अब पनि श्राद्धमा बिरालो बाँध्नै पर्छ र ?

आदर्श समाज सम्वाददाता
श्रावण १७, २०७१

गत जेष्ठ २५ गते विहान। “आज मेरा बा ∕ आमाको संयुक्त श्राद्धको कार्यक्रम छ, उपस्थिति भैदिनुहोला” ∕ समय र स्थानको जानकारीसहित श्राद्धको निम्तो दिएर नरबहादुर बिसी तयारीको लागि हिँडिहाले। सामान्यतः दुबै दम्पत्तिको यौटै तिथिमा मरण हुने संयोग विशेष घटना (दुर्घटना)बाट मात्रै जुर्छ। बिसीको मातापिताको सर्न्दर्भमा त्यस्तो भएको जानकारी थिएन। असोजको महिना भैदिएका भए पनि सोह्रश्राद्ध (पार्वण श्राद्ध)को तिथि परेछ कि भन्नु हुन्थ्यो। महिना थियो जेठको ∕ त्यसैले मसंगै रहनु भएका अन्य आफन्तजनहरू अन्योल र आर्श्चर्यले मुखामुख गर्न थालेको देखिन्थ्यो। मलाई भने बिसीले बसालेको श्राद्धको परम्पराको बारेमा राम्रै जानकारी थियो। “कोटारे काँल्दाइ”को श्राद्ध खाने निम्तो छुटाउने प्रश्नै उठ्दैनथ्यो। अस्वीकार गर्न सकिने कुरै थिएन। खुसी खुसी स्वीकारोक्तिको मुन्टो हल्लाउनुको विकल्प थिएन।

दुर्भाग्यवश त्यो विशिष्ट निम्तो मान्ने अवसर गुमाउनुपर्ने सम्भावना पनि उत्तिकै  थियो। “एक पन्थ दो काज” भनेझैं वेनीको छोटो भ्रमणमा “स्रि्राको व्यापार” गर्ने कार्यक्रम पनि बनाएरै पोखराबाट हिँडिएको थियो। त्यही बिहान ठीक त्यही समयमा अको काम निपट्याउने पूर्व योजना तय भैसकेको हुनाले बिसीलाई विनम्रतापूर्वक श्राद्धमा उपस्थित हुन नसकिने सम्भावनाको पूर्व जानकारी गराईरहँदा मनभित्र भने थकथकी लागिरहेकेा थियो। एक त बिसीले बसालेको श्राद्धको विशिष्ट परम्परा, त्यसमाथि बाल्यकालमा ममताको न्यानो काख उपलब्ध गराउने असाध्य प्यारो दाजु “कोटारे काँल्दाइ” (जीतबहादुर बानियाँ) को पुण्यतिथिमा सहभागी बन्ने अवसर गुमाउनुपर्दा दुःख लाग्नु, नमिठो अनुभूति हुनु स्वाभाविक थियो।

