अझै कहाली लाग्छ त्यो घटना सम्झँदा …

आदर्श समाज सम्वाददाता
वैशाख २३, २०७०

त्यो दिन, जुन दिन थियो २०६९ साल वैशाखको २३ गते शनिबार। समय करिब बिहानको ९:५५ जति बजेको थियो। शनिबारको दिन भएर म आफ्नो परिवारसँग समय बिताइरहेको थिए। खाना पकाउने सुरसारसँगै हामी परिवार बीचमा रमाइला रमाइला कुराकानीहरू हुँदै थिए।त्यतिकैमा मेरो श्रीमतीको मोबाइल फोन बज्यो त्यो फोन उसको घर सिम्पानीबाट उसको ममीले गरेको थियो। फोन मसँग भएकाले मैले उसलाई ममीको फोन छ भने र मैले फोन उठाएर दिए। मेरो श्रीमतीको फोनमा कुरा गर्दागर्दै एक्कासी एकदम अनुहार नै बिग्रिएर आयो त्यत्तिकैमा उसले आधाजति कुरा गर्दागर्दै फोन नै राखिदिई हत्तारिएजस्तो गरेर सीधै आफ्नो दराज खोलेर लुगा लगाई आफ्नो स्कुटीको चावी लिई हामी कसैलाई केही नभनिकन हिँड्ने तरखर गरी। हिँड्ने तरखर पनि कसरी नगरोस जबकि उनीहरूलाई आफ्नो घर भन्दा पनि माइती घर ज्यादै प्यारो हुन्छ। त्यत्तिकैमा उसलाई मैले रोक्ने प्रयास गरे र मैले सोधे कहाँ के भयो – कसलाई के भयो – ऊ बोलिन मैले फेरि अलिक झर्किएर सोधेँ कहाँ कसलाई के भयो – मेरो बहिनीले पनि सोधी भाउजू कहाँ कसलाई के भयो – ऊ विस्तारै बोली र उसले भनी -’सिम्पानीमा बाढी पहिरो आएर सबै लान आँट्यो रे।’ मैले उसको कुरा पत्याइनँ र मैले भनेँ-’नचाहिँदा कुरा कतै वैशाखका दिनमा पनि बाढी पहिरो आउँछ -’ त्यसपछि मैले के रहेछ भनेर बुझ्नलाई सिम्पानी बुवालाई फोन हानेँ तर धेरै रिडायलपछि फोन लाग्यो र मैले सोधेँ ड्याडी के भएको हो र त्यहाँ – उहाँले भन्नुभयो-’खासै केही पनि भएको होइन माथि हिम शृङ्खला फुटेर सेतीमा बाढी आएको छ यो सामान्य हो।’ उहाँ जतिसुकै विपत्तिमा परे पनि टाढा भएको मानिसलाई टेन्सन नदिउँ भन्ने अभ्रि्रायले यथार्थता नभनेर ठूलै घटनालाई पनि सामान्य भन्नु उहाँको अभ्रि्राय नै हो। त्यति भने पछि म पनि ढुक्क भए र खाना बनाउने शुरसार गर्न लाग्यौ र मैले श्रीमतीलाई जाने भए खाना खाएर जाऔं त्यस्तो आत्तिनुपर्ने केही रहेनछ भने।  छिटो छिटो खाना बनाएर मैले बहिनी र श्रीमतीलाई माथि सिम्पानी घर जाऔं म छोरो हेर्छुभनी छोरोलाई लिएर म कोठामा बसी उनीहरूलाई स्कुटीमा माथि पठाएँ।

म कोठा लिएर न्यूरोड बगालेटोलमा बस्छु। त्यतिखेर लाइन थिएन टेलिभिजन हेर्नलाई ! त्यही भएर म छोरो खेलाउँदै आफ्नो रुममा बसिरहेको थिए। कोठा बाहिर एकदम हल्ला भयो, के भएको रहेछ भनी बुझ्न म बाहिर निस्कँएँ। बाहिर निस्कँदा बाहिर रोडमा करिब ३५ देखि ४० जना जति मानिसहरू जम्मा भएर माछापुच्छ्रे हिमालतिर हेर्दै माछापुच्छ्रे शिर/टुप्पो खसेर बाढी आउँदैछ भन्दै थिए, कोही हिमताल फुट्यो रे भन्दै थिए, कोही चाहीँ अब पोखरामा पनि