अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु   

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७७
US

अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ।

यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो । त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ ।

कोरोना भाइरसबाट बिहीबार बिहानसम्म संक्रमित हुने ६ लाख ३७ हजार पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ ।

अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ । गएको २४ घन्टायता यहाँका २ हजार ४९४ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ ।

प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन् । त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ ।

त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ ।

त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ । यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्दछ ।

त्यसपछि सबैभन्दा बढी प्रभावित हुने राज्य मिचिगन हो । उक्त राज्यमा अहिलेसम्म १ हजार ९२१ जनाको ज्यान गइसकेको छ । मिचिगनपछि म्यासाचुसेट्समा धेरै मानिस मरेका छन् । त्यहाँ १ हजार १०८ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन् ।

गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको उहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेको सो युनिभर्सिटीको तथ्यांकमा छ ।

त्यसैगरी यो भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width