जाडोमा न्याना लुगाहरू (ज्याकेट, स्वेटर, फुलप्यान्ट), जुत्ता चप्पल लगाउन नपाउने र चकलेट, बिस्किट देख्न समेत नपाउने जमानामा जन्मेको हो -मेरो पुस्ता। आठ कक्षा पास नगर्दासम्म मेरो खुट्टामा जुत्ताचप्पल र एसएलसी पास नगर्दासम्म शरीरमा ज्याकेटप्यान्ट परेको सम्झना मलाई छैन। तिनताका “पिपरमेन्ट”(पिपलगेडी) केटाकेटीहरूका लागि दुर्लभ बस्तु मानिन्थ्यो। घरछुट्टीमा आउने लाहुरेहरू बाहेक अरुबाट त्यस्तो उपहारको अपेक्षा गर्न सकिदैनथ्यो। वास्तविकता त मलाई थाहा थिएन तर म केटाकेटी हुँदा मेरो घरमा नयाँ नौला मानिसहरूको निकै बाक्लै आवागमन हुन्थ्यो। सबभन्दा बढी आउजाउ गर्नेहरूमा पर्नुहुन्थ्यो कोटघरे काँल्दाइ (जीतबहादुर बानियाँ), चिनी माहिलाबा (टिकाराम सुवेदी) र घोडचडी हजुर्बा (डेकबहादुर बानियाँ)। घण्टी र घमरा (घुँघुरु) को विशिष्ट संगीतले गाउँघर नै गुञ्जायमान बनाउँदै आउने “हजुर्बा”, सधै पिपरमेन्ट, मिश्री, नरिवल वा खुँदे चिनी -पहेँलो पिठो जस्तो चिनी) को पोको जुवारी कोटको खल्तीमा राख्न नबिर्सने “चिनी माहिला बा” र केटाकेटीलाई असाध्य माया गर्न जान्ने “कोटारे काँल्दाइ”लाई हाम्रो परिवारले आफ्नै ठान्थ्यो। त्यसमाथि काँहिलादाइ त भान्सामा पनि उत्तिकै लोकप्रिय र कुशल हुनुहुन्थ्यो। काँहिलादाइको घरमा उपस्थितिको अर्थ नै विशिष्ट भोजन जुर्ने अवसरको रूपमा मानिन्थ्यो। त्यसैले पनि होला हाम्राबीचमा काँहिलादाइ सहोदर दाजुभाइभन्दा पनि बढी प्रिय हुनुहन्थ्यो। निकै पछिसम्म त्यो सम्बन्ध बाँकी रहृयो। एउटै बाबुको सम्पत्ति बाँडचुड गर्ने सौभाग्य प्राप्त नभए पनि हामी चारै भाइको सबभन्दा प्यारो पाँचौ भाइको रूपमा हुनुहुन्थ्यो-काँहिलादाइ। तिनै सवप्रिय बन्धुको श्राद्ध खाने संयोग जुटेर पनि गुमाउनुपर्दा मन अमिलो हुनु स्वाभाविक थियो।

अवश्य, बिसीले आयोजना गरेको बाबुआमाको श्राद्धमा ब्राह्मण भोजनको व्यवस्था थिएन। निम्तालु इष्टमित्रहरूका लागि मिष्ठान्न भोजनको प्रबन्ध पनि गरिएको थिएन होला। आफूले अध्ययन गरेको वेनीबजारस्थित प्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत दलित समुदायका गरिब तथा जेहेन्दार विद्यार्थीहरूका लागि छात्रवृत्ति -वाषिर्क पुरस्कार) प्रदान गर्ने गरी उनले आफ्ना दिवंगत मातापिताका नाममा स-सानो अक्षय कोषको स्थापना गरेका छन्। सायद बिसी पनि म जस्तै म्याग्देली “बानियाँ बन्धु समाज”को जिल्ला अधिवेशनमा निम्त्याइएका हुँदा हुन्। र त्यस वर्षको छात्रवृत्ति (पुरस्कार) आफ्नै उपस्थितिमा वितरण गर्ने तारतम्य मिलाएका हुँदा हुन्। खानुप्युनु केही नभए पनि सम्मानपूर्वक निम्त्याइएको यौटा विशिष्ट उदाहरणको मानक बनेको कोटघरे काँहिलाको श्राद्धमा सामेल हुन नपाएको पछुतो मनको कुनामा कहिल्यै नमेटिने गरी कुँदिएको अनुभूति भैरहेको छ भन्नु बढ्ता हुँदैन।

