आलु महोत्सव : एक परिचय

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २२, २०७५

१. परिचयः

हेमजा सुन्दर नगरी पोखराको उत्तरपट्टि रहेको कास्की जिल्लाको पश्चिम उत्तर क्षेत्र अन्नपूर्ण हिम श्रृङ्खलाको काखमा उत्तर पूर्व सेती नदी तथा दक्षिण पश्चिम याम्दी खोलाको बिचमा अवस्थित सुन्दर ठाउँ हो। यो ठाउँ अन्नपूर्ण हिमश्रृङखलाको दृश्यावलोकनको लागि केन्द्रविन्दु मानिन्छ। यो ठाउँ पोखरा महानगरपालिका वडा नं.२५ मा पर्दछ। यहाँको फाँट कृषि उत्पादनको लागि महत्वपूर्ण र ऊर्वरा मानिन्छ। हेमजाको अधिकांश जमीनलाई अन्नपूर्ण नहरले सिँचाईको सुविधा पुर्याएको छ।

यस क्षेत्रले पोखरा बजारलाई २५–३० प्रतिशत ताजा तरकारी आपूर्ति गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। गत आ.व.२०७३/०७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाई अन्र्तगत तरकारी सुपरजोनको कार्यक्रमलागु भएको हुनाले यसको योगदान अझ बढी हुने देखिन्छ।

यहाँ आधुनिक खेती गर्न विभिन्न सरोकारवाला निकायहरुले अनुसन्धान, विकास, प्रसार, सिँचाई तथा अन्य कार्य गर्छन्। सरकारी संस्थाले प्रेरित गरिरहेको यथार्थलाई नर्कान सकिँदैन। अझ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका अन्य निकाय र क्षेत्रीय कृषि अनुसन्धानकेन्द्र लुम्लेले विगत धेरै वर्ष अगाडि देखि आफ्नो बाली अनुसन्धान स्थल स्थापना गरी आलु, ताजा तरकारी लगायत विभिन्न वालीमा अध्ययन अनुसन्धान गरी प्रविधि विस्तार तथा विकास गरेको छ।

यहाँको आलुखेती इतिहासलाई हेर्ने हो भने लेतेको वर्षे सेतो आलु, घान्द्रुक र छोम्रो·बाट रातो डल्लो आलु ल्याई खेती गरेको इतिहास पाइन्छ। लगभग वि.स २०४५/४६ सालदेखि केही मात्रामा आलुखेती विस्तार भई वि.सं.२०५४/५५ सालमा तत्कालीन लुम्ले कृषि केन्द्रले आफ्नो बाह्य अनुसन्धान स्थल स्थापना गरे पश्चात पूर्ण रुपमा आलुखेतीमा व्यावसायिकता बढेको देखिन्छ। आलुखेतीको विस्तार हुँदै जादा नार्क अन्तर्गत क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले हेमजालाई आलु गाउँको रुपमा परिचित पनि गराएको छ।

यसै परिवेशमा यहाँ रहेको बहुउद्देश्यीय किसान सहकारी संस्थाको आयेाजनामा बुद्धिजीवी, अगुवा कृषक सरोकारवाला निकायहरुको सामूहिक भेलाले हेमजामा आलु महोत्सव गर्ने भन्ने निधो गरी सोही सहकारी कै आयोजना एवम् संयोजकत्वमा वि.स २०६६ फागुनमा १ दिने आलु महोत्सव सम्पन्न भएको थियो। त्यसपछि दोस्रो हेमजा आलु महोत्सव साविक हेमजा गा.वि.स. र त्यसपछि निरन्तर विष्णुपादुका क्लवपोखरा–२५, हेमजाले यसलाई निरन्तरता दिई दशौँ संस्करणसम्म आइपुगेको छ। दसौं संस्करण यही चैत २२ गतेदेखि वैशाख १ गतेसम्म हुँदैछ।

