अहिलेको राष्ट्रिय धुन पनि फेरिन सक्छ : गुरुङ

नबदलिने राष्ट्रिय गान बनाउन सकिन्छ कि सकिँदैन ? ‘संगीतकारसँग त्यस्तो आइडिया पनि त हुन सक्छ, नबदलिने राष्ट्रिय गान भन्ने हुँदैन’-गुरुङले ढुक्कैसित भने, ‘अहिलेको राष्ट्रिय धुन पनि फेरिन सक्छ।’

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७३

एउटा मान्छेले जीवनमा सामान्यतया एउटै राष्ट्रिय गान गाउँछ। ऐतिहासिक परिवर्तनको घुम्तीवरिपरि बाँच्ने ज्यानले दुर्इटा गाउने अवसर पाउन सक्छ, अहिलेको नेपाली पुस्ताले जस्तै। तर, अम्बर गुरुङले भने एउटै जीवनमा चार-चार वटा राष्ट्रिय गान गाए। दार्जिलिङमा जन्मे-हुर्केका अम्बरले भारतमा ब्रिटिस उपनिवेश रहँदा थोमस अगस्टिन आर्नेले कम्पोज गरेको बेलायती गान ‘गड सेभ आवर ग्रासियस क्विन’ गाए। भारत स्वतन्त्र भएपछि रवीन्द्रनाथ टैगोरको ‘जन गण मन’ गाए। दार्जिलिङको सरकारी जागिर छाडेर नेपाल फर्केपछि बखतवीर बुढापिर्थीले तयार पारेको धुनमा चक्रपाणि चालिसेका शब्द ‘श्रीमान् गम्भीर नेपाली’मा उनले स्वर मिलाउन थाले। अम्बर गुरुङलाई लागेको थियो, राष्ट्रिय गानका रूपमा यही ‘श्रीमान् गम्भीर नेपाली’ गाउँदा-गाउँदै एकबारको जुनी जानेछ। तर, जीवनमा कहिल्यै नसोचेको सन्जोग आयो उनीसामु। त्यो हो, आफूले गाउने राष्ट्रिय गानको धुन आफैँ सिर्जना गर्ने। हुन त, अम्बरलाई नेपालमा निम्ता गरेर ल्याएको राजा महेन्द्रले हो। (नेपाल आगमनपछि नेपाली गीत-संगीतमा उनको विशिष्ट योगदान पनि पुग्यो) तर, गुरुङलाई नयाँ राष्ट्रिय गानको धुन सिर्जना गर्न राजाले नै त के दिन्थे र – जनयुद्ध र जनआन्दोलनको आँधीले राजतन्त्र गर्ल्यामगुलुम पारेपछि मात्रै अम्बरले त्यो महान् अवसर पाए। नीति-नियममा हेरफेर भयो, शासन-प्रशासन बदलियो। त्यही क्रममा सरकारले राजाको स्तुतिको सट्टा नयाँ राष्ट्रिय गान चयन ग‍र्‍यो। छानिएको व्याकुल माइलाको गीत ‘सयौँ थुँगा फूलका हामी’का लागि अम्बरले नै धुन सिर्जना गरे। अहिले औपचारिक कार्यक्रममा उनी आफैँले तयार पारेको त्यही राष्ट्रिय धुन गुनगुनाउँछन्। ‘आफैँले राष्ट्रिय धुन बनाउनुपर्ला भनेर मैले सोचेकै थिइनँ’-अम्बरले भने, ‘देशमा यस्तो परिवर्तन होला भनेर नेताहरूले त कल्पना गरेका थिएनन्, मैले कसरी कल्पना गर्नु ?’

