आध्यात्मिक चिन्तनका संवाहक स्व.पं. नारायणदत्त बराल

आदर्श समाज सम्वाददाता
कार्तिक १०, २०७१

२०७१ साल असोज महिनाको २९ गते बिहान ५ बजेतिर मेरो सिरानी नेरै रहेको मोबाईलमा घन्टी बज्यो। मलाई निन्द्राले छोडी सकेको थिएन तैपनि मोवाइल लिएर मैले हेलो भने। म असित हुँ बुबा नमस्कार। मैले तुरुन्त सम्झन सकिन को बोल्नु भएको हो भनें। जवाफ उही दोहरियो बुबा म असित हु मासबारबाट बोलेको हजुर बुबा बित्नु भयो। मैले तुरुन्त हतारिदै सोधे को हजुरबुबा असित बाबुको जवाफ आयो ‘पं. नारायणदत्त’ हजुरबुबा। राजा वीरेन्द्रको वंशनास भएको खबरले मेरो मन जसरी दुःखेको अनुभूति भएको थियो। त्यही अनुभूति २९ गतेको बिहान भयो। राम्रो खवर सुखद् हुन्छ भने नराम्रो खबर दुःखद् हुन्छ। यस्तो अनुभूति सबैमा हुन्छ । मलाई पनि यहि भयो यो स्वभाविक नै होला। पं. नारायणदत्त बराल २०७१ साल असोज २८ गते रातको ११ः३० बजे पोखरा-१७ विरौटा आफ्नो निवासमा भौतिक शरीर छाडी ब्रम्हलीन हुनु भएछ। १९७७ साल श्रावण ९ गते पिता लिलाम्बर बराल र माता तुलसादेवी बरालका कोखबाट पोखरा ७ मासबारमा जन्मनु भएका बरालको यस धरतीमा रहने अवधि २०७१ साल असोज २८ गते सकिएछ। १९७७ साल भन्दा अघि पनि उहाँ यस धरतीमा हुनुहुदैनथ्यो भने २०७१ असोज २८ पछि पनि रहनु भएन। उहाँको निधनले बराल समाजलाई अपुरणीय क्षति भएको छ। ९५ वर्षको उमेरसम्म मात्र यस धरतीमा रहने सौभाग्य उहाँलाई मिलेको रहेछ। अब यस धरतीमा उहाँको सुकर्म र सामाजिक योगदान मात्र सम्झना स्वरुप रहने भयो।

पं. नारायणदत्त बराल आफ्ना टोल छिमेकी अधिकांसका अभिभावक, पथप्रदर्शक मात्र नभै एउटा बलियो मियोको रुपमा रहनु भएको थियो। उहाँको निधनमा उहाँका परिवारजन सहित बन्धु बान्धव इष्टमित्र शुभेच्छुक सबै ज्यादै मर्माहत छौं। बराल परिवारमा सबैलाई ओत दिने एउटा मोटो फेद भएको अग्लो वृक्ष अब कहिल्यै नउठ्ने गरी ढलेको छ। यसको क्षतिपूर्तिको रुपमा अर्को यस्तै वृक्षको उदय इश्वरले गरी दिन्छन् दिदैनन् भविष्यको गर्भकै कुरा भयो।

विन्ध्यवासिनी क्षेत्रका अघिल्लो पुस्ताका रेग्मी र पराजुली परिवारका विद्वानवर्गबाट जीवन परक नैतिक शिक्षा आर्जन गरेका बरालले जीविका परक शिक्षालाई महत्व दिएको देखिएन। उहाँ जीवन परक शिक्षामा नै जीवन भरी रमाउनु भएको देखियो। अहिलेको शिक्षा प्रणालीमा नैतिक शिक्षाको पठन पाठन नभएकोले सामाजिकस्तर खस्कदै गएको छ भनि स्वामी रामानन्द गिरीसँग गुनासो गरेको मैले सुनेको छु। धर्म संस्कृतिको लोप हुदै गएकोमा उहाँ वहुत चिन्तित हुनुहुन्थ्यो। मैले पं. नारायणदत्त बराललाई २०४० साल अघि अक्कल झुक्कल मात्र देखेको थिएँ। खासै परिचय थिएन। २०४० साल यताबाट नै उहाँलाई मैले राम्रोसँग चिनेको हुँ र सर्म्पर्क बढेको हो। त्यसै वेला होला उहाँको शुभ संकल्प र लिलाभक्त आचार्यजीको सक्रियतामा पोखरा १७ विरौटामा राममन्दिरको स्थापना गरियो र वैदिक सनातन धर्म संस्कृति अनुसार दैनिक पाठपूजा अर्चना भजन कीर्तन हुन थालेको हो। प्रत्येक वर्ष कुनै न कुनै धार्मिक कार्य हुने गर्दथ्यो। कुनै वर्ष सप्ताह पुराण, कुनै समय ९ दिने देवी भागवत पुराण, कहिले सतरुद्री आदि धार्मिक कार्यहरु भैरहन्थ्यो। यतिमात्र हैन प्रत्येक वर्षको चौमासमा अखण्ड हरिकीर्तन भैरहन्थ्यो। देवघाटबाट स्वामीहरु बोलाई शास्त्रीय प्रवचन गर्न लगाउनु हुन्थ्यो। कहिले स्वामी १००८ डा. रामानन्द गिरीजीको वेदान्तको बेजोड प्रवचन हुन्थ्यो भने, कहिले १००८ स्वामी महामण्डलेश्वर आत्मानन्द गिरीको सनातन धर्म संस्कृतिको वारेमा अमृतमय प्रवचन हुन्थ्यो। यस्तै स्वामी ज्ञानानन्दको आत्मिक प्रवचन हुने गर्दथ्यो।

