बादी समुदायलाई छाक टार्नै मुस्किल

रासस
वैशाख ५, २०७७
thumb

डोटी, ५ वैशाख । लकडाउनका कारण बादी समुदायलाई निकै सकस भएको छ । दर्जनौँ घरपरिवार बादी समुदाय सरकारी जमिनमा बस्दै आफ्नो गुजारा चलाउँदै आएकामा हाल घरमा खाद्यान्न अभाव भएपछि उनीहरु भोकै बस्नुपर्ने अवस्था गुनासो गर्छन् ।

दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षलय नजिकको सरकारी जमिनमा वर्षौँदेखि बस्दै आएका भूमिहीन सुकम्वासी बादी समुदायलाई छाक टार्नै मुस्किल हुँदै आएको छ । दैनिक ज्यालादारी काम तथा बजारमा सरसामान लोडअनलोड गरेर जीवन निर्वाह गर्दै आएका बादी समुदाय अहिले लकडाउनपछि निकै समस्यामा परेका हुन् ।

ज्यालाको काम तथा सवारी साधन बन्द भएपछि आफूहरुको भान्सामा चुलो बल्नसमेत मुस्किल हुन थालेको स्थानीय तेजबहादुर बादीले गुनासो गरे । उनले भने “लकडाउनले बजारमा काम पाउनै छाड्यो, साँझ बिहानको खाना पनि कसरी खाने भन्ने चिन्तामा छौँ, हामी रोगले भन्दा पनि भोकले मर्ने भएका छौँ ।” जिल्लाका विभिन्न स्थानीयत तह तथा वडामा राहत वितरण गर्न थालिएको भए पनि आफूहरुलाई अहिलेसम्म कसैले पनि राहतसमेत नदिएको सोही टोलमा बस्ने अर्का २९ वर्षीय श्याम बादीले बताए ।

डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल पिपल्ला जोड्ने डा केआइसिंह राजमार्गमै बादी समुदाय बस्दै आएका भए पनि सोही सडकको बाटो भएर जानेहरुले अहिलेसम्म कसैले पनि उनीहरुको अवस्थाका बारेमा सोधपुछसमेत नगरेको बादीहरुको गुनासो छ । घरबार तथा जमिन नभएर सुकम्वासी भएका यहाँका बादीहरुलाई दिपायल सिलगढी नगरपालिकाले आवासका लागि केही महिना पहिले जमिन खरिद गरे पनि रकम नहुँदा उनीहरुले घरसमेत बनाउन सकेका छैनन् । कमाइखाने नाममा एक रोपनी जमिन पनि नभएका कारण बादी समुदायका व्यक्ति दैनिक मजदुरी गरी जीवनयापन गर्दै आएका थिए । लकडाउनका कारण मजदुरीको कामसहित उद्योग, बजारलगायत अन्य पसल बन्द भएपछि बादीहरुलाई बिहान–बेलुका हातमुख जोर्नसमेत धौधौ भएको दिपायल पिपल्लाका स्थानीय रामबहादुर विष्टले बताए ।

करिब पाँच घरपरिवार रहेको उक्त टोलमा कम्तीमा पनि १२÷१५ जना बादी बस्दै आएका छन् । घरमा खानेकुरा नभएका कारण आफ्ना छोराछोरी दुई दिनदेखि एक छाक खाएर बसेको अर्का स्थानीय गणेशबहादुर बादी (दास) ले बताए । बजारमा पछिल्लो समय भित्रिएका प्लाष्टिकका आधुनिक भाँडाका कारण बादी समुदायले बनाउँदै आएका माटाका भाँडासमेत बिक्री वितरण हुन बन्द भएका कारण उनीहरुलाई कमाइ गर्न समस्या हुँदै आएको थियो तर अहिले कोरोना भाइरसका कारण एकाएक भएको लकडाउनले बादीहरुलाई बिहान–बेलुकीको छाक टार्नै मुस्किल भएको छ । सडक छेउमा पालको कटेरो बनाएर बसेका बादीहरु रोगले भन्दा भोकले मर्नेमा बढी चिन्तित बनेका छन् । छोराछोरीको ज्यान जोगाउनलाई भए पनि खानेकुराको राहत दिन उनीहरुले सबै निकयसँग आग्रहसमेत गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बादी समुदायलाई खाद्यान्न वितरणका लागि नगरपालिकाले विशेष पहल गर्ने बताइन् ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । दिउँसो करिब १२ मिनेटसम्म बैठक बसेर अनिश्चितकालका लागि स्थगित भएको…
  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width