मात्रै दिदैन सितलता दिन्छ, ओत दिन्छ, घाँसदाउरा दिन सक्छ, र बुढो भए पछि काठ पनि दिन सक्छ। यसले मानिसको जीवन जत्तिकै लामो अवधिसम्म आम्दानी दिइरहन सक्छ।

उद्योग एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ। उद्योगको कानुनी स्वामित्व केही व्यक्ति वा समूहमा देखिए पनि वास्तवमा उद्योग राष्ट्रको र समाजको सम्पति हो। यसले समाजमा धेरै मानिसलाई जोड्छ। धेरैलाई रोजगारी जुटाइदिन्छ भने राज्यलाई कर तिर्छ।

नेपाल किन गरिब भयो भन्ने प्रश्नतिर विचार गर्ने हो भने नेपालमा उद्योगको जग नै धेरै सानो छ। मानिसमा उद्यमी हुने आँट र चेतना धेरै छैन। लगानी गरेर पर्खने धैर्यता छैन। उद्यमी हुँदाको फाइदाका बारेमा प्रष्टता छैन। त्यसैले मानिस लगानी गर्ने पैसा भए पनि उद्योगमा लगानी गर्न हच्किन्छन्। उध्योग सञ्चालन गर्न निक्कै उन्नत स्तरको व्यवस्थापकिय क्षमता चाहिन्छ। यो केही पढेर र केही परेर सिक्ने कुरा हो तर जसले गर्दै गरेन उसले कहिले परेर सिक्न सकिन्छ र ?

उद्यम भनेको एकैचोटी ठूलो हुँदैन। यो सानो बाट ठूलो हुदै जाने प्रक्रिया हो। केहीकेहीलाई एकैचोटी ठुलो उद्यमको मालिक हुने सौभाग्य पनि जुट्छ। तर यो साहै्र थोरैलाई मात्र जुट्छ। यस्तो सुविधा कुनै धनी र उद्यमी परिवारमा मात्रै सम्भव छ। जस्तो मोहन गोपाल खेतानका छोरा राजेन्द्र खेतान, विनोद चौधरीका छोरा निर्माण चौधरी आदि। तर बाबुबाजे धनी हुँदैमा सबै उद्यमी नै हुन्छन् भन्ने छैन। त्यस्ता बाबुआमा बाट धन त प्राप्त होला तर उद्यम प्राप्त हुदैन। जस्तै झापा विर्तामोड निवासी टोरूप प्रसाईलाई पैत्रिक धन प्राप्त भयो तर उहाँ उद्यमी बन्न सक्नु भएन।

उद्यम भनेको अर्को अर्थमा इलम पनि हो। मेरा एकजना सहकर्मी मित्र नारायणप्रसाद कोइराला मध्यम वर्गीय परिवारका मानिस हुन्। उनलाई खानलाउन र गर्जो र्टार्न कुनै दुख छैन। तर उहाँले मसँगको कुराकानीमा धेरै पटक ‘उद्यम वा इलम नभई नहुने रहेछ। कसैले के गर्नु हुन्छ ? भनेर सोद्धा जवाफ दिनै गाह्रो पर्दो रहेछ। बैड्ढमा ऋण लिन गयो के गर्नु हुन्छ ? भन्छन्। सम्पत्ति त छ नि तर उद्यम, इलम नहुँदा दुनियाँले पत्याउँदो रहेनछ’ भन्ने गर्नु हुन्थ्यो।

मध्यम वर्गीय मानिसको बाहुल्यता भएको हाम्रो समाजमा उद्यम वा इलम गर्न संकोच लाग्ने एउटा कारण छ। त्यो के भने सानो तिनोमा आँखा लाग्दैन ठूलो गर्न आँट र पूँजीको अभाव हुने गर्छ। उद्यम भनेको एकैचोटी ठूलो हुन त विरासतबाटै प्राप्त हुनुपर्छ। जस्तो विनोद चौधरीका छोराहरूलाई प्राप्त भयो। तर विनोद चौधरी स्वयंले पनि निकै सानो व्यवसायबाट आजको अवस्थामा आएका हुन भन्ने भुल्नु हुँदैन। उद्यमको बिउ भनेको विशाल बरपीपलको सानो बिउ दानाजस्तो मात्रै हो। त्यसले अनुकूल स्याहार र हावापानी, माटो, प्रकास पायो भने बिसाल बोट बन्न सक्छ।