आउँदैछ भन्दै थिए र कोही भने ट्याक्सी रिजर्भ गरेर पाल्पा र स्याङ्जा बास बस्न जाने कुरा गर्दै थिए। म भने उनीहरूका कुरा सुनिरहेको थिएँ। कुरा सुन्नुबाहेक अरु केही देखिनँ मैले त्यहाँ किनभने मलाई यो घटनाको बारेमा केही पनि थाहा थिएन। ती कुराहरू सुनेपछि मलाई जिज्ञासा र कौतुहलता जाग्यो के हो वास्तविकता भनेर ? त्यसपछि मैले आफ्नो मोबाइलमा एफएम लागाएर सुने जुन एफएम लगाए पनि त्यही घटनाको लाइभ रिपोर्टिङहरू दिइरहेको थियो। अब भने मेरो मन आत्तिएर आयो मैले श्रीमती र बहिनीलाई सिम्पानी पठाइसकेको अवस्था छ अब के गर्ने – साँच्ची नै रहेछ बाढी आएको भन्ने कुरा बल्ल मैले थाहा पाएँ। मैले सिम्पानी फोन गरेँ कसैकोमा लाग्दैन झन् मन आत्तिएर आयो म पनि जाऔं भनेँ छोरो छ साथमा ६ महिनाको यसलाई कसरी लिएर जाऔं, के मा लिएर जाऔं ? मन आत्तिरहेको थियो। एक्कासी मेरो घर शंखुवासभा खाँदबारीबाट बुबाको मलाई फोन आयो मन झन आत्तियो अब के भनौं भनेर त्यही पनि जसोतसो फोन उठाएँ र सबै मैले सुने जति भनेँ। उहाहरूले टेलिभिजन हेरेर थाहा पाएर मलाई फोन गर्नुभएको रहेछ। घर खाँदबारीमा कुरा गरेपछि मैले श्रीमतीलाई सिम्पानी फोन लगाउन कोसिस गरेँ धेरै पटकको रिडायल पछि बल्ल फोन लाग्यो। फोनमा हेल्लो भन्न नपाउँदै उताबाट आवाज आयो ‘बाबा ! ! यहाँ त खपिनसक्नु छ मान्छे, भैसी, ट्रक सबै बगाएर ल्याएको छ मान्छे रूखका पात जति छन।’ यति भन्दै फोन काटियो मैले केही पनि बोल्न पाइनँ हाम्रो दोहोरो कुरा हुन पाएन। यतिका कुरा सनेपछि मलाई कोठामा एकपल पनि बस्न मन लागेन। त्यतिखेर झण्डै ११ बज्न लागिसकेको अवस्था थियो। म छोरालाई लिएर बाहिर आएर एककोहोरिरहेको थिएँ। त्यसै बेला मलाई सिम्पानीबाट फोन आयो मैले उठाउन साथ लिनलाई ‘तिमी छिटो स्कुटर लिएर मलाई लिन आऊ’ भने हुन्छ भनी उसले फोन राखिदिई। मैले छोरालाई लुगाहरू लगाई आफू पनि जान तयार भएर श्रीमतीको बाटो हेरेर बसिरहेको थिएँ। त्यतिकैमा ऊ पनि आइपुगी र छोरालाई स्कुटरको बीचमा हाली हामी पोखराको सिम्पानीतर्फ हानियौं।

पोखराको हरिचोकबाट सिम्पानीसम्म सडक पूरै जाम थियो। त्यो जाम सडकलाई  छिचोल्दै हामी सिम्पानी पुग्यौं। त्यहाँ प्रायः सबै मानिसको अनुहारमा त्रास र कौतुहलता देखिन्थ्यो। अब के होला – के हुने हो – मरिने हो या बाँचिने हो भन्ने शड्ढा र चिन्ताले हतारिएका पोखरेलीहरू सेती नदी हेर्न सडक नै जाम हुने गरी आफ्ना सवारी साधन सडकमा निकाल्न आतुर देखिन्थे। कोही सेतीमा भीषण बाढी आएको सूचना पाएलगत्तै सेती नदीको किनारमा पुग्न हतार देखिन्थे। त्यो चाम सडक पार गर्दै म ससुराली घर सिम्पानीमा पुगँे। यसै क्रममा म पनि आफ्नो छोरालाई सिम्पानी घरमा छाडी सेती नदीमा बाढी आएको