कल्पना नगरे पनि अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जक भएका छन्। उनले राष्ट्रिय धुन सिर्जना गर्नुअघि नेपालकै अघिल्ला धुन र अरू मुलुकका राष्ट्रिय धुनबारे पनि अध्ययन गरे। राजदूतावासका कार्यक्रमहरूमा, विदेश गएको मौकामा र आफ्नै खोजीमा उनले अरू देशका राष्ट्रिय गान सुनेका थिए। नेपालकै पुरानो धुनको पनि उनले अध्ययन गरे। राणाकालमा नेपालमा अंग्रेजहरूकै राष्ट्रिय धुन बजाइन्थ्यो। अंग्रेजहरूको सम्मानमा उनीहरूकै धुन बजाउने चलन थियो। ‘धुन त आफ्नै हुनुपर्छ’, त्यति बेला अंग्रेजहरूले नै टिप्पणी गरे। अनि, मात्रै तत्कालीन शाही सेनाका ब्यान्डमास्टर बखतवीर बुढापिर्थीको धुन तयार भयो, जसमा पछि चक्रपाणि चालिसेले शब्द लेखे। ‘कसैले बुढापिर्थीले तयार पारेको भन्छन्, कसैले यन पाठानले हो भन्छन्’-गुरुङले भने, ‘तर, अंग्रेजको धुनको सट्टा नेपाली धुन नै हुनुपर्छ भनेर त्यो तयार पारिएको थियो।’ राष्ट्रिय गान वा धुन परिस्थितिले बदल्छ भन्ने लाग्छ गुरुङलाई। उनलाई थाहा छ, एउटा परिस्थितिले ‘श्रीमान् गम्भीर’ जन्म्यो। अर्को परिस्थितिले त्यसैलाई हटाइदियो। देशको राजनीतिक परिवर्तनले राष्ट्रिय गानमा परिवर्तन गरिदियो। नबदलिने राष्ट्रिय गान बनाउन सकिन्छ कि सकिँदैन – ‘संगीतकारसँग त्यस्तो आइडिया पनि त हुन सक्छ, नबदलिने राष्ट्रिय गान भन्ने हुँदैन’-गुरुङले ढुक्कैसित भने, ‘अहिलेको राष्ट्रिय धुन पनि फेरिन सक्छ।’ आफैँले तयार पारेको धुनप्रति पनि उनको अविश्वास रहेछ।

त्यसो भए, अहिलेको राष्ट्रिय गान कहिले र कस्तो अवस्थामा फेरिन्छ त ? ‘देशको परिस्थिति फेरियो भने यो फेरिन्छ। अहिलेको जस्तो राजनीतिक व्यवस्था रहेन भने यो गान पनि रहन्न’- उनले भने, ‘देशमा कम्युनिस्ट व्यवस्था आयो भने कम्युनिस्ट गान नै बनाउँछन्, यो गान र धुन फेरिन्छ।’

पञ्चायतकालमा देशभक्तिका भाव भएका गीतलाई रेडियोमा राष्ट्रिय गीत भनेर बजाइन्थ्यो। त्यो अम्बर गुरुङलाई चित्त बुझेको थिएन। उनले तत्कालीन प्रशासकसँग अनुरोध पनि गरे, ‘यी गीतलाई राष्ट्रिय गीत होइन, देशभक्तिपूर्ण गीत भन्नुपर्छ। के यी गीतबाहेक अरू सबै अराष्ट्रिय गीत हुन् त -’  तर उनको आग्रहलाई कसैले टेरपुच्छर लगाएन। धेरैपछि मात्रै त्यस्ता गीतलाई देशभक्ति गीत वा स्वदेशगान भन्न थालियो। त्यति बेलादेखि नै उनलाई राष्ट्रिय गानप्रति चासो बढेको थियो। अहिले उनीसित राष्ट्रिय गानको विशेषताबारे लामो अध्ययन र आफ्नै अनुभव छ। ‘राष्ट्रिय गान त छोटो पनि हुनुपर्‍यो, सरल पनि हुनुप‍र्‍यो, सबैले सजिलै गाउन सक्ने पनि हुनुप‍र्‍यो’-अम्बरले भने-’हाई स्केल हुन पनि भएन, लो स्केल हुन पनि भएन। बूढाबूढीदेखि केटाकेटीसम्मले गाउन सक्ने हुनुपर्छ। हाम्रो संस्कृति पनि झल्कनुपर्‍यो।’ अम्बरले भन्दै गए, ‘राष्ट्रिय गानमा विचार र भावनाको संयोजन हुनुपर्छ, हाम्रो गौरवगाथा हुनुपर्छ, आफैँ मनन गर्न मिल्ने खालको हुनुपर्छ।’ र, उनले फेरि त्यही दोहो‍र्‍याए, ‘मुख्य कुरो सबैले सजिलै गाउन सक्ने खालको हुनुपर्छ।’