२. हेमजामा आलुखेतीको वर्तमान अवस्था

सरकारी तथ्याङ्क अनुसार २०७३/७४ मा नेपालमा १, ९५, २६८ हे.क्षेत्रफलमा आलुको उत्पादन २७ लाख, ३० हजार, २९४ मे.टन रहेको देखिन्छ। उक्त आँकडाले राष्ट्रिय उत्पादकत्व १३.८९ मे.टन प्रति हेक्टर देखाइएको छ। जिल्लागत हिसावमा हेर्ने हो भने २०७३/०७४ मा कास्की जिल्लाको आलुले ओगटेको क्षेत्रफल १७ हजार २७ हे. देखिन आउँछ भने उत्पादन २१ हजार ०८३.३५ मे. टन भएको देखिन्छ। प्रति हेक्टर उत्पादकत्व १२.४ मे.टन रहेको सरकारी तथ्याङ्कमा देखिन्छ तर हेमजाको मात्र क्षेत्रफल उत्पादनको आधारमा उत्पादकत्व हेर्ने हो भने राष्ट्रिय र जिल्लागत हिसावमा बढी देखिन्छ। यहाँको उत्पादकत्व १८–२० टन प्रतिहेक्टरको हाराहारीमा विभिन्न अनुसन्धानात्मक आँकडा र कृषकहरुको उत्पादनको अनुभवको आधारमा रहेको देखिन्छ। हेमजाको कुल आलु उत्पादन क्षेत्र–अन्नपूर्ण सिंचाई आयोजनाको ३५० हे.प्रभाव क्षेत्र मध्ये ३२० हे.मा भएको चौरासी नहरको १८५ मध्ये १०० हे. भएको र यस वडाको सुईखेत लगायत अन्य क्षेत्रमा जोड्दा लगभग ४०० देखि ४२५ हे.क्षेत्रफलमा हाल आलुखेती गरिएको छ।

माथिका विभिन्न तथ्याङ्कले के देखाउँछ भने राष्ट्रिय र जिल्लागत उत्पादकत्वमा हेमजाको उत्पादकत्व ५–७ टन प्रति हेक्टर बढी देखिन्छ आउँछ। तर यसैमा सन्तोष मान्नुपर्ने अवस्था छैन। किनकि गुणस्तरीय बीऊ सिंचाई र उचित मलखादको व्यवस्था अन्य आवश्यक प्रविधि प्रयोग गर्न सकेमा २५–३० टन सजिलै उत्पादन लिन सकिन्छ। यी तथ्याङ्कका आधारमा हेमजामा आलु उत्पादनमा मात्रै वार्षिक २०–२१ करेाडको आर्थिक कारोबार हुने गरेको पाइएको छ।

राष्ट्रिय रुपमा हेर्दा सानो क्षेत्र देखिए पनि हेमजाको आलु उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा निकै योगदान गरेको महसुसगर्न सकिन्छ। प्रत्यक्ष–अप्रत्यक्ष रुपमा यहाँको आलु उत्पादनले रोजगारमा ठूलो योगदान पुर्याएको छ। यहाँको आलुको उत्पादनले उपभोक्ताको मन जित्न समेत सफल भएको विश्वास गरिएको छ।

३. हेमजामा लगाइने आलुका प्रमुख जातहरुः

  • एम.एस.४२
  • कूफ्रज्योती
  • खुमल लक्ष्मी
  • जनकदेव
  • खसमल सेतो
  • डेजीरे

पोखराका उपभोक्ताहरुले एम.एस.४२ जातको आलु बढी मन पराउने भएको तर नेपाल सरकारबाट अनुमोदन नभएको हुनाले यहाँका अगुवा किसान तथा सहकारीको आग्रहमा राष्ट्रिय आलुवाली विकास कार्यक्रम, राष्ट्रिय आलुवाली अनुसन्धान कार्यक्रमसँग समन्वय गरी पूर्व मुल बीऊ उपलब्ध भई विभिन्न पुस्ताको बीऊ उत्पादन गर्ने कार्य भैरहेको छ। यसको अगुवाई बहुउद्देश्यीय किसान सहकारी संस्था र देवीस्थान कृषि सहकारी संस्थाबाट भैरहेको छ। पूर्व मूल बीऊबाट विभिन्न पुस्ताको बीऊ क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेले उपलब्ध गराउँदै आएको छ।

४. आलुखेतीका चुनौती

  • शुद्ध वीऊको अभाव
  • मजदूरको अभाव
  • उत्पादन सामग्री भनेको समयमा उपलब्ध नहुनु।
  • डढुवा रोग र रातो कमिलाको प्रकोप बढी।
  • उत्पादित आलुको भण्डारमा पहुँच सहज नहुनु।
  • सीप र प्राविधिक ज्ञानको कमी।
  • जमीनसुहाउँदो यान्त्रीकरण नहुनु।
  • किसानस्तरमा संगठित बजारको अभाव।

