आदर्श समाजको आदर्श परिकल्पना

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७१

नेपाली समाज तीब्र परिवर्तनको मोडमा छ। शिक्षा, सञ्चार माध्यमको पकड, दूर दराजसम्म पनि सूचनाको पहुँच, सचेतना, आर्थिक अवस्थामा वैदेशिक रोजगारबाटै भएपनि आएको सुधार, बढ्दो सहरीकरण, राजनीतिक परिवर्तनसँगै बढेको विकास मोह, सामाजिक परिवर्तनका धेरै माध्यमद्वारा परिवर्तनका ढोका खुलेका छन्।  पुराना ग्रामीण संस्कार र मूल्यमान्यतालाई भत्काउने प्रयास गर्दैछ। प्रजातन्त्रोत्तरकाल विशेष गरी २०४७ पश्चात र द्वन्द्वोत्तरकालमा समाज सहज रूपमा अर्थात उही बुढापाकाले सोचेको अर्थात आफू युवा छँदाको ढर्रामा समाज हिंड्न नसक्दा यो समाज ब्रि्रयो भनेर चिन्ता गर्ने धेरै व्यक्ति पाउन सकिन्छ। स्वाभाविकै मान्नुपर्ला, समाज मानिसले सोचेको गतिमा अगाडि बढेको थिएन, बढिरहेको छैन र यसको गतिलाई नियन्त्रण गर्ने लगाम पनि त्यति सशक्त रूपमा विकसित भइसकेको हुने छैन, सायद। समाज परिवर्तनशील छ र यो संसारमा ‘परिवर्तन’ भन्ने शब्द बाहेक सबै चिज परिवर्तनशील छन्। यस्तो समाजमा हुने परिवर्तनको गतिलाई नियन्त्रण गर्न खोज्नु हुटिट्याउँले आकास थाप्न खोजे जस्तो हुन्छ होला। परिवर्तन सहन नसक्ने वा पाच्य नहुने वर्गको लागि समाज सबै डामाडोल भए जस्तो लाग्छ। परन्तु परिवर्तन समयले ल्याएको कुरा हो र यसलाई आत्मसात गरि अगाडि बढ्नु भन्ने मान्यता केही सीमित व्यक्तिहरूमा मात्र पाइन्छ। त्यस्ता व्यक्तिहरू यस समाजका आदर्श हुन् र उनीहरूका चिन्तन वा परिकल्पना यस समाजका लागि आदर्श परिकल्पना वा चिन्तन हुन्। थोरै नै संख्यामा भए पनि यस्ता व्यक्तिहरूबाट आफू बस्ने समाजको आदर्श चिन्तन गर्ने कार्य लामो सयमदेखि हुँदै आएको कुरालाई नकार्न सकिँदैन।  