४० वर्ष अघि मैले देखेका नारायणदत्त बराल र २०७१ सालमा मौजुदा बरालको शारीरिक मानसिक र आत्मिक अवस्थामा कुनै परिवर्तन आएको पाइएन। श्रीमद् भागवत महापुराण श्रीमदभागवत गीता व्रम्हसुत्र अध्ययन गरि रहने बराल भन्नु हुन्थ्यो श्रीमद्भागवत महापुराण भूतलाई तार्ने, वर्तमानलाई सुधार्ने र भविष्यलाई सिगार्ने आधारभूत तत्व हो। यो महापुराणमा सम्पूर्ण वेदान्तको सार सर्वस्व छ। यसले जीवात्मा र परमात्माको एकताको प्रतिपादन गर्दछ। यसको सवोपरी लक्ष्य भनेको मुक्ति हो। यसै भएर नै होला विरामी परेर अस्पतालको शैयामा रहेका ९५ वर्ष उमेर पुगेका स्वास्थ्य उपचारको लागि देव्रे हातमा स्लाईन पानीको पाइप झुण्डाइएका पिसावको समस्याले सताएर प्लाष्टिक व्यागमा पिसाव छोडी रहेका पं. नारायणदत्त बराल १००८ स्वामी डा. रामानन्द गिरीजीले अनुवाद गर्नु भएको श्रीमद्भागवत महापुराण आठौं खण्ड भागवत काठको तख्तामा राखी अध्ययन गरिरहेको मैले देखेको छु। तेजिला नेत्र ओज पूर्ण शब्द तन्दुरुस्ती शरीर तेजिलो मुहार देखिन्थ्यो। यो उहाँलाई प्राप्त इश्वरीय वरदान हो वा उहाँका पूर्वजहरुको पुण्य कर्मको फल हो यसको निर्णय पाठक वर्गले नै गर्न हुनेछ। भनिन्छ आफ्नो पूर्वजहरुले गरेको पुण्यको फलले सन्नततीहरुको जीवनशैली संस्कार, बुद्धि विवेक विचार र असल नियत वन्दछ भन्ने जनविश्वास छ। उहाँको जीवनशैलीले यो कुरा प्रमाणित गर्दछ। एउटा आध्यात्मिक उखान प्रचलित रहेको छ। प्रवचनको सिलसिलामा स्वामीजीहरु भन्ने गर्नु हुन्थ्यो। “बासी खाएर भोकै सुत्नेहरु”को यस लोक परलोक दुवै लोकमा उचित ठाउँ हुदैन। यसको मतलब पुर्खाले गरेको पुण्यकर्मको फलले अहिले एकमानो खान पुगेका आफूले कुनै किसिमको पुण्यकर्म, परोपकार तीर्थ ब्रत केही नगरेका मानिसलाई संकेत गरेको छ।

पं. नारायणदत्त बराल हिन्दू धर्म संस्कृतिका महान उपासक तथा वेदान्तका वेजोड चिन्तक हुनु भएकाले श्रीम्दभागवत गीतामा श्रीकृष्णले बताउनु भएको आफ्नो दिव्य धामः

नतद् भासयते सूर्यो नशशाड्ढो नपावक।

यदत्वा न निवर्तन्ते तद्धाय परमं मम।।

प्राप्त गरी सक्नु भएको मेरो ठहर छ। जुन धाम स्वयं प्रकाशित त्यस धाममा सूर्य चन्द्र, अग्नि, विद्युतीय प्रकाशको कुनै काम रहदैन तेस्तो धाम प्राप्त गरेका जीवात्माले जन्म मृत्युको चक्कर र चौरासी लाख जुनीको यातना भोग्नु पर्दैन भन्ने शास्त्रमा उल्लेख भएको पाइन्छ।अस्तु।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width