अम्बरले आफैँले धुन सिर्जना गर्दा के-के कुरामा ख्याल पु‍र्‍याए त ? ‘मलाई धुन बनाउन सरकारले जम्मा ४५ दिन दिएको थियो। मैले यो धुन हर्ष, पर्व, शोक, संकट सबै राष्ट्रिय घटना वा अवसरमा बजाउन मिल्ने हुनुपर्छ भन्नेतिर ख्याल पु‍र्‍याएँ। यो अहिलेको धुन राष्ट्रिय शोकमा बिस्तारै बजाउन मिल्छ।’ अधिकांश देशका राष्ट्रिय धुनहरू सेना वा प्रहरीले ब्यान्डमा बजाउने खालका छन्। अम्बरले भने नेपालकै अघिल्लो राष्ट्रिय धुनभन्दा फरक खालको सिर्जना गरेका छन्। उनले भने, ‘हलुका शास्त्रीयपन र वीररसको रागमा आधारित छ यो अहिलेको धुन।’

आन्दोलन सफल भएपछिको सरकारले पुरानो राष्ट्रिय गान खारेज गरेपछि नयाँ राष्ट्रिय गान बन्ने भयो। सरकारका अधिकारीले कवि र लेखकलाई ‘ल, तपाईंहरू मिलेर दिनुस् भने। त्यसरी कुरा मिलेन। अनि, सरकारले कविहरूलाई आ-आफ्ना गीत बुझाउन आवेदन डाक्यो। प्रतिस्पर्धाबाट छनोट गर्ने कुरा आएपछि धेरैले सहभागिता जनाएनन्। ‘त्यसो गर्दा आफ्नो गीत छनोटमा परेन भने वरिष्ठ कवि-लेखकलाई आत्मग्लानि र अपमानबोध हुन्थ्यो’-राष्ट्रिय गान छनोट समितिका सदस्यसमेत रहेका अम्बरले भने, ‘त्यही भएर धेरै राम्रा-राम्रा गीतकार र कविले नै गीत बुझाएनन्।’

पछि १२ सयभन्दा बेसी गीत आए र त्यसपछि अम्बर गुरुङसहितको समितिले व्याकुल माइलाको ‘सयौँ थुँगा फूलका हामी’ छान्यो। ‘मलाई त्यो गीत कसको भन्ने थाहा थिएन’, अम्बरले भने, ‘तर, गीत विवादमा आयो। कतिले त गीत स्तरीय र सुललित नै छैन पनि भनेका थिए।’ अम्बरलाई पनि त्यस्तै लागेको थियो कि – ‘मैले त खै के भन्ने – त्यो त हामी आफैँले छनोट गरेको थियौँ। छनोट भनेको त्यहाँ जस्ता गीत आए, तिनैबीच छान्ने न हो’-उनले प्रत्रि्रश्न गरे, ‘मैले त जस्तो गीत दिए पनि धुन बनाउनुपथ्यो। त्यो अब व्याकुलको भाग्यमा लेखेको रहेछ भन्नुस् न।’ अम्बरले अहिलेको गीतको भाव, गीति संरचना र मर्मको कुनै प्रशंसा गरेनन्। उनी छनोट समितिमा रहँदा ‘अम्बरले आफ्नै संगीतको रातो र चन्द्र सूर्य गीत राष्ट्रिय गानमा राख्छ भन्दै बाहिर खुबै कुरा काटिए। ‘मैले किन आफ्नै गीत राख्थेँ र ? मैले त प्रस्टै भनेको थिएँ, त्यस गीतको संगीतले हुँदैन, शब्दचाहिँ हुनसक्छ। वास्तवमा भन्ने हो भने त्यो जति राम्रो राष्ट्रिय भावनाको गीत त मैले अर्को देखेकै छैन।’

