पोखराबाट २०७१ साल माघ २७ गते एक विवाह समारोहमा भाग लिन स्याङ्जा सेती दोभान-४ ठूली बरागे पुख्यौर्ली गाउँमा गएको थिए। समयमै जन्ति आए। दिनभरी विवाह समारोह चलिरह्यो, बाजागाजा नाचगान खानपान र हिन्दू संस्कार अनुसार विवाह सम्पन्न भयो। जन्तिहरुको विदाई पछि म सेतीदोभान बजारतर्फ जाँदै गर्दा आफूले बाल्यकालमा लडिबुडी गर्दै उफ्रेका/नाचेका र रमाएका खेतवारीहरुसँग मितेरी गाँस्दै नागडाँडा सडक खण्डको ठाडो खोलामा अवस्थित प्रतिक्षालयमा झरें र उक्त स्थानबाट म एकराहे हुँदै सेतीदोभान तर्फ जाँदै थिएँ। साँझ पर्ने बेलामा जीर्ण भएर धूलो उडिरहेको सडक सेती दोभान तर्फ बढ्दै थिएँ। बाटामा धूलैधूलोले भरिएको क्षतविक्षत अवस्थाको एक साधारण मोबाइल देखें। पुरानो जस्तो लाग्यो र छिरलिएका मोबाइलका भागहरु जोडेर ‘स्वीच अन’ गर्दा मोबाइल चालु अवस्थामा नै रहेछ। मैले मनमनै ‘विचरा कस्ले फाल्यो होला’ भन्दै आफूले पनि मोबाइल हराउँदाको पीडा लाई सम्झें। खतिभन्दा खाँचो ठूलो भनेझैं अहिलेको मोबाइल एकमात्र सर्म्पर्क केन्द्र भएको र मोबाइल हराउँदा इष्टमित्र बन्धुबान्धवसँग सर्म्पर्क विच्छेद भएको र पीडाबोध भएको याद आयो।
त्यस रात म यही सेती दोभानमा बास बसें। त्यस रात मलाई २०३५/३६ साल तिरको सेती दोभान बजारको सम्झना आयो। समस्त धौवलागिरी अञ्चल र स्याङ्जा जिल्लाको पश्चिम उत्तर भेगको मुख्य व्यापार केन्द्र रहेको यस बजारको चहलपहल प्राकृतिक छटाले भरिपूर्ण आँधीखोला, सेती खोला र पातीखोलाको संगम सेती दोभान बजार मेरो हालकै नजर वरिपरी घुमिरहेको अनुभूति भयो। यिनै तर्कहरुसँग रमाउँदै गर्दा अकस्मात् भेट्टाएको मोबाइलमा घण्टी आयो। पक्कै पनि यो आवाज मोबाइल धनीकै होला भनेर सहर्ष फोन रिसिभ गरें। मोबाइल धनीकै श्रीमती बोल्नु भएको रहेछ। र आपसमा परिचय पनि भयो। मैले मेरो नाम ठेगाना दिएँ, उहाँले मलाई धन्यवाद दिनु भयो। केही समयपछि मोबाइल धनी अर्जुनचौपारी बस्ने रमाकान्त देवकोटा आउनु भयो र खुशीका साथ मैले उहाँलाई मोबाइल हस्तान्तरण गरें। उहाँले पनि मलाई मुरीमुरी धन्यवाद दिँदै आफ्नो बाटो लाग्नुभयो।
स्याङ्जा जिल्लाको सिर्द्धार्थराजमार्गमा पर्ने नागडाँडाबाट २०३५/३६ सालतिर तत्कालीन सामाजिक कार्यकर्ता र पञ्चायतकालका राजनैतिक नेतृत्व कार्यकर्ताहरुको सक्रियतामा विश्व खाद्य कार्यक्रम अन्तरगत पिठो, दाल, तेल, चामल जस्ता खाद्य सामानबाट श्रमिक बर्ग परिचालन गरी सेतीदोभान जुग्ले कार्कीनेटा हुँदै बाग्लुङ पर्वत म्याग्दीसम्म बाटो बनाउने लक्ष्यका साथ बाटो खन्ने कार्य प्रारम्भ भएको थियो। तर पोखरा बाग्लुङ राजमार्ग बनेपछि यो बाटो तर्फ तत्कालीन सरकारको ध्यान गएन। बल्लतल्ल कतै पीच, कतै ग्राभेल, कतै धूलैधूलो बाटो रहेको छ। र हालसम्म पनि यो सडक अत्यन्तै जीर्ण अवस्थामा रहेको छ। सेतीदोभान एक ऐतिहासिक बजारको नाम हो। यहाँ स्याङजा जिल्लामा २०४० सालमा पहिलो जलविद्युत उत्पादन भएको थियो। तर हाल बन्द अवस्थामा छ। यो बजार स्याङजा जिल्लाका प्रसिद्ध गाउँ दरौ सिरुवारी ऐतिहासिक धार्मिक स्थल पञ्चासे श्रवणदह, अन्धाअन्धी क्षेत्र डहरे, खर्शु, सतांैचण्डीस्थान मन्दिर धार्मिक र पर्यटकीय गन्तव्यमा जाने मुख्य द्वार हो भन्न सकिन्छ। स्याङ्जा जिल्लाका पश्चिम उत्तरका पर्वतमाला र गाउँहरुसँग यस सेतीदोभान क्षेत्रको गाडा सम्बन्ध रहेको छ।