स्थान सिम्पानी कसेरीबाट तलतिर झरेँ। मैलै २६ औं बसन्त पार गरिसके तर मैले आजसम्म त्यस्तो बाढी र खोलामा बगेको त्यस्तो पानी आजसम्म देखेको थिइनँ। मैले एककोहोरिएर सिम्पानी कसेरी क्षेत्रको दर्दनाक दृश्य हेरिरहेँ। त्यहाँ नदीले लछार पछार पार्दै ढुङ्गा माटो, काठ दाउरा, लेदो माटो, चौपाया ल्याउने क्रम जारी थियो। मानिसका शव ल्यायो कि मुढा ल्यायो त्यो भने कुनै छुट्टयाउन सक्ने अवस्था थिएन त्यहाँ। सायद वर्ण गर्न नसक्ने अवस्था थियो त्यहाँ। सिम्पानी कसेरीस्थित सेती नदीका आसपासका सुकुम्बासीमा रूवावासी चलेको दृश्य मेरा नयनहरूले खिचिरहेका थिए। कोही टि.भी. बोक्न त कोही डि.भि.डी, कोही सुट्केस बोक्न त कोही लत्ताकपडाहरू बोकेर सुकुम्बासीहरू माथि सिम्पानीको डाँडातिर हतार-हतार जाने क्रम जारी थियो भने एकातिर नेपाल प्रहरीले सिटी फुक्दै घर टहरा खाली गर्न उर्दी जारी गर्दै गरेको दृश्य त्यहाँ देखिन्थ्यो। कोही मानिसहरू शव ल्यायो ल्यायो भनेर चिच्याइरहेका देखिन्थे। त्यत्तिकैमा माथिबाट हल्ला आयो याम्दीमा एउटा शव फेला पर्‍यो रे भनेर म पनि हेर्नलाई त्यतैतिर हानिएँ। याम्दीको स्थिति झन मैले दर्दनाक देखेँ। त्यहाँ मानिसहरू भन्दै थिए सपना हो या विपना छुट्टाउनै गाह्रो भो। सेती नदी छिनमै घट्ने र छिनमै बढ्ने क्रम जारी रहेकोले छेउमा नजानू है भन्दै कराउँदै थिए मानिसहरू। त्यहाँ नजिकै एउटा शव पाखा लगाइएको रहेछ।मैले पनि यसो नियालेँ त्यो चिन्न नसक्ने अवस्थाको शव विदेशी नागरिकको जस्तो देखिन्थ्यो। यस्तो क्षतविक्षत भएको शव मैले पहिलो पटक अवलोकन गरेको थिएँ। त्यहाँ उसको कुनै पनि अ· चिनिन सक्ने अवस्थामा थिएन। त्यत्तिकैमा सबैजना फेरि मान्छे ल्यायो, मान्छे ल्यायो भन्दै कराउन थाले। नेपाल प्रहरी, नेपाली सेना र जनपद प्रहरीका जवानहरूको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो। ती जवानहरू पनि खै शव खै भन्दै सेतीको किनारतिर कुद्न थाले। हेर्दा हेर्दै त्यो शव हो या मुढा हो त्यहीँ बिलायो। मानिसहरूको वारिपारि हेर्नेको भीड निकै बाक्लो देखिन्थ्यो। माछा मार्ने र दाउरा बटुल्नेहरूको सङ्ख्या पनि उत्तिकै मात्रामा रहेको थियो। प्रहरीहरू दाउरा झिक्नेलाई पनि बगाउँछ होला भन्दै सिट्ठी फुक्दै उनीहरूलाई सचेत गराई रहेका दृश्यहरू पनि त्यहाँ देखिन्थे। कोही मानिसहरू माछापुच्छ्रेको शिर खस्यो रे भन्थे, कोही फेरि अर्को पनि गाउँ लग्यो रे भन्थे त्यहाँ मानिसपिच्छेका कुराले सबैलाई हैरान तुल्याएको थियो।