छानिएको गीतमाथि धुन बनाउने जिम्मा पहिले नेपाली सेना र प्रहरीलाई दिइयो। यो अम्बरलाई थाहा थिएन। पछि सरकारी अधिकारीले नै अम्बरलाई पनि धुन बनाउनू भने। संस्कृतिविद् सत्यमोहन जोशीले पनि अम्बरलाई धुन तपाईंले नै बनाउनुपर्छ भनेर अनुरोध गरे। ‘मैले बनाएको धुन सबैले मान्ने हो भने बनाउँछु, नत्र विवाद गर्ने वा पछि नराख्ने हो भने बनाउँदिनँ’, उनले भने, ‘तर, मलाई अम्बरले अहम् देखायो भनेर आलोचना र विरोध पनि गरियो। राष्ट्रिय गानको धुन सिर्जना गर्न पाउनु मेरा लागि पनि ऐतिहासिक र महान् अवसर थियो।’ त्यसपछि फेरि तत्कालीन संस्कृतिमन्त्रीले तपाईंले नै बनाइदिनुपर्छ भनेर अनुरोध गरे। अम्बरले आफूले धुन बनाउने हो भने त्यसको क्राइटेरिया के हो ? सुविधारपारिश्रमिक के कसो हुने हो भनेर सरकारलाई सोधे। ‘सरकारले मलाई एस्टिमेट बुझाउनू’ भन्यो। त्यसपछि मात्रै मैले राष्ट्रिय धुन बनाउने काम सुरु गरेँ।

त्यति बेला सरकारले अम्बर गुरुङलाई तीन वटा भिन्दा-भिन्दै धुन बनाउन भन्यो। उनलाई गीत तीन वटै धुनमा राखिनेछ भनियो। ‘उनीहरूले तीनवटा धुन तयार पार्दा लाग्ने प्राविधिक खर्च, वाद्यवादकको पारिश्रमिक, गायकगायिकाको पारिश्रमिक र तपाईंको पारिश्रमिक सबै दिन्छौँ भनेका थिए’-अम्बरले भने-’त्यसपछि मैले तीनवटै धुन बनाएँ। तीनवटा धुन छनोट गर्नुअघि मैले १२ वटा धुनको तयारी गरेको थिएँ, म त्यसबेला बिरामी पनि परेँ। अन्तिमका तीन धुन मैले मेरा साथीहरू, साहित्यकार, बुद्धिजीवीलाई बोलाएर सुनाएँ। सरकारका प्रतिनिधिले पनि सुने। र, अब हामीले छनोट गछौर्ं भनेर लिएर गए।’ धुन लगिसकेपछि अम्बरले कुनै पारिश्रमिक माग गरेनन्।

सरकारले आफैँ निर्णय गरेर व्याकुल माइला र अम्बरलाई पाँच-पाँच लाख रुपैयाँ पुरस्कार दियो। र, त्यही धुन अहिले नेपाली जनमनमा लछप्पै भिजेको छ, जुन धुनले चीनको ओलम्पिकमा पनि विश्वभरिमै नवौँ स्थान हासिल गरेको थियो।