सेतीदोभान क्षेत्र अझै ऐतिहासिक रुपमा रंगेठाँटी नामले लामो समयसम्म प्रसिद्ध रह्यो। यहाँ चैते दशैं मेला/हाटबजारहरु लाग्ने गर्दथे। शहरीकरणको विकास हुन थालेपछि यस्ता प्राचिन मेला हाटबजार लोप हुँदै गए। यस ठाउँमा रहेको पनेरु परिवारबाट निर्मित्त पौवाको इतिहास अभिलेख अन्तर्गत ताजै छ। २००८ सालमा श्री रँगुवा रंगेठाँटी प्रा.वि., २०१६ सालमा रंगुवा रंगेठाँटी नि.मा.वि., २०२५ सालमा प्रद्युम्न पनेरु मा.वि., २०५२/५३ मा प्रद्युम्न पनेरु उच्च मा.वि. र २०६२ सालमा यसै स्थानमा क्याम्पसको पनि स्थापना भएको छ। हाल यस ठाउँमा स्थापित प्रद्युन्न पनेरु उच्च मा.वि.को स्थापना कालको इतिहास हेर्दा यो क्षेत्र उपलल्लो आँधीखोलाको शैक्षिक केन्द्र बन्न पुगेको छ।
यस क्षेत्रमा स्वास्थ्य उपचारको लागि राम्रो स्वास्थ्य केन्द्र नहुँदा अपर्भmट विरामी परेका बखत पोखरा पुर्याउन नपाउँदै कतिपय व्यक्तिले ज्यान गुमाउनु परेका घटना सुन्न पाइन्छ। हाल ‘आँधीखोला बातावरण सेवा केन्द्र’को सक्रियतामा ‘आँधीखोला सामुदायिक हस्पिटल’को स्थापना भएको छ। तर चिकित्सास्तर उन्नति भएको छैन। समस्त रुपमा सेतीदोभान क्षेत्रलाई नियालेर हेर्ने हो भने यहाँबाट दक्षिण तर्फ पातीखोला बाढुङे खोलाका संगमस्थल आउरीको दुलो भन्ने ठाउँबाट प्रशस्त तामा उद्योग सञ्चालनमा थियो। उक्त तामु खानीबाट उत्पादित तामाका भाडावर्तनहरु अझै घर गाउँमा विद्यमान छन्। यस क्षेत्रमा पढेका कैयौं युवायुवतीहरु रोजगारीको क्रममा देशविदेशमा पलायनभएका छन्। बृद्धबृद्धाहरु पनि आफ्नो पुख्यौर्ली कृषि पेशा संकटमा परेपछि अन्यन्त्र बसाईसराई जान बाध्य छन्।
आँधीखोलामा प्रशस्त क्रसर उद्योग ढुंगाहरुबाट सञ्चालन गर्न सकिन्छ र यहाँ यस्तै उद्योगको सम्भावना र पर्यटनको समेत सम्भावना रहेको हुँदा यस क्षेत्रको सर्वाङ्गण विकासका लागि सम्बन्धित क्षेत्र र निकायको दृष्टि परेास् भन्ने चाहन्छु। यही माटोमा जन्मेर यहीँको धूलो हिलोसँगै अंकमाल गर्दै हुर्केको नाताले सेती दोभानको सेरोफेरोमा फर्केर हेर्दा यो रचना लेख्ने प्रेरणा मिलेको हो भन्ने मलाई लागेको छ।
यसै ठाउँमा जन्मेर हाल यहाँको धर्तीलाई जान्न सक्ने, भन्न सक्ने, बोल्न सक्ने यस धर्तीलाई केही राम्रा काम गरेर सिंगार्न सक्ने कैयौं व्यक्तिहरु राष्ट्रका सवोर्च्च निकायको उच्च ओहादामा कार्यरत छन्। साथै नेपालका र विश्वका विभिन्न मुलुकमा पनि पेशा व्यवसाय गरेका छन्। सेती दोभानको सेरोफेरोमा भएको मेरो यात्राको अनुभवले पक्कै पनि ती सबै उच्च ओहोदमा पुग्नेहरुलाई र देश विदेशमा बसेर व्यवसाय गर्नेहरुलाई यस धर्ती माताले बोलाई रहेकी छन् कि भन्ने लागेको छ। सेतीदोभान एउटा ग्रामीण स्तरको सभ्य सुसंस्कृत स्याङ्जा जिल्लाकै उत्कृष्ट गाउँ हो भन्दा अत्युक्ति हुने छैन। यस ठाउँमा जन्मिए/हुर्केका र अन्यत्रबाट आउँदा जाँदा दृष्टि परेका सबैका लागि यो ठाउँ स्मरणीय रहोस्, स्मरणीय लागोस् पनि। अस्तु, धन्यवाद।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०