एउटा सानो उदाहरण लिउँ झापाको धाइजन निवासी घनस्याम चिमरिया २०५० साल तिर जिविकाका लागि अर्काको साइकलमा ज्यालामा दूध बोक्ने गर्थे। यति गरेबापत महिना दिनमा १२।१५ सयको ज्याला पाउँथे। उनले केही समयमा यो काम सिके र पुरानो साइकल किनेर आफैदूध किन्न र बेच्न थाले। आज करिब २० वर्षपछि उनीसँग आÇनै आधुनिक दूध डेरी उद्योग छ। जसमा दैनिक ७।८ हजार लिटर दूध संकलन गर्ने, प्रशोधन गर्ने गर्छन्। त्यस्तै अर्को उदाहरण काँकरभिट्टामा २० वर्ष जति पहिले भन्सारको छेउमा एउटा सानो घुम्ती पसलमा कोल्ड डि्रङ्स र पान बेच्न सुरु गरेका स्याम कार्की आज काँकरभिट्टामै जग्गा किनेर करोडौंको लगानीमा होटल बनाउँदैछन्। अर्को उदाहरण काँकरभिट्टाका श्रीप्रसाद मैनालीलाई पनि लिन सकिन्छ। २०४० साल तिर कन्काई बसमा यात्रु बुक गरेर पाएको कमिशनले परिवारको गर्जो टार्नुपर्ने अवस्थाका मानिस आज करोडौं अचल सम्पत्ति र एक दर्जन बढी रात्रि तथा दिवा बसका एकलौटी मालिक बन्न सफल भएका छन्।

यस्ता उदाहरण कति हो कति दिन सकिन्छ। यस्ता उद्यमीले आफूले मात्रै पैसा कमाएका होइनन् धेरैलाई रोजगारी दिएका छन्। राज्यलाई कर तिरेका छन्। आÇनो व्यवस्थापकीय क्षमतामा उल्लेख्य वृद्धि गरेका छन्। एउटा उद्यमी सफल भए त्यसले आफूलाई मात्रै होइन समाज र देशकै भलो गरिरहेको हुन्छ। त्यसै कारण उद्यम र उद्यमीको विकासका लागि राज्यले ध्यान दिनुपर्छ। तब मात्रै वास्तविक रूपमा देश विकास हुन्छ। राज्यले यहाँ ध्यान पुर्‍याउनुपर्ने कुरा के मात्रै हो भने कतै उद्यमीले धेरै र चाँडै नाफा कमाउने नाममा ठगी त गरिरहेको छैन ? भनेर बेलाबेलामा छड्के चेकजाँच गर्नुपर्छ। तर उद्यमीलाई निरास र हतोत्साही बनाउनुहुँदैन। रातारात धनी हुने सपना देखेर छलछाम गरेर, अरुलाई झुक्याएर वा ठगेर धनको धनी त बन्न सकिएला तर उद्यमी बन्न सकिदैन। त्यसैले धनी हुनु र उद्यमी हुनु एउटै कुरा होइन।

उद्यम भनेको ठूलठूला उद्योग र कलकारखाना मात्रै होइन। जीविको पार्जनका लागि गरिने ब्यापार, सेवा, उद्योग, व्यवसाय सबै उद्यम हुन्। उद्यमको शुरुवात जीविको पार्जन गर्न कै लागि हुन्छ। तर जब उद्यमले आकार ग्रहण गर्दै वृद्धि हुँदै जान्छ तब त्यो जीविकोपार्जनसम्म मात्रै सीमित हुँदैन। त्यसले अरुअरु उद्यमका सम्भावनाको खोजी गर्दै जान्छ। कारोबार बढाउदै जान्छ। धेरैलाई रोजगारी दिने क्षमता राख्छ। राज्यलाई कर तिरेर धनी बनाउछ। त्यसैले साचो अर्थमा उद्यम विकासबिना देश विकास हुँदैन। नेपाल किन बनेन भन्दा यति चाहीँ भन्न सकिन्छ कि यहाँ साँचो अर्थमा उद्यम गर्ने मानिसको खाँचो छ र राज्यले उद्यमीको योगदानलाई सही अर्थमा बुझनै सकेको छैन। हाम्रो समाजको मूल चरित्र कस्तो बन्यो भने मानिस धनी हुन चाहन्छन् तर उद्यमी बन्ने प्रयास गर्दैनन्। यो नै हाम्रो पछौटे पनको कारण हो भन्ने मेरो बुझाई हो।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width