५. दसौं राष्ट्रिय हेमजा आलु महोत्सवका प्रमुख उद्देश्यहरु

  • स्थानीय लगायत राष्ट्रिय अर्थतन्त्रलाई योगदान गर्ने।
  • बढ्दो वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने।
  • कृषिमा आधारित उद्योग खोल्ने वातावरण सिर्जनागर्ने।
  • हेमजामा शितभण्डार (कोल्ड स्टोर) को स्थापना गर्न पहल गर्ने।
  • आलुखेतीको प्रति एकाई उत्पादकत्व बृद्धि गर्ने।
  • कृषि उत्पादनको आधुनिकीकरण माध्यमबाट यस क्षेत्रलाई आत्मनिर्भर बनाउने।
  • कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने।
  • विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी हेमजा लगायत यस क्षेत्रको दीर्घकालीन कृषि योजना निर्माण गर्ने।
  • बढ्दो विषादी प्रयोगलाई न्यूनीकरण गर्ने।
  • स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने।
  • किसानको जीवनस्तर माथि उठाउने कृषि कार्यक्रममा जोड दिने।
  • राष्ट्रिय रुपमा हेमजा क्षेत्रको पहिचान गराउँने।
  • हेमजा क्षेत्रमा उत्पादित आलु लगायत अन्य ताजा तरकारीको गुणस्तरीय उत्पादनमा जोड दिई किसानको हौसला बढाउनेर क्लब भवन निर्माणमा आर्थिक सहयोग जुटाउने।

६. महोत्सवमा हुदै आएका आकर्षणका पक्षहरु

  • आलुको ठूलो पहाड निर्माण।
  • आलु तथा ताजा तरकारीहरुको प्रदर्शनी।
  • आलुका विभिन्न परिकारहरु।
  • ताजा तरकारी प्रदर्शनी।
  • विविध सांस्कृतिक कार्यक्रम।
  • चर्चित हाँस्य कलाकारहरुका प्रस्तुति।
  • जापानीज सुन्तला, च्याउ, कफी, चियाको बिक्रीएवं प्रदर्शनी।
  • विभिन्न कृषि बिऊ बिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी।
  • राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता।
  • कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता।
  • साइकल र्याली प्रतियोगिता।
  • कृषि झाँकी प्रतियोगिता।
  • लाइभ पप कन्सर्ट।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव हुँदै आइरहेको छ।

लेखक विष्णुपादुका क्लव हेमजाका अध्यक्ष तथा महोत्सवका संयोजक हुन्।

Related News

सम्बन्धित समाचार

    • उच्च आशा, कमजोर परिणाम

      ananda raj mulmi आनन्दराज मुल्मी फागुन १५, २०७७
      २०७२ साल असोज ३ गते जारी गरिएको नेपालको संविधान झण्डै ८ वर्ष समय २/२ वटा संविधान सभाको निर्वाचन अनि स्वभाविक…
    • ‘हिमालतिर’ विचरण गर्दा

      प्राडा नारायणप्रसाद खनाल प्राडा नारायणप्रसाद खनाल फागुन ८, २०७७
      फूलबारी छापाखाना, रानीपौवा, पोखरामा म २०४१ पछि र २०४५ अघि नै पुगेको हुनुपर्छ नत्र ‘पार्वती’ लेखनाथ विशेषांक पत्रिका दिने कृष्णप्रसाद…
    • संघीयताको कोलमा निचोरिएका कर्मचारी

      डार्बिन लम्साल डार्बिन लम्साल फागुन ८, २०७७
      पछिल्लो जनआन्दोलन र त्यसपछिका विभिन्न समयमा भएका सहमतिका आधारमा नेपाल संघीयतामा होमियो । जसको मुख्य उपलब्धिका रुपमा नेपालको संविधान २०७२…
    • लय समात्दै प्रदेश

      अनन्तकुमार श्रेष्ठ अनन्तकुमार श्रेष्ठ फागुन ७, २०७७
      जनआन्दोलन २०६२/०६३ को महत्वपूर्ण उपलब्धि गणतन्त्र र संघीयता हो । संघीय व्यवस्था अनुरुप प्रदेश नम्बर ४ हुँदै गण्डकी प्रदेश भई…
    • फागुन सात साथमै रहोस्

      रेशम शर्मा बस्ताकोटी रेशम शर्मा बस्ताकोटी फागुन ७, २०७७
      हिजो हाम्रा पुखाको समय कुटो, कोदालो, घाँस, दाउरा, पशुपालन गर्न मै व्यस्त रहेर बित्दै आएको थियो । उनीहरुलाई यस्तै कर्म…

    hero news full width