भन्नलाई त हाम्रो (म्याग्दीको) समाजले बिसीलाई बाबुको किरिया नगर्ने “भँडुवा” भनेर कन्थो काड्छ, “बाबुआमाको श्राद्ध पनि गर्दैन” भनेर कुरा काट्ने गर्छ। तर बाबुको नाममा तेह्रदिने कष्ट काट्ने, वर्ष दिन सेता कपडा लगाउने, गच्छेअनुसारको दानपुण्य गर्ने, सालको दुर्इ दुर्इपटक बाबुआमाको श्राद्ध गर्नेहरूले भन्दा बिसीले गर्दै आएका पुण्यकार्यहरू कैयौं गुण यथार्थवादी र महत्वका छन् जस्तो लाग्दछ। बिसीले बाआमाको पुण्यतिथिहरूमा बृद्धाश्रमहरूमा आश्रति बेसहारा बुढाबुढीहरूलाई लुगाफाटो वितरण गर्ने, फलफूल मिर्ठाई वितरण गर्ने, भोजन गराउने, तीर्थ घुमाउने जस्ता उदाहरणीय कार्यहरू गर्दै आएका छन्।  १३ दिने किरियालाई कहरको रूपमा ठान्ने, ब्राह्मणलाई दिएको दानदक्षिणा मृत बाबुआमाले प्राप्त गर्छन् भन्ने कुरामा विश्वास नगर्नेहरूले पनि समाजलाई देखाउनकै लागि गरिटोपल्ने किरयाकर्म, दानपुण्य र श्रार्द्धतर्पणका आडम्बरहरू भन्दा बिसीको नविन चेष्टाहरू अब्बल होइनन् कसरी भन्न सकिन्छ र –

आजको जमानामा सन्तानले आफ्ना नाममा कुवा तलाउतिर सेलाउने पिण्ड -खीरका डल्ला)बाट पितृहरू तृप्त हुन्छन्, पुरेतहरूलाई दिएको दान उनीहरूले पाउँछन् वा वैतरणी अनुष्ठानमा दान गरिएको बाच्छीको पुच्छर समातेर पितृहरू वैतरणी नदी तर्छन् भन्ने खालका उटपट्या· कुरा कसले पत्याउँछ र – ती त पाँचौ/ छैटौं सताब्दीतिरको समाजको आदिम चेतनालाई दृष्टिगत गरेर बसालिएका परम्पराहरू हुन्। श्राद्ध र किरियामा गरिने कर्महरूको औचित्यमा स्वयम् पुरेत पण्डितको व्यवसाय गर्ने एक्काइसौ शताब्दीका ब्राह्मणहरूमा पनि विश्वास छ भन्न सकिँदैन। सामाजिक विधि व्यवहार र नीति नियमहरू समय परिस्थितिको माग अनृुसार निर्माण, परिमार्जन र परिर्वर्तन हुने कुराहरू हुन्। अवश्य सबै पुराना रीतिस्थिति, संस्कार संस्कृति र चलन परम्पराहरू त्याज्य हुँदैनन्। तिनको महत्व सधैं रहन्छ। तर तिनमा समयानुकूल परिर्वर्तन परिमार्जनको आवश्यकता रहन्छ। श्रार्द्धतर्पण र काजकिरियाका परम्परागत चलनहरूले पनि समयानुकूल परिमार्जन खोजिरहेका छन्। समाजको विश्वास कायम राख्न नसक्ने परम्पराहरू समाजले नचाहेर पनि जीवित रहन सक्तैनन्। ढिलोचाँडो ती मासिन्छन्। किरियाको तेह्रदिने कार्यक्रम प्रियजनसँगको वियोगको अभिव्यक्ति हो। मानवदेह विसजनको संस्कार हो। श्रार्द्धतर्पणको रीत पनि प्रियजनको सम्झनाको अभिव्यक्ति हो। अवश्य यी परम्पराहरूको ठूलो महत्व छ तर तिनलाई समयानुकूल परिमार्जन नगर्ने हो भने आउने पिँढीका लागि र्व्यर्थको कहर कष्ट मानिने छ। मासिने छ। मेटिने छ। त्यसैले बिसीजस्ता हिम्मतवालाहरूले सुरु गरेका नयाँ परम्पराहरूप्रति समीक्षात्मक दृष्टि लगाउनु आवश्यक छ भन्नु अतिशयोक्ति नहोला। आग्रह पूर्वाग्रह पनि नठहरिएला। नास्ितकताको पक्षपोषण पनि नमानिएला।

