पोखरा महानगरले वडास्तरमै निःशुल्क खानाको व्यवस्था गर्ने, राहत कोषमा झण्डै ४ करोड

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७७
metro

पोखरा महानगरपालिकाले लकडाउनका कारण भोकभोकै परेका गरीब तथा विपन्न परिवारलाई निःशुल्क खाना खुवाउने भएको छ ।

महानगर प्रमुख मानबहादुर जिसीले राहत वितरणमा समेत विभिन्न गुनासो बढ्दै जान थालेपछि स्थायी समाधानका लागि महानगर आफैले सबै ३३ वटा वडामा निःशुल्क खानाको व्यवस्था गर्न लागेको बताए ।

महानगरभित्रका कोही पनि मानिस भोकभोकै मर्नु नपरोस् भन्ने उद्देश्यले सबै वडामा सामान्य दाल, भात र तरकारीको व्यवस्था गरी खाना खुवाउने तयारी गर्न लागिएको उनले बताए । खाना पकाउन आवश्यक भाँडाकुँडा सहित आवश्यक खाद्यसामाग्री महानगर आफै व्यवस्था गर्नेछ भने सोको नेतृत्व सम्बन्धित वडालाई दिइनेछ । सो अनुरुप अब खान नपाएका विपन्न वर्गका लागि वडाका विभिन्न केन्द्रमा पाक्ने छ । उनीहरुले त्यहाँ गएर खान सक्नेछन् ।

राहत सामग्री सहयोग गर्न चाहनेले भने सम्बन्धित वडामा खाद्यान्न सामाग्री हस्तान्तरण गर्न सक्नेछन् । पहिलो चरणमा वडास्तरमा राहत वितरण गरेको महानगरले हाल भने राहत पाउनुपर्ने वर्गको घरघरमै खाद्यसामग्री पठाउने गर्दैआएको छ ।

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा समेत सहयोग आउने क्रम जारी छ । हालसम्म ३ करोड ८२ लाख १८ हजार रुपैयाँ संकलन भैसकेको महानगरले जनायो । पोखरा महानगरपालिकाले २ करोड राखेर राहत कोष स्थापना गरेको हो भने कोषमा महानगरका सम्पूर्ण कर्मचारीको ४८ लाख ५० हजार, प्रदेश सरकारको १ करोड र विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सहयोग गरेका छन् ।

पछिल्लो समय नेपाल निर्माण व्यवसायी संघ कास्कीले एक लाख सहयोग गरेको छ । कृषि बजार व्यवस्थापन समिति पोखराले ५५ हजार, राष्ट्रिय फलफूल तथा तकारी थोक व्यवसायी संघ कास्कीले ५१ हजार सहयोग गरेका छन् ।

यसैगरी, बुद्ध बचत तथा ऋण सहकारी संस्था २५ हजार, सञ्चार बचत तथा ऋण सहकारी संस्था २० हजार, सिर्जना महिला बचत तथा ऋण सहकारी १० हजार, फलौरा बहुउद्देश्यीय सहकारी १० र पोखरा ४ का सुरेशचन्द्र कोइरालाले १०/१० हजार सहयोग गरेका छन् । पाल्पाली समाज पोखरा र पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले १०/१० हजार सहयोग गरे ।

असल छिमेकी संघले वडा १ र २५ मा एक एक सय प्याकेज खाद्यान्न, कास्कीमा रहेका चार्टड एकान्टेन्टहरुको पहलमा नेपाल चार्टड एकाउन्टेन्ट संघले ६० थान बुट र सय थान सर्जिकल ग्लोप्स, राष्ट्रिय युवा सञ्जालले वडा नम्बर ३२ को समन्वयमा ५० पोका राहत वितरण गरिएको छ ।

लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले स्थापना गरेको कोषमा समितिले सहयोग गरेको हो । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिने छ ।

-विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width