त्यत्तिकैमा मेरी बहिनी हतारिँदै म भएको ठाउँमा आई र उसले भनी-’दादा दादा ऊ त्यहाँ तल २ वटा लास भेटिएको छ।’ म पनि कहाँ कसको भन्दै तल कसेरीको सुकुम्बासी टोल तिर फेरि याम्दीलाई छोडेर हानिएँ। त्यहाँ पहिलाको भन्दा निकै मानिस जम्मा भएका थिए म पनि त्यही निर पुगेँ। पुग्दाखेरि त्यहाँ नदीदेखि करिब ५० मिटरको अन्तरालमा २ वटा शव बाहिर निकालिएको थियो। मैले पनि त्यो शव अवलोकन गरेँ। शव माथि याम्दीको भन्दा यो झन् दर्दनाक स्थितिको थियो। तलको एउटा तीघ्रा र माथिको दाहिने हात थिएन। टाउको पूरै क्षतविक्षत अवस्थामा रहेको शव महिला हो या पुरुष छुट्टयाउन सक्ने अवस्थामा थिएन। एउटा महिला भावविÞवल अवस्थामा त्यहाँ आइन् र रोइकराई गर्न लागिन्, किन भने उनको आफन्त पनि यस घटनामा परि हराइरहेका रहेछन्। जता शव भेटियो भन्छन् उतै मेरो आफन्तको हो कि भनेर कुद्ने ती महिलाको अवस्था देखेर नरुने मानिस विरलै मात्रामा थिए होलान्। फेरि म त्यो शव भएको स्थान छोडी अर्को शव भएको स्थानतिर लागेँ त्यो शव पनि त्यस्तै देखिन्थ्यो। पूरै क्षतविक्षत अवस्थामा रहेको शव एउटा स्तनको आधारमा महिलाको हो भन्ने प्रष्ट हुन्थ्यो। तल दुवै खुट्टा नरहेको उक्त शवको टाउकोको भाग समेत थिएन। मैले यसो मोबाइल भिलकेर उक्त शवको फोटो खिच्ने प्रयास गर्दैगर्दा नेपाल प्रहरीको एउटा भ्यान आइपुग्यो। उक्त भ्यान सेती नदीको आसपासका किनारमा भेटिएका शवहरू उठाउँदै हिँडेको रहेछ। उक्त भ्यानभित्र प्लाष्टिकमा पोको पारेको अवस्थाका शव ५ वटा थिए। त्यहाँका शव उठाउने कार्य गर्दागर्दै एक प्रहरी सर्इलाई फोन आयो। फोनमा रामघाट पारिपट्ट भर्खरै एक महिलाको शव नदीले फ्याँकेको अवस्था छ रे त्यो पनि लिएर आउनू भन्ने आदेश रहेछ उनलाई। त्यहाँको शव उठाएर उक्त भ्यान रामघाटतिर हानियो। म पनि बहिनीलाई त्यही छाडी उतैतिर हानिएँ। रामघाट आइपुग्दा त्यहाको दृश्य पनि कम थिएन निकै दर्दनाकपूर्ण देखिन्थ्यो। मानिसहरू ठाउँ ठाउँमा जम्मा भएर रोइकराइ गरिरहेका देखिन्थे। रामघाटपारि सेती नदी किनारमा नदीले फालेको अवस्थामा रहेको शव वरपर झन् निकै मानिसहरू थिए। त्यहाँ रोइकराइ गर्नेको सङ्ख्या निकै थियो। पूरा शरीर सग्लै रहेको र अलिकता मुख बिग्रिएको अवस्थामा रहेको उक्त शव महिलाको रहेको थियो। उक्त शव हेर्नेवित्तिकै मेरा पनि आँखाबाट बरर आँशु आए र मैले उक्त शव हेर्न सकिनँ म अलि पर सरेँ। त्यत्तिकैमा प्रहरीहरू एउटा केही लुगा दिनु न भन्दै कराउँदै थिए। प्रहरीसँग भएको शव पोको पार्ने सबै सामानहरू सकिएको अवस्था थियो। भरे मलाई पछि थाहा भयो कि उक्त महिलाको शव बगालेटोल निवासी कक्षा १२ मा अध्ययनरत विद्यार्थी अर्चना श्रेष्ठको रहेछ। उनी त्यही दिन बिहान साथीहरूसँग तातोपानी पिक्निक गएकी रहिछन्। त्यसपछि म पुनः सिम्पानी फर्किएँ।

