राहत नपाएकालाई पोखराको क्विक ‘रेस्पोन्स’

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७७
quick

पोखरा, ५ वैशाख । लकडाउनको समयमा खाद्यान्नको अभावमा पोखरा महानगरपालिका भित्र कोही पनि भोकभोकै नपरुन् भनेर पोखरा महानगरपालिकाले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ ।

गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही छनोट मापदण्ड भित्र परेका सेवाग्राहीले तत्काल खाद्यान्नको अभाव भएमा र यसअघि राहत नपाएकाहरुले सेवा लिन सक्नेछन् । पोखरा महानगरपालिकाको पैसा नलाग्ने हटलाइन नम्बर ११८१ नम्बर फोन गरेर राहतका लागि नाम टिपाउन सकिने महानगरपालिकाले बताएको छ । राहत नपाएको गुनासोको बारेमा छानबिन गरी राहत उपलब्ध गराउन नै पर्ने अवस्था भएकाहरुलाई घरघर र बसेकै ठाउँमा पुगेर महानगरले राहत वितरण गरेको महानगरप्रमुख मानबहादुर जिसीले जानकारी दिए । महानगरले तत्कालका लागि गर्जो टार्न आधा बोरा चामल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, एक केजी चना वितरण गरेको छ ।

बिहीबार र शुक्रबार महानगरले खाद्यान्न अभाव भएका दैनिक ज्यालामजदुरी गरेर खाने १० घर परिवारलाई राहत वितरण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । उनका अनुसार महानगरले पूर्ण र आशिक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरेपछि पनि राहत नपाएको गुनासो आएकै कारण घरघर पुगेर राहत वितरण गर्न सुरु गरेको हो । महानगरले घरघर र बसेकै ठाउँमा पुगेर राहत वितरण गर्दा पनि कसैले खान नपाएको भए आवश्यकताका आधारमा वडावडामा पनि खाना खुवाउने व्यवस्था गरिएको प्रमुख जिसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width