हाम्रा धर्मशास्त्रहरूले मरणपछि मान्छेका लागि अनिवार्य र वैकल्पिक तीनवटा गतिको कल्पना गरेका छन्। ब्रह्मलीन हुन पाउने महान आत्माहरूका लागि “मुक्ति”, स्र्वर्गलोकको सुखभोग गर्न पाउने धर्मात्माहरूका लागि “पुण्यलोक” र पापात्माहरूका लागि “यमलोक” (नरक)। हरेक मान्छेका अगाडि यी तीनभन्दा अको विकल्प रहँदैन। मर्नु अनिवार्य छ र मरेपछि यी तीनबाहेक चौथो बाटो रोज्न पाइन्न। मुक्ति प्राप्त गर्नेहरूले जीवनमृत्युको अनन्तचक्रबाट छुटकारा पाउँछन्। तिनीहरूलाई पिण्डपानीको कुनै जरुरत पर्दैन। पाप पुण्य गरेर स्र्वर्ग वा नरक भोग गर्नेहरूले पुन पुन जन्ममृत्युको जञ्जालमा पर्नुपर्ने हुन्छ। पाप पुण्य भनेको स्वआर्जनको लेखाजोखा हो। अर्थात “जैसा करनी वैसा भरनी” ∕ अरुले गरिदिने दानपुण्य वा श्रार्द्धतर्पणबाट मृतात्माहरूले कुनै लाभ लिन पाउँदैनन्। पहिलो कुरा त मान्छे पुन पुन जन्म लिन्छ भन्ने कुरामै विश्वास गर्न सकिँदैन। यदि मान्छेको पुनर्जन्म हुने नै हो भने पनि सन्तानहरूले गरिदिने पुण्यकर्मको फलभोग उनीहरूको नसिबमा रहँदैन। अनन्त योनीमा जन्मलिन अभिशप्त आत्माहरूलाई कसैले टिठाएर दिने पिण्र्डतर्पण कुर्ने फुर्सदै कहाँ रहन्छ र ? श्राद्ध तर्पण वा काजकिरियाको अर्थ प्रिय आफन्तजनको वियोगमा शोक मनाउनु र दीघकालसम्म उनीहरूको स्मरण गर्नु नै हो। त्यसैले पुराना परम्पराहरू जस्ताको तस्तै पछ्याउनुभन्दा नयाँ र समयसापेक्ष चलनहरू बसाल्नु समयको आवश्यकता हो।

पुराना परम्पराहरू तोड्न र नयाँ चलनचल्तीहरू आरम्भ गर्नका निमित्त मान्छेमा ठूलो मुटुको आवश्यकता पर्दछ। विशेश्वरप्रसाद कोइरालाले आफ्नो किरिया नगर्ने निर्देशन गरेर गए, क्षेत्रप्रताप अधिकारीले त अन्तिम संस्कार नै नगर्नु भन्ने इच्छापत्र गरेर गए। उनको लाश पनि जलाइएन। परम्परागत काजकिरिया पनि गरिएन। सायद नेपाली समाजमा सबभन्दा बढी आदरसम्मान सहित स्मरण गरिने नामहरू हुन्- यी दुर्इवटा। ठूला वडाले गरेका कामहरूले समाजबाट सर्वसम्मति प्राप्त गर्छन् भनिन्छ। तर विश्वेश्वरले स्थापना गर्न खोजेको परम्परा उनकै परिवारका लागि पनि मान्य भएन। विपी अनुज गिरिजाप्रसादको तेह्रदिने किरिया दुर्इ ठाउँमा गरियो। क्षेत्रप्रताप अधिकारीको चेष्टा पनि उनीसँगै सती जाने होला। अर्थात व्यक्ति व्यक्तिले गर्ने प्रयत्नहरूले संस्थागत रूप नलिँदासम्म अनुकरणीय बन्दा रहेनछन्। समाजबाट मान्यता नपाउँदा रहेछन्। सामाजिक सुधारको प्रयत्न राज्य र समाजको साझा प्रयत्नबाट सम्भव हुने हो। मरणोपरान्त गरिने हाम्रो संस्कारहरूमा समयानुकूल सुधारको प्रयत्न पनि संस्थागत रूपमा थालिनुपर्ने जरुरी देखिएको छ। नत्र भने बिसीहरुका सामाजिक सुधारका प्रयत्नहरु नकारात्मक उदाहरण मात्र बन्ने छन्।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width