सिम्पानी र्फकंदा समयले निकै कोल्टे फेरिसकेको थियो। आकाशमा हेलिकोप्टरहरूको आवतजावत भइरहेको थियो। ससुरालीमा श्रीमतीले खाजा बनाएर राखेकी रहेछ। मलाई खाजा खान मन लागेन किनकि मेरो मनमा सबैतिर सेती नदी अनि ती क्षतविक्षत अवस्थामा रहेका शवहरूको झलझली याद आइरहेको थियो। मेरी श्रीमती चाहीँ कहीँ नगइकन त्यहीँ बसेकी रहिछन्। नजानुको कारण उसलाई शव हेर्न डर लाग्दोरहेछ। त्यहाँका मानिस सबैजना एक ठाउँमा बसेर एक अर्कामा कानेखुशी गर्दै थिए भरे के हुने हो भनेर। कोही केही हुँदैन भन्दै थिए भने कोही यहाँ बस्नुहुँदैन भनेर सबैलाई सल्लाह सुझाव दिँदै थिए। कोही भने रातिमा फेरि सेती उर्लिएर आउँछ भनेर आफ्ना भएका कुम्ला कुटेरा बोकेर आफ्नो गन्तव्यतिर जादै गरेका दृश्यहरू देखिन्थे। त्यहाँ एकथरी मानिसले भने भरे साँझ ७ बजे फेरि सेती नदीमा बाढी आउने रे भन्ने निराधार हल्ला चलाएका रहेछन्। त्यही भएर त्यहाँका केही मानिसले भरे यहाँ सिम्पानी नबस्ने भनेर आफ्ना झोली कुम्लाहरू कसिसकेका थिए भने कोही चाहीँ आज रातभरि भजनकीर्तन गरेर यही जाग्राम बस्ने भन्दै थिए। अलिकति खोलाको बढी आवाज आयो भने उनीहरू तर्सिएर खोला हेर्न दौडन्थे।

२०६९ साल वैशाख २३ गते शनिबार अचानक सेती नदीमा गएको बेमौसमी बाढीले निकै ठूलो जनधनको क्षति पुर्‍याएको अनुमान गरिएको अवस्थामा एक वर्ष नाघिसक्दा पनि क्षतिको लेखाजोखा अझैसम्म भएको छैन। कति मानिस कहाँ कुन अवस्थामा थिए भन्ने कुरा कसैसँग यकिन विवरण अहिलेसम्म छैन। दर्जनौं घरवारविहीन भए भने धेरैले आफ्ना आफन्त गुमाए। अचानक भएको प्राकृतिक विपत्तिलाई पोखरेलीहरूले चाहेर पनि भुल्न सक्दैनन्। प्राकृतिक विपत्ति भनेको कहिले आउँछ कहिले जान्छ यो प्रकृतिको नियममा भर पर्दछ तर, यस्तो सुन्दर नगरी पोखरामा कसैले सोचेको थिएन कि यस्तो अवस्था आउँछ भनेर। अन्नपूर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दाँ सेतीमा भीषण बाढी आएको अध्ययनले देखाएको छ। बेमौसमी बाढीका कारण पर्यटकीय खारापानी र तातोपानी क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको थियो। तातो पानीमा कयौं मानिस डुबुल्की मार्थे घण्टौंसम्म तर, त्यो तातोपानी क्षेत्र बगरमा परिणत भएको छ पोहोरको बाढीले। अहिले यो घटना सम्झँदा डुबुल्की मार्नेको आङ सिरि· हुनु स्वाभाविक नै हो। वैशाख २३ गते शनिबारको दिनमा परेको तत्कालीन समयमा आएको बाढीले ६० भन्दा बढी मानिसलाई बेपता बनाएको थियो भने त्यस बखतमा २८ जनाको मात्र शव भेटिएको थियो। त्यस्तै, दर्जनौं परिवारको घरबास उठेको थियो। र अन्त्यमा उक्त घटनामा ज्यान गुमाएका सबैप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।

(लेखक सिनर्जी फाइनान्स लि.शाखा कार्यालय पोखरामा कार्यरत छन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width