नेपाल राज्यका जुनसुकै भूभागमा बस्ने बासिन्दा भए पनि पुरानो ढर्राको शैलीमा चल्न खोज्ने व्यक्ति सबै थिएनन्। केही बिरोध गर्न सक्थे, केही डराउँथे। राणाकालमै मकैको खेती जस्तो पुस्तक लेखेर परिवर्तनका पक्षमा विगुल फुक्ने सुब्बा कृष्णलाल अधिकारी जस्ता केही भएपनि, राणाहरूले गरेको विर्ताहरण बिरूद्ध आफ्ना आवाज बुलन्द गर्ने कमलामोहन भट्टराई भएपनि सबै त्यस्ता बाघका डमरू थिएनन्, अवश्य नै। कोही कोहीलाई अर्काको ज्यादती, अत्याचार, अन्याय मन पर्दैनथ्यो तर खुलेर बिरोध गर्ने आँट र साहस थिएन। त्यसरी आदर्श चिन्तन गर्ने र समाजमा त्यो चिन्तनलाई साझा बनाउँदै समाज परिवर्तनको सिलसिलालाई सहज रूपमा आत्मसात गर्ने काम विभिन्न रूपमा हुँदै थियो। यहाँका शोषक, सामन्त, जाली, फटाहा जस्ता सामाजिक कुव्यक्तिहरू र तिनले फिंजाएको बिकृति बिसङ्गतिको जालो उखेलेर फाल्ने कार्य यहाँका केही आदर्श र दूरर्दर्शक व्यक्तिहरूको नेतृत्व एवं सहकार्यमा हुँदै थियो। सामाजिक सद्भाव, मूल्यमान्यता, समाज, संस्कृति, सम्प्रदाय, सामुहिकता, इमान सबै नेपाली समाजका आदर्श हुन् र यिनको जगेर्ना नगरेसम्म नेपाली समाजमा अझ बिकृति बिसङ्गतिका जरा गाँजिएर जानेछन् भन्ने तथ्यलाई सबैले आत्मसात गर्नुपर्ने धरातलीय यथार्थलाई सबैले बुझ्ने गरी बुझाउने माध्यमको खोजी हुँदै थियो। त्यस्तो माध्यम पनि स्वतन्त्ररूपमा आम जनताको घरदैलोमा मात्र होइन मनमनमा बस्ने गरी विकास गर्ने सोचको खोज हुँदै थियो। सही सूचना र निर्भिक विचारसहित स्वतन्त्र पत्रकारिताको अठोट पनि सँगै थियो। त्यत्रि मात्र कहाँ हो र समुन्नतिको खोजी पनि त्यसै लक्ष्यसाथै थियो। राज्यको विकासमा आर्थिक पक्षले ठूलो भूमिका खेल्ने तथ्यलाई दृष्टिगत गरेर नै सञ्चारको माध्यमको स्थापना गर्ने दृढ संकल्प बनेको थियो। मोफसलमा पनि पत्रकारिता गर्न सकिन्छ र समुन्नतिको बाटोतर्फ अग्रसर रहन सकिन्छ भन्ने कुरालाई छोटै समयमा गरेर देखाउनु थियो। आदर्श समाजको परिकल्पना खोजपूर्ण सामग्री, ज्ञानवर्द्धक विषय, साहित्य, खेलकुद, मनोरञ्जन, उद्योग वाणिज्य, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य अनि राजनीति सबै क्षेत्रका विषयवस्तु समेट्ने एक सशक्त सञ्चार माध्यमको रूपमा यसका संस्थापकहरूले गरेको हुनुपर्छ। मोफसलमा बसेर ‘मोफसल पनि केही हो है, राजधानी भन्दा बाहिर धेरै छ, त्यसको उपेक्षा हुनुहुन्न’ भन्ने मान्यता स्थापित गर्न जे जस्ता व्यवधान आए पनि डटेर सामना गर्ने तर आदर्श समाज निष्पक्ष पत्रकारिताद्वारा स्थापित गर्ने भनेर यो समाचारपत्रको शुरूवात गरेको हुनुपर्छ।

राज्य सञ्चालकहरूलाई खबरदारी गर्दै आम जनतालाई सुसूचित गर्दै राष्ट्र निर्माणको अभिभारा नभुल्न गतिशिल राष्ट्रको नागरिकका रूपमा आफ्ना कर्तव्य पूरा गर्न आदर्श समाजले आफ्नो स्थापनाकालदेखि नै लागेको घामजस्तै र्छलङ्ग छ। भनिन्छ नि ‘जति हजार माइल लामो यात्राको आरम्भ होस् त्यो पनि एक कदमबाटै हुने गर्छ’ र आदर्श समाजले आफ्नो यात्रा पनि दौडेर हतारमा शुरू गरेको पक्कै पनि होइन। पाक्षिक देखि साप्ताहिक हुँदै दैनिक पत्रिकाको रूपमा यसले आफ्ना कदमहरू आम जनताको दैलो दैलोमा पुग्न सफल भएको छ। सबैले यसको व्यग्रतासाथ प्रतिक्षा गरेका हुन्छन्। अनलाइनमा उपलब्ध हुने हुँदा देश विदेशमा रहेका नेपालीले यसको समाचार, विचार, सम्पादकीय सबै आवश्यक खुराक प्राप्त गर्न सकेका छन्। त्यसले नै होला आज यो पत्रिका सबैको साझा खुराक बन्न पुगेको छ। कतिपयले त यसलाई पोखराको गोर्खापत्र भन्ने गरेको समेत मैले सुन्न पाएको छु। ७५ जिल्ला मध्ये चालिस जिल्लासम्म आफ्नो क्षेत्र विस्तार गरी त्यहाँ पनि एक मोफसलको स्थापित राष्ट्रिय दैनिकको रूपमा पुग्नु चानेचुने कुरा होइन। हुन त कुनै काम शुरू गर्नु ठूलो कुरो होइन, त्यसको निरन्तरता दिनु नै महत्वपूर्ण कुरा भन्ने भनाई छ। यसले शिक्षा स्वास्थ्य जस्ता राज्यका अत्यन्त महत्वपूर्ण क्षेत्रहरूमा देखिएका विकृतिहरू देखि सहँदैन र निर्भिकतापूर्वक लेख्छ। शिक्षक प्राध्यापक, डाक्टर नर्स को कसले के गर्नुपर्ने गरे वा के नगर्नुपर्ने कुरा गरे, त्यो निष्पक्षतापूर्वक खोतल्छ र विषयवस्तुको गहिराइमा पुगेर सत्यतथ्य कुरा प्रकाशमा ल्याउँछ। चाहे राष्ट्रियताको सवाल होस्, चाहे सामाजिक उत्तरदायित्वका विषयमा होस्, चाहे आर्थिक सवालमा होस् आफ्ना खुट्टा नडगमगाइकन आफ्ना तर्फबाट समाचारपत्रको हैसियतले गर्नुपर्ने कार्य स्वतन्त्र र निष्पक्ष रूपले गरेको जस्तो मैले महशुस गरेको छु। त्यसै भएर होला जुनसुकै नामी पत्रिका पढेपनि एकपटक आदर्श समाज नपढी कसैको चित्त बुझ्दैन। अझ मोफसलमा पढिने पत्रिकामा एक नम्बर र पाठक संख्याका हिसावले राष्ट्रिय स्तरमा पाँचौ बन्न सफल भएको गत चैत्र १२ गतेको समाचारले हामी सबैलाई हषिर्त बनाएको छ। साक्षर देखि स्नातक, गृहिणी देखि पेशाकर्मी, युवा देखि प्रौढ सबैको रोजाईको पत्रिका बन्नु आदर्श समाज जस्तो सामान्य कालो सेतो रङमा सामान्यतया ६, ८ पृष्ठ छापिने पत्रिकाको लागि यो चानेचुने कुरा पक्कै पनि होइन। यी सबैको मुख्य रहस्य यसले हरेक विषयहरूमा सुसूचित र सुशिक्षित बनाउँदै लाने प्रयास गर्नुको परिणाम हुनुपर्छ।