आफूले छानेका तीन धुन सरकारलाई बुझाएपछि अम्बर गुरुङलाई लागेको थियो, अब सरकारले विशेषज्ञद्वारा अध्ययन गराएर धुन छनोट गर्नेछ। तर, त्यसो भएन। मन्त्रीहरूले आफैँ सुनेछन् र यही ठीक भनेर निर्णय गरिदिएछन्। ‘उनीहरूलाई संगीतको शास्त्रबारे के थाहा ?’ अम्बरले दुःख मान्दै भने, ‘मन्त्रीहरूमा संगीतविज्ञ कोही थिएनन्। गिरिजाप्रसादले यही धुन ठीक छ भन्नुभएछ, अनि त्यही छानेछन्।’ अम्बरलाई चाहिँ कुन राम्रो लागेको थियो ? अहिलेको धुनभन्दा अरू अझ राम्रा पो थिए कि, म त आफ्नै सिर्जनालाई यो राम्रो र त्यो खराब कसरी भनौँ ? तर, अरू बाँकी धुन पनि मलाई धेरै राम्रा लागेका थिए। मैले त्यत्रो मिहिनेत गरेर तयार पारेको थिएँ। तर, हचुवामा अध्ययनै नगरी छनोट गर्ने तरिका मलाई मन परेन’-उनले भने।

गीत र धुन तयार भइसकेपछि अम्बर गुरुङको अर्को चाहना पनि थियो : राष्ट्रिय गानको पहिलो प्रस्तुति भव्य रूपमा गर्ने। बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ठूलो हलमा विद्यार्थी, प्राध्यापक, नेता, मन्त्री, कर्मचारी, प्रहरी, सेना सबैलाई एकैचोटि गाउन लगाउने र सारंगी, पियानो, बाँसुरी, भ्वायलिन, गितार आदि सबै बाजामा एकैचोटि बजाएर उद्घाटन गर्नुपर्छ भनेर उनले अनुरोध पनि गरेका थिए। ‘तर, मेरो अनुरोध कसैले सुनेन’-गुरुङले गुनासो गरे, ‘अब भइहाल्यो भने, कसैले पनि मेरो कुरा टेरेनन्।’

अम्बर गुरुङ राष्ट्रिय धुनका सर्जकमात्रै होइनन्, नेपाली सुगम संगीतको इतिहासमा उनको झन्डै आधा शताब्दी लामो योगदानको बेग्लै उचाइ छ। दार्जिलिङबाट ‘नौलाख तारा’ गाउँदै सुरु गरेको सांगीतिक यात्रामा उनले सयौँ गीतमा संगीत दिइसकेका छन्। दर्जनौँ गीत आफैँ लेखेका छन् र दर्जनौँमा आफैले स्वर भरेका छन्। देशले अम्बरको योगदान पाएको छ। अम्बरले चाहिँ यो देशबाट के पाए ? ‘म त यो देशको ऋणी छु, उनले देशसँग गुनासो गरेनन्। सरकारबाट केही अपेक्षा बाँकी पो छ कि ? उनले भने, ‘नेपाल र नेपालबाहिरका सारा नेपालीको यो अपार माया पाएर म औधि खुसी छु। जनताकै तहबाट खुसी छु, राज्यको के कुरा !’

आफ्नो समयका स्रस्टा शंकर लामिछाने, भूपि शेरचन, हरिभक्त कटुवाल भएको भए राष्ट्रिय गान पनि कति गम्भीर र भावपूर्ण लेखिँदो हो भनेर उनी कल्पना गर्छन्। तर, उनीसित आफ्नो जमाना पनि छैन, नयाँ राष्ट्रिय धुन सुन्नलाई समकालीन साथीहरू पनि छैनन्। युग नयाँ छ, रीतिथिति नयाँ छ र रेडियो-टेलिभिजनमा प्रत्येक दिन बज्ने आफैँले सिर्जेको राष्ट्रिय धुन पनि नयाँ छ।

(सञ्चार माध्यममा निकै कममात्र आउने गुरुङसम्बन्धी संगीतस्रोताले तयार गरेको यो आलेख हामीले नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं। सं.)

Related News

सम्बन्धित समाचार

hero news full width