आदर्श समाजले आजसम्म १८ कलकलाउँदो वा भनौं भर्भराउँदो उमेर पार गरेको छ र यो उमेर उसको घुमेर आउनेवाला पनि छैन। यस अवधिमा यसले आफूलाई स्थापित गर्न जति कोशिस गर्‍यो, त्यो प्रशंसनीय छ। यसले पस्कने समाचार, यसमा सम्प्रेषण हुने विचार र यसले समेट्ने सम्पादकीयमा विशुद्ध आफ्नोपन छ जसले गर्दा यो आदर्श समाज बन्न सफल भएको छ। आगामी दिनमा यसले नेपाली समाजमा व्याप्त भ्रष्टाचार, कुशासन, बिकृति, बिसङ्गति, अत्याचार, दुराचार, प्रशासनिक ढिलासुस्ती, खाद्य वस्तुमा अखाद्य वस्तुको अत्यन्त भयावह अवस्थासम्मको मिसावटी, कमिसनखोरी, राज्यकोषको रकम खाने राष्ट्रशोषक कर्मचारीहरूको अनुत्तरदायीत्व, गैरजिम्मेवारीपन, गैरजवाफदेहीपन जस्ता अनगिन्ती दुर्गन्धित कुराहरूलाई शान्त र शालीन रूपमा सफा गरेर मात्र होइन राज्यकोष ब्रहृमलुट पार्न शीर्ष देखि मझौला अनि स्थानीय तहसम्म जुका जस्तै टाँसीएका नेताहरूको चरित्र उदाङ्गो पार्न अग्रणी भूमिका खेल्न सकोस्। विशुद्ध पेशागत पत्रकारितामार्फत सुसूचित र विकसित समाजको निर्माण गर्न भ्रष्टाचारप्रति शुन्य सहनशीलता प्रदर्शन गर्दै आफ्ना पाठकहरूप्रति अलि आर्थिक न्याय गर्न सत्य, तथ्य, तटस्थ बन्दै आम नागरिकका मौलिक हक, मानव अधिकार, स्वतन्त्रता, सामाजिक न्यायका विषयमा हरपल लागिपरोस्। परिवर्तनको मोडमा गतिशील नेपाली समाजलाई आदर्श समाजले बिकृति, विसङ्गति, दुराचार, अत्याचार, रोग व्याधी, भ्रष्टाचार, गरिबी, जातीय विद्वेष, धार्मिक साम्प्रदायिक दंगा, आर्थिक विषमताबाट सही मार्ग निर्देश गरोस्। यो वास्तबमा आदर्श समाजकै पर्याय बनोस् जुन् यसका प्रधान सम्पादक कृष्ण प्रसाद बास्तोलामा प